प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ११/१ पृ. २२-२५
  • ‘खेदिएको तर नत्यागिएको’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘खेदिएको तर नत्यागिएको’
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अवनति
  • सुखी परिवार
  • आध्यात्मिक पक्षघातसित सामना गर्ने
  • अर्को अवनतिसित सामना गर्ने
  • यथासक्दो गर्ने
  • परमेश्‍वरको हेरचाहद्वारा मैले कसरी लाभ उठाएँ
    ब्यूँझनुहोस्‌!—१९९५
  • कमजोर हुँदा पनि बल पाएँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • आवश्‍यक परेकै बेला मैले आशा पाएँ
    ब्यूँझनुहोस्‌!—२०१५
  • यहोवाको मार्गमा आठ लालाबाला हुर्काउँदाको सुखदुःख
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ११/१ पृ. २२-२५

‘खेदिएको तर नत्यागिएको’

उल्फ हेल्गेसनको वृतान्तअनुसार

एक जना चिकित्सक निहुरँदै मलाई जाँच्दैथिए। अचानक तिनी यसो भन्दै चिच्चाए: “ल उहाँ बिउँझनुभयो!” यो थियो सन्‌ १९८३, जुलाई महिनाको घटना। पन्ध्र घण्टा लामो जटिल शल्यक्रियापश्‍चात्‌ मेरो मेरुदण्डबाट १२ सेन्टिमिटर लामो ट्युमर निकालिएको थियो। तर यो शल्यक्रियापश्‍चात्‌ म पूर्णतया पक्षघाती भएँ।

के ही दिनपछि मलाई स्विडेनको दक्षिणपट्टि, मेरो घर हाल्सिनबोर्गबाट झन्डै ६० किलोमिटर टाढा पर्ने अस्पतालमा पठाइयो। त्यहाँ म पुनः सुस्वास्थ्य प्रदान गर्ने विशेष उपचार कार्यक्रममा भर्ती भएँ। त्यहाँका स्वास्थ्यकर्मीहरूले मलाई त्यो कार्यक्रम साह्रै कठिन छ भनी बताए। तैपनि म त्यो कार्यक्रम थालिहाल्न उत्सुक थिएँ। किनभने म फेरि हिंड्‌न चाहन्थें। दिनहुँ पाँच घण्टासम्म लगनशील भएर कसरत गर्दै मैले चाँडै प्रगति गरें।

यसै समयतिर, झन्डै महिना दिनपछि हाम्रो मण्डलीमा सेवारत परिभ्रमण अध्यक्ष र अरू मसीही प्राचीनहरू लामो यात्रा गर्दै मेरो अस्पतालको कोठामा आए। तिनीहरू मेरो कोठामा मण्डलीका प्राचीनहरूको सभा सञ्चालन गर्न चाहन्थें। यस्तो भ्रातृप्रेमको प्रमाण पाउँदा मेरो हृदय साह्रै गद्‌गद्‌ भएको थियो! सभापश्‍चात्‌ वार्डमा काम गर्ने नर्सहरूले हामी सबैलाई चिया र स्याण्डविच टक्राएका थिए।

प्रारम्भमा, मेरो प्रगति देखेर चिकित्सकहरू चकित भए। तीन महिनापछि त म ह्विलचेयरमा बस्नसक्ने र केही क्षण उभिनसक्ने भइसकेको थिएँ। म पनि औधी खुशी थिएँ र मनमनै चाँडै हिंड्‌ने निधो गरिसकेको थिएँ। मलाई भेट्‌न आउँदा मेरो परिवार र सँगी मसीहीहरूले पनि मलाई निकै प्रोत्साहन दिन्थे। र छोटो समयावधिका लागि म घर जानसक्ने पनि भएँ।

अवनति

तथापि, तत्पश्‍चात्‌ मेरो कुनै प्रगति भएन। अतः केही समयभित्र स्वास्थ्यकर्मीहरूले मलाई साह्रै नमिठो खबर सुनाए: “अब तपाईंको अवस्था योभन्दा सुध्रिनेछैन!” मेरो अवस्थाले गर्दा अब मुख्य लक्ष्य नै कसैको मदतबिना ह्विलचेयरमा चलहल गर्न मलाई सक्षम बनाउनु थियो। म सोच्थें, मेरो जीवन कसरी बित्ला? मेरी पत्नीको पहिल्यै ठूलो शल्यक्रिया भइसकेकोले तिनलाई मेरो मदत चाहिन्थ्यो। अब यस्तो अवस्थामा तिनले यो परिस्थितिलाई कसरी सँभालिन्‌? के म सधैंभरि अस्पतालमै बस्नुपर्ला?

आफ्नो अवस्थाले गर्दा म साह्रै निराश भएँ। मेरो बल, शक्‍ति र क्षमतानै बिस्तारै हराउँदै गयो। कतै चलहल नगरी मैले निकै दिन बिताएँ। म शारीरिक तवरमा मात्र नभई भावनात्मक र आध्यात्मिक तवरमा पनि पक्षघाती भइसकेको थिएँ। म “खेदिएको” महसुस गर्थें। पहिले म सधैं आफूलाई आध्यात्मिक तवरमा बलियो सम्झन्थें। परमेश्‍वरको राज्यमाथि मेरो बलियो आस्था थियो। (दानियल २:४४; मत्ती ६:१०) परमेश्‍वरको धार्मिक नयाँ संसारमा सबै किसिमका रोग तथा शारीरिक कमजोरीहरू हट्‌नुका साथै मानवजातिलाई सिद्ध जीवन दिइनेछ भन्‍ने बाइबलको प्रतिज्ञामाथि मैले कहिल्यै शंका गरिनँ। (यशैया २५:८; ३३:२४; २ पत्रुस ३:१३) तर अहिले आफूलाई शारीरिक र आध्यात्मिक दुवै तवरमा पक्षघात भएको महसुस गर्न थालें। म आफू “नष्ट” भएको महसुस गर्थें।—२ कोरिन्थी ४:९.

तर अझ अगाडि केही भन्‍नुअघि म तपाईंहरूलाई मेरो पृष्ठभूमिबारे केही बताउन चाहन्छु।

सुखी परिवार

मेरो जन्म सन्‌ १९३४ मा भएको थियो र बाल्यकालदेखि नै म स्वस्थ थिएँ। सन्‌ १९५० को प्रारम्भतिर मैले इंग्रिडलाई भेटे र हामीले १९५८ मा विवाह गऱ्‍यौं। विवाहपश्‍चात्‌ हामी मध्य स्विडेनको अर्स्टरसन्द शहरमा बस्यौं। पछि, सन्‌ १९६३ मा हामी दुवैले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन सुरु गर्न थालेपछि हाम्रो जीवनले नयाँ मोड लियो। त्यतिबेलासम्म हाम्रा दुइटी छोरी एभा र लेना र एउटा छोरा बियोन जन्मिसकेका थिए। चाँडै नै पूरै परिवार मिलेर अध्ययन गर्न थाल्यौं र बाइबलको सत्य ज्ञान आर्जन गर्दै अघि बढ्यौं।

अध्ययन थालेको केही समयभित्रै हामी हाल्सिनबोर्ग सऱ्‍यौं। त्यहाँ मेरी पत्नी र मैले हाम्रो जीवन यहोवालाई समर्पण गऱ्‍यौं र सन्‌ १९६४ मा बप्तिस्मा पनि लियौं। सन्‌ १९६८ मा हाम्री छोरी एभाले बप्तिस्मा लिंदा हामी असाध्यै खुशी भयौं। यसको सात वर्षपछि, सन्‌ १९७५ मा बियोन र लेनाले पनि बप्तिस्मा लिए। अनि लगत्तै अर्को वर्ष मलाई मसीही मण्डलीको प्राचीन नियुक्‍त गरियो।

मेरो राम्रो जागिर भएकोले परिवारको भौतिक आवश्‍यकतालाई राम्ररी पूरा गर्न सकें। बियोन र लेना पूर्ण-समय सेवकाईमा सामेल भएपछि हाम्रो खुशीको सीमा रहेन। पूर्ण-समय सेवकाई थालेको केही समयभित्र बियोनलाई यहोवाका साक्षीहरूको आर्बुगास्थित शाखा कार्यालयमा सेवा गर्न आमन्त्रित गरियो। यसो हेर्दा, हाम्रो जीवन खुशी नै खुशीले भरिएको जस्तो लाग्थ्यो। तर सन्‌ १९८० को प्रारम्भतिर ट्युमरले गर्दा म बिरामी परें। त्यही ट्युमरलाई पछि सन्‌ १९८३ मा ठूलो शल्यक्रियाद्वारा निकालिएको थियो।

आध्यात्मिक पक्षघातसित सामना गर्ने

म फेरि कहिल्यै हिंड्‌न सक्ने छैन भनेर सुन्दा मलाई मेरो जीवनमा अन्धकार छाएजस्तो लागेको थियो। अब कसरी फेरि आध्यात्मिक बल प्राप्त गर्ने? तर त्यो त मैले सोचेभन्दा सजिलो निस्क्यो। मैले बाइबल पढ्‌न थालें। र जति पढें उत्ति नै आध्यात्मिक बल प्राप्त गरें। मुख्य कुरा, येशूले डाँडामा दिनुभएको उपदेशप्रति मेरो मूल्यांकन पहिलेभन्दा बढ्यो। म त्यसलाई बारम्बर पढ्‌थें र मनन गर्थें।

जीवनप्रति मैले पुनः सकारात्मक दृष्टिकोण राख्न थालें। पढ्‌दा, मनन गर्दा मैले बाधा होइन बरु मौकाहरू देख्न थालें। अरूलाई बाइबलका सत्य कुराहरू बताउने इच्छा पनि पलाउन थाल्यो र अस्पतालका कर्मचारी तथा आफूले भेटेजति मानिसहरूलाई साक्षी दिएर त्यो इच्छा तृप्त पारें। मेरो परिवारले पूर्णतया सहयोग गऱ्‍यो र मेरो हेरविचार कसरी गर्ने भनेर प्रशिक्षणसमेत लियो। अन्ततः म अस्पतालमा बस्नुपर्ने भएन।

लामो समयपछि घर आउन पाउँदा त्यो दिन हामी सबै साह्रै रमायौं। मेरो हेरविचार गर्न मेरो परिवारले तालिका पनि तयार पाऱ्‍यो। मेरो हेरविचार गर्न, छोरा बियोनले यहोवाका साक्षीहरूको शाखा कार्यालयमा काम छोड्‌ने निर्णय गऱ्‍यो। मेरो परिवारले देखाएको गहिरो प्रेम र चिन्ताले गर्दा म साह्रै आराम महसुस गर्थें।

अर्को अवनतिसित सामना गर्ने

तथापि, समय बित्दै जाँदा मेरो स्वास्थ्य खराब हुँदै गयो। जसले गर्दा म चल्नसमेत नसक्ने भएँ। अन्ततः मप्रति पूर्ण समर्पित भएर गरेको प्रयासको बावजूद मेरो परिवारले घरमै मेरो रेखदेख गर्न नसक्ने भए। अतः नर्सिंग होममा गएर बस्नु नै मलाई फाइदाजनक लाग्यो। तर त्यसले गर्दा फेरि एकपल्ट म नयाँ परिवर्तन र तालिकासित भिज्नु पऱ्‍यो। यद्यपि, त्यस्तो अवस्थामा पनि मैले आफूलाई आध्यात्मिक तवरमा अवनति हुन दिइनँ।

मैले बाइबल पढाइ र अनुसन्धान गर्न बन्द गरिनँ। आफूले गर्नसक्ने र नसक्ने कामहरूबारे म सोचिरहन्थें। यहोवाका सम्पूर्ण साक्षीहरूले पाएको आध्यात्मिक आशिष्‌हरूमाथि मनन गर्थें। यहोवादेखि टाढा नहुन म उहाँलाई प्रार्थना गरिरहन्थें र मौका पाउनेबित्तिकै अरूलाई प्रचार गरिहाल्थें।

अहिले म दिउँसो केही घण्टा र राती नर्सिंग होममै बस्छु। दिउँसो र साँझपख चाहिं या त घरमा, नभए हाम्रा मसीही सभाहरूमा हुन्छु। सामाजिक सेवा केन्द्रले मलाई नियमित तवरमा सभाहरू र घरमा ल्याउने-लैजाने गर्छ। मेरो समर्पित परिवार, मण्डलीका भाइहरू र नर्सिंग होमका कर्मचारीहरूले मेरो राम्रो हेरविचार गरिरहेका छन्‌।

यथासक्दो गर्ने

म आफूलाई अशक्‍त सम्झिन्‍नँ। मेरो परिवार र मसीही भाइहरूले पनि मलाई अशक्‍त सम्झेर व्यवहार गर्दैनन्‌। सबैले प्रेमपूर्वक मेरो हेरविचार गरेको हुँदा मैले प्राचीनको हैसियतमा पहिलेजस्तै प्रभावकारी सेवा पुऱ्‍याइरहेको छु। हरेक हप्ता म मण्डली पुस्तक अध्ययनका साथै राज्य भवनमा प्रहरीधरहरा अध्ययन सञ्चालन गर्छु। बाइबल पल्टाउन मलाई कठिन पर्ने हुँदा सभाहरूको दौडान मलाई मदत गर्न कसै न कसैलाई खटाइएको हुन्छ। म ह्विलचेयरमै बसेर सभाहरू सञ्चालन गर्छु र भाषणहरू दिन्छु।

यसरी मैले पहिले आनन्दसाथ गरेका कामहरू अहिले पनि गर्नसक्छु। भाइबहिनीहरूले मसित मदत वा सल्लाह माग्न आउँदा म पहिलेजस्तै गोठालो काम पनि गर्छु। (१ पत्रुस ५:२) म आफै अग्रसर भएर टेलिफोनबाट अरूसित कुरा पनि गर्छु। यसरी कुरा गर्दा आपसी प्रोत्साहन हुँदो रहेछ। (रोमी १:११, १२) हालै मेरो मित्रले मलाई यसो भन्यो: “जुन बेला म निराश हुन्छु त्यही बेला तपाईंले फोन गरेर मेरो मनोबल बढाउनुहुन्छ।” यहोवाले मेरा प्रयत्नहरूलाई आशिष्‌ दिनुभएको देख्दा म आफै पनि प्रोत्साहित हुन्छु।

म सभाअघिपछि मण्डलीका साना केटाकेटीहरूसित पनि राम्ररी घुलमिल गर्छु। म ह्विलचेयरमा बसेको हुँदा केटाकेटीहरू मसित आँखा जुधाएर कुरा गर्छन्‌। म तिनीहरूको निष्कपटता र स्पष्ट बोल्ने बानीको मूल्यांकन गर्छु। एक पटक सानो केटोले मलाई यसो भनेको थियो: “तपाईं अशक्‍त भएपनि साह्रै रमाइलो हुनुहुँदोरहेछ!”

आफूले गर्न नसक्ने कामहरू सोचेर दिक्क मान्‍नुभन्दा बरु म आफूले गर्नसक्ने कामहरूमाथि बढ्‌ता ध्यान दिन्छु। जसले गर्दा मैले अहिलेसम्म आनन्दित हृदयले यहोवाको सेवा गर्न सकिरहेको छु। आफूमाथि बितेका घटनाहरूबाट मैले धेरै कुरा सिकें। हामीले परीक्षाहरूबाट प्रशिक्षण र बल पाउँदा रहेछौं भनेर मैले अनुभव गरें।—१ पत्रुस ५:१०.

हट्टाकट्टा थुप्रै मानिसहरूले स्वर्गमा हुनुहुने हाम्रो पिताको उपासनालाई सधैं गम्भीरतापूर्वक लिनैपर्छ भनेर बुझ्दैनन्‌। हामीले गम्भीरतापूर्वक लिएनौं भने हामीले अध्ययन गर्दा, सभाहरू धाउँदा, क्षेत्र सेवकाई जाँदा केवल रीति पूरा गरिरहेका हुन्छौं। यो संसारको अन्तबाट बचेर परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको पार्थिव प्रमोदवनमा प्रवेश गर्न यी प्रबन्धहरूलाई म अत्यावश्‍यक सम्झन्छु।—भजन ३७:९-११, २९; १ यूहन्‍ना २:१७.

परमेश्‍वरको आउँदै गरेको नयाँ संसारमा जीवन बिताउने आशालाई हामीले आफ्नो हृदयमा सधैं जीवित राख्नुपर्छ। (१ थिस्सलोनिकी ५:८) मैले निरुत्साहित हुने कुनै झुकावसित हार नमानी लड्‌न पनि सिकें। मैले यहोवालाई आफ्नो पिता र उहाँको संगठनलाई आफ्नी आमा मान्‍न सिकें। अनि हामीले प्रयत्न मात्र गर्नुपर्छ, यहोवाले हामीमध्ये जोसुकैलाई आफ्नो प्रभावकारी सेवक बनाउन सक्नुहुन्छ भनेर पनि मैले देखें।

बेलाबेला म “खेदिएको” जस्तो महसुस गर्छु। तैपनि अहिलेसम्म ‘त्यागिएको’ छैन। यहोवा र उहाँको संगठन अनि मेरो परिवार तथा मसीही भाइहरूले मलाई कहिल्यै त्यागेनन्‌। म मूल्यांकन गर्छु, त्यतिबेला मैले बाइबल निकालेर पढेको भएर नै फेरि यति आध्यात्मिक बल पाउनसकें। म यहोवा परमेश्‍वरप्रति कृतज्ञ छु। किनभने हामीले भरोसा गऱ्‍यौं भने उहाँले हामीलाई “असामान्य बल” दिनुहुन्छ।—२ कोरिन्थी ४:७ न्युव.

यहोवामाथिको पूर्ण भरोसा र विश्‍वासका साथ म उत्सुकतापूर्वक भविष्यलाई हेर्छु। यहोवाले चाँडै नै यस पृथ्वीमा प्रमोदवन र त्यसका सम्पूर्ण अद्‌भुत आशिष्‌हरू प्रदान गर्नुभएर आफ्नो प्रतिज्ञा पूरा गर्नुहुनेछ भनेर म ढुक्क छु।—प्रकाश २१:३, ४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने