युवा जनहरू सोध्छन् . . .
चोरी —किन गर्नु हुँदैन?
“म १६ वर्षकी भएँ। मलाई एकदमै ठूलो समस्या आइपरेको छ। हालैमा मैले धेरै चीजहरू चोरेकी छु। मैले ठूलो पसलबाट सात जोडी मुन्द्रीहरू चोरें। मेरो यो समस्याबारे कसैलाई बताउन मलाई डर लाग्छ। कृपया मलाई सहायता गर्नुहोस्!”
यसरी एक चिन्तित किशोरीले पत्रिकाको सुझाव स्तम्भमा आफूले भोगिरहेको समस्याबारे लेखिन्। एक लेखकले यस्तो बयान गरे: “अमेरिकाको फुटकर बिक्री भण्डारहरूबाट अनुमानित दश बिलियन डलरको उपभोग्य वस्तुहरू . . . वर्षेनी चोरिन्छन्, लुटिन्छन् र डकैत गरिन्छन्। यसरी चोरी गरिएका अभियोगमा झन्डै आधा जति त किशोरकिशोरीहरू नै गिरफ्तार हुन्छन्।”
हालैको एक जाँचपडतालअनुसार माध्यामिक विद्यालयको एक तिहाइभन्दा ज्यादा विद्यार्थीहरूले पसलमा चोरी गर्ने गर्छन्। अन्वेषक जेन नरमन र माइरन ह्यारिसको अर्को गणनाअनुसार, “प्रायः जम्मै युवायुवतीहरूले एक न एक पटक केही न केही चीज त्यसको मूल्य नतिरी लगेका हुन्छन्।”
किन तिनीहरू चोरी गर्छन्?
चोर त्यो हो जसले जानाजानी अर्काको अधिकारमा भएको चीज अनुमतिबिना लान्छ। कहिलेकाहीं मानिसहरूले व्यक्तिगत खाँचोलाई टार्न चोरी गरेको हो भनी तर्क गरेको पाइन्छ। एक गरिब युवक यसरी बताउँछन्: “म कठिन परिस्थितिमा थिएँ। चाँड़ो खाना तयार पार्ने भोजन-गृहपछाडि जान्थें अनि लात्तीले ढोका खोलेर कुखुराको मासुका केही चोक्टाहरू चोर्थें। बस्, त्यति मात्र गर्थें। भोकाएको हुनाले गर्दा मात्र मैले त्यसो गरें।”
बाइबलको हितोपदेशले भन्छ: “आफ्नो भोक मार्न चोरी गर्दा पनि के चोर घृणित हुँदैन र?” भोक मार्न चोरी गरेको हो भने पनि नैतिक तवरमा त्यो गलत हो। त्यसैले, चोर भोको भए पनि व्यवस्थाले दिएको सजाय तिनले ‘भोग्नैपर्छ’ भनी बाइबलको अर्को पदले देखाउँछ।—हितोपदेश ६:३०, ३१.
कुरा के हो भने, चोरी गर्ने किशोरकिशोरीहरूमध्ये कम्तीले मात्र परिआएको खाँचोले गर्दा चोरी गर्छन्। उदाहरणको लागि, जवान मेरी जेनले यसरी स्वीकारिन्: “हो, पसलमा मैले चोरी गरेको छु र यो अचम्मलाग्दो कुरा हो। किनभने मैले यो किन गरें मलाई नै थाह छैन। मलाई खाँचो पर्ने सबै चीजको निम्ति आमाबाबुले पैसा दिनुहुन्छ। केही कुराको पनि मलाई खाँचो परेको थिएन।”a त्यस्तै प्रकारको रिपोर्ट सेभेन्टीन पत्रिकाले पनि दियो: “राष्ट्रिय अपराध रोकथाम परिषद्द्वारा गरिएको सर्वेक्षणअनुसार, चोरी गर्नेहरूले चोरी गर्नुको मुख्य कारण सित्तैमा सामान प्राप्त गर्ने चाहना हो भनी बताए।” कति युवाहरूले त पसलहरूमा चीजबीजहरूको ‘दाम एकदमै महँगो’ भएको हुनाले चोरी गरेको हो भनी बहाना बनाए।
कतिपय युवाहरूले चोरीलाई विरक्तिपन हटाउने एउटा सामान्य साधनको रूपमा मान्छन्। जेरमी नाउँ भएको पहिलाको एक जना चोरले यसरी बयान गरे: “चोरीबाहेक स्कूलको समयपछि गर्ने काम अरू केही थिएन।” त्यति मात्र होइन चोरीलाई एक प्रकारको जोखिमी खेलको रूपमा मानिएको पनि देखिन्छ। कतिले लुगा चोरेर झोला भर्दा र पसलेको आँखा छलेर कम्प्याक्ट डिस्कलाई सुटुक्क ब्यागमा घुसाउँदा आन्तरिक आनन्द महसुस भएको कुरा बताउँछन्।
के चोरी गर्नाले भावनात्मक पीडा ढाकिन्छ?
वास्तवमा, विरक्तिपनलाई हटाउन चोरी गर्दा झ्लाखानामा पुगिन्छ। यो जोखिम काम गर्नुभन्दा अरू धेरै सुरक्षित तरिकाहरूले विरक्तिपनलाई हटाउन सकिन्छ। तब के त्यस्तो रोमाञ्चक अनुभवको चाहनापछाडि एउटा रमाइलो गर्ने इच्छाबाहेक अझ कुनै कुरा हुनसक्छ? धेरै विशेषज्ञहरू यस कुरालाई विश्वास गर्छन्। लेडीज होम जर्नल-अनुसार “हुर्कंदै जाँदा सामना गर्नुपर्ने दबाबहरूसित जुझ्न केही जवानहरूलाई निकै गाह्रो हुन्छ। आमाबाबुसितको झगडा, मित्रता तोडिनु र जाँचमा निम्न स्थान हासिल गर्नु जस्ता कुराहरूले गर्दा तिनीहरूले आफैलाई नियन्त्रण गर्न नसकेको महसुस गर्नसक्छन्। फलतः नियम उल्लंघन गर्दा तिनीहरूले आफ्नो शक्ति देखाएको अनुभव गर्छन्।”
हो, चोरको बहादुरीपछाडि धेरै चोट र पीडाहरू लुकेको हुनसक्छ। यस तथ्यलाई बाइबलले यसरी स्पष्ट पार्छ: “मुखमा हाँसो भए पनि मनमा पीर होला।” (हितापदेश १४:१३) घरिघरि पसलमा चोरी गर्नु खिन्नताको संकेत हुनसक्छ भनी प्रमाणहरूले देखाउँछन्। कतिपय जवान चोरहरूलाई केटाकेटी छँदा दुर्व्यवहार गरिएको प्रमाणहरू फेला परेका छन्। पीडाको कारण जस्तोसुकै भए पनि चोरी गर्नाले कमसे कम केही क्षणसम्म भए पनि भावनात्मक पीडालाई हल्का गर्छ भन्ने कुरालाई मानि लिएको देख्न सकिन्छ।b उदाहरणको निम्ति, कारहरू चोरेर जथाभावी घुम्ने एक अमेरिकी युवा भन्छन्: “यसो गर्दा आफूलाई डर लागेको जस्तो एकदमै रोमाञ्चकारी आनन्द अनुभव हुन्छ।”
साथीसंगी अनि तिनीहरूबट आउने दबाब
बाइबल बताउँछ: “खराब संगतले भला चाल-चलनलाई बिगार्दछ।”(१ कोरिन्थी १५:३३) यो सच्चाइ सर्वमान्य छ। लेखिका डेनिज वि. ल्यांगले यस सन्दर्भमा यसरी बताइन्: “जवान व्यक्तिहरू विरलै स्वयं समस्यामा फस्दछन्।” प्रायजसो साथीसंगीहरूभित्र नै जवानहरू एकअर्कालाई चोर्न सुऱ्याउँछन्। अफसोचको कुरा, धेरैजसो युवाहरू साथीहरूको दबाबमा परेर नै चोरी गर्छन्।
जवान केथी भन्छिन्: “माध्यमिक विद्यालयका केटीहरूको एक समूहमा म पनि सम्मिलित भएँ।” तिनीहरूको दलमा सामेल हुन के गर्नु पर्थ्यो? एउटा दामी स्वेटरको चोरी। उनले यसरी स्वीकारिन्: “म त्यस झुन्डमा हुन चाहन्थें, त्यसकारण स्टोरमा गएर सुइटर चोरें।”
परमेश्वरको दृष्टिकोणलाई बुझ्नु
आफूले किन्न नसक्ने सामान प्राप्त गर्ने प्रत्याशा, अति खतरापूर्ण रोमाञ्चित अनुभव गर्ने वा साथीहरूको अनुग्रह प्राप्त गर्ने चाहनाले गर्दा चोरी गर्न मन लाग्ला। तैपनि, बाइबलमा भएका दश आज्ञाहरूमध्ये एक आज्ञाले यसरी चेताउनी दिन्छ: “तैंले चोरी नगर्नू।” (प्रस्थान २०:१५) प्रेरित पावलले ‘चोरहरू परमेश्वरको राज्यको हकदार हुनेछैनन्’ भनी लेखे। (१ कोरिन्थी ६:१०) विशेषगरि मसीही युवाहरूले परमेश्वरको दृष्टिकोणको विशेष कदर गर्नुपर्छ। गुप्त रूपले चोरी गरेर बाहिर चाहिं धार्मिक भई टोपल्नु कस्तो ढोंगी काम हुनेछ! यस विषयमा प्रेरित पावलले यसरी भने: “त के तिमी अर्कोलाई सिकाउनेले, आफूलाई पनि सिकाउँदैनौ? न चोर भनेर मानिसलाई तिमी प्रचार गर्नेले, के आफै चोर्छौ?”—रोमी २:२१.
चोरीको अभियोगमा गिरफ्तार हुनसक्ने सम्भावना नै त्यस्तो नीच कामदेखि अलग बस्न पर्याप्त छ। गिरफ्तार भएपछि एक जना जवान चोरले भने: “म मर्न चाहन्थें।” यहोवाले “चोरीलाई घृणा” गर्नुहुन्छ भनेर जान्नु चोरी गर्ने प्रलोभन वा दबाबमा नपर्ने सबैभन्दा बलियो कारण हो। (यशैया ६१:८) चोरले आफ्नो अपराधलाई पसले, प्रहरी र आमाबाबुबाट लुकाउन सके तापनि यहोवा परमेश्वरबाट लुकाउन सक्दैन।—यशैया २९:१५.
पापले व्यक्तिलाई कठोर बनाउँछ भन्ने कुरालाई पनि याद राख्नुहोस्। (हिब्रू ३:१३) भयंकर र ठूलठूला कुराहरूको डकैती सानो चोरीबाट सुरु हुन्छ। उदाहरणको निम्ति, जवान रोजरले आमाको थैलीबाट पैसा चोरेर नै आफ्नो अपराधी जीवन सुरु गरे। अन्तमा तिनले वृद्ध स्त्रीहरूलाई हिर्काइ भुइँमा पछारेर तिनीहरूका थैलीहरू चोर्न थाले।
प्रलोभनसित संघर्ष गर्नु
निश्चय नै, यदि कसैले गुप्त रूपमा चोरी गर्न सुरु गरिसकेको छ भने, छोड्न सजिलो हुँदैन। एक जना जवानले यसरी स्वीकारे: “यो एक प्रकारको लत हो।” युवाहरूलाई तिनीहरूको जीवनपद्धति परिवर्तन गर्न के ले मदत दिनसक्छ?
परमेश्वरसमक्ष आफ्नो पाप स्वीकार गर्नुहोस्। पश्चात्ताप गर्ने र आफ्ना भूलहरूलाई परमेश्वरको अघि खुलस्त स्वीकार्नेहरूलाई उहाँले “प्रशस्त गरी क्षमा गर्नुहुनेछ।”—यशैया ५५:७.
सहायता लिनुहोस्। यो पत्रिका पढ्ने धेरै पाठकहरू तिनीहरूको इलाकामा भएका यहोवाका साक्षीहरूको मसीही मण्डलीसित परिचित छन्। यस्ता व्यक्तिहरू स्थानीय मसीही मण्डलीको निरीक्षकहरूकहाँ आध्यात्मिक सहायताको निम्ति जानसक्छन् र आफ्नो जीवन सुधार्नसक्छन्। (याकूब ५:१४, १५) असल नैतिक सिद्धान्त भएका आमाबाबुहरूले पनि उचित सहायता दिनसक्छन्। यो दुश्चरित्रको कारण चोट, पीडा, वा सामान्य विरक्तिपन हो भने दयालुभावले सुनिदिने व्यक्तिसित यसबारे कुरा गर्नुहोस्। यसो गर्दा तपाईंले निश्चय नै यी बोझहरूबाट हल्का अनुभव गर्नुहुनेछ।—हितोपदेश १२:२५.
क्षतिपूर्ति तिर्नुहोस्। मोशाको व्यवस्थाअन्तर्गत चोरहरूले चोरेका सामानहरूको व्याजसहित क्षतिपूर्ति तिर्नुपर्थ्यो। (लेवी ६:४, ५) यसो गर्नाले अन्तस्करण सफा हुनुको साथै चोरी गर्दा अरूमाथि आइपर्ने दुःख बुझ्ने मदत गर्छ। यसरी पश्चात्ताप गर्नेहरूका निम्ति बाइबलको प्रतिज्ञाहरू यस्तो छ: “आफूले चोरी लगेको मालको क्षतिपूर्ति गरिदियो, असल जीवनमार्गमा चलेर अरू अधर्म गरेन भने, त्यो बाँच्नेछ, त्यो मर्नेछैन।”—इजकिएल ३३:१५.
ईर्ष्या र लालची भावनाहरू त्याग्नुहोस्। दश आज्ञाहरूमध्ये अन्तिम आज्ञा हो, “तैंले आफ्नो छिमेकीको घरको लालच नगर्नू . . . त्यसको कुनै पनि थोकको लालच नगर्नू।” (प्रस्थान २०:१७) तपाईंलाई कुनै चीजको खाँचो छ वा मन परेको छ भने, त्यसलाई किन्न पैसा कमाउनको निम्ति शायद कुनै न कुनै तरिका अपनाउन सक्नुहुन्छ। यस सन्दर्भमा प्रेरित पावलले यस्तो सल्लाह दिए: “चोर्नेले फेरि नचोरोस्, बरु त्यसले परिश्रम गरोस् र जे असल छ, सो आफ्नै हातले काम गरेर दरकार पर्नेहरूलाई केही दिनालाई त्यससँग होस्।”—एफिसी ४:२७, २८.
तपाईंको संगतिलाई जाँच्नुहोस्। लेखिका डेनिज ल्यग पुनः सुझाव दिन्छिन्: “यदि तपाईं खराब काम वा अपराधमा सहभागी हुने साथी वा साथीहरूका झुन्डमा हुनुहुन्छ भने, अपराधै नगरे पनि तिनीहरूका कारणले गर्दा तपाईं दोषी ठहरिनुहुन्छ।” त्यसैले गैरकानुनी काम गर्न साथीहरूले दबाब दिंदा नकार्ने साहस गर्नुहोस्।—हितोपदेश १:१०-१९.
चोरी गर्दा अरूलाई हुने हानि विचार गर्नुहोस्। चोरले आफ्नै बारेमा मात्र सोच्दछ। तर येशू मसीह यसरी सल्लाह दिनुहुन्छ: “यसकारण मानिसहरूले तिमीहरूलाई जे जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।” (मत्ती ७:१२) जब एक व्यक्तिले अरूको भलाइ गर्न सिक्छ, तब उसमा अरूलाई हानि पुऱ्याउने झुकाव कम हुन्छ।
चोरीबाट हुने परिणामहरूबारे सोच्नुहोस्। (गलाती ६:७) तपाईंले हासिल गर्न नसक्ने चम्किलो औंठी वा कुनै अन्य सामान चोरेर प्राप्त गर्दा हुने आनन्दबारे सोच्नुको साटो, पक्राउ परेर न्यायदण्ड दिंदा के होला, त्यो कुरालाई मनमा खिल्नुहोस्। चोरीजस्तो दुष्ट काम गरेर तपाईंले आमाबाबु र परमेश्वरलाई कति लज्जित पार्नुहुन्छ, त्यसबारे सोच्नुहोस्! यसरी पाइला चाल्नुभयो भने, निस्सन्देह जुनसुकै अवस्थामा पनि चोरीलाई तपाईंले खराब काम ठान्न लाग्नुहुनेछ।
[फुटनोट]
a केही नाउँहरू परिवर्तन गरिएका छन्।
b क्लेण्टोमानिया अर्थात् चोर्ने इच्छा जगाउने मानसिक विकारबारे हामी छलफल गरिरहेका छैनौं। डाक्टरहरू भन्छन्, यो काण्ड विरलै हुन्छ। पसल चोरहरूमध्ये ५ प्रतिशत मात्र यो मानसिक विकारको शिकार भएका हुन्छन्। प्रायः यसलाई उपचारद्वारा ठीक गरिन्छ।
[पृष्ठ १९-मा भएको चित्र]
प्रायः पसल चोरहरूले पक्राउ पर्दा अपमान सहनुपर्दछ