प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९५ ७/८ पृ. २१-२४
  • परमेश्‍वरको हेरचाहद्वारा मैले कसरी लाभ उठाएँ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको हेरचाहद्वारा मैले कसरी लाभ उठाएँ
  • ब्यूँझनुहोस्‌!—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • भविष्यको निम्ति आशा
  • बिघ्न-बाधाहरूमाथि विजय
  • नर्सिङहोमहरूमा भर्ना र रिहाइ
  • मायालु हेरचाहको पात्र
  • बिग्रंदो परिस्थितिसित भिड़न्त
  • सेवकाईलाई छोडिनँ
  • यहोवा मेरोलागि मायालु परमेश्‍वर हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • ‘खेदिएको तर नत्यागिएको’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • कमजोर हुँदा पनि बल पाएँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • यहोवाको मार्गमा आठ लालाबाला हुर्काउँदाको सुखदुःख
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९५
g९५ ७/८ पृ. २१-२४

परमेश्‍वरको हेरचाहद्वारा मैले कसरी लाभ उठाएँ

मे १८, १९६३ को बिहानी सदाभन्दा म अति नै खुशी थिएँ। यो मेरो जीवनको निम्ति सुन्दर, उज्ज्वल र न्यानो दिनको सुरुआत थियो। तर मेरोनिम्ति त्यो दिन किन विशेष थियो भनेर बयान गर्नुभन्दा पहिले मलाई मेरो कथा छोटकरीमा भन्‍न दिनुहोस्‌।

मेरो जन्म अमेरिकाको पेन्सिल्भेनिया, फिलाडेल्फियामा मे २०, १९३२ मा भएको थियो। परिवारमा भएका चार छोरीहरूमध्ये म कान्छी हुँ। म दुइ वर्षकी हुँदा आमाको मृत्यु भयो र पाँच वर्ष पुग्दा बुबाले पुनर्विवाह गर्नुभयो। समय बित्दै जाँदा छ जना अरू भाइबहिनीहरू हाम्रो परिवारमा थपिए। हाम्रो धर्म ब्याप्टिस्ट थियो अनि म आफै चाहिं चर्चद्वारा संचालित आइतबारे पाठशालाको शिक्षिका बन्‍ने सपना देख्थें।

जन्मैदेखि नै म बाथ रोगले पीडित थिएँ। यस बिमारीले गर्दा मेरो बाल्यावस्था साह्रै कष्टदायी भयो। समय बित्दै जाँदा यसले झन्‌ चाप्नेछ भनी म नौ वर्षको हुँदा डाक्टरले भनेका थिए। दुःखको कुरो, डाक्टरको पूर्वसूचना साँचो साबित भयो। म १४ वर्षकी हुँदा हिंड्‌न नसक्ने भएँ। अन्तमा, मेरो हातगोडा सबै सम्पूर्ण रूपले नचल्ने भयो। फिला र कम्मर नमोड़िन र दुःख्न थाले। मेरा हातका औंलाहरू नराम्ररी बिग्रेका हुनाले लेख्दा र केही कुरा टिप्दा एकदमै गाह्रो पर्थ्यो। मेरो त्यस्तो हालतले गर्दा पाठशाला जान पनि असमर्थ भएँ।

मलाई १४ वर्षकै उमेरमा अस्पताल भर्ना गरियो। परिचारिकाहरूले तिनीहरूलाई सहायता पुग्ने सानो-तिनो काम गर्न दिएको हुनाले त्यहाँ म खुशी थिएँ। त्यो काम गरेर मैले साह्रै आनन्द उठाएँ। यसप्रकार तिनीहरूसित झ्याम्मिएर काम गर्ने बानी बसेकोले पछि एक्लै बस्न नसक्ने अवस्थामा पुगें। अन्ततः, मेरो बिमारीमा केही सहायता गर्न नसक्ने कुरा डाक्टरहरूले मेरा मातापितालाई बताइदिए। तसर्थ, मलाई यसरी तीन महिना अस्पतालमा राखेपछि घर फर्काइयो।

सोही किसिमले १६ वर्ष नपुगुञ्जेल दुइ वर्षसम्म ओछ्यानमा लड़िरहनु सिवाय अरू केही गर्न सक्दिन थिएँ। शिक्षक राखेर घरमा नै मलाई पढाउने बन्दोबस्त मिलाइयो। तर मेरो अवस्था भने झन्‌ झन्‌ खराब हुँदै गइरहेको थियो। बाथको ज्वरोको साथै गोलीगाँठोमा अल्सर निक्लेको हुनाले मलाई फेरि अस्पताल पुऱ्‍याउनु पऱ्‍यो। अस्पतालमै म १७ वर्षकी भएँ। यसरी अस्पतालमा फेरि म तीन महिना बसें। जब म घर फर्कें, तब घरमा राखिदिएको ट्यूशन पढ्‌न पनि नसक्ने भएँ।

जब म २० वर्षकी भएँ, तब मेरो जीवन साह्रै दुःखदायी भयो। धेरैजसो समय मैले रोएरै बिताएँ। तर एक जना परमेश्‍वर हुनुहुन्छ भनेर जान्दथें र सहायताको निम्ति धेरैपल्ट प्रार्थना पनि गरें।

भविष्यको निम्ति आशा

अल्सर निक्लेको जोर्नीको उपचार गर्न फिलाडेल्फियाको प्रमुख अस्पतालमा बस्दा मिरियम केलम नाउँकी जवान केटीसित एउटै कोठामा परें। चाँड़ै हामी मित्रताको बन्धनमा बाँधियौं। मिरियमकी दिदी क्याथरिन माइल्स बहिनीलाई भेट्‌न आउँदा बाइबलबाट केही कुराहरू मलाई भन्‍ने गर्थिन्‌। अस्पतालबाट फर्किसकेपछि पनि जसोतसो क्याथरिनसित भेट्‌ने प्रबन्ध मिलाउँथें। क्याथरिन, यहोवाका एक जना साक्षी थिइन्‌।

दुःखको कुरा, मेरी सौतेनी आमाले मलाई त्यति मन पराउँदिन थिइन्‌। तसर्थ, म २५ वर्षकी हुँदा मेरी एक जना दिदीसँग बस्न थालें। अचम्मको कुरो, क्याथरिन पनि पल्लो छेउमा पर्ने घरमा सरिछन्‌। मैले उनलाई अध्ययनको निम्ति बोलाएँ र लेट गड बी ट्रू (परमेश्‍वर साँचो ठहरिऊन्‌) नामक पुस्तकबाट तिनले मसित अध्ययन सुरु गरिन्‌। यी अध्ययनहरूबाट म कहिले पनि लंगडो नहुने र एक दिन जम्मै दुष्टता हटाइनेछ भन्‍ने कुरा जानेर म साँच्चै आनन्दित भएँ! (हितोपदेश २:२१, २२; यशैया ३५:५, ६) यी सच्चाइहरू साथै पुनरुत्थान र मेरी आमालाई फेरि भेट्‌न पाउने प्रत्याशाले मलाई साह्रै प्रभावित पाऱ्‍यो।—प्रेरित २४:१५.

त्यसपछि लगत्तै यहोवाका साक्षीहरूको सभाहरूमा जान थालें। क्याथरिनको पतिले मलाई गाड़ीमा हालेर राज्यभवनमा लान्थे। सभाहरूमा मलाई देखाइएको प्रेमले गर्दा मैले प्रोत्साहन पाएँ।

बिघ्न-बाधाहरूमाथि विजय

दुःखको कुरो, मेरी दिदी र भिनाजुको छुटानाम भयो। तसर्थ, म फेरि आफ्नो पिता र सौतेनी आमासित बस्नुपऱ्‍यो। मेरी सौतेनी आमा यहोवाका साक्षीहरूको विरोधी हुनाले १९५८ देखि १९६३ सम्म मैले लुकी-लुकी अध्ययन गर्नुपऱ्‍यो। तिनले यहोवाका साक्षीहरूलाई घरमा आउन निषेध गरेकी थिइन्‌। त्यसैले म विभिन्‍न व्यक्‍तिहरूसित टेलिफोनद्वारा वा अस्पतालमा हुँदा अध्ययन गर्थें।

अर्को कठिनाइ के आइपरेको थियो भने, सौतेनी आमाले कुनै कुनै बेला मलाई खाना खुवाउन र नुहाइदिन अस्वीकार गर्थिन्‌। एकपल्ट आठ महिनासम्म तिनले मेरो कपाल धोइ दिइनन्‌। अनि मेरो चिट्ठीहरू पनि तिनले पहिला जाँचेर सिफारिस नगरिकन मलाई पढ्‌न दिन्‍न थिइन्‌। तथापि, परमेश्‍वरको निगाह छँदैथियो। त्यसैले, भाइले मेरो चिट्ठीहरू उसको घरमा आउन अनुमति दियो। यस प्रबन्धले गर्दा मसीही बहिनी प्याट स्मीथलाई मसित सम्बन्ध राख्न र मलाई आध्यात्मिक प्रोत्साहन दिन सम्भव भयो। तिनीसित म पत्रव्यवहार गर्थें। मेरो भाइले लुकीछिपी हाम्रा पत्रहरू ल्याउने-लैजाने गर्थ्यो।

सन्‌ १९६३ मा म फेरि अस्पतालमा भर्ना हुनुपऱ्‍यो। त्यहाँ प्याट स्मीथले मेरो अध्ययन चालु राखिन्‌। एक दिन तिनले मलाई सोधिन्‌: “के तपाईं हाम्रो आउँदो क्षेत्रीय सम्मेलनमा बप्तिस्मा लिन चाहनुहुन्छ?”

“हुन्छ, म चाहन्छु!” मैले जवाफ दिएँ।

अस्पतालमा मलाई शारीरिक अंगहरूको विकारका बावजूद सामान्य जीवन बिताउन मदत दिने विभागमा राखिएको थियो र दिनमा घुमफिर गर्ने अनुमति लिन सक्थें। क्षेत्रीय सम्मेलनको दिन अरू साक्षीहरूसहित प्याट मलाई लिन आइन्‌। भाइहरूले मलाई बप्तिस्मा दिनको निम्ति तख्तामाथि राखेर पानीमा डुबाउनुपऱ्‍यो। बप्तिस्मापश्‍चात्‌, अब म यहोवाको एक जना साक्षी भएँ! त्यो थियो मे, १८, १९६३ को दिन, जसलाई म कदापि भुल्नेछैन।

नर्सिङहोमहरूमा भर्ना र रिहाइ

नोभेम्बरमा मैले अस्पताल छोड्‌न लागेको थिएँ। म घर फर्किन चाहँदिन थिएँ। किनभने घरमा मैले परमेश्‍वरको सेवा गर्न पाउँदिन भन्‍ने मलाई थाह थियो। तसर्थ, प्रबन्ध मिलाएर म नर्सिङहोममा भर्ना भएँ। त्यहाँबाट मैले साक्षी भाइहरूले घर-घरको सेवकाईमा भेट्‌न मुश्‍किल पर्ने मानिसहरूलाई चिट्ठीहरूद्वारा राज्यसन्देश दिन आरम्भ गरें। समाचारपत्रमा समवेदना स्तम्भ पनि पढ्‌थें र भर्खरै मरेकाहरूको आफन्तहरूलाई ढाड़स दिने बाइबलका वचनहरू समावेश गरेर तिनीहरूलाई पत्र लेख्थें।

त्यसपछि, सन्‌ १९६४ मा म जेठी दिदी-भिनाजुकहाँ बस्न न्यूयोर्क गएँ। भिनाजुले मलाई मेरो प्रथम ह्विलचेयर किनी दिनुभयो र म सभाहरू धाउन थालें। त्यहीं ईश्‍वरतान्त्रिक सेवकाई पाठशालामा प्रथम चोटि भाषण दिन पाउँदा म कति आनन्दित भएँ!

सन्‌ १९६५ को प्रारम्भतिर फिलाडेल्फियाका साथीहरूले तिनीहरूसित केही सप्ताह बस्न मलाई निम्तो दिए। म फिलाडेल्फियामा साथीहरूसित हुँदा मेरी दिदीले मलाई कुनै हालतमा पनि नचाहेको र म जहाँ छु त्यहीं बस्न भनेर पत्र पठाइन्‌। यसर्थ, फेरि नर्सिङहोममा भर्ना हुने प्रबन्ध मिलाएँ।। त्यहाँ बस्दा सभाहरू धाउन र पत्रहरूद्वारा मानिसहरूलाई निरन्तर साक्षी दिन थालें। यस समय मेरो सेवकाईलाई बढाएर मैले सहायक अग्रगामीसम्म गर्न सक्षम भएँ।

मायालु हेरचाहको पात्र

फिलाडेल्फियामा भएका यहोवाका साक्षीहरूको पश्‍चिम मण्डलीद्वारा सहायता दिनुभएर यहोवाले अझ थप हेरचाह गर्नुभयो। मलाई सभाहरूमा लानु र ल्याउनुबाहेक तिनीहरूले मलाई सेवकाईको निम्ति लेखन सामग्रीहरू र चाहिएका सबै सामानहरू उपलब्ध गराइदिन्थे।

त्यसपछि, १९७० मा अझ बढी मेरो हेरचाह गर्नुभयो। त्यो के थियो भने, माड वाशिंगटन नाउँकी मसीही बहिनीसित बस्ने प्रबन्ध मलाई मिलाइदिनुभयो। उनी अवकाशप्राप्त परिचारिका थिइन्‌। उनी ७० वर्षकी वृद्धा थिइन्‌ तापनि स्वेच्छाले आफ्नो शक्‍तिले भ्याइञ्जेल दुइ वर्षसम्म मेरो हेरचाह गरिन्‌।

म माडसित बस्दाखेरि फिलाडेल्फिया, रिज मण्डलीका भाइहरूले मलाई सभाहरूमा लान-ल्याउन प्रबन्ध मिलाउन मेहनत गर्नुभयो। सभाहरूमा लाँदा र ल्याउँदा हप्तामा तीन पटक ती भाइहरूले मलाई बोकेर तीन तल्ला भऱ्‍याङ माथि र तल गर्नुपर्थ्यो। मलाई सभाहरूमा लान यस्तो विश्‍वासपूर्वक काम गरेर सहायता गरेकोमा ती भाइहरूप्रति म साँच्चै नै आभारी छु!

सन्‌ १९७२ मा बहिनी वाशिंगटन मेरो हेरचाह गर्न असमर्थ भएपछि कोठा भाडामा लिएर बस्ने निश्‍चय गरें। रिज मण्डलीका मसीही दिदी-बहिनीहरूको आत्मत्यागको भावनाले गरेका सहायता र प्रेमबिना यो बन्दोबस्त सम्भव हुने थिएन। तिनीहरूले मलाई खुवाउने, नुहाइदिने र मेरो व्यक्‍तिगत खाँचोहरू पूरा गर्ने प्रबन्ध मिलाए। अरू कतिले चाहिं किनमेल गर्ने र अन्य आवश्‍यक कामकुराहरूको देखभाल गरिदिन्थे।

प्रत्येक दिन एका बिहानै मलाई खाना खुवाउन र लुगा फेरिदिन ती मसीही बहिनीहरू आँउथे। त्यसपछि, मलाई ह्विलचेयरमा राखेर एक कुनामा राखेको टेबलको छेउमा पुऱ्‍याउँथिन्‌। टेबल नजीकै झ्याल थियो। म त्यहीं बसेर टेलिफोन गर्दै र पत्रहरू लेख्दै परमेश्‍वरको सेवामा व्यस्त रहन्थें। यो ठाउँलाई म प्रमोदवनको भाग सम्झन्थें। यसलाई मैले ईश्‍वरतान्त्रिक तस्बिरहरूले सजाएको थिएँ। बिहानदेखि राती मलाई ओछ्यानमा लाने कोही नआउञ्जेल त्यहीं बसेर परमेश्‍वरको सेवकाईमा समय बिताउँथें।

सन्‌ १९७४ मा मेरो स्वास्थ्य अझ खराब भएकोले अस्पतालमा फेरि भर्ना हुनुपऱ्‍यो। त्यहाँ मलाई डाक्टरहरूले रक्‍तक्षेपण लिन जोर दिए। त्यसको प्रायः एक हप्तापछि रगत नलिइकनै मेरो स्वास्थ्य सुध्रिएपछि दुइ जना डाक्टरहरू मलाई हेर्न आए। मैले तिनीहरूलाई चिनेर भनें: “ओहो, बल्ल मैले सम्झें। रगत दिन मलाई फकाउने तपाईंहरू नै हुनुहुन्थ्यो।”

तिनीहरूले जवाफ दिए: “हो, हामी नै हौं तर तिमीलाई त्यसरी रक्‍तक्षेपण दिन कोसिस गर्नु व्यर्थ हुनेछ भनेर हामीलाई थाह थियो”। यसरी ती डाक्टरहरूलाई पुनरुत्थान र पार्थिव प्रमोदवनबारे बाइबलको प्रतिज्ञासम्बन्धी साक्षी दिने मौका पाएँ।—भजन ३७:२९; यूहन्‍ना ५:२८, २९.

यसरी दश वर्ष एक्लै बस्दा प्रत्येक मसीही सभाहरूमा उपस्थित हुनसकें। बिमारी भएको समयबाहेक कुनै सभाहरू पनि बिराइनँ। मौसम खराब भएको बेला मेरा खुट्टाहरूलाई न्यानो पार्न भाइबहिनीहरूले कम्बल बेरिदिन्थे। बेला-बेलामा परिभ्रमण निरीक्षकहरू मलाई हेर्न आउँथे। उहाँको भ्रमणको दौड़ान, मैले टेलिफोनद्वारा संचालन गर्दै गरेको बाइबल अध्ययनमा उहाँले मलाई “साथ” दिनुहुन्थ्यो। मेरो निम्ति ती अति आनन्ददायी दिनहरू थिए।

बिग्रंदो परिस्थितिसित भिड़न्त

सन्‌ १९८२ मा म ओछ्यानबाट पनि उठ्‌न नसक्ने हालतमा पुगें। मसीही सभाहरूमा उपस्थित हुन सकिनँ। अनि १७ वर्षदेखि निरन्तर गर्दै आएको अग्रगामीको सेवालाई पनि छोड्‌नुपऱ्‍यो। यो स्थितिले मलाई साह्रै खिन्‍न बनायो र प्रायजसो रोएरै समय काट्‌थें। तथापि, परमेश्‍वरको निगाह प्रष्ट थियो। मसीही प्राचीनहरूले मेरो त्यो सानो भाडाको कोठामा मण्डली पुस्तक अध्ययन संचालन गर्ने प्रबन्ध मिलाई दिए। यो प्रबन्धको निम्ति म अझैसम्म कति कृतज्ञ छु!

सारा समय ओछ्यानमै लड़िरहनु परेको र टेबलसम्म पनि जान नसकेकोले छातीमाथि कागज राखेर लेख्ने अभ्यास गर्न थालें। सुरुमा यसरी लेख्दा मेरो लेखाइ प्रस्ट बुझिंदैनथ्यो। तर कठोर अभ्यासपश्‍चात्‌ पढ्‌न सकिनेसम्म भयो। यसरी केही समय फेरि पत्रद्वारा साक्षी दिन सक्षम भएँ। यो सफलताले मलाई चरम आनन्द प्रदान गऱ्‍यो। दुर्भाग्यवश, मेरो स्थिति झन्‌ बिग्रियो। फलस्वरूप, यस सेवकाईलाई पनि स्थगित गर्नुपऱ्‍यो।

यद्यपि, सन्‌ १९८२ देखि जिल्ला अधिवेशनमा म उपस्थित हुन नसके तापनि, सम्मेलनको उपलक्ष्यमा हुने गतिविधिसित भिज्ने चेष्टा गर्छु। एक जना बहिनीले सम्मेलनको बिल्ला ल्याएर सुत्दा लाउने मेरो अलखामा खिलि दिन्छे। त्यसपछि, म फिलाडेल्फियाको विटिरेन रंगशालामा भइरहेको बेसबल खेल हेर्न टेलिभिजन खोल्छु र सम्मेलनको दौडान म कहाँ बस्ने गर्थें भनी कल्पना गर्न थाल्छु। प्रायः कसै न कसैले अधिवेशनका कार्यक्रमहरू रेकर्ड गर्छन्‌ र ती जम्मै सुन्‍ने सुअवसर पाउँछु।

सेवकाईलाई छोडिनँ

पहिले जस्तो परमेश्‍वरको सेवा गर्न नसके तापनि बाइबल सच्चाइबारे मानिसहरूलाई बताउन म अझै सजग छु। अग्रगामीको सेवा गर्नसक्नु र इच्छुक व्यक्‍तिहरूलाई बाइबल अध्ययन गराउनु मेरो आनन्दको श्रोत भएको छ। यद्यपि, बितेका २२ वर्षदेखि एक्लै जीवन बिताउनु सजिलो नभए पनि कुनै बाधाबिना स्वतन्त्र भएर परमेश्‍वरको सेवामा आनन्द उठाएँ। यदि म आफ्नो घरमा रहेको भए यो सेवा गर्नसक्ने थिइनँ

मेरो आफ्नै व्यक्‍तित्वलाई सच्याउन लगनशील भएर काम गर्नुपर्ने खाँचोलाई पनि मैले देखेको छु। मलाई सहायता गर्न आउनेहरूलाई काम अह्राउँदा कहिलेकाहीं मीठो वचन बोल्नदेखि चुक्थें। (कलस्सी ४:६) मेरो यो कमजोरीलाई सच्याउन यहोवालाई निरन्तर प्रार्थना गर्छु। मेरो खराब व्यवहारलाई वर्षौंदेखि धैर्यसहित सहेर मप्रति क्षमाशील मनोवृत्ति देखाउने भाइबहिनीहरूप्रति म साँच्चै कृतज्ञ छु। तिनीहरूको सहयोग परमेश्‍वरको आशिष्‌ हो, जसको निम्ति म ती भाइबहिनीहरू र यहोवालाई धन्यवाद चढाँउछु।

वर्षौंदेखि शारीरिक अशक्‍तताले गर्दा सभाहरूमा उपस्थित हुनसकेको छैन। एकपल्ट अस्पताल गएँ, त्यसबाहेक कोठादेखि बाहिरसमेत निक्लेको छैन। तैपनि, म आनन्दित र हर्षित छु। हो, यदाकदा म खिन्‍न हुन्छु तर यहोवाले त्यस अवस्थाबाट मुक्‍त हुन सहायता गर्नुहुन्छ। अहिले टेलिफोनद्वारा राज्यभवनमा भएका कार्यक्रमहरू सुनेर आनन्द उठाउँछु। प्रार्थना र विश्‍वासद्वारा यहोवामा भरोसा राखेकोले कहिले पनि एक्लोपन महसुस गरेकी छैन। निस्सन्देह, मैले परमेश्‍वरको हेरचाहद्वारा लाभ उठाएको छु भनेर भन्‍नसक्छु।—सिलेस्ट जोन्सको वृतान्तमा आधारित।

[पृष्ठ २३-मा भएको चित्र]

जुन ठाउँमा बसेर परमेश्‍वरको सेवकाईमा व्यस्त रहन्थें, त्यसलाई म पार्थिव प्रमोदवनको भाग सम्झन्थें

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने