प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ३/८ पृ. ३-५
  • सिक्ने असमर्थतालाई राम्ररी बुझ्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सिक्ने असमर्थतालाई राम्ररी बुझ्ने
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सिक्ने असमर्थताको परिभाषा
  • आवश्‍यक मदत दिने
  • म किन सिक्न सक्दिनँ?
    ब्यूँझनुहोस्‌!—१९९६
  • विशेष हेरचाह आवश्‍यक पर्ने छोराछोरीलाई हुर्काउने
    ब्यूँझनुहोस्‌!—२००६
  • अशक्‍तताको कुनै सीमा छैन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • के म पढाइमा अझ उन्‍नति गर्नसक्छु?
    ब्यूँझनुहोस्‌!—१९९८
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ३/८ पृ. ३-५

सिक्ने असमर्थतालाई राम्ररी बुझ्ने

छ वर्षीय डेभिडलाई कथा सुन्‍न असाध्यै रमाइलो लाग्छ। आमाले कथा पढेर सुनाउँदा ऊ मक्ख पर्छ र आफूले सुनेको कुरा पनि सबै सम्झन्छ। तर डेभिडको एउटा समस्या छ। ऊ आफै पढ्‌न सक्दैन। भनौं भने, कुनै पनि कुरा हेरेर सिक्नुपऱ्‍यो कि त उसको दिमाग रन्थनिहाल्छ।

सारा, कक्षा तीनमा पढ्‌छे तर उसको लेखाइ कागले छेरेको जस्तै छ। ऊ अक्षरहरू स्पष्टसित लेख्न जान्दिन र कुनै कुनै अक्षर त उल्टोपाल्टो पनि लेख्छे। यसो भएकोले आमाबाबु चिन्तित त हुने नै भए अझ त्यसमाथि, आफ्नै नाउँसमेत ऊ राम्ररी लेख्न सक्दिन।

कक्षा आठमा अध्ययनरत जाश नाउँको केटोलाई हिसाबबाहेक अरू सबै विषय सजिलो लाग्छ। ऊ अंकहरू देख्ने बित्तिकै अलमलिहाल्छ। अंकहरू हेर्दा मात्र पनि जाशलाई रीस उठ्‌छ र हिसाबको गृहकार्य गर्न बस्यो कि त उसको मुड बिग्रिहाल्छ।

डेभिड, सारा र जाशको समस्या के हो? के तिनीहरू अल्छी, जिद्दीवाल वा अलि बुद्धू नै पो हुन्‌ कि? पटक्कै होइन। यी तीनै जना केटाकेटी सामान्य बुद्धि भएका वा चंखोहरूको समूहमा नै पर्छन्‌। यद्यपि, तीनै जनाको समस्या चाहिं सिक्ने असमर्थता हो। डेभिडको समस्या, डिस्लेक्सिया हो र यसले पढाइसम्बन्धी थुप्रै समस्याहरूलाई बुझाउँछ। सारालाई लेख्न असाध्यै गाह्रो लाग्छ र यसलाई डिस्ग्राफिया भनिन्छ। अनि हिसाबका मूलभूत कुराहरू बुझ्न नसक्ने जाशको समस्यालाई डिस्क्याल्कुलिया भनिन्छ। यी त भए लेखपढसम्बन्धी तीन प्रकारका समस्याहरू। तर अरू थुप्रै छन्‌ र केही विशेषज्ञहरूको अनुमानअनुसार संयुक्‍त राज्यका १० प्रतिशत केटाकेटीहरूको यस्तो समस्या छ।

सिक्ने असमर्थताको परिभाषा

हो, प्रायजसो केटाकेटीहरूलाई केही कुरा सिक्नु भनेको कहिलेकाहीं चुनौतीपूर्ण नै लाग्छ। तर यसो भन्दैमा तिनीहरू सिक्न असमर्थ छन्‌ भन्‍नु चाहिं मिल्दैन। बरु, यसले के देखाउँछ भने सबै केटाकेटीहरूको सिक्ने क्षमता एउटै हुँदैन। कसै कसैको कान असाध्यै तीखो हुन्छ र सुनेको भरमा पनि सबै कुरा सम्झनसक्छन्‌। अरूले भने चित्रहरू कल्पना गरेर राम्ररी बुझ्न सक्ने हुँदा पढेको कुरा दिमागमा ठप्प बसिहाल्छ। तर, स्कूलको कक्षामा थुप्रै केटाकेटीहरू हुन्छन्‌ र सिकाउने तरिका जस्तोसुकै भए तापनि सबै जना सिक्न बाध्य हुन्छन्‌। यसर्थ, कसै कसैले राम्ररी सिक्न नसक्नु कुनै अचम्मको कुरा होइन।

तर कुनै कुनै आधिकारिक स्रोतअनुसार साधारणतया लेखपढसम्बन्धी कठिनाइ र सिक्ने असमर्थता-मा भिन्‍नता छ। भनिन्छ, लेखपढसम्बन्धी कठिनाइ मात्र हो भने धीरजी भएर प्रयास गरेको खण्डमा पछि हट्‌नसक्छ। तर सिक्ने असमर्थता छ भने त्यति सजिलै हटाउन सकिंदैन। मनोचिकित्सकहरू, पल र एस्तर वेन्डर यसो भन्छन्‌, “सिक्ने असमर्थता भएको बच्चाको दिमागले कुनै कुनै दिमागी कामहरू ठीकसँग नबुझी गलत ढंगमा बुझ्छ र सम्झन्छ जस्तो छ।”a

जे होस्‌, सिक्ने असमर्थताको अर्थ मानसिक सुस्तता चाहिं होइन। यो समस्यालाई बुझाउन वेन्डर दम्पतीले यसलाई संगीतको उतारचढाउ छुट्याउन नसक्ने मानिसहरूसित तुलना गरे। तिनीहरू यसो भन्छन्‌, “संगीतको उतारचढाउ छुट्याउन नसक्ने मानिसहरूको दिमाग बिग्रेको हुँदैन र तिनीहरूको सुन्‍ने क्षमता पनि राम्रै हुन्छ। त्यस्तो व्यक्‍तिलाई जोशजाँगरै नभएको वा आवाज छुट्याउन नसक्ने अल्छी भनेर कसैले भन्दैन।” वेन्डर दम्पती भन्छन्‌, सिक्ने असमर्थता पनि त्यस्तै हो। प्रायजसो समस्याको कारण त कुनै कुरा सिक्नुको एउटा खास पक्षसित मात्र सम्बन्धित हुन्छ।

यसकारण सिक्ने असमर्थता भएका प्रायजसो केटाकेटीहरूमध्ये कसै कसैको दिमाग सामान्य त कसैको असाध्यै तीखो हुनुको कारण बुझ्नसक्छौं। कोही कोही त असाध्यै तेजिलो पनि हुन्छन्‌। यही अमिल्दो कुराले गर्दा चिकित्सकहरूले त्यसो हुनुको कारण सिक्ने असमर्थता नै हो कि होइन, राम्ररी ठम्याउन सकेका छैनन्‌। मेरो बच्चा पढाइमा किन यति कमजोर? (अंग्रेजी) पुस्तक यसो भन्छ: “सिक्ने असमर्थता भएको बच्चाको दिमागले तिनको उमेर र बौद्धिक क्षमताभन्दा निकै कम मात्र काम गरिरहेको हुन्छ। भनौं भने, आफूभन्दा दुइ तीन वर्षमुनिको बच्चासरहले मात्र काम गरिरहेको हुन्छ।” अर्को शब्दमा भन्‍ने हो भने, आफ्ना साथीहरूको हाराहारीमा पुग्न मात्र होइन तर आफूले सक्नेजति गर्न पनि गाह्रो परिरहेको हुन्छ।

आवश्‍यक मदत दिने

सिक्ने असमर्थताको कारण हुने भावनात्मक असरहरूले यो समस्यालाई झनै चर्काउँछ। यस्ता केटाकेटीहरूले स्कूलमा राम्रो नतिजा पाउन नसक्दा शिक्षक तथा सहपाठीहरूले हेप्न थाल्छन्‌ र कहिलेकाहीं त आफ्नै परिवारले पनि त्यस्तो व्यवहार गर्छन्‌। दुःखको कुरा, त्यस्ता थुप्रै केटाकेटीहरू हुर्कंदै जाँदा तिनीहरूमा हीन भावना जाग्छ। यो चिन्ताको गम्भीर कारण हो किनभने सिक्ने असमर्थताले साधारणतया जिन्दगीभर असर गर्छ।b मनोचिकित्सक ल्यारी बी. सिल्भर यसो भन्छन्‌, “सिक्ने असमर्थता जिन्दगीभर रहिरहन्छ। राम्ररी लेखपढ गर्न र हिसाब गर्न नसक्ने समस्याले पछि खेलकुद तथा अन्य क्रियाकलापहरूमा बाधा पुऱ्‍याउने, पारिवारिक जीवनलाई पनि असर गर्ने अनि साथीभाइसित घुलमिल हुन गाह्रो हुन्छ।”

तसर्थ, सिक्ने असमर्थता भएका केटाकेटीहरूलाई आमाबाबुको सहयोग नभई हुँदैन। सिक्ने असमर्थता भएको बच्चालाई हुर्काउने (अंग्रेजी) पुस्तक यसो भन्छ, “आमाबाबुले सधैं मेरो साथ दिन्छन्‌ भनी थाह पाउने बच्चाको आत्मसम्मान बढी हुन्छ र अरूको हाराहारीमा पुग्न डराउँदैन।”

तर यसलाई बढावा दिन आमाबाबुले सर्वप्रथम आफ्नै भावनाहरू केलाउनुपर्छ। कोही कोही आमाबाबुहरू आफूले गर्दा नै बच्चा त्यस्तो भएको होला भनी दोषी महसुस गर्छन्‌। अरू भने बच्चाले के के पो भोग्नुपर्ने होला भनी सम्झेर अतालिन्छन्‌। यी दुवै प्रतिक्रियाले कुनै मदत पुऱ्‍याउँदैन। यस्तो महसुस गर्ने आमाबाबु समस्या सुल्झाउन केही पनि गर्न सक्दैनन्‌ र बच्चाले चाहिएको मदत पनि पाउँदैन।

त्यसकारण कुनै निपुण विशेषज्ञले तपाईंको बच्चासित सिक्ने असमर्थता छ भन्दैमा हतास नहुनुहोस्‌। नबिर्सनुहोस्‌, सिक्ने असमर्थता भएका बच्चाहरूलाई विशेष प्रकारको शिक्षण कला सिक्न अलि बढी सहयोग चाहिन्छ। सिक्ने असमर्थता भएका बच्चाहरूलाई मदत गर्न तपाईंको इलाकामा त्यस्ता कुनै कार्यक्रमहरू उपलब्ध छन्‌ भने त्यसबारे राम्ररी बुझ्नुहोस्‌। केही वर्षअघि उक्‍त सुविधाहरू नभए तापनि अहिले भने थुप्रै स्कूलहरूमा त्यस्ता विद्यार्थीहरूको लागि मदत उपलब्ध छ।

आफ्नो छोराछोरीले गरेको काम जति नै मामुली भए तापनि प्रशंसा गर्नुपर्छ भनी विशेषज्ञहरू जोड दिन्छन्‌। तिनीहरूको तारिफ गर्न पछि नपर्नुहोस्‌। तर अनुशासनको खाँचोलाई पनि नबिर्सनुहोस्‌। केटाकेटीहरूलाई कुनै न कुनै प्रकारका नियमहरू चाहिन्छन्‌ र सिक्ने असमर्थता भएकाहरूलाई त झनै आवश्‍यक हुन्छ। तपाईंको चाहनाबारे छोराछोरीलाई स्पष्टसित बताउनुहोस्‌ र आफूले तोकेका नियमहरू पालन गर्नुहोस्‌।

अन्तमा, आफ्नो परिस्थितिलाई व्यवहारिक भएर हेर्न सिक्नुहोस्‌। सिक्ने असमर्थता भएको बच्चालाई हुर्काउने (अंग्रेजी) पुस्तकले यसरी वर्णन गर्छ: “मानि लिनुहोस्‌, आफूलाई मन परेको भोजनालयमा गएर तपाईंले चिकेन तन्दुरी अर्डर गर्नुभयो। तर वेटरले चाहिं खसीको चप पो ल्याएछ। हुन त दुवै परिकार मीठो छ तर तपाईंले चिकेन तन्दुरी खाने आश गर्नुभएको थियो। धेरैजसो आमाबाबुले पनि आफ्नो सोचाइ परिवर्तन गर्नुपर्ने हुन्छ। खसीको मासु खाने तपाईंको विचार थिएन होला तर खाँदा यो पनि तपाईंलाई मीठै लाग्यो। विशेष ध्यान दिनुपर्ने छोराछोरीहरूको सन्दर्भमा पनि यही लागू हुन्छ।”

[फुटनोटहरू]

a केही अध्ययनहरूले देखाएअनुसार सिक्ने असमर्थताको पछाडि वंशानुगत वा वातावरणीय कारणहरू हुनसक्छन्‌। जस्तै, शरीरमा सिसाको मात्रा बढी हुनु वा आमाले गर्भवती हुँदा लागू पदार्थ वा मद्यपानको दुर्व्यसन गर्नु। तैपनि, यसको कारण भने तोकेरै बताउन सकिएको छैन।

b कहिलेकाहीं त, बौद्धिक विकास ढिलो हुँदा पनि केटाकेटीहरूमा केही समयको लागि सिक्ने असमर्थता देखिनसक्छ। तर समयमा त्यस्ता समस्याहरू आफै समाधान हुन्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने