कुराकानी एउटा कला हो
खानु, सुत्नु, काम गर्नु, यी मानिसहरूका आधारभूत आवश्यकताहरू हुन्। यद्यपि, अर्को ठूलो आवश्यकता पनि टार्नुपरेको छ। त्यो के हो?
पाँच वर्ष एकल बन्दीगृहमा राखिएको एक जना मानिस, जीवनको सबैभन्दा मूल्यवान आवश्यकतादेखि वञ्चित हुनुपर्दा के भन्छन्, विचार गर्नुहोस्। तिनी यसो भनेर मानि लिन्छन्, “म कसैसित बोल्ने, कुरा गर्ने लालसा गर्थें। मेरो एकाकीपनलाई हटाउन मैले केही त गर्नैपर्छ जस्तो मलाई महसुस हुन थालेको थियो। म एक्लो र मौन हुँदा त्यसले मेरो दिमागलाई असर गर्नसक्थ्यो।”
हो, एकआपसमा सञ्चार कायम गर्ने अन्तर्निहित आवश्यकता हामीसँग छ। र कुराकानीले यो आवश्यकता पूरा गर्नसक्छ। अन्वेषक डेनिस आर. स्मिथ र एल. किथ विलियमसन यस्तो टिप्पणी गर्छन्: “खुलस्त भएर आफ्नो मनको सबै बह पोख्न, आफ्नो खुशी र डर बाँड्न हामीलाई मानिसहरूको आवश्यकता पर्छ।”
हामीले कुराकानी गर्नु आवश्यक छ!
मानिसहरूलाई कुरा गर्ने अद्भुत वरदान दिइएको छ। हो, हामी कुराकानी गर्न रचिएका हौं। एक जना मानिसले यस्तो विचार व्यक्त गरे: “परमेश्वरले मानिसहरूलाई अरूसँग संगत गर्न, मिलेर बस्न सृष्टि गर्नुभएको थियो। त्यसैकारण कुरा गर्ने मौका नपाउँदा वा कसैले त्यो क्षमता खोसेर लैजाँदा हामीलाई सजायझैं लाग्छ। तर तपाईंले कुरा गर्दा एउटा फाइदा हुन्छ। तपाईंलाई खुशी लाग्छ अनि अरूले के सोच्छन् र महसुस गर्छन् भन्ने कुरा थाह पाउनुहुन्छ र त्यसबाट लाभ उठाउनुहुन्छ।”
परिभ्रमण निरीक्षककी पत्नी इलेन यसो भन्छिन्: “शब्दहरूद्वारा अनुभूतिहरू व्यक्त हुन्छन्। आफ्नो पति वा पत्नी हाम्रोलागि कति अमूल्य छन् भन्ने कुरा तिनलाई थाह छ भनेर हामी अनुमान लगाउन सक्दैनौं। हामीले आफ्नो मुख फोर्नुपर्छ; ती शब्दहरू तिनको कानमा परेको हुनुपर्छ। त्यसको अर्थ, हामीले कुराकानी गर्नु आवश्यक छ।”
एक जना मसीही प्राचीनको छोरा, डेभिड आफैलाई यसरी व्यक्त गर्छन्: “कहिलेकाहीं म हतोत्साही हुन्छु र के महसुस गर्दैछु भनेर आफैलाई थाह हुँदैन। सुरुमा त म चुपचाप बस्छु तर भित्रभित्रै गुम्सिन थाल्छु। कुरा गर्ने व्यक्ति पाउँदा मलाई हलुका महसुस हुन्छ। कुरा गर्दा म आफूलाई चिन्ने मौका पाउँछु र त्यसले मलाई समस्याको सामना गर्ने र समाधान पत्ता लगाउने मदत दिन्छ।”
कुराकानीका अवरोधहरू
निस्सन्देह कुराकानीले हाम्रो एउटा आवश्यकतालाई पूरा गर्छ। तथापि, कुराकानी गर्दा उत्पन्न हुने बाधाहरू छन्। वास्तवमा कसै-कसैलाई कुराकानी गर्न संघर्ष गर्नुपर्ने हुन्छ र कुरा गर्न नपरोस् भनेर तिनीहरू अलग बस्छन्।
ग्यारी यसो भन्छन्, “प्रायजसो म मानिसहरूसँग कुरा गर्नुपर्ला भनेर तिनीहरूलाई छल्थें।” तिनी अझै यसो भन्छन्: “यसको मुख्य कारण, म आफैमा आत्मविश्वास थिएन। अहिले पनि मानिसहरूसँग कुरा गर्दा कतै म मूर्खजस्तो बोलिरहेको छैन वा कसैले मेरो कुराको खिल्ली उडाउला भन्ने डरले मलाई सताउँछ।”
इलेन आफ्नो कठिनाइको कारण लज्जालु स्वभाव हो भनेर बताउँछिन्। तिनी यसो भन्छिन्: “म त्यस्तो परिवारमा हुर्कें जहाँ कुराकानी भनेको हुँदै हुँदैन थियो। मेरो बुबा अचाक्ली हप्कीदप्की गर्नुहुन्थ्यो। अतः हुर्कंदै जाँदा आफूसित बोल्न योग्य कुनै कुरा छैन जस्तो मलाई महसुस भयो।” हो, लज्जालु स्वभावले कुराकानीको आनन्द उठाउनमा भयानक बाधा खडा गर्नसक्छ। वास्तवमा त्यसले तपाईंलाई मौनताको पर्खालले घेर्नसक्छ!
आत्मसम्मानको कमीसँग आफूले संघर्ष गर्नुपरेको मानि लिंदै एक जना मसीही प्राचीन, जोन यसो भन्छन्, “त्यो विपत्ति समान हुन्छ। आफ्नो लज्जालु स्वभावलाई सुधार्नुभएन भने तपाईं आफू एक्लै पर्नुहुन्छ। कोठामा सय जना मानिसहरू छन् भने पनि तपाईं बोल्नुहुन्न र ठूलो नोक्सान तपाईंलाई नै हुन्छ!”
अर्कोतर्फ दानियल नाउँ गरेको प्राचीन यसो भन्छन्: “कुरा गर्नु मेरो निम्ति कुनै गाह्रो काम होइन। तर अरूको कुरा बीचमै काटेर आफूले बोलिरहेको मलाई होशै हुँदैन। मेरी पत्नीको भावभंगी देखेपछि मात्र बल्ल आफूले फेरि बीचैमा कुरा काटेछु भनी मलाई याद हुन्छ। त्यसरी बीचैमा कुरा काट्दा मेरी पत्नीलाई बाँकी कुरा गर्न कति नमज्जा लाग्यो होला भनी म महसुस गर्छु।”
कुराकानी गर्दा यी र अन्य अवरोधहरूको सामना कसरी गर्नसकिन्छ? यो कलामा दक्ष हुन कस्ता गुनहरू आवश्यक छन्? र त्यसलाई कसरी प्रयोगमा ल्याउन सकिन्छ?
‘म के बोलुं?’
‘कुन विषयमा कुरा गर्ने?’ ‘मलाई त केही पनि थाह छैन।’ ‘कोही पनि मेरो कुरा सुन्न चाहँदैन।’ तपाईं यसरी सोच्दै हुनुहुन्छ भने पनि शायद यी कुराहरू सम्भवतः सत्य नहुन सक्छन्। आफूले महसुस गरेभन्दा धेरै कुरा तपाईं जान्नुहुन्छ र तीमध्ये केही जानकारी सम्भवतः अरूलाई रोचक लाग्नसक्छ। उदाहरणको लागि, शायद हालै तपाईं कतै यात्रा गरेर आउनुभएको हुनसक्छ। आफू बसोबास गरिरहेको इलाका र तपाईंले भ्रमण गरेर आउनुभएको इलाकामा के भिन्नता छन् भनेर मानिसहरूलाई चासो लाग्नसक्छ।
यसबाहेक, विभिन्न विषयमा पुस्तकहरू पढेर तपाईंले आफ्नो ज्ञान बढाउन सक्नुहुन्छ र बढाउनुपर्ने पनि हो। हरेक दिन समय निकालेर केही पढ्ने गर्नु राम्रो बानी हो। यहोवाका साक्षीहरूको साहित्यमा बाइबलका साथै सबैलाई चासो लाग्ने विभिन्न विषयहरूबारे जानकारी दिइएको हुन्छ। तपाईंले जति बढी जानकारी लिनुहुन्छ, त्यति नै बढी अरूसँग बाँड्न सक्नुहुन्छ। यस सन्दर्भमा यहोवाका साक्षीहरूले प्रयोग गर्ने दिनहुँ शास्त्रपदहरूको जाँच गर्ने पुस्तिकामा दिइएको दैनिक पद राम्रो उदाहरण हो। हरेक दिन सोच्न र कुराकानीमा प्रयोग गर्न त्यसले तपाईंलाई नयाँ कुरा सिकाउँछ।
कुराकानीमा सामेल हुनुको अर्थ आफूले मात्र बोलेको बोल्यै गर्नुपर्छ भन्ने होइन। दुवै पक्षले आफ्ना विचार तथा अनुभूतिहरू व्यक्त गर्न सक्छन्। अर्को व्यक्तिलाई बोल्ने मौका दिनुहोस्। यदि ऊ चुपचाप बस्छ भने, चतुऱ्याइँपूर्वक प्रश्नहरू गरेर तिनलाई बोल्न प्रोत्साहित गर्न सक्नुहुन्छ। मानि लिनुहोस्, तपाईं एक जना वृद्ध व्यक्तिसँग कुरा गर्दै हुनुहुन्छ। तपाईंले तिनलाई अतीतका घटनाहरू र तिनी जवान भएदेखि यता यो संसार वा पारिवारिक जीवन कसरी परिवर्तन भएका छन् भनेर सोध्न सक्नुहुन्छ। तपाईंलाई तिनको कुरा सुनेर रमाइलो लाग्नेछ र तपाईंले सिक्नु पनि हुनेछ।
राम्ररी सुन्नुहोस्
कुराकानी गर्दा ध्यान दिएर सुन्नु बहुमूल्य कुरा हो। हामीले अरूको कुरा राम्ररी सुन्ने गऱ्यौं भने आफ्नो मनको भारी बिसाउन चाहने मानिसहरूलाई आफ्नो कुरा पोख्न सजिलो हुनसक्छ। आफूलाई ‘रद्दी कागज’ सम्झिने एक जना मानिसले साह्रै नैराश्य महसुस गरेछन् र मदतको लागि आफ्नो मित्रलाई फोन गरेछन्। निकै असुविधाजनक समयमा तिनले फोन गरेको भए तापनि त्यो मित्रले दयालुपूर्वक दुइ घण्टासम्म तिनको कुरा सुने! अहिले उक्त व्यक्ति त्यस कुराकानीलाई आफ्नो जीवनको मोड सम्झन्छन्। कुन कुराले यत्रो भिन्नता ल्यायो? यसको जवाफमा ध्यान दिएर सुन्ने सो मित्र यसो भनेर मानि लिन्छन्, “अरूको कुरा राम्ररी सुनिदिएर। मैले कुनै अर्ती दिए जस्तो मलाई लाग्दैन। मैले केवल उपयुक्त प्रश्नहरू सोधें, ‘तपाईंलाई किन त्यस्तो महसुस भयो?’ ‘त्यसले तपाईंलाई किन पिरोलेको?’ ‘कुन कुराले तपाईंलाई मदत गर्न सक्ला?’ मैले सोधेका यी प्रश्नहरूको जवाफ दिंदा तिनले आफ्ना सबै प्रश्नहरूका जवाफ दिइरहेका थिए!”
आफूसित कुराकानी गर्न समय निकाल्ने आमा-बाबुहरूलाई केटाकेटीहरू अमूल्य ठान्छन्। स्कट नाउँ गरेको ठिटो यसो भन्छन्: “आफ्नो नजीक आएर आमा-बाबुले तिमी के सोच्दैछौ भनेर सोधिदिंदा साह्रै खुशी लाग्छ। हालै मेरो बुबाले त्यसो गर्न थाल्नुभएको छ र त्यो फाइदाजनक पनि छ किनकि सबै कुरा आफू एक्लैले समाधान गर्न सकिंदैन।”
“तपाईंले त्यस्तो वातावरण तयार गर्नुपर्छ जहाँ केटाकेटीहरूले तपाईंसित कुरा गर्न सकोस्,” एक व्यक्ति यस्तो सुझाव दिन्छन्। एक एकगरि आफ्ना चारै जना छोराछोरीसँग तिनी नियमित तवरमा समय बिताउँछन्। किनकि जवानहरूको सन्तुलित व्यक्तित्व विकास गर्ने हो भने, आमा-बाबुहरूले सहानुभूतिसाथ ध्यान दिएर सुन्नु आवश्यक छ भनेर तिनी महसुस गर्छन्। तिनको सुझाव के छ त? मौका पाउँदा र बच्चाले कुरा गर्न खोज्दा सुन्न तयार हुनुहोस्। तिनी यसो भन्छन्, “तपाईं जतिसुकै थकित वा बोझले लादिएको किन नहोस्, तिनीहरूलाई कहिल्यै नलत्याउनुहोस्! सुन्नुहोस्।”
निष्कपट चासोले प्रत्युत्तर पाउँछ
कुराकानी गर्न र आफैलाई व्यक्त गर्न थुप्रै मानिसहरूलाई भावनात्मक समर्थन चाहिन्छ। एक जना जवानले यसो भन्दै विलाप गरे: ‘मलाई कुरा गर्नु परेको छ तर म कसकहाँ जाऊँ? म सजिलै कुरा गर्न सक्दिनँ। मप्रति चासो राख्ने व्यक्ति मलाई चाहिएको छ!’ साँचो, निष्कपट चासोले भरपर्दो र सुरक्षित वातावरण तैयार पार्नसक्छ। त्यस्तो वातावरणमा कुरा गर्न र आफ्नो मनको बह पोख्न सजिलो हुन्छ।
एक जना मानिस यसो भन्छन्: “निकै वर्षअघि पारिवारिक अवस्थासँग जुझ्न कठिन परिरहेको बेला मैले आफ्नो मित्रसँग कुरा गर्न खोजें। तर तिनले ‘नामर्दजस्तो नभएर आफ्नो कम्मर कस अनि सबै कुरा ठीक भइहाल्छ,’ भनेर जवाफ दिए। त्योभन्दा बढी तिनले केही भनेनन्। त्यहाँ न ता कुनै संवाद थियो न कुराकानी नै थियो र त्यो मदतकारी भएन। वास्तवमा त्यसले गर्दा म पहिले जस्तै लज्जालु र कसैसँग कुरा नगर्ने स्वभावको भएँ। तर यसको विपरीत पछि मैले यहोवाका साक्षीहरूको निरीक्षकसँग कुरा गर्दा तिनको हेराइ, भावभंगी र दयालु ढंग देख्नेबित्तिकै तिनी सहानुभूतिशील भएको अनुभव गरें। फलस्वरूप मैले आफ्नो बह पोख्न थालें किनभने तिनले निष्कपटतापूर्वक ध्यान दिइरहेका थिए। तिनले यसो भने: ‘तपाईंलाई आफ्नो परिस्थितिको सामना गर्ने मदत दिन हामी यथाशक्य सबै कुरा गर्नेछौं।’ त्यस्ता मानिसहरूप्रति तपाईं सकारात्मक प्रतिक्रिया जनाउनुहुन्छ!”
के हामी आफ्नो हृदय खोलेर अझ धेरै मानिसहरूलाई अर्थपूर्ण कुराकानीमा सामेल गराउन सक्छौं? कोही व्यक्ति केही नबोली एक्लै उभिरहेको देख्दा वा कुरा गर्न लजाउँदा के हामी त्यस्ता व्यक्तिहरूलाई कुराकानीमा सामेल गर्ने कोसिस गर्छौं? माथि उद्धृत जोन यसो भन्छन्: “म तिनको भावना बुझ्न सक्छु र तिनीप्रति मेरो समानुभूति छ किनकि म आफै पनि त्यही कुराले पिरोलिएको छुँ!” तिनले अझ यसो भन्छन्: “तिनको नजीक गएर कुरा गर्न र तिनीसित घुलमिल हुन हामी आफै अघि सर्नु कति महत्त्वपूर्ण छ। त्यसबारे हामी मनमनै प्रार्थना पनि गर्नसक्छौं।”
आफ्नो मित्रबारे डान यसो भन्छन्: “रए निर्धक्क भएर कुरा गर्न सक्दैन थिए। त्यसकारण मानिसहरू कुरा गर्न थाल्नेबित्तिकै तिनी पछि हट्थे। अतः म तिनलाई सोध्ने गर्थें, ‘रए, तिमीले अघि के हो भन्दै थियो नि?’ त्यसपछि तिनी बोल्न थाल्थे। फलस्वरूप अरूले तिनको व्यक्तित्वको एउटा पक्ष देख्न पाए जसलाई तिनीहरूले पहिले यादै गरेका थिएनन्।” डान यस्तो आग्रह गर्छन्: “कुनै व्यक्ति कुरा गर्न अप्ठ्यारो मान्छ र खुलस्त भएर कुरा गर्दैन भने हार नमान्नुहोस्। ऊभित्र बोल्न चाहने राम्रो व्यक्ति छ भनेर मनमनै सोच्नुहोस्। ऊ आफैले खुलस्त भएर कुरा गर्न नसकुञ्जेल उसलाई मदत दिइरहनुहोस्।”
तपाईं लज्जालुपनले ग्रसित हुनुहुन्छ भने पनि अरूप्रति मायालु, निष्कपट चासो देखाउँदा तपाईंलाई लाभ हुन्छ। अरूदेखि अलग बस्ने आफ्नो झुकावलाई हटाउन जोनले उक्त कुरा मदतकारी पाएका छन्। “प्रेमले आफ्नै भलाइ खोज्दैन,” तिनी भन्छन्। (१ कोरिन्थी १३:५) “मायालु काम गर्न तपाईंले अरूसँग कुरा गर्नुपर्छ र तिनीहरूको खोजीनिती गर्नुपर्छ। आफ्ना सीमितताहरू सोच्दै हार मान्नु सुहाउँदो कुरा होइन। तपाईं प्रार्थनापूर्वक आफ्ना व्यक्तिगत झुकावहरू पार गर्न सक्नुहुन्छ।” तिनी अझै यसो भन्छन्: “त्यसो गर्दा तपाईंले ठूलो इनाम पाउनुहुन्छ। अरूले सकारात्मक प्रतिक्रिया देखाउँदा र तिनीहरूले ढाडस पाएको देख्दा तपाईं आफैले ढाडस पाउनुहुन्छ। र अर्को पटक, लज्जालु स्वभाव भएको कुनै व्यक्ति भेट्दा आफै अघि सरेर कुरा गर्न त्यसले तपाईंलाई उत्प्रेरित गर्नुपर्ने हो र यो क्रम जारी रहनेछ।”
समानुभूति—कुराकानीको आधारशिला
अति प्रिय मानव गुनहरूमध्ये समानुभूति पनि हो। तर यो समानुभूति भनेको के हो? पेनसिलभेनिया स्टेट युनिभर्सिटीका डा. बरनार्ड गर्नीअनुसार ‘अरूसँग सहमत भए वा नभए पनि उसको अनुभूति र दृष्टिकोण राम्ररी बुझिदिने क्षमता नै’ समानुभूति हो। कुराकानी गर्दा समानुभूति कति महत्त्वपूर्ण छ त? “मुख्य आधारशिला नै त्यही हो! यही आधारशिलामाथि सबै कुरा बनेको हुन्छ।”
राम्रो सम्बन्ध कायम राख्न कुराकानी गर्नु अपरिहार्य छ भनेर डा. गर्नी बताउँछन्। निस्सन्देह यसो गर्दा मतभिन्नता हुन्छ नै तर त्यो कुनै असामान्य कुरा होइन। सफलतापूर्वक यसको सामना गर्न र सम्बन्ध कायम राख्न हामी समस्याबारे कुरा गर्न इच्छुक हुनुपर्छ। थुप्रै मानिसहरू त्यसो गर्न हिचकिचाउँछन् किनभने अरू व्यक्तिले आफ्नो सफाइ दिने कोसिस मात्र नगरोस् र तिनीहरूलाई रिस नउठोस् भन्ने किसिमले कसरी कुरा गर्ने भनेर तिनीहरूले जानेका हुँदैनन्। डा. गर्नीअनुसार “अरूको मूल्यांकन गर्नु र उनीहरूको ओहदाको सम्मान गर्नु ती व्यक्तिहरूको ओहदाको अघि झुक्नु हो भनेर धेरै मानिसहरूले गलत अनुमान लगाउँछन्। फलतः तिनीहरू असहमत हुँदा अरूलाई बुझिदिंदैनन् र उनीहरूको सम्मान पनि गर्दैनन्। समानुभूतिले अरूसँग सहमत हुनु र उनीहरूलाई बुझ्नु बीचको दूरी चिन्न मदत गर्छ।”
आफूलाई अरूको ठाउँमा राखेर सोच्दा हामी उसले जस्तै महसुस गर्न र सोच्न थाल्छौं। त्यस्तो परिस्थितिमा तपाईं असहमतै हुनुभएछ भने पनि समझदारी, मूल्यांकन र सम्मान चाहिं बढ्दो रहेछ भनेर तपाईंले बुझ्नुहुनेछ।
चार छोरीछोरीकी आमा जानेटलाई विचार गर्नुहोस्। एक पटक तिनी साह्रै निरुत्साहित भएर आफैलाई निकम्मा ठान्न थालेकी थिइन्। यस्तो बेलामा अरूलाई मदत दिने सन्दर्भमा समानुभूति कति आवश्यक हुँदो रहेछ भनेर तिनी अहिले महसुस गर्छिन्। तिनी यसो भन्छिन्: “मेरो पतिले मसँग कुरा गर्नुभएको मलाई याद छ। म कुन कुन ढंगमा मदतकारी छु भनेर उहाँले मलाई सबै बताउनुभयो र वास्तवमा त्यही कुराहरूलाई म बिल्कुलै बेकार ठान्दैथिएँ। रूंदै कुरा गर्दा पनि उहाँले पहिला मेरो कुरा प्रेमपूर्वक सुन्नुभयो अनि त्यसपछि मलाई ढाडस दिनुभयो। तर उहाँले मेरो सोचाइलाई बेवास्ता गर्नुभएको भए वा ‘मूर्ख कुरा नगर,’ वा त्यस्तै केही भन्नुभएको भए म शान्त भएर आफ्नै बाटो लाग्थें होला। बरु त्यस रात हामीले लामो समयसम्म अर्थपूर्ण कुराकानी गऱ्यौं।”
‘तपाईं अरूको ख्याल राख्नुहुन्छ भनी समानुभूतिले देखाउँछ। त्यसले गर्दा आपसी सञ्चार फस्टाउँछ अनि अधिकांश मानिसहरूले चाहने र आवश्यक महसुस गर्ने कुरा नै यही परस्पर सञ्चार हो,’ डा. गर्नी अन्तमा बताउँछन्।
तपाईं सक्नुहुन्छ!
तपाईं अरूसँग राम्ररी कुराकानी गर्नसक्ने व्यक्ति हुन सक्नुहुन्छ। कुराकानी गर्ने कलामा दक्ष हुन गर्नुपर्ने केही आवश्यक पक्षहरूको हामीले छलफल गऱ्यौं तर अरू थुप्रै कुरा बाँकी नै छन्। त्यसमा मित्रैलोपन, हाँस्य मिजासको हुनु र चातुर्य आदि समावेश छन्। तर एक जना कलाकारले प्रशिक्षण र अभ्यासपछि सुन्दर उत्कृष्ट चित्र तयार पार्न कौशलतापूर्वक क्यानभासमा रंग पोतेझैं हामीले पनि आफूमा यी आवश्यक गुनहरूको विकास गर्न प्रयत्न गरिरहनुपर्छ।
उदाहरणको लागि, दानियल अरूसँग राम्ररी कुराकानी गर्नसक्ने व्यक्ति बने। कसरी? बीचमै कुरा काट्ने र आफै मात्र धेरै बोल्न खोज्ने झुकावलाई नियन्त्रण गर्न सिकेर। तिनी यसो भनेर मानि लिन्छन्: “आफै मात्र बोल्न खोज्ने झुकावसँग लड्न मैले सजग प्रयत्न गर्नुपऱ्यो। त्यसको अर्थ मैले आफ्नो जिब्रोलाई लगाम कस्नुपऱ्यो। फेरि कहिल्यै बीचमै कुरा काटेर केही बोलुँ जस्तो लाग्नेबित्तिकै म मनमनै ब्रेक लगाउँछु! मैले बीचैमा केही टिप्पणी गर्दा कुराले अर्कै मोड लिन्छ वा अरूको कुरा गर्ने क्षमता खोसिन्छ जस्तो लागेमा म फ्याट्ट बोल्दिनँ।”
इलेनलाई कुन कुराले मदत दियो त? बाइबलको सही ज्ञान सिकेपछि अरूसित कुरा गर्न आफूसँग बहुमूल्य कुरा भएको तिनले महसुस गरिन्। तिनी यसो भन्छिन्: “मलाई लाग्छ, आफैमाथि ध्यान नदिएर अरूसँग आध्यात्मिक कुरा गर्दा म सजिलोसँग कुराकानी गर्न सक्दोरहेछु। र हामीले नियमित तवरले पाउने बाइबल आधारित साहित्यहरू पढ्नाले पनि मदत गर्दोरहेछ। त्यसरी नयाँ कुराहरू सिकिरहँदा अरूसँग कुरा गर्न आफूसित नयाँ अनि ताजा कुराहरू हुन्छ र त्यसले गर्दा म झनै सजिलोसँग कुरा गर्नसक्छु।”
कुराकानी गर्दा यी आवश्यक गुनहरूको विकास गर्ने कोसिस गर्नुहोस्। त्यसो गर्नुभयो भने, तपाईंसँग कुराकानी गर्दा अरूले स्फूर्ति प्राप्त गर्नेछन् र तिनीहरूलाई रमाइलो लाग्नेछ। साथै एउटा मानव आवश्यकतालाई साँच्चै नै पूरा गर्नसक्ने कलामा दक्ष हुनुभएकोमा तपाईं स्वयं सन्तुष्ट हुनुहुनेछ। (g95 4/8)