प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९५ ७/८ पृ. १२-१५
  • श्‍वासको दुर्गन्ध हटाउन तपाईं के गर्न सक्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • श्‍वासको दुर्गन्ध हटाउन तपाईं के गर्न सक्नुहुन्छ?
  • ब्यूँझनुहोस्‌!—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • दुर्गन्धित श्‍वासबारे के पत्ता लागेको छ?
  • “शुभप्रभात! तपाईंको श्‍वास कस्तो छ?”
  • श्‍वासको दुर्गन्धलाई कसरी हटाउने
  • स्वस्थ दाँत, मीठो मुस्कान
    ब्यूँझनुहोस्‌!—२००५
  • डेन्टिस्टकहाँ किन जानुपर्छ?
    ब्यूँझनुहोस्‌!—२००७
  • गिजाको रोग तपाईंलाई पनि छ कि?
    ब्यूँझनुहोस्‌!—२०१४
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—२००६
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९५
g९५ ७/८ पृ. १२-१५

श्‍वासको दुर्गन्ध हटाउन तपाईं के गर्न सक्नुहुन्छ?

भनिन्छ, कुनै न कुनै समयमा वयस्क जनसंख्याको ८० प्रतिशतभन्दा धेरैको अति सामान्य गुनासोहरूमध्ये एक दुर्गन्धित श्‍वास हो। यसले लाज, नैराश्‍य र मानसिक सन्ताप उत्पन्‍न गराउनसक्छ।

चिकित्सा क्षेत्रमा चीरपरिचित शब्द हालिटोसिस्‌ ल्याटिन शब्द ह्‍यालिटस्‌-बाट आएको हो। यसको अर्थ “श्‍वास” हो। यसको प्रत्यय ओसिस्‌-ले असामान्य अवस्थालाई संकेत गर्छ। कतिले यसलाई मुखको दुर्गन्ध पनि भन्छन्‌। तर अधिकांश मानिसहरू यसलाई साधारणतः गन्हाउने सास भन्छन्‌!

तपाईंको श्‍वास गन्हाउँछ? अरू मानिसहरूको श्‍वास गन्हाएको सजिलै थाह पाउन सक्नुभए तापनि आफ्नै श्‍वासको बारेमा जान्‍न भने तपाईंलाई गाह्रो लाग्नसक्छ। यसबारे अ जर्नल फर दि अमेरिकन डेन्टल एशोसिएशन, जाडा-ले हामीलाई आफ्नो दुर्गन्धित श्‍वास सहने बानी परेको हुँदा, “आफ्नो श्‍वास गन्हाउने समस्या अति नै गम्भीर भइसक्दा पनि मानिसहरूले व्यक्‍तिगत तवरमा थाह नपाउन सक्छन्‌” भनी बताउँछ। यसर्थ, कसैले बताइ दिंदा मात्र हामीमध्ये धेरैले आफ्नो श्‍वास गन्हाउँदो रहेछ भनी थाह पाउनसक्छौं। कस्तो लाजमर्दो कुरा!

साँचो कुरा के हो भने, यो समस्या व्यापक छ भन्दैमा त्यसले हामीलाई सान्त्वना दिंदैन। साधारणतः दुर्गन्धित श्‍वासको समस्यालाई अप्रिय र अस्वीकारयोग्य मानिन्छ। कति कारणहरूले गर्दा यसले मानिसहरूमा गम्भीर भावनात्मक चोटसमेत पुऱ्‍याउँछ। इस्राएलको टेल अभिभ विश्‍वविद्यालयका द ल्याबोरेटोरी अफ ओरल माइक्रोबायोलजीका प्रमुख डा. मेल रोजिनबर्ग बयान गर्छन्‌: “श्‍वास साँच्चै दुर्गन्धित भएको होस्‌ या महसुस मात्र गरेको होस्‌, यसले मानिसहरूलाई एक्लै बस्ने, पारपाचुके र आत्महत्या गर्ने हालतसम्म पुऱ्‍याउँछ।”

दुर्गन्धित श्‍वासबारे के पत्ता लागेको छ?

पेशेवर स्वास्थ्य विशेषज्ञहरूले धेरै अघिदेखि दुर्गन्धित श्‍वास खराब स्वास्थ्यको एउटा ठोस लक्षण हो भनी ठहर गरेका छन्‌। त्यसो हुनुको कारण, मानव मुखको दुर्गन्धबारे डाक्टरहरूले पुरातन समयदेखि अध्ययन गरेका छन्‌।

लगभग दुइ सय वर्षअघि फ्रान्सको विख्यात रसायनशास्त्री एन्टवान-लोरेन लावोयजियरले मानव श्‍वासका तत्त्वहरूको अध्ययन गर्न श्‍वास जाँच्ने यन्त्रको आविष्कार गरे। त्यसपश्‍चात्‌, उनैको अनुकरण गरेर वैज्ञानिकहरूले यस विषयमा धेरै उन्‍नति गरेका छन्‌। फलस्वरूप आज क्यानाडा, इस्राएल जापान र नेदरल्यान्डका प्रयोगशालाहरूमा मुखमा भएको दुर्गन्धको चापलाई नाप्न हेलिमिटर प्रयोग गरिन्छ। न्युजिल्यान्डका वैज्ञानिकहरूले प्लाक-वृद्धि स्टेशनहरू विकास गरेका छन्‌। जसलाई कृत्रिम मुखहरू पनि भनिन्छ। यी नक्कली मुखहरूले ऱ्‍याल, प्लाक र ब्याक्टेरियाद्वारा दुर्गन्धित श्‍वाससमेत भएको मानव मुखको नक्कल उतार्छन्‌।a

आधुनिक प्रविधिको सहायताद्वारा वैज्ञानिकहरूले हाम्रो श्‍वासबारे धेरै कुरा जानेका छन्‌। उदाहरणको निम्ति, साइन्टिफिक अमेरिकन-अनुसार, “मानवको सामान्य श्‍वासमा लगभग ४०० प्रकारका क्षणभंगुर जैविक पदार्थहरू हुन्छन्‌ भनी अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्‌।” यद्यपि, यी जम्मै जैविक पदार्थहरू दूषित गन्धका कारक तत्त्वहरू होइनन्‌। मुख्यतः हाइड्रोजन सल्फाइड र मिथाइल मर्केप्टनले श्‍वासलाई दुर्गन्धित बनाउँछ। भनिन्छ, अंग्रेजीमा स्कंक भनिने पशुहरूबाट निस्कने गन्धजस्तै यी ग्याँसहरूले हाम्रो श्‍वासलाई दुर्गन्धित बनाँउछ।

मानव मुखमा ३०० भन्दा धेरै किसिमका ब्याक्टेरियाहरू पाउन सकिन्छ। टफ्ट्‌स युनिभर्सिटी डाइट एण्ड न्युट्रिशन लेटर बताउँछः “अँध्यारो, तातो र भिजेको मुख दुर्गन्ध उत्पन्‍न गराउने ब्याक्टेरिया हुर्कनको निम्ति योग्य ठाउँ हो।” तर मुख्यतः चार प्रकारका ब्याक्टेरियाहरूले मात्र श्‍वासलाई दुर्गन्धित पार्छन्‌। तपाईंको मुखैभित्र भए तापनि तिनीहरूको नाम तपाईंलाई पक्कै पनि थाह छैन होला। तिनीहरूका नाम यसप्रकार छन्‌: विलोनिला अल्केलिस्सीन्स, फुसोब्याक्टेरियम न्युक्लिएटम, ब्याक्टेरोइडस, मेलानिनोजेनिकस र क्लेबसिल्ला न्युमोनिया। तिनीहरूले मुखमा भएका खानेकुराहरूको अंश, मरेका कोशिकाहरू र अरू पदार्थ खान्छन्‌। यी ब्याक्टेरियाहरूको प्रक्रियाले गर्दा दुर्गन्धित ग्यसहरू मुखबाट उत्पन्‍न हुन्छ। फोहर कुहुँदा जस्तो हुन्छ, त्यस्तै यो श्‍वास दुर्गन्धित हुने प्रक्रिया पनि हुन्छ। त्यसैले यो तथ्यसित ठीक मिल्नेगरि दाँतसम्बन्धी पत्रिका जे पिरीयोडोन्टल बयान गर्छ: “श्‍वास दुर्गन्धित हुनुको मुख्य कारण मुखभित्र जैविक पदार्थहरू सड्‌नु हो।” मुखको यस अवस्थालाई ध्यान नदिएमा दाँत कुहुन र गिजाको रोग लाग्नसक्छ।

“शुभप्रभात! तपाईंको श्‍वास कस्तो छ?”

यी जीवहरूको कुहुने प्रक्रिया राती सुतेको बेलामा बढी हुन्छ। त्यसो किन भएको? किनभने दिनमा चाहिं प्रशस्त अक्सिजन र हल्का अम्लयुक्‍त ऱ्‍यालले ब्याक्टेरियाहरूलाई पखालेर मुखलाई निरन्तर सफा गर्छ। तथापि, सुतेको समयमा भने प्रतिघण्टा ऱ्‍याल निक्लनुपर्ने सामान्य दरभन्दा लगभग १/५० गुणा कम हुन्छ। एउटा पत्रिकाले बताएअनुसार सुखा मुखमा “१६ खर्बभन्दा ज्यादा ब्याक्टेरियाहरू हुन्छन्‌ जसले “बिहानको श्‍वास” नाउँले जानिने दुर्गन्धित श्‍वास उत्पन्‍न गर्छ।”

तपाईं ब्यूँझनुभएको बेलामा पनि मानसिक तनाउले गर्दा ऱ्‍याल स्रावित कम हुनसक्छ। उदाहरणको निम्ति, भाषण दिने वक्‍ता हडबडाउँदा मुख सुक्नसक्छ। फलस्वरूप, उनको मुख गन्हाउन थाल्छ। सुष्क मुख कतिपय रोगहरूको लक्षण पनि हो।

तर ब्याक्टेरियाहरूको कारणले मात्र मुख सदैव दुर्गन्धित हुँदैन। वास्तवमा, मुखको दुर्गन्ध प्रायः विभिन्‍न प्रकारको शारीरिक कमजोरी र रोगहरूको लक्षण हो। (पृष्ठ १३ को पेटी हेर्नुहोस्‌।) त्यसैले, मुख अचाक्ली गन्हाउन थालेमा उपचार गर्नु उचित हो।

दुर्गन्धित श्‍वास पेटबाट पनि उत्पन्‍न हुनसक्छ। धेरै मानिसहरूले यो कुरामा विश्‍वास गरे तापनि यो कहिलेकाहीं मात्र हुने गर्छ। प्रायजसो, फोक्सोबाट नमीठो गन्ध तपाईंको मुखमा आउँछ। कसरी? लसुन वा प्याजजस्ता खाद्य पदार्थहरू पचिसकेपछि यी रगतद्वारा फोक्सोमा पुग्छन्‌। तब यिनीहरूबाट निक्लेको गन्ध श्‍वास नली भएर नाक र मुखबाट बाहिर निस्कन्छ। यस सन्दर्भमा हेल्थ, पत्रिकाले यसरी बताउँछ: “लसुनको पोटीहरूलाई आफ्नो पैतालामा दल्दा वा नचपाई निल्दा मात्र पनि मानिसको श्‍वासमा लसुनको गन्ध आएको अध्ययनद्वारा थाह लागेको छ।”

लसुन र प्याजले जस्तै मदिराको सेवनले पनि रगत र फोक्सोमा मदिराको गन्ध उत्पन्‍न गराउँछ। जब यस्तो हुन्छ तब यसबाट मुक्‍त हुनको निम्ति प्रतीक्षा गर्नुसिवाय तपाईंसित कुनै उपाय हुँदैन। कुनै कुनै खाद्य पदार्थको गन्ध तपाईंको शरीरमा ७२ घण्टासम्म रहिरहन्छ।

श्‍वासको दुर्गन्धलाई कसरी हटाउने

मिस्रीजस्तो श्‍वासलाई स्वच्छ पार्ने वस्तु चपाएर मात्रै श्‍वासको दुर्गन्धलाई हटाउन सकिंदैन। ध्यान दिनुहोस्‌, मुखमा भएका ब्याक्टेरियाहरूद्वारा प्रायः श्‍वास दुर्गन्धित हुन्छ। सानोभन्दा सानो खाद्य पदार्थको अंश नै करोडौं ब्याक्टेरियाहरूका यथेष्ट खाद्य भण्डार हुन्छन्‌ भन्‍ने कुरा सम्झनु पनि जरुरी छ। तसर्थ, ब्याक्टेरियाको संख्यालाई घटाएर श्‍वासको दुर्गन्ध हटाउने एउटा मुख्य तरिका तपाईंको मुखलाई सफा राख्नु हो। यसो गर्न तपाईंले आफ्नो दाँतमा अड्‌केका खाद्य पदार्थको अंशहरू र प्लाकलाई नियमित रूपले हटाउनुपर्छ। कसरी? यसको निम्ति खाना खाएपछि र सुत्नअघि दाँत माझ्नु आवश्‍यक छ। तर दाँत माझ्नु यस सफाइ प्रणालीको पहिलो कदम मात्र हो।

दाँतका कुनै कुनै सतहहरू बुरुसद्वारा सफा गर्न सकिंदैन। त्यसैले, ती भागहरूलाई फ्लसद्वारा दिनमा एकपल्ट सफा गर्नु जरुरी छ। जिब्रोमा पनि हल्कासित बुरुस लाउनू भनेर विशेषज्ञहरू सल्लाह दिन्छन्‌। किनभने जिब्रो ब्याक्टेरियाहरूका निम्ति लुक्न र हुर्कनयोग्य ठाउँ हो। साथै दन्त विशेषज्ञलाई समय समयमा दाँत जँचाउनु र यसमा लागेका पहेंलो दागलाई हटाउनु पनि आवश्‍यक छ। माथि दिइएका कदमहरूमध्ये एकलाई मात्र नअपनाउँदा पनि श्‍वास गन्हाउनुको साथै दाँत र गिजासम्बन्धी रोगहरू लाग्नसक्छन्‌।

उपरोक्‍त तरिकाहरूबाहेक केही अस्थायी तरिकाहरूद्वारा पनि श्‍वासलाई स्वच्छ राख्न सकिन्छ। जस्तै, पानी पिउनु, चिनीबिनाको चुइङ्‌गम चपाउनु आदि। यसो गर्नाले ऱ्‍याल अधिक स्रावित हन्छ। अतः जुन कुरा गर्दा ऱ्‍याल स्रावित हुन्छ त्यही गर्नुहोस्‌। याद गर्नुपर्ने कुरा के हो भने, ऱ्‍यालले स्वाभाविक तवरमा मुख सफा गर्दछ। ऱ्‍याल स्रावित हुँदा मुखभित्र ब्याक्टेरियाहरू बस्न सक्दैनन्‌ र यसले ब्याक्टेरियाहरूलाई बगाएर मुखलाई स्वच्छ पार्दछ।

श्‍वासको दुर्गन्धलाई हटाउनमा व्यावसायिक कुल्ला गर्ने पदार्थहरूले सहायता गर्न सके तापनि तिनीहरूमा पूर्ण भर पर्नु हुँदैन भनी हालैका अध्ययनद्वारा पत्ता लागेको छ। वास्तवमा, अलकोहलयुक्‍त कुल्ला गर्नेले घरिघरि कुल्ला गर्दा मुख सुखा हुनसक्छ। कुल्ला गर्ने सबैभन्दा प्रभावकारी पदार्थहरू प्रयोग गर्नाले पनि २८ प्रतिशत प्लाकलाई मात्र हटाउन सकिन्छ। तसर्थ, तपाईंलाई सबैभन्दा मनपर्ने कुल्ला गर्ने पदार्थद्वारा जति नै राम्ररी मुख सफा गरे तापनि तपाईंको मुखमा अझै ७० प्रतिशतभन्दा बढी ब्याक्टेरियाहरू बाँकी नै रहेका हुनसक्छन्‌। कन्ज्युमर रिपोर्ट्‌स पत्रिकाअनुसार, अनुसन्धानको क्रममा ती पदार्थहरूद्वारा “कुल्ला गरिसकेपछि १० मिनेटदेखि एक घण्टाभित्र श्‍वासको दुर्गन्ध जस्ताको त्यस्तै भएको पाइयो।” धेरै देशहरूमा चिकित्सकहरूको सिफारिसमा प्राप्त हुने शक्‍तिशाली कुल्ला गर्ने औषधीहरूले समेत दाँतमा भएको ५५ प्रतिशत प्लाकलाई मात्र कम गर्नसक्छ। यसो गरे पनि केही घण्टापछि ब्याक्टेरियाहरू वृद्धि भएर पहिले जति थिए त्यति नै हुन आइपुग्छन्‌।

स्पष्टतया, श्‍वासको दुर्गन्ध हटाउन सतही ध्यान दिएर मात्र पुग्दैन। बरु, हरदम मरम्मत गर्नुपर्ने बहुमूल्य हतियारहरूजस्तै तपाईंले पनि आफ्नो दाँतहरूको हेरचाह गर्नुपर्छ। जिम्मेवार सिकर्मी र यन्त्रविद्‌ले आफ्नो काम सकेपछि उचित सम्भार र सर-सफाइ पद्दतिद्वारा आफ्ना औजारहरूलाई खिया र नोक्सानीबाट जोगाउँछ। तपाईंका दाँतहरू कुनै पनि मानवनिर्मित औजारहरूभन्दा धेरै नै मूल्यवान्‌ छन्‌। यसैले तिनीहरूलाई गरिनुपर्ने हेरविचार र मर्मत गर्नुहोस्‌। यसो गर्नुभयो भने, श्‍वासको दुर्गन्धलाई कम गर्नुको साथै यसबाट भएको नैराश्‍य र लाजलाई पनि हटाउन सक्नुहुन्छ। अझ महत्त्वपूर्ण कुरा त, तपाईंको मुख स्वच्छ र स्वस्थ हुनेछ।

[फुटनोटहरू]

a प्लाक दाँतको सतहमा जम्मा हुने च्याप-च्याप परेको पदार्थ हो। यसमा प्रायजसो, ब्याक्टेरियाहरू हुन्छन्‌ जसले तपाईंको दाँत र गिजाहरूलाई हानि पुऱ्‍याउनसक्छन्‌।

[पृष्ठ १३-मा भएको पेटी]

के कारणहरूले गर्दा श्‍वास गन्हाँउछ?

थुप्रै अवस्था, रोग तथा बानीहरूमध्ये श्‍वास दुर्गन्धित हुने कारणहरू निम्नानुसार छन्‌:

अण्डोत्सर्ग

कलेजोले काम नगर्दा

केही प्रकारका औषधोपचारहरू

केही प्रकारका क्यान्सरहरू

क्षयरोग

गिजाको रोग

छिद्रहरूमा पीप जम्मा हुँदा

डकार्दा

दाँत कुहुनु

दाँतको शल्य-चिकित्साद्वारा भएका घाउहरू

दीर्घकालीन ग्यास्ट्रीक

धूम्रपान

पिनास

पेटको हर्निया

ब्रोन्काइटीस

मद्य पदार्थहरूको सेवन

मधुमेह

मुख कुल्ला नगर्ने

मुखको शुष्कता

मुखमा घाउ हुँदा

मृगौलाले काम नगर्दा

रजश्‍वला

[पृष्ठ १५-मा भएको पेटी]

तपाईंको जिब्रोलाई ध्यान दिनु आवश्‍यक छ

ऐनामा आफ्नो जिब्रोलाई राम्रोसित हेर्नुहोस्‌। के यसलाई असंख्य मसिना छिद्रहरूद्वारा ढाकिएको देख्नुहुन्छ? यी छिद्रहरू हुनु स्वाभाविकै हो। तर तपाईंको जिब्रोको माथिल्लो भागमा भएका ती छिद्रहरू करोडौं ब्याक्टेरियाहरूका निम्ति बासस्थान हुनसक्छन्‌। यदि यी ब्याक्टेरियाहरू त्यतिकै छाडिए भने, यिनीहरूले दुर्गन्धित श्‍वासको समस्याका साथै अन्य अस्वस्थकर अवस्थाहरू पनि खडा गर्नसक्छ। तथापि, मुख सफा गर्ने विधि अपनाउँदा प्रायः मानिसहरूले जिब्रोलाई वास्ता गर्दैनन्‌।

जिब्रोको माथिल्लो सतहलाई दाँत माझ्ने नरम बुरुसद्वारा नियमित रूपले सफा गर्न दन्त चिकित्सकहरू सल्लाह दिन्छन्‌। किनभने यो पनि मुखको नमीठो गन्धलाई हटाउने एक प्रकारको उपचार नै हो। केही विशेषज्ञहरू जिब्री प्रयोग गर्नू भनेर सुझाव दिन्छन्‌। श्‍वासको दुर्गन्ध हटाउन भारतीयहरूले पुस्तौंदेखि जिब्री प्रयोग गर्दै आएका छन्‌। बर्षौंअघि ती जिब्रीहरू धातुद्वारा बनाइएका हुन्थे। तर वर्तमान समयमा प्लास्टिकका जिब्रीहरू नै बढी मात्रामा चलाइन्छन्‌। केही ठाउँहरूमा यी जिब्रीहरू चलाउने सन्दर्भमा तपाईंलाई दन्त चिकित्सकको परामर्श लिनु आवश्‍यक पर्नसक्छ।

[पृष्ठ १४-मा भएको चित्र]

मुखलाई स्वस्थ राख्ने असल विधिहरूमा फ्लस गर्नुको साथै दाँत र जिब्रोमा बुरुस लाउनु सम्मिलित छन्‌

[पृष्ठ १२-मा भएको चित्रको स्रोत]

Life

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने