पाठकहरूका प्रतिक्रिया
पत्रिकाका सबै लेखहरू पढ्छन् ‘मलाई हरहमेसा ब्यूँझनुहोस्! मन पर्छ। तर आफूलाई मन पर्ने लेखहरू मात्र पढ्ने गर्थें। अहिले म पत्रिकाको सबै लेखहरू पढ्छु र पहिला मन नपर्ने विषयहरू पनि मन पर्न थालेको छ। उदाहरणका लागि, मैले भर्खरै “एक पुरातन अमेरिकी आदिवासी परम्परा” (मार्च ८, १९९६), (अंग्रेजी) पढ्न सिध्याएँ र मलाई यो एकदमै मनपऱ्यो!’
इ. ए. एस., ब्राजिल
अरूको चित्त दुखाउँदा “बाइबलको दृष्टिकोण: अरूको चित्त दुखाउँदा के गर्ने” (फेब्रुअरी ८, १९९६), (अंग्रेजी) लेख मलाई चाहिएकै समयमा प्राप्त गरें। एक मसीही बहिनी कुनै कारणबिना मसित बोल्न छाडेकी थिइन्। मैले तिनलाई मन दुख्ने कुरा पो कतै भनें कि भनेर सोधें र माफी मागें। तर तिनमा केही असर परेन। मलाई साह्रै नमीठो लाग्यो र यहोवाले मेरो सेवा स्वीकार्नुभएको रहेनछ भन्ने लाग्यो। तर यस लेखको अन्तिम अनुच्छेद पढ्दा मनको बोझ हल्का भयो! त्यसमा बताइएको थियो, “मेलमिलाप गर्न तपाईं अग्रसर हुनुभएको छ भने, यहोवाले तपाईंको उपासना सहर्ष स्वीकार्नुहुनेछ।”
एम. आर., अर्जेन्टिना
गोमन “गोमन के तपाईं भेट्न चाहनुहुन्छ?” (अप्रिल-जून, १९९६) लेख अति रोचक थियो। तर पृष्ठ १२ को चित्र क्याप्सनमा यसरी लेखिएको छ: “तातो ढुंगामा घाम ताप्दै आफ्नो फण फिंजाइरहेको कालो गोमन।” मलाई थाह भएसम्म खतरा महसुस हुँदा वा रिसाउँदा मात्र गोमनले फण फिंजाउँछ।
आर. एफ., जर्मनी
यसबारे त्यस लेखको पृष्ठ १४, अनुच्छेद १ र पृष्ठ १६, अनुच्छेद २ मा बताइएको छ। भारतका हाम्रा संवाददाताले बताएअनुसार फोटोग्राफरको सहायकले जिस्काउँदा गोमनले त्यसरी फण फिंजाएको थियो—सम्पादक।
असक्त चालक “असक्त भएर पनि गाडी हाँक्न सक्षम” (मार्च ८, १९९६), (अंग्रेजी) लेख मलाई चाहिएकै समयमा पाएँ। म असक्त व्यक्ति भएकोले गर्दा मसीही सेवकाई गर्नै सक्दिन जस्तो लाग्थ्यो। यहोवाप्रति कृतज्ञ छु किनभने मैले चलाउनसक्ने गाडी किनेको छु र यस लेखले मलाई मसीही सेवकाईमा अघि बढ्न मदत गरेको छ।
ए. ए. भी., ब्राजिल
नृत्य फुर्सदको समयमा मलाई शास्त्रीय, ल्याटिन र प्रचलित संगीतमा नाच्न मन पर्छ। “बाइबलको दृष्टिकोण: मसीहीहरूले नृत्य गर्नु हुन्छ?” (मे ८, १९९६), (अंग्रेजी) लेखको म अति मूल्यांकन गर्छु। यसले मलाई त्यस प्रकारको मनोरञ्जन ठीक हो कि होइन जाँच्न मदत दियो। तपाईंहरूले सोध्नुभएका अर्थपूर्ण प्रश्नहरूले मलाई दोषरहित र “दुनियाँबाट निष्कलङ्क” हुन मदत पुऱ्याउनेछन्।—याकूब १:२७.
डी. डी. जी., ट्रिनीडाड
म १५ वर्ष पुगें। कुन नृत्य सही वा गलत हो, छुट्याउन एकदमै गाह्रो लाग्थ्यो। बाइबलबाट उद्धरित शास्त्रपदहरूका साथै लेखमा दिइएको निर्देशन पालन गरेर अब उचित र अनुचित नृत्य छुट्याउनसक्छु।
एम. आर., संयुक्त राज्य
बहिराहरूका लागि प्रबन्ध म बहिरो र अन्धो छु। (अप्रिल ८, १९९६), (अंग्रेजी) “संकेत दिने हातद्वारा बुझाउने” लेखको लागि म धन्यवाद दिन चाहन्छु। त्यस लेखले अमेरिकी सांकेतिक भाषामा सम्पन्न यहोवाका साक्षीहरूको “आनन्दित प्रशंसकहरू” जिल्ला अधिवेशनबारे बताएको थियो। त्यहाँ थुप्रै अन्धा र बहिराहरू उपस्थित थिए भनेर थाह पाउँदा म साह्रै प्रोत्साहित भएँ। डिसेम्बर १९९५ यहाँ अधिवेशन हुँदा मेरोनिम्ति भाषण अर्थ्याउने भाइहरूप्रति म अति कृतज्ञ छु। मैले ब्रेल सिकेकै छैन। तसर्थ, अरूलाई प्रचार गर्न मैले १२१ बाइबल पदहरू कण्ठस्थ गरेको छु। बहिरोले सुनेको र गूंगाले बोलेकोबारे बताउने यशैया ३५:५, ६ मा परमेश्वरले गर्नुभएको प्रतिज्ञा पूरा भएको हेर्ने मेरो ठूलो इच्छा छ। आउँदै गरेको प्रमोदवनमा म यहोवाको प्रशंसा गाउन चाहन्छु!
ए. एफ. ए., अर्जेन्टिना