प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९६ ४/८ पृ. १२-१६
  • गोमन के तपाईं भेट्‌न चाहनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • गोमन के तपाईं भेट्‌न चाहनुहुन्छ?
  • ब्यूँझनुहोस्‌!—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सर्पको डसाइ
  • सपेरो
  • सर्पसंरक्षण केन्द्रले शिक्षा दिन्छ
  • सर्पहरूबारे मानिसहरूको भ्रम
    ब्यूँझनुहोस्‌!—१९९८
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९७
  • सर्पको छाला
    ब्यूँझनुहोस्‌!—२०१४
ब्यूँझनुहोस्‌!—१९९६
g९६ ४/८ पृ. १२-१६

गोमन के तपाईं भेट्‌न चाहनुहुन्छ?

भारतका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

के तपाईं चाहनुहुन्छ? अधिकांश वयस्कहरूले चाहन्‍नँ भन्लान्‌। तर बच्चाले त्यसो नभन्‍न पनि सक्छ। गोमनलगायत अन्य सर्पहरूसित डराउनुपर्ने सहजज्ञान स-साना बच्चाहरू वा जनावरहरूमा हुँदैन। भरपर्दो जानकारीको अभाव, बढाइचढाइ भनिएका कथाहरू, किंवदन्ती र गलत विचारधाराहरूले गर्दा मानिसहरू सर्पसित डराउँछन्‌।

निस्सन्देह, गोमनलाई भेट्‌ने निम्तो दिनुको अर्थ त्यसलाई अँगालो हाल्नु भन्‍न खोजिएको होइन। गोमनहरू अत्यन्त विषालु हुन्छन्‌। त्यसकारण गोमनलाई कोही पनि सुमसुम्याउन चाहँदैन। नता गोमन हामीलाई स्वागत गर्न नै पर्खन्छ। हामी आएको चाल पाउनेबित्तिकै सुरक्षित ठाउँमा लुक्न ऊ कुलेलम ठोक्छ। अतः यस रोचक प्राणीबारे केही मोहक तथ्यहरू थाह पाएर नै सन्तुष्ट होऔं।

एलापिडेइ परिवारमा पर्ने गोमनहरू सर्पवर्गको घस्रने प्राणी हुन्‌। विषदन्त भएका विषालु सर्पहरूलाई एलापिडेइ भनिन्छ। अस्ट्रेलियादेखि एसियाको उष्ण कटिबन्ध क्षेत्रसम्म र अफ्रिकादेखि अरब तथा शीतोष्ण प्रदेशसम्म १२ थरिका गोमनहरू पाइन्छन्‌। यीमध्ये सबैभन्दा डरलाग्दो गोमन नागराज हो। तीनदेखि पाँच मिटर लामो यो सर्प विश्‍वको सबैभन्दा ठूलो विषालु सर्प हो। प्रशस्त पानी पर्ने बाक्लो जंगलका झाडी वा दलदलमा बस्न रुचाउने यो गोमन चीनको दक्षिणी भूभाग, फिलिपिन्स, इन्डोनेसिया, मलेसिया, म्यानमार र भारतका केही भागहरूमा पाउन सकिन्छ। निखुर कालो पुच्छर, हरियो र पहेंलो मिसिएको लहरजस्तो तेर्सो धर्का परेको जीउको रङ उमेर ढल्कँदै गएपछि गाढा हुन्छ। अनि त्यसको फणमा भएको छिरबिरे थोप्लाहरूले गर्दा यो सर्प निकै आकर्षक देखिन्छ।

गोमनका अन्य प्रजाति एकदेखि दुइ मिटरसम्म लामा हुन्छन्‌। मूलतः भारतमा जताततै पाइने एकप्रकारको गोमनको फणमा चश्‍माजस्तो विशिष्ट आकृति हुन्छ। यो कालो, गाढा खैरो वा घाँटीमा बाक्लो र कालो पट्टी बाँधेजस्तो देखिने अनि जीउभरि सेतो र पहेंलो छिरबिरे टाटाहरू भएको हुन्छ। श्रीलंकालगायत पूर्वी तथा दक्षिण भारतमा पाइने अर्को प्रकारको गोमन चाहिं हलका रंगको, सानो तथा अलि गोलो परेको फणमा एउटा सेतो चक्र हुन्छ र त्यसैबाट त्यसको नाउँ रहन गएको छ। उत्तरपश्‍चिम भारत तथा पाकिस्तानमा निखुर कालो गोमन पाइन्छ। अफ्रिकामा पाइने गोमनहरूमध्ये विष थुक्ने गोमन र मिश्री गोमन पनि हुन्‌। मिश्री गोमनको कालो र मसिनो फण हुन्छ। र यही सानो विषालु सर्प नै महारानी क्लिओपाट्राको मृत्युको कारण हुनसक्छ भन्‍ने विश्‍वास गरिएको छ।

सर्पहरू आफ्नै जातको सर्पसित मात्र प्रणय मिलन गर्छन्‌ र विशेष प्रकारको गन्धले गर्दा आकर्षित हुन्छन्‌। अरू सर्पभन्दा गोमनले परिवारमा बढी चासो लिन्छ। भाले र पोथी अक्सर सँगै बस्छन्‌। गुँड बनाउने थोरै सर्पहरूमध्ये पोथी नागराज पनि एक हो। झरेका पातहरू बटुलेर बनाएको करिबन ३० सेन्टिमिटर अग्लो एउटा ढिस्कोमा उसले २० देखि ५० वटासम्म अण्डा पार्छे। त्यसपछि ऊ त्यस ढिस्कोमाथि गुँडुलो परेर खाना नखाई करिब दुइ महिना जति ओथारो बस्छे। अनि भाले पनि अक्सर नजीकै बस्छ। गुँड नबनाउने अन्य गोमनहरू चाहिं आफ्नो अण्डा जोगाउन ती नजीकै बस्छन्‌।

सर्पको बच्चाले अण्डा फुटाएर बाहिर निस्कन अण्डा-दन्त प्रयोग गर्छ। यो अण्डा-दन्त पछि स्वतः झर्छ। अण्डाबाट निस्केपछि तिनीहरू पूर्णतया स्वतन्त्र हुन्छन्‌ र तिनीहरूको विषथैली र विषदन्त पनि पूर्ण रूपमा बनिसकेको हुन्छ। वरिपरिको वातावरण कस्तो छ जाँच्न तिनीहरूले आफ्नो जिब्रो निकाली रहन्छन्‌। र यसरी तिनीहरूले आफ्नो मुखको तालुमा रहेको जेकबसन्स्‌ भन्‍ने अंगमा रासायनिक जानकारी पठाउँछ। जेकबसन्स्‌ अंग गन्ध लिने इन्द्रिय हो। यसरी स्वाद र गन्धको समिश्रणले सर्पलाई आफ्नो शिकार खोज्न, जोडी भेट्टाउन वा शिकारीबाट उम्कन मदत गर्छ।

सर्पको बच्चा छिटै हुर्कन्छ र बाहिरी पत्र कस्सिने भएकोले थोरै समयमै त्यसले काँचुली फेर्छ। गोमन २० वर्षभन्दा अलि बढी समयसम्म बाँच्छ र आजीवन त्यो बढिरहने भएकोले यो असाधारण घटना नियमित रूपमा दोहोरिरहन्छ। काँचुली फेर्नु एक दुइ हप्ताअघि सर्प लोसे हुन्छ, उसको छाला पनि फुस्रो देखिन्छ र आँखा हल्का नीलो हुन्छ। पछि अचानक आँखा चम्किलो हुन्छ र ढुंगामा टाउको दलेर सर्पले आफ्नो मुखनेरको पुरानो छाला च्यात्छ। अनि त्यो त्यस पत्रबाट बिस्तारै बाहिर निस्कँदा त्यसको काँचुली उल्टिन्छ। र त्यो काँचुली आँखालाई छोप्ने पारदर्शी पत्रदेखि पुच्छरसम्म सिंगो हुन्छ। लौ त, अब जीवन्त, चम्किलो र नयाँ देखिने सर्प आफ्नो दैनिक गतिविधिमा लाग्छ।

वायुको तापक्रमले गोमनहरूलाई निकै असर गर्छ। चिसो बढ्यो भने तिनीहरू सुस्त र कहिलेकाहीं त निष्क्रियसमेत हुन्छन्‌। तापक्रम अलि बढ्यो भने मात्र ती चलहल गर्छन्‌। गर्मी अत्यन्त बढ्यो भने पनि तिनीहरू मर्न सक्छन्‌। तर नागराजलाई भने केही पनि हुँदैन। त्यसको आहारमा सर्प, छुचुन्द्रो, मुसा, भ्यागुता, माउसुली, चरा तथा अन्य स-साना जनावरहरू पर्छन्‌। शिकारलाई टोक्दा सर्पको तीखो दाँतबाट निस्केको विषले शिकार अचल हुन्छ। खाना चपाउन नसक्ने भएकोले गोमनहरू शिकारलाई सिंगै निल्छन्‌। छालाको तन्कने गुन र बंगराको लचकताको कारण गोमनले आफ्नो टाउकोभन्दा दुइ तीन गुना ठूलो जनावर निल्नसक्छ। शिकारलाई मुखमा हालेकोले गोमनको मुख टम्मै बन्द हुन्छ। त्यतिखेर त्यसले मुखमा हालेको शिकार अघिल्तिर आफ्नो श्‍वासनली ल्याउँछ र श्‍वास फेर्छ। यो गोताखोरले पौडी खेल्दा नलीबाट श्‍वास फेरेजस्तै हो। पछिल्तिर फर्केका दाँतहरूको लहरले शिकारलाई सर्पको शरीरभित्र ठेल्छ। त्यसपछि केही दिनसम्म खानै नपर्ने गरी बिस्तारै आहार पचाउन त्यो एकान्त ठाउँमा आराम गर्न जान्छ। महिनौंसम्म केही नखाई आफ्नो शरीरमा जम्मा गरेको बोसोको भरमा गोमन बाँच्नसक्छ।

सर्पहरू चनाखो हुन्छन्‌। (मत्ती १०:१६ हेर्नुहोस्‌।) कतै ढुंगामुनि सुत्त पसेर वा मुसाको दुलोभित्र छिरेर वा कसैले नदेखोस्‌ भन्‍ने हेतुले अचल रहेर गोमनले आफ्नो ज्यान जोगाउँछ। जम्काभेट भयो भने, त्यसले आफैलाई उचालेर आफ्नो फण फैलाउँदै शत्रुलाई भगाउन फुङ्‌कार्न थाल्छ। अरू केही उपाय नलागेपछि मात्र त्यसले डस्छ।

सर्पको डसाइ

अफ्रिका र एसियाका ग्रामीण क्षेत्रहरूमा सर्पले डसेको रिपोर्ट दर्ता गर्ने चलन छैन। तर विषालु सर्पले विश्‍वभरि प्रतिवर्ष सालाखाला दश लाख मानिसहरूलाई डस्छ जस्तो छ। भारतमा डसाइको दर निकै बढी छ। प्रतिवर्ष मर्ने १०,००० मानिसहरूमध्ये अधिकांशको मृत्यु फणमा चश्‍माको आकृति हुने गोमनले डसेर हुन्छ। गोमनको डसाइले लगभग १० प्रतिशत मानिसहरू मात्र मर्छन्‌। गोमन अरू सर्पहरूजस्तो फुर्तिलो हुँदैन। त्यसैकारण त्यसका प्रमुख शत्रुहरूमध्ये एक फुर्तिलो न्याउरीमुसोले त्यसलाई सजिलै हराउनसक्छ। गोमनलाई झम्टेर अनि लगातार त्यसको प्रहारलाई छलेर न्याउरीमुसोले गोमनलाई शिथिल र अलमल्ल पारिदिन्छ। त्यसपछि गोमनको फणपछाडि हमला गरेर न्याउरीमुसोले त्यसको मन्टो भाँचिदिन्छ। अधिकांश सर्पहरूले गुँडुलो अवस्थामा हमला गर्नेगर्छ। यसो गर्दा तिनीहरूले कति परसम्म भ्याउनसक्छन्‌ कहिलेकाहीं भन्‍न गाह्रो हुन्छ। तर गोमनले आफ्नो आङ तन्काएर सोझै प्रहार गर्ने हुँदा यो दूरी अनुमान लगाएर कुनै पनि व्यक्‍ति बिस्तारै पछि हट्‌नसक्छ।

विष थुक्ने गोमन, दक्षिण अफ्रिकामा पाइने कालो घाँटी भएको गोमन तथा उत्तरपूर्वी भारतमा पाइने जस्ता केही गोमनहरू आत्मरक्षा गर्न थुक्छन्‌। जीउको भरमा उभेर आफ्नो विषदन्त शिकारतिर फर्काउँदै श्‍वास सँगसँगै सर्पले दुइ मसिना धार विष थुक्छ। दुइ मिटरभन्दा टाढासम्म पुग्ने यो विष छालामा पऱ्‍यो भने त्यसले त्यति हानि गर्दैन। तर ती आँखामा परे भने केही क्षण अन्धो भइन्छ र तत्कालै आँखा पखालेन भने स्थायी रूपमा अन्धो हुन्छ। सर्पले त्यसरी आँखामै विष थुक्नसक्नु त छक्कैलाग्दो छ।

सर्पले तपाईंलाई डस्यो भने तपाईं के गर्नुहुन्छ? चिउँडो नेरको विषथैली हुँदै बंगरामा रहेको दुइ छोटा तथा खोक्रा विषदन्तहरूबाट विष निस्कन्छ। र सुई लगाएजस्तै यी विषदन्तहरूले छाला छेंडेर विष पठाउँछ। सर्पको विषबाट बच्ने एक मात्र पक्का उपाय चारवटा विषालु सर्पहरूबाट तयार गरिएको प्रतिविष हो। बीसौं शताब्दीको प्रारम्भतिर विस्तृत तवरमा प्रतिविषको प्रयोग गर्ने प्रथम राष्ट्र भारत थियो। रेफ्रिजरेटरमा नराखिकनै प्रतिविषको चूर्ण पाँच वर्षसम्म प्रभावकारी रूपमा प्रयोग गर्न सकिन्छ। त्यस चूर्णलाई झोल बनाएर सुई दिइन्छ।

गोमनले डसेको ठाउँ दुख्नु र सुन्‍निनु, आँखाले धमिलो देख्नु, हडबडाउनु, कण्ठ पक्षाघात हुनु र श्‍वासप्रश्‍वास धीमा हुनु यसको लक्षण हो। धेरै विष परेको छ र कुनै उपचार गरिएको छैन भने लगभग दुइ घण्टामा नै मृत्यु हुनसक्छ।

सपेरो

सर्प नचाउनु मनोरञ्जन गराउने पुरानो तरिका हो। यो अक्सर पूर्वीय मुलुकहरूमा गरिन्छ। तर केही पश्‍चिमी मुलुकका सर्कसहरूमा पनि यसलाई समावेश गरिएको छ। प्रयोग गरिएका सर्पहरूमध्ये असाधारण फण र चाँडै उत्तेजित हुने हुँदा फणमा चश्‍माको आकृति भएको यो गोमन अति लोकप्रिय छ। तर शाही सर्प र रेड स्याण्ड नाउँ गरेको अजिंगरजस्ता आकर्षक सर्पहरू प्रयोग गर्न थालिएको छ। एक कुशल सपेराले बीन बजाउँदा गोमन टोकरीबाट उठ्‌छ र आत्मरक्षा गर्न उसले फण फैलाउँछ। आत्मरक्षाका लागि हमला गर्न हर बखत तयार भई सपेरोलाई हेरिरहने हुँदा त्यस गोमन सपेरोको हाउभाउअनुरूप झुम्न थाल्छ। सपेराहरूले नचाउने अधिकांश गोमनहरूको विषदन्त निकालिएको हुन्छ तर केही सपेराहरू भने विषालु सर्पसित खतरा मोल्न तयार हुन्छन्‌।

डुलुवा सपेरो धार्मिक विचार तथा किंवदन्ती भन्दै हिंड्‌ने भएकोले पुरातन भारतमा लोकप्रिय थिए। तर आज होटलबाहिर सर्प नचाएर देखाउनु नै निकै फायदाजनक साबित भएको छ। किनकि त्यहाँ धेरै फोटो खिच्नुपर्ने पर्यटकहरू हुन्छन्‌। कुनै कुनै सपेरो घर-घर धाउँछ र घरधनीलाई तिनको बगैंचामा निकै सर्पहरू हुनुपर्छ भन्छ। आफूले मागेजति पैसा दिने हो भने ती सर्पहरू समातिदिन्छु भन्छ। त्यसपछि त्यो सपेरो बगैंचामा पस्छ र केही बेर बीन बजाएर झोलाभरि सर्पहरू ल्याउँछ। तर त्यस सपेरोले पहिल्यै झोलाभरि सर्प ल्याएको थियो कि, यो जाँच्नु घरधनीको पक्षमा बुद्धिमानी कुरा हुनेछ!

सर्पसंरक्षण केन्द्रले शिक्षा दिन्छ

सर्पसंरक्षण केन्द्रले घस्रने प्राणीहरूप्रति चासो जगाउँछ। ती केन्द्रहरूले सर्पको डसाइ र त्यसका उपचारहरूबारे अनुसन्धान गर्न लगाउँछन्‌ र शिक्षा दिन्छन्‌। यसबाहेक लोभी तथा अज्ञान मानिसहरूबाट सर्पहरूलाई जोगाउन के कसो गर्नुपर्छ त्यो पनि बताउँछन्‌। गोमनहरूलाई तिनीहरूको छालाको निम्ति मारेर तीबाट पेटी, पर्स, जुत्ता तथा अन्य विलासी सामग्रीहरू बनाइन्छ। गोमनको छालाबाट सामग्री बनाउने कारखानाको लागि भारतमा मात्र एक वर्षमा एक करोडभन्दा बढी सर्पहरू मारिए। सर्पहरू मारिन्छन्‌ र तत्कालै तिनीहरूको छाला निकालिन्छ। भारतमा छालालाई रंगाएपछि पानी सोस्न नसक्ने र चम्किलो बनाउन कहिलेकाहीं वार्नेस लगाइन्छ।

गोमनहरूको महत्त्व योभन्दा पनि बढी छ। धानबाली नोक्सान गर्ने छुचुन्द्रो तथा अन्य प्राणीहरूलाई मारेर त्यसले टनका टन अन्‍नहरू जोगाउँछ। त्यसको विष प्रतिविष, पीडा हटाउने तथा अन्य औषधीहरू बनाउन काम लाग्छ। बम्बईस्थित टाटा मेमोरियल क्यान्सर इन्स्‌टिच्युटमा गोमनको विषले अर्बुद रोगका कोशिकाहरूमा पार्ने प्रभावबारे अध्ययन गरिंदैछ।

गोमनलाई भेटेर के तपाईंलाई रमाइलो लाग्यो? गोमन सुन्दर, उपयोगी, सतर्क र आत्मरक्षा गर्न कुशल हुन्छ। प्राणीजगतमा हानिकारक ठानिएको यस प्राणीबारे राम्ररी थाह पाउँदा त्यसप्रति मूल्यांकन भाव व्यक्‍त गर्ने मदत पाउँछौं।

[पृष्ठ १५-मा भएको पेटी]

गोमनपूजा र अन्धविश्‍वास

पुरातन समयदेखि गोमनपूजा गर्ने चलन चल्दै आएको छ। सबैभन्दा पुराना सभ्यताहरूमध्ये गनिने मोहेन्जो-दारोको छापमा पुरातत्त्वविद्‌हरूले गोमनको चित्र भेटाएका छन्‌। सा.यु.पू. ३,००० देखि आजसम्म पनि अन्धविश्‍वासको कारण भारतमा गोमनलाई आदरसत्कार गरिन्छ। चाखलाग्दो कुरा, गोमनका अधिकांश पौराणिक कथाहरू वास्तविक ऐतिहासिक घटनाहरूलाई बंग्याएर तयार पारिएको किंवदन्तीहरूमा आधारित छन्‌।

सृष्टिको “पौराणिक कथाले” विश्‍वब्रह्‍माण्डमा ज्योति नभएको समयबारे बताउँछ। ब्रह्‍माण्डीय सागरबाट सर्वप्रथम महिमित भगवान विष्णु र त्यसपछि स्वर्ग, पृथ्वी अनि पाताललोकको सृजना भयो। बचेखुचेको तत्त्वबाट चाहिं शेषनाग (अर्थ बाँकी रहेको) नामक विशाल गोमन सृष्टि भयो। किंवदन्तीअनुसार शेषनागको ५ देखि १,००० वटा टाउकाहरू छन्‌। प्रायजसो प्रतिमाहरूमा विष्णुलाई छहारीजस्तो गरी टाउको फुकाएको र गुँडुलो परेको शेषनागमाथि अडेस लागेर आरामसित पल्टेको देखाइन्छ। शेषनागले हाई काढ्‌दा भैंचालो जान्छ र उसको मुखबाट निस्केको आगो वा उसको विषले युगको अन्तमा पृथ्वी नाश गर्छ भन्‍ने मानिसहरूको धारणा छ।

हिन्दू किंवदन्तीमा गोमन परिवारलाई नाग भनिन्छ। र यी नागहरू पाताललोक अर्थात्‌ नागलोकमा बस्छन्‌। वानरदेव हनुमानअनुसार “सत्य युगमा” सबै मानिसहरू सन्त थिए, धर्म एउटै थियो र प्रेत अथवा नागहरू थिएनन्‌। पौराणिक कथाअनुसार सर्पहरू पृथ्वीको सरसम्पत्तिका रक्षक तथा अपार ज्ञान र जादुगरी शक्‍तिका मालिकहरू थिए। शेषनागलाई कहिलेकाहीं वासुकि पनि भनिन्छ। अमरता दिने अमृत प्राप्त गर्नको लागि समुद्र मन्थन गर्न देवहरूले तिनलाई प्रयोग गरेका थिए। नागहरूले शासन गर्ने पाताललोकलाई अति नै परमसुख प्राप्त हुने ठाउँ मानिन्छ। लडाइँमा मरेका लडाकूहरूलाई त्यहाँ कल्पनै गर्न नसकिने सुख प्रदान गरिने वाचा गरिएको छ।

तथापि, किंवदन्तीमा बताइएझैं सबै गोमनहरू दयालु हुँदैनन्‌। विष्णुको अवतार कृष्ण र एउटा विशाल कलिया नामक दुष्ट प्रेत-गोमनबीचको जम्काभेटबारे एउटा “पौराणिक कथा” छ। विजयवन्त कृष्णले त्यस बृहत्‌ सर्पको टाउको कुल्चेको आकृतिहरू पाइन्छन्‌।

आफ्ना छोराछोरीलाई सर्पले नडसोस्‌ भनेर आमाहरू गोमनहरूकी रानी मानस अथवा दुर्गामाताको पूजा-अर्चना गर्छन्‌। नागपञ्चमीका दिन भक्‍तजनहरूले गोमनको मूर्ति र सर्पको दूलोमा दूधलगायत रगतसमेत खनाउने गर्छन्‌। छोरो पाउने आशामा आइमाईहरू मन्दिरमा राखिएका ढुंगा वा चाँदीका गोमनहरूको मूर्तिको पूजा-अर्चना गर्छन्‌।

चलचित्रहरूमा गोमन

भारतमा निर्मित चलचित्रहरूमा गोमनबारे बताइएका किंवदन्तीहरू निकै लोकप्रिय छन्‌। सन्‌ १९२८ देखि गोमनमा आधारित ४० भन्दा धेरै चलचित्रहरू निर्माण भइसकेका छन्‌। गोमनलाई अक्सर भलाइको रक्षक, भक्‍तजनहरूको मदतगार अनि दुष्टको विनाशकको रूपमा देखाइएको हुन्छ। इच्छाधारी गोमनहरूको किंवदन्ती अरूभन्दा निकै लोकप्रिय छ। इच्छाधारी गोमनसित मानवरूप लिनसक्ने शक्‍ति छ भन्‍ने धारणा छ। भनिन्छ, ती गोमनहरू आफ्नो जोडीप्रति समर्पित हुन्छन्‌। दुइमध्ये एक मारियो भने मरेको जोडीको आँखामा जिउँदो गोमनले हत्याराको चित्र देख्छ र बदला लिन त्यसलाई खेद्‌न थाल्छ। निकै चलचित्रहरूको जीवन्त मूल पक्ष नै यही हुन्छ। सपेरोको संगीत, सर्पको चालढंग नक्कल गर्नुको साथै भुइँमा सर्पजस्तै घस्रने नर्तकनर्तकीहरूले गरेका सर्पनृत्य कथावस्तुको प्रभावकारी पक्ष हो।

अगस्त महिनातिर भारतको राजस्थानमा मनाइने एउटा पर्वमा करोडौं सर्प उपासकहरू मरुभूमिमा भेला हुन्छन्‌। यही पर्व शक्‍ति नामक वृत्तचित्रमा छायांकन गरिएको थियो। नागदेव गोगाको मन्दिरमा पुग्न तिनीहरू चर्को घाम तथा ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रममा फलामको डण्डाले आफैलाई हिर्काउँदै र पोल्ने बालुवामा पेटको बलले दुइ किलोमिटरभन्दा टाढासम्म घस्रन्छन्‌। भनिन्छ, दशौं शताब्दीका ऐतिहासिक महाराजा गोगाले मुस्लिम आक्रमणकारीहरूलाई सर्पैसर्प पाइने ठाउँमा लगेका थिए। फलतः सर्पको डसाइले गर्दा ती आक्रमणकारीहरू मरे र राजा आफ्नो जनतालाई जोगाउन सफल भए।

[पृष्ठ १६-मा भएको पेटी]

गोमनले ज्यान जोगायो

भारतको सास्तुर गाउँका दुइ परिवारले गोमनप्रति कृतज्ञ हुने कारण पाएका छन्‌। सेप्टेम्बर ३०, १९९३ को बिहान करिब ३:५० बजेतिर गोमनको ठूलो फुङ्‌कारले गर्दा तिनीहरू एक्कासि बिउँझिए। तिनीहरूले गोमन साँप फुङ्‌कार्दै घरबाट बाहिर निस्केको देखे। त्यसपछि त्यसलाई मार्न खेद्दै तिनीहरू खेतमा पुगे। ठीक ४:०० बजे बिहान मध्य भारतमा आएको भैंचालोले पूरै गाउँलाई ध्वस्त पाऱ्‍यो। त्यस गाउँका सबैजसो मरे। तर धन्य, गोमनको पूर्व सूचनाले गर्दा यी दुइ परिवारले भने आफ्नो ज्यान जोगाउन पाए।

[पृष्ठ १६,१७-मा भएका चित्रहरू]

एसियाली गोमनलाई पछाडि र अघाडिबाट हेर्दा

कुनाको सानो चित्रमा: तातो ढुंगामा घाम ताप्दै आफ्नो फण फिंजाइरहेको कालो गोमन

[चित्रको स्रोत]

पृष्ठ १६ देखि २० का चित्रहरू: A. N. Jagannatha Rao, Trustee, Madras Snake Park Trust

[पृष्ठ १८-मा भएका चित्रहरू]

कालो गोमनलाई अघाडि र पछाडिबाट हेर्दा

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने