प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ३/८ पृ. २९
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • हात धुनुहोस्‌!
  • बिगतलाई अवलोकन गरेर भएको उन्‍नति
  • हाँस्ने र धेरै बाँच्ने?
  • रक्षक डल्फिनहरू
  • “फास्टफूड” प्रसाद
  • यात्रु परेवा
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ३/८ पृ. २९

विश्‍वदर्शन

हात धुनुहोस्‌!

सार्वजनिक शौचालय प्रयोग गरिसकेपछि कत्तिले हात धुन्छन्‌, त्यो पत्ता लगाउन हालै अमेरिकन सोसाइटी अफ माइक्रोबायोलोजीले एउटा सर्वेक्षण गऱ्‍यो भनी द न्यु योर्क टाइम्स-ले रिपोर्ट गर्छ। प्राप्त प्रमाणअनुसार हात धुनुपर्छ भनेर सबैलाई थाह भएको पाइयो। टेलिफोन मार्फत १,००४ वयस्कहरूसित गरिएको सर्वेक्षणमा ९४ प्रतिशतले सार्वजनिक शौचालय प्रयोग गरिसकेपछि हात धुने गरेको दाबा गरे। तर के तिनीहरू साँच्चै हात धुन्छन्‌ त? अमेरिकाको पाँच ठूलठूला शहरहरूमा शौचालयको सर्वेक्षण गर्दा ६,३३३ व्यक्‍तिहरूमध्ये ६१ प्रतिशत पुरुष तथा ७४ प्रतिशत महिलाहरूले मात्रै शौचालय प्रयोग गरिसकेपछि हात धोएको पाइयो। हात फोहर छ भने रोग सजिलैसित फैलिन्छ। अनि भोजनालयको भान्छेले हात नधोई खाना बनाउँछ भने त दर्जनौं मानिस बिरामी हुनसक्छन्‌। आमाबाबुले नसिकाएकाले पनि हात धुने बानी नभएको हुनसक्छ। डा. गेल कासेलअनुसार “आजकल आमाहरू छोराछोरीलाई हात धुनुपर्छ भनेर अक्सर सिकाउँदैनन्‌। विद्यालयहरूमा पनि हात धुनुपर्छ भनेर केटाकेटीहरूलाई सिकाइँदैन। शौचालय प्रयोग गरेपछि हात धुनु जरुरी छ भनेर सम्झाउनु अत्यावश्‍यक छ।”

बिगतलाई अवलोकन गरेर भएको उन्‍नति

ट्रान्जिस्टरहरूभन्दा अघि भ्याकुम ट्युबहरूको प्रयोग हुन्थ्यो। अहिले अनुसन्धानकर्ताहरू बितेको समयलाई अवलोकन गर्दैछन्‌। नर्थ क्यारोलाइन स्टेट युनिभर्सिटीका भौतिकशास्त्री ग्रीफ एल. बिल्ब्रो भन्छन्‌, “हामी सन्‌ १९४० दशकदेखि यताको भ्याकुम ट्युबहरूलाई फेरि जाँच्दैछौं। ट्युबहरू राडार र सेलुलर फोनजस्ता हाइ फ्रिक्वेन्सीमा काम गर्ने यन्त्रहरूमा कत्तिको काम लाग्छ भनेर जाँच्न हामी अहिले नयाँ सामग्रीहरू तथा कम्प्युटरको फाइदा लिंदैछौं।” पुराना र नयाँ ट्युबहरूको एउटा भिन्‍नता त्यसको आकार हो। नयाँ ट्युबहरू अति साना छन्‌ र ती सलाइको काटीको टुप्पो जत्रो आकारमा पाइन्छन्‌। “हीराले बनेको ट्युबमा इलेक्ट्रोड छिराई त्यसका हावा सबै बाहिर फ्याँकेर” त्यस्ता ट्युबहरू बनाइएका हुन्‌ भनी साइन्स न्युज पत्रिका बताउँछ। “हीराबाट बनेका यी नयाँ ट्युबहरू र पचास वर्षअघिका ठूलठूला ग्लास बल्बहरूबीचको मुख्य भिन्‍नता नै ताप हो। पुराना ट्युबहरूमा विद्युतकणहरू प्रवाह हुन ती तातेर रातो हुनुपर्थ्यो भने यी नयाँ ट्युबहरूले कोठाको सामान्य तापक्रममा पनि विद्युतकणहरू प्रवाह गर्नसक्छ।” यी नयाँ ट्युबहरू अर्ध सुचालक हुन्‌ तथा कम्प्युटर चिप्सभन्दा धेरै टिक्नुका साथै जस्तोसुकै ताप, भोल्ट र विकिरणमा पनि तीभन्दा निकै राम्ररी काम गर्छन्‌।

हाँस्ने र धेरै बाँच्ने?

हाँस्नु स्वास्थ्यको लागि फाइदाजनक छ भन्‍ने विश्‍वास गरिएको निकै भइसक्यो। दश वर्षअघि स्टेट युनिभर्सिटी अफ न्यु योर्कका वैज्ञानिकहरूले यसको कारण खोज्ने निर्णय गरे अनि पत्ता लागेको कुरा तिनीहरूले हालै प्रकाश पारेका छन्‌। हाँस्दा मानिसको रोग प्रतिरोधक क्षमतालाई क्रियाशील बनाउने शक्‍तिशाली हार्मोन सक्रिय हुनथाल्छ भनेर तिनीहरूले थाह पाए। साइटोकिन्स भनिने एकप्रकारको हार्मोनले श्‍वेत रक्‍त कोषको कार्यक्षमतालाई बढाउँछ भनेर पत्ता लागेको छ। श्‍वेत रक्‍त कोषले विषाणु र जीवाणुबाट हुने संक्रमित रोगहरूबाट जोगाउँछ र यसले क्यान्सर गराउनसक्ने कोषहरूलाई नाश गर्छ। लण्डनको द सन्डे टाइम्स-अनुसार “हाँस्दा रगतमा बढ्‌ने तत्त्वहरूमध्ये” साइटोकिन्स पनि हो। हाँस्नु र साइटोकिन्सबीचको सम्बन्धले गर्दा केही अनुसन्धानकर्ताहरू यसलाई आनन्दित हार्मोन पनि भन्छन्‌। त्यसैकारण उक्‍त खबरपत्र हाँस्नु “दीर्घ जीवनको रहस्य हो,” भन्छ।

रक्षक डल्फिनहरू

लाल समुद्रमा पौडी खेलिरहेका एक पुरुषलाई डल्फिनहरूको एक डफ्फाले बचाएको हुनसक्छ भनी जर्नल अफ कमर्श-ले रिपोर्ट गरेको छ। इजिप्टशियन तटमा पैडिरहेका बेलाइती मार्क रिचार्डसनलाई एउटा शार्कले हमला गरेर तिनको जीउ र पाखुरामा टोक्यो। तिनी छटपटाएको देखेर शिशीजस्तो नाक भएका तीनवटा डल्फिनहरूले तिनलाई घेरे अनि त्यसपछि “शार्कलाई भगाउन पखेटा र पुच्छर झट्‌कार्न थाले।” “श्री. रिचर्डसनलाई तिनका मित्रहरूले उद्धार नगरुञ्जेलसम्म” ती डल्फिनहरूले “तिनलाई घेरेरै सुरक्षित राखे।” उक्‍त जर्नल-अनुसार “माउ डल्फिनहरू आफ्ना भुराहरूलाई सुरक्षित राख्ने बेलामा यस्तो व्यवहार गर्छन्‌।”

“फास्टफूड” प्रसाद

अमेरिकी व्यापारी जिम जोनसनले डिस्पोजेबल प्याकेटमा चर्चमा दिइने प्रसादहरू पोको पार्ने उद्योग संचालन गर्दैछन्‌ भनी क्रिश्‍यानिटी टुडे रिपोर्ट गर्छ। प्याजी रंगको प्लास्टिकको कपजस्तो प्याकेटमा अलिकता अंगूरको रस वा दाखरस राखेर त्यस्ता प्रसादहरू बनाइएका हुन्छन्‌। यसबाहेक अखमिरी रोटीसमेत राख्न मिल्ने यस्ता स-साना दुइखण्डे कपहरू पनि पाइन्छन्‌। जोनसनको भनाइअनुसार यो उत्पादन तुरुन्तै तयार गर्न सकिने र सफा हुनुका साथै किफायती र स्वास्थ्यबर्धक पनि छ। यसरी प्रसादको थोक व्यापार गर्नु हुन्‍न भनेर कसै कसैले आपत्ति जनाए तापनि ४,००० भन्दा धेरै चर्चहरूले ती प्रयोग गर्न थालिसकेका छन्‌। तर जोनसन यस्तो प्रत्युत्तर दिन्छन्‌: “येशूले लाखौंलाई खुवाउनुभएर फास्टफूडको प्रचलन सुरु गर्नुभएको हो।”

यात्रु परेवा

लण्डनका परेवाहरूले सबवे रेलमा यात्रुहरूसँगसँगै निश्‍शुल्क यात्रा गरेको भेट्टाइयो भनी न्यु साइन्टिस पत्रिका रिपोर्ट गर्छ। यसबाहेक कुन ठाउँमा ओर्लनुपर्ने हो, त्यो पनि ती परेवाहरूलाई थाह भएको केही मानिसहरूले दाबी गरेका छन्‌। न्यु साइन्टिस पत्रिकाले यात्रुहरूलाई यस्तो अनुभव बाँड्‌न आह्वान गर्दा निकै पाठकहरूले यी परेवाहरूसितको आफ्नो यात्रा विवरण लेखेका थिए। उदाहरणका लागि एक पुरुषले यस्तो लेखे: “सन्‌ १९७४ देखि ७६ सम्ममा मैले हल्का रातो रंगको परेवालाई सधैंजसो प्याडिङटनबाट रेल चढेर अर्को स्टपमा झरेको पाएँ।” अर्को भद्र पुरुषले पनि १९६५ देखि त्यस्तै दृश्‍य देखेका रहेछन्‌। यसो हेर्दा परेवाहरूले लण्डनमा यात्रु शुल्क नतिरिकन यात्रा गर्न थालेको तीसौं वर्ष भइसकेको जस्तो छ!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने