प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ १२/८ पृ. १२-१३
  • गरिबीको कारण चोरी गर्नु के मनासिब छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • गरिबीको कारण चोरी गर्नु के मनासिब छ?
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वर के भन्‍नुहुन्छ?
  • गरिबहरूले के गर्नसक्छन्‌?
  • चोरी —किन गर्नु हुँदैन?
    ब्यूँझनुहोस्‌!—१९९५
  • चोरी किन बढ्‌दै छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • कहिल्यै नचोर्नू!
    महान्‌ शिक्षकबाट सिकौं
  • चाँडै, कोही गरिब हुनेछैन!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९७
g९७ १२/८ पृ. १२-१३

बाइबलको दृष्टिकोण

गरिबीको कारण चोरी गर्नु के मनासिब छ?

“मानव सुखको सबैभन्दा ठूलो शत्रु गरिबी हो; गरिबीको कारण मानिस सामाजिक, राजनैतिक वा आर्थिक तवरले जकडिन्छ। गरिबीले गर्दा कुनै कुनै सद्‌गुण अव्यवहारिक देखिन्छन्‌ भने अरू चाहिं व्यवहारमा उतार्न अत्यन्त कठिन हुन्छ।”—१८ औं शताब्दीका लेखक स्यामुएल जनसन।

रोमी नेता मग्नूस औरिलियस कास्सीयोदोरसले भने: “गरिबीले अपराध जन्माउँछ।” यी माथि उल्लिखित विचारहरूले गरिबीको कारण कुनै कुनै अपराध हुनु स्वाभाविक हो भनी देखाएजस्तो देखिन्छ। र त्यो अपराध चोरी हो भने त आज धेरै मानिसहरू यसलाई झनै स्वाभाविक ठान्छन्‌।

अत्याचार वा गरिबीमा पर्दा चोरी गर्नु मनासिब छ भन्‍ने धारणा निकै प्रचलित छ। चौधौं शताब्दीको प्रख्यात अंग्रेजी गीतिकथा, रबिन हुडलाई विचार गर्नुहोस्‌। यस दन्त्यकथाका प्रमुख पात्र धनीहरूलाई लुटेर गरिबहरूलाई खुवाउने एक डाँकू थियो। शताब्दीयौंसम्म मानिसहरू त्यसलाई नायक नै मान्थे।

हो, आज धेरै जना आर्थिक समस्याको मारमा परिरहेका छन्‌। विश्‍व बैंकको ताजा रिपोर्टअनुसार झन्डै डेढ अरब मानिसहरूले एक अमेरिकी डलरभन्दा कम आयमा जीविका चलाइरहेका छन्‌। फिलिपिन्सका ७० प्रतिशत जनताले आफूलाई असाध्यै गरिब मानेको एउटा सर्वेक्षणअनुसार पत्ता लाग्यो। कुल जनसंख्याको २० प्रतिशत असाध्यै धनी र २० प्रतिशत असाध्यै गरिब रहेको ब्राजिलमा गरिबहरूको तुलनामा धनीहरूको आय स्रोत ३२ गुणा बढी छ। यस्तो परिस्थितिले गर्दा केही व्यक्‍तिहरू हतोत्साहित हुनसक्छन्‌ र जीवन धान्‍न जुनसुकै तरिका अपनाउन र चोरी गर्नसमेत बाध्य हुनसक्छन्‌।

तर बाइबलले चोरी गर्नुलाई सरासर गलत मानेको छ। दश आज्ञामध्ये आठौं यसो भन्छ: “तैंले चोरी नगर्नू।” (प्रस्थान २०:१५) यद्यपि, बाइबलमा विश्‍वास गर्ने कतिपय मानिसहरू आर्थिक अवस्था नाजुक छ भने चोरी गर्नु मनासिब छ भन्‍ने धारणा राख्छन्‌।

अतः गम्भीर प्रश्‍नहरू खडा हुन्छन्‌: गरिबीको कारण चोरी गर्नु के साँच्चै मनासिब छ? आर्थिक अवस्था असाध्यै नाजुक हुने व्यक्‍तिले के गर्ने? छोराछोरी बिरामी र भोका छन्‌ भने के गर्ने? के यहोवा परमेश्‍वरले यस्तो अवस्थामा र अझ विशेषगरि चोरी हुने व्यक्‍तिलाई केही फरक नपरेमा चोरी गर्ने अनुमति दिनुहुन्छ?

परमेश्‍वर के भन्‍नुहुन्छ?

येशूले आफ्नो पिताको व्यक्‍तित्व झल्काउनु भएको हुनाले उहाँको नमुना हेरेर परमेश्‍वरको दृष्टिकोण बुझ्ने मदत पाउनसक्छौं। (यूहन्‍ना १२:४९) पृथ्वीमा हुनुहुँदा येशूले खाँचोमा परेकाहरूसित कोमल व्यवहार गर्नुभयो। बाइबल भन्छ, “भीड़हरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्ति दयाले भरियो।” (मत्ती ९:३६) तथापि, उहाँले अवस्था जस्तोसुकै किन नहोस्‌, चोरी गर्ने छुट भने कहिल्यै दिनुभएन। त्यसैगरि, परमेश्‍वरले गरिबहरूको चिन्ता गर्नुहुने भए तापनि गरिबीको कारण चोरी गर्नुलाई उहाँ मनासिब ठान्‍नुहुन्‍न। परमेश्‍वर ‘अन्यायको लूट घिन गर्नुहुन्छ’ भनी बाइबलको यशैया ६१:८ मा बताउँछ। अनि चोरहरू परमेश्‍वरको राज्यका हकदार हुनेछैनन्‌ भनी प्रेरित पावल प्रस्ट बताउँछन्‌। अतः यस सम्बन्धमा परमेश्‍वरको दृष्टिकोण स्पष्ट छ।—१ कोरिन्थी ६:१०.

तथापि, हितोपदेश ६:३० भन्छ, “आफ्नो भोक मार्न चोरी गर्दा मानिसहरू त्यसलाई घृणा गर्दैनन्‌।” (NW) के यो भनाइले चोरी गर्ने छुट दिन्छ? अहँ, कदापि दिंदैन। परमेश्‍वरले चोरलाई दोषी ठहराउनुहुन्छ भनी उक्‍त पदको सन्दर्भले प्रस्टै देखाउँछ। किनकि यसपछिको पदले यसो भन्छ: “[तर] त्यो पक्राउ पऱ्‍यो भने के त्यसले सात गुणा बढ़ी दिनु पर्दैन र? र त्यसको घरमा भएका सबै थोक त्यसले दिनु पर्दैन र?”—हितोपदेश ६:३१.

हुन त लोभ वा कसैलाई हानि पुऱ्‍याउने ध्येय राखेर चोरी गर्नेको तुलनामा भोक मेटाउन चोरी गर्ने चोर त्यत्ति दोषी नदेखिएला तर परमेश्‍वरको अनुमोदन प्राप्त गर्न चाहने हरेकले हर प्रकारको चोरीदेखि बिल्कुलै निर्दोष हुनुपर्छ। गरिबीले असाध्यै पिल्सिंदासमेत चोरी गर्नु परमेश्‍वरको अनादर गर्नु हो। यस सन्दर्भमा हितोपदेश ३०:८, ९ यसो भन्छ: “मलाई चाहिंदो भोजन मात्र जुटाइ दिनुहोस्‌। यदि म दरिद्र भएँ भने, म चोर्न लागूँला, र परमेश्‍वरको नाउँमा कलंक लगाउँला।” हो, चोरले परमेश्‍वरको नाउँ बदनाम गर्छ। चोरी गर्नु प्रेम विपरीत कार्य भएकोले धनीको होस्‌ वा गरिबको, अरूको सामान चोर्नु पाप हो। परमेश्‍वर र छिमेकीलाई प्रेम गर्नेहरूले कुनै अवस्थामा पनि चोरी गर्ने छुट पाउँदैनन्‌।—मत्ती २२:३९; रोमी १३:९, १०.

भोको पेटले गर्दा चोर्न बाध्य हुनेहरूले चोरी गर्न पाउनुपर्छ भन्‍नु, तर्कसंगत छैन। त्यसो भन्‍नु लिखुरे खेलाडीले जित्नको लागि प्रतिबन्धित लागू औषधी सेवन गर्न पाउनैपर्छ भने जत्तिकै हो। त्यस खेलाडीले जितिहाल्यो भने पनि के उसले इमानदारीसाथ जितेको ठहर्छ र? त्यस्तो अवस्थामा उसले गलत तरिका अपनाई विजयी हासिल गरेको हो भनेर अरू खेलाडीहरू रिसाउनु के सोह्रै आना ठीक होइन र? चोरीको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ। उसले बेइमानी गरेर अरूको सामान हात पार्छ। अभावको कारण त्यसो गरेको हो भन्दैमा उसले छुट पाउँदैन।

परमेश्‍वरको अनुमोदन चाहने जुनसुकै चोरले आफ्नो बानी त्यागेर पश्‍चात्ताप गर्नैपर्छ। बाइबल यस्तो सल्लाह दिन्छ: “चोर्नेले फेरि नचोरोस्‌, बरू त्यसले परिश्रम गरोस्‌, र जे असल छ, सो आफ्नै हातले काम गरेर दरकार पर्नेहरूलाई केही दिनालाई त्यससँग होस्‌।” (एफिसी ४:२७ख, २८) साँचो पश्‍चात्ताप गर्ने पहिलेका चोरहरू यहोवाले माफ गर्नुहुन्छ भनेर ढुक्क हुनसक्छन्‌।—इजकिएल ३३:१४-१६.

गरिबहरूले के गर्नसक्छन्‌?

बाइबल यस्तो प्रतिज्ञा गर्छ: “परमप्रभुले धर्मीलाई भोकै राख्नुहुन्‍न, तर दुष्टको मनको इच्छालाई निराश तुल्याउनुहुन्छ।” (हितोपदेश १०:३) आफ्नो इच्छा तृप्त गर्न जानाजानी परमेश्‍वरको व्यवस्था उल्लंघन गर्नेहरूलाई उहाँ मदत गर्नुहुन्‍न। तर निष्कपटतासाथ उहाँको आज्ञा पालन गर्नेहरूलाई उहाँ टिठाउनुहुन्छ र आवश्‍यकता पूरा गर्न तिनीहरूले प्रयास गर्दा आशिष्‌ दिनुहुन्छ।—भजन ३७:२५.

ईश्‍वरीय सिद्धान्त पछ्याउँदा आफ्नो जीवनस्तर उकासिएको लाखौंले अनुभव गरेका छन्‌। उदाहरणका लागि, जूवातास, मतवाली, धूम्रपान, लागूपदार्थको सेवन जस्ता दुर्गुणहरूलाई त्यागेर परिश्रमी हुनू भन्‍ने बाइबलका सिद्धान्तहरू व्यवहारमा उतार्दा आफूलाई नभई नहुने साधन तिनीहरूले प्राप्त गर्नसकेका छन्‌। (गलाती ५:१९-२१) तथापि, तिनीहरूले परमेश्‍वरमा भरोसा गर्नु आवश्‍यक छ। अनि वास्तवमा यसरी भरोसा गर्नेहरूले “परमप्रभु . . . भलो हुनुहुन्छ” र उहाँमाथि भरोसा गर्नेहरूलाई उहाँ साँच्चै मदत गर्नुहुन्छ भनेर महसुस गरेका छन्‌।—भजन ३४:८.

[पृष्ठ १२-मा भएको चित्रको स्रोत]

रबिन हुड: General Research Division/The New York Public Library/Astor, Lenox and Tilden Foundations

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने