पाठकहरूको प्रतिक्रिया
पट्टाइ मैले भर्खरै मात्र “के तपाईंको जीवन पट्टाइलाग्दो छ? तपाईं त्यसलाई परिवर्तन गर्न सक्नुहुन्छ!” (जनवरी २२, १९९५) नामक लेखका श्रृंखलाहरू पढ्न सिध्याएँ। अनि त्यसले मलाई कति धेरै मदत गऱ्यो भनेर साध्यै छैन। मलाई पट्टाइ लागेको जस्तो कहिल्यै महसुस गरेको थिइनँ। तर एकोहोरो तालिकाले गर्दा म असाध्यै असन्तुष्ट थिएँ। त्यो लेखले मलाई एउटा नयाँ दृष्टिकोण राख्न मदत दियो।
एस.भी., संयुक्त राज्य
नाजीवादको विरोध गर्ने “हामीले हिटलरको युद्धलाई समर्थन गरेनौं” नामक लेखले मेरो हृदय छोयो। (अक्टोबर २२, १९९४) यसमा अस्ट्रियाका छ जना पादरीहरूले नाजीवादको समर्थनमा “गम्भीर घोषणा” गरिरहेको चित्र थियो। तीमध्ये एकले मलाई सन् १९२८ मा म जेशुइट विद्यार्थी छँदा मलाई चर्चको सदस्यको रूपमा औपचारिक तवरमा अनुमोदन गरेका थिए। आफू स्वयं मसीही विश्वासमा दह्रो रहन नसक्नेले त्यस्तो “अनुमोदन” गरेको सम्झँदा मलाई हाँस उठ्छ! त्यस युद्धले गर्दा मैले क्याथोलिक चर्चसित आफ्नो सम्बन्ध तोडें। मैले आफ्नो मातृभूमि पनि छोडें। मैले आफ्नै तरिकाले युद्धको विरोध गर्न खोजे तापनि मसित वोल्फहार्ट परिवारको जस्तो साहस थिएन। बन्दुक बोक्न इन्कार गर्ने यहोवाका दुइ जना साक्षीहरूलाई म बिर्सन सक्दिनँ। तिनीहरूलाई तुरुन्तै मारियो। म त्यस्ता मानिसहरूको तारिफ गर्छु।
पी.के. चिलि
बच्चाहरूसित सुत्ने हामीले जुलाई २२, १९९४ को अंकमा डा. जेम्स् माकेन्नाको अनुसन्धानबाट लिइएको सानो अंश पढ्यौं। (“विश्वदर्शन”) [आमा आफ्नो बच्चासित सुत्दा] भने सिड्स (बच्चाको आकस्मिक मृत्यु) कम हुनसक्ने सुझाव उक्त लेखमा दिइएको थियो। तर कोक्रोमा बच्चाको मृत्युबारे न्यु जील्याण्डमा गरिएको अध्ययनले देखाएअनुसार आमाबाबु र बच्चा पलंगमा सँगै सुत्दा बच्चाको आकस्मिक मृत्यु हुने सम्भावना निकै बढी हुन्छ।
डा. एस. एल. टी., न्यु जील्याण्ड
जानकारीको लागि धन्यवाद। हालै डा. माकेन्नाले यस विषयमा स्पष्टिकरण दिनुभयो र आमा तथा बच्चासँगै सुत्दा दुर्घटनावश बच्चा निसासिन सक्ने कुरा उहाँले मानी लिनुभयो। (१ राजा ३:१९ तुलना गर्नुहोस्।) तसर्थ, धेरैजसो डाक्टरहरूले आमालाई बच्चासित सँगै सुत्ने प्रोत्साहन दिंदैनन् र बाक्लो तकिया तथा सिरक नभएको कोक्रोमा सुताउने सुझाव दिन्छन्।—सं.
माहुरी विरुद्ध कम्प्युटर “माहुरीको विरुद्धमा कम्प्युटर” नामक लेखको लागि म धन्यवाद नदिई बस्नै सक्दिनँ। (फेब्रुअरी ८, १९९५) यस लेखले मेरो हृदयमा अमेट छाप पाऱ्यो। हाम्रो महान् सृष्टिकर्ताले माहुरीजस्तो सानो प्राणीलाई समेत अद्भुत तथा अनुपम बनाउनुभयो।
के.के., जर्मनी
अटिजम [मानसिक असन्तुलनले गर्दा हुने एकोहोरो क्रियाकलाप] “अटिजम—त्यसको चुनौती सामना गर्ने” नामक लेखको लागि धेरै धेरै धन्यवाद। (फेब्रुअरी ८, १९९५) हाम्रो मण्डलीमा एक जना केटोलाई अटिजम भएको छ र मलाई ऊ असाध्यै मन पर्छ। यस लेखले मलाई अटिजमबारे बुझ्न मदत दियो। ऊ र उनको आमासित समय बिताएर मात्र पनि सहयोग पुऱ्याउन सक्छु जस्तो अहिले मलाई लाग्छ।
ए.एफ., जापान
हाम्री छोरीलाई अटिजम भएको होइन तर उसित त्यस्तै प्रकारका गुनहरू छन्। धेरै बच्चाहरूसित हुने त्यो समस्याबारे मानिसहरूलाई अवगत गराउनु भएकोमा हामी खुशी छौं। त्यस्ता केटाकेटीहरूप्रति अरू मानवहरूलाई जस्तै व्यवहार गरेको देख्न पाउनु साह्रै प्रोत्साहनजनक कुरा हो। ‘तिमीलाई देखेर साह्रै दुःख लाग्यो’ वा ‘तिमीले गरेजति त म कहिल्यै गर्न सक्दिनँ’ जस्ता टिप्पणीहरू उत्थानदायी हुँदैनन्। हाम्री छोरी खुशी छे र कहिलेकाहीं हाम्रा अरू छोराछोरीहरूले उनले भन्दा बढी दुःख दिन्छन्। उनी जन्मिएकोमा हामी अफशोच गर्दैनौं।
एल. एच., संयुक्त राज्य