प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९५ १०/८ पृ. २१-२३
  • तपाईंका आवश्‍यकताहरू पूरा गर्नको लागि मानचित्रहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंका आवश्‍यकताहरू पूरा गर्नको लागि मानचित्रहरू
  • ब्यूँझनुहोस्‌!—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मानचित्रहरू—कहिलेदेखि प्रयोग गर्न थालिए र किन?
  • मानचित्र कसरी हेर्ने
  • स्केल, उचाइ र स्थान
  • कम्प्युटरको युगमा मानचित्रहरू
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—२०००
  • “देशको चारैतिर जा”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • क७-क पृथ्वीमा येसुको जीवनका मुख्य घटनाहरू​—⁠येसुले सेवाको काम थाल्नुअघिका घटनाहरू
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • परमेश्‍वरको वचन पढेर प्रसन्‍न हुनुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९५
g९५ १०/८ पृ. २१-२३

तपाईंका आवश्‍यकताहरू पूरा गर्नको लागि मानचित्रहरू

बेलाइतका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

अपरिचित मुलुक वा शहरमा बाटो पत्ता लगाउनु एउटा चुनौती हो। सर्वप्रथम, आफू कहाँ छ, त्यो थाह हुनुपऱ्‍यो। अनि त्यहाँको सेरोफेरोसित परिचित हुनपऱ्‍यो। त्यसपछि, सर्वोत्तम मार्ग छान्‍नुपऱ्‍यो। तपाईंले त्यो कसरी पत्ता लगाउन सक्नुहुन्छ? तपाईंलाई चाहिने त मानचित्र पो हो!

मानचित्रहरू—कहिलेदेखि प्रयोग गर्न थालिए र किन?

मानचित्र बनाउने कलाको लामो तथा विविध इतिहास छ। केही विशेषज्ञहरूअनुसार मानचित्र बनाउने कला ४,३०० वर्षअघि बेबिलोनीयामा माटोका पाटीहरूमा कुँदिन थालेदेखि सुरु भएको हुनुपर्छ। तर प्रारम्भिक युनानीहरूलाई नै आधुनिक मानचित्र निर्माताहरूको अग्रगामी मानिन्छ। दोस्रो शताब्दी सा.यु.-का क्लडियस टोलेमीले पुरातन संसारको मानचित्र कोरेपछि मानचित्र बनाउने कला मध्य युगतिर निम्न स्तरको हुन थाल्यो। अन्वेषण नगरिएका क्षेत्रहरू राक्षस तथा जनावरहरूको बासस्थानजस्तो देखियो। मानचित्रहरू बनाउने काममा धर्मले यति धेरै प्रभाव पाऱ्‍यो कि धेरैजसो मानचित्रहरूमा सारा संसारमाथि अदनको बगैंचाले प्रभुता जमाएको जस्तो चित्र देखाइन्थ्यो। त्यतिबेलाको संसार चित्रण गरिएका मानचित्रहरूमा यरूशलेम र मध्य पूर्व मानचित्रको सबैभन्दा माथितिर देखिन थाल्यो।

बेलाइतका प्रारम्भिक मानचित्रहरूमा पनि पादरीवर्गको प्रभाव झल्किन्थ्यो। त्यस्तै प्रकारको एउटा मानचित्रमा बेलाइतका धार्मिक स्थलहरूमा पुग्ने तीर्थयात्रीहरूको मार्ग देखाइयो। यस मानचित्रमा “तीर्थयात्रीको प्रमुख उत्तरी मार्गको” विवरण खुलस्त पार्न उत्तरी शहर डुर्हामदेखि समुद्री तटवर्ती दक्षिणी बन्दरगाह, डोभरसम्मको मार्ग देखाइयो।

मानचित्र बनाउने आधुनिक कलाको सुरुआतकर्ता जेराडस मर्काटर (१५१२-९४) थिए। तिनले बनाएका सही तथ्यांकसहितका मानचित्रहरू नाविकहरूबीच असाध्यै प्रख्यात भयो। अनि मर्काटरको तरिका अपनाएर बनाइएका मानचित्रहरू आधुनिक विश्‍व मानचित्रावलीमा अझै छन्‌।

जमिनदारहरूका लागि मानचित्रहरू निकै मदतकारी साबित भयो। स्पष्टसित कोरिएका सीमा रेखाहरूसित दाँजेर हेरेपछि कानुनी विवादहरू सजिलै सुल्झाउन सकिन्थ्यो। कर निर्धारण गर्नको लागि जग्गाहरूको सही मूल्यांकन हुनुपर्ने भएकोले सरकारले मानचित्रप्रति चासो देखाउन थाले।

आजकल मानचित्रहरूले दिनानुदिनको आवश्‍यकता पूर्ति गर्छ। विश्‍व मानचित्रावलीले स्कूलका छात्रछात्राहरूलाई भूगोलका आधारभूत कुराहरू बुझ्न मदत दिन्छ। चार्टहरूले मौसमवेत्ताहरूलाई सजीव मौसमी विवरण दिन मदत दिन्छ। मानचित्रको मदतले हामी सार्वजनिक यातायात सुविधाको सर्वोत्तम उपयोग गर्न सक्छौं। अनि सम्पूर्ण परिवार कतै घुमफिर गर्न जाँदा सबैभन्दा मनोरम मार्ग छान्‍न मानचित्रले मदत दिनसक्छ।

विशेषज्ञहरूका आवश्‍यकताहरूलाई पनि ध्यानमा राखेर मानचित्र बनाइन्छ। नगर योजनाहरूका लागि जनघनत्व देखाउने मानचित्रहरू पनि हुन्छन्‌। समुद्री पींधका मानचित्रहरूले क्षतिग्रस्त जहाजहरू वा खनिज स्रोतहरू खोज्ने मानिसहरूलाई मदत दिन्छ। पुरातात्त्विक मानचित्रहरू पुरातात्त्विक जानकारी खोजतलास गर्ने सहायक हुन्‌। भनौं भने, अन्तरिक्ष अन्वेषकहरूका लागि चन्द्रमा र अन्य ग्रहहरूको मानचित्रसमेत उपलब्ध छ! मानचित्रहरूसम्बन्धी प्रशस्त जानकारी उपलब्ध भएकोले मानचित्र हेर्न सिक्नु र त्यो दक्षतालाई विकास गर्नु निकै लाभदायक हुन्छ।

मानचित्र कसरी हेर्ने

मानचित्रको सर्वोत्तम प्रयोग गर्न जान्‍नु भनेको एउटा नयाँ भाषा सिक्नुजस्तै हो। तपाईंले नयाँ भाषा सिक्नु हुँदा नयाँ शब्दावली र भिन्दै प्रकारको व्याकरण सिक्नुपर्छ। मानचित्रको भाषामा संकेतहरूलाई शब्दहरू र मापक्रम सीमा रेखा तथा अन्य संकेतहरूलाई व्याकरणसित दाँज्न सकिन्छ। धेरैजसो मानचित्रहरूमा एउटा पेटी दिइएको हुन्छ। त्यस पेटीमा प्रयोग गरिएका संकेतहरूको अर्थ पनि खुलाइएको हुन्छ। यसले संकेतहरूको परिभाषा दिएर शब्दकोशजस्तै काम गर्छ।

अर्थ राम्ररी खुलाउनको लागि संकेतहरू होशियारीपूर्वक छानिन्छन्‌। उदाहरणको लागि, बिजुली घर पत्ता लगाउनको लागि त्योजस्तै देखिने संकेत खोज्नुहोस्‌। चर्च तथा मस्जिदहरूलाई क्रस वा चन्द्रमाको आकृति भएको कालो वर्ग वा वृत्तले संकेत गर्नसक्छ।

त्यस्ता संकेतहरूको अर्थसित तपाईं कसरी परिचित हुन सक्नुहुन्छ? फलो द म्याप पुस्तकका लेखक, जोन विल्सनले “‘मानचित्रलाई सरसरती हेर्ने’ रमाइलो बानी बसाल्ने” सुझाव दिन्छन्‌। तिनी अझै यसो भन्छन्‌: “मानचित्रलाई सरसरती हेर्नुहोस्‌ र तपाईंले देखेजति संकेतहरूको अर्थ लगाउन खोज्नुहोस्‌।”

के तपाईंलाई आफ्नो इलाका त्यो मानचित्रमा देखाइएको भन्दा निकै भिन्‍न लाग्छ? त्यसो किन हुन्छ? वास्तवमा, हामीले साधारणतया आफ्नो सेरोफेरोलाई हाम्रो उचाइ अर्थात्‌ जमीनभन्दा १.५ देखि १.८ मिटर माथिबाट हेरिरहेका हुन्छौं। तर मानचित्रहरूले त्यो इलाकालाई त्यस विन्दुको ठाडै माथिबाट देखाइरहेको हुन्छ। यसलाई बुझ्न मानचित्रको व्याकरण बुझ्नु अत्यावश्‍यक छ।

स्केल, उचाइ र स्थान

मानचित्र निर्माताको चुनौती समुद्री सतहमाथिको उचाइ तथा जमीनमा मानव निर्मित वस्तुहरूको रिकर्ड गर्नु हो। यी सबै जानकारीहरू ठिक्कको ताऊमा छाप्नुपर्छ। यसो गर्न मानचित्रहरूको अनुपातिक विभाजन गरिएको हुन्छ। एक प्रख्यात बेलाइती मानचित्रको श्रृंखलामा त्यस देशलाई १:५०,००० को अनुपातमा देखाइएको छ। त्यसको अर्थ, मानचित्रको एक सेन्टिमिटरले पृथ्वीको सतहको ५०,००० सेन्टिमिटरलाई देखाउँछ।

तर, कागतको मानचित्रले कसरी उचाइको विविधता देखाउन सक्छ? एउटा तरिका पहाडी इलाकालाई छड्‌के धर्साहरू कोरेर सजीव देखाउनु हो। मानचित्रको माथिल्लो बायाँ कुनाबाट घाम उदाएको देखाइन्छ। पूर्व र दक्षिणपूर्वतर्फ फर्केका भीरहरूलाई गाढा रंगहरूले संकेत गरिन्छ। आधुनिक मानचित्रहरूमा औसतन समुद्री सतहमाथिका समान उचाइलाई जोड्‌ने सीमा रेखाहरू प्रायजसो देखाइएका हुन्छन्‌। यी चिन्हहरूलाई हलका रंगहरूले देखाउँदा मानचित्रका अन्य पक्षहरूबाट ध्यान विकर्षण हुँदैन।

तपाईंको स्थान स्पष्टसित देखाउने मदतको लागि धेरैजसो मानचित्रहरूले परस्पर काट्‌ने रेखा प्रणाली अपनाएको हुन्छ। ग्रिडले गर्दा कुनै एउटा स्थानलाई अंग्रेजी वर्णमालाको एउटा अक्षर र संख्यात्मक क्रमानुसार अंक परस्पर काट्‌ने ठाउँको रूपमा देखाइएको हुन्छ। उदाहरणको लागि, एउटा शहर जी-१३ मा अवस्थित हुनसक्छ। त्यसको अर्थ जी ठाडो रेखामा र १३ समतल रेखामा पर्छ। जहाँ यी दुइ विन्दुहरू भेट्‌छन्‌ त्यहीं नै यो शहर अवस्थित हुन्छ। तथापि, मानचित्रले सही चित्र प्रस्तुत गर्नेछ भनेर तपाईं कसरी ढुक्क हुन सक्नुहुन्छ?

कम्प्युटरको युगमा मानचित्रहरू

सैन्य आवश्‍यकताहरूले गर्दा धेरैजसो देशहरू शत प्रतिशत सही मानचित्र प्रकाशन गर्न बाध्य भएका छन्‌। गत ४० वर्षमा आकाशबाट लिइएका त्रैआयामिक चित्रहरू प्रयोग गरेर शत प्रतिशत सही मानचित्रहरू बनाउन सफल भएका छन्‌। धेरै राष्ट्रहरूले यही प्रविधि अपनाउँछन्‌।

केही गाडीहरूमा कम्प्युटर प्रविधिद्वारा गतिशील मानचित्रहरू जडान गरिएको हुन्छ। साथै घरायसी कम्प्युटरहरूका लागि यात्रासम्बन्धी विस्तृत जानकारी भएका मानचित्रहरू उपलब्ध भइसकेका छन्‌। दी अब्जर्भर-को शीर्ष समाचारमा यसो भनिएको थियो: “स्टेरिंग ह्वीलको ठाउँ माइक्रो चिप्सले लियो।” मानचित्रसम्बन्धी जानकारी भएको कम्प्युटर डिस्कलाई बोली सिन्थेसाइजरसित जडान गरिएको एउटा परीक्षणबारे उक्‍त लेखले पुष्टि गऱ्‍यो। चालकले आफ्नो लक्ष्य संकेत गर्न कम्प्युटरमा केही अक्षरहरू प्रविष्ट गरे पुग्छ। अलमलाउने चौबाटोहरूबारे चिन्ता लिनै पर्दैन! किन? किनभने हरेक चौबाटो नजीकै पुग्दा कुन दिशातर्फ जाने भनेर एउटा आवाज आइहाल्छ। कम्पास र स्टेरिंग ह्वीलको सेन्सरले गाडीको मार्गलाई सही दिशामा राख्छ। हालैका प्रगतिहरू अझ बढी भरपर्दो र सरल छन्‌।

के यसको अर्थ भविष्यमा मानचित्रहरू प्रयोग हुनेछैनन्‌? के कागतका मानचित्रहरू केवल संकलकका मूल्यवान्‌ चीजहरू मात्र हुनेछन्‌? समयले बताउनेछ। तर जेसुकै होस्‌ यात्रा गर्दा हाम्रा आवश्‍यकताहरू पूरा गर्ने विविध पक्षमा मानचित्र चाहिं सहायक साबित हुनेछ।

[पृष्ठ २२-मा भएको नक्सा/चित्र]

धेरैजसो मानचित्रहरूमा प्रयोग गरिएका संकेतहरूको अर्थ खुलाइएको हुन्छ

उचाइको भिन्‍नतालाई प्रायजसो हलका सीमा रेखाहरूले देखाउँछ

ग्रिड प्रणालीले गर्दा मानचित्रमा कुनै पनि स्थान पत्ता लगाउन सकिन्छ

समष्टिगत तवरमा मानचित्रको स्केलले एक इन्च वा एक सेन्टिमिटर बराबर पृथ्वीको सतहको भागलाई देखाउँछ (यहाँ देखाइएको छैन)

किलोमिटरको स्केलले ठाउँहरू बीचको दूरी नाप्न मदत गर्छ

[चित्रको स्रोत]

Crown Copyright Reserved

[पृष्ठ २२-मा भएको चित्रको स्रोत]

From the book Die Heiligkeit der Gesellschaft Jesu

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने