प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ४/८ पृ. २९
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सिफारिस गरिएका औषधीहरूको दुरुपयोग
  • सामान किन्‍ने अम्मल
  • “टिभी हेर्ने कलिला केटाकेटीहरूको डफ्फा”
  • पैतालाको समस्या
  • कार्यालय धाउने महिलाहरू र आत्महत्या
  • एड्‌सको “विश्‍वव्यापी केन्द्रबिन्दु”
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—१९९७
  • विश्‍व दर्शन
    ब्यूँझनुहोस्‌!—२००३
  • किन यतिबिघ्न दुःखकष्ट
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ४/८ पृ. २९

विश्‍वदर्शन

सिफारिस गरिएका औषधीहरूको दुरुपयोग

अस्ट्रेलियास्थित भिक्टोरिया प्रान्तको मेल्बोर्नबाट प्रकाशित हुने द हेराल्ड सन समाचारपत्रले यस्तो रिपोर्ट गऱ्‍यो, “अस्ट्रेलियाका निवासीहरू वर्षमा तीन अरब डलर औषधीमा खर्च गर्छन्‌ र यसरी तिनीहरूमा सिफारिस गरिएका पेनकिलर लिने बानी झन्‌ झन्‌ बढ्‌दैछ।” भिक्टोरियाका स्वास्थ्य मन्त्री यस्तो चेताउनी दिन्छन्‌, “चालै नपाई मानिसहरूले यी सिफारिस गरिएका औषधीहरूको दुरुपयोग गरिरहेका छन्‌ र यी औषधीहरूले पनि अवैध लागू पदार्थले जत्तिकै शरीर तथा जीवनशैलीलाई हानि पुऱ्‍याउनसक्छन्‌।” दश बाह्रवटा सिफारिस प्राप्त गर्न आज धेरैभन्दा धेरै मानिसहरू भिन्‍नाभिन्‍नै चिकित्सकहरूकहाँ जँचाउन जान्छन्‌ भन्‍ने प्रतिवेदनप्रति पनि तिनले चिन्ता प्रकट गरे। कुनै कुनै चक्कीहरू जगेर्ना गरिन्छन्‌ र ती धूलो पारेर रक्‍तनलीमा सूईबाट पठाइन्छन्‌। सर्वेक्षणअनुसार चाहिनेभन्दा बढ्‌ता पेनकिलरको प्रयोग गर्नेहरूको संख्या सन्‌ १९९३ मा ३ प्रतिशत थियो भने १९९५ मा १२ प्रतिशत पुगिसकेको थियो।

सामान किन्‍ने अम्मल

किनमेल गर्न लग्गू हुने बानीलाई आयरल्याण्डमा “अम्मल भनिएको छ र यो बानीलाई जाँडरक्सी पिउने, लागू पदार्थ खाने, जुवा खेल्ने र खाना खानेसम्बन्धी विकारजस्ता गम्भीर भावनात्मक तथा मानसिक लतहरूसित गाँसिएको छ। र यसबाट छुटकारा पाउन पेशेवर सल्लाहकारहरूको मदत चाहिन्छ” भनेर द आइरिश टाइम्स भन्छ। यस्तो लत लागेकाहरू आफूलाई नचाहिएका सामानहरू किन्‍न प्रशस्त पैसा खर्च गर्छन्‌। प्रतिवेदन यसो भन्छ: “लुगाफाटा किन्‍ने रहर चल्दा शरीरमा डोपामीन र सेराटोनीनजस्ता तत्त्वहरू उत्तेजित हुन्छन्‌ र यसले आफू सकुशलै छु भन्‍ने भावना उत्पन्‍न गराउँछ।” लागू पदार्थको नशामा झुम्न पहिलेको तुलनामा अझ बढी मात्रा लिनुपरेजस्तै यसरी किनमेल गर्न लग्गू भएकाहरूलाई जत्ति सामान किने पनि नपुगेजस्तो लाग्नसक्छ।

“टिभी हेर्ने कलिला केटाकेटीहरूको डफ्फा”

इटालीमा २१,००० परिवारहरूको सर्वेक्षण गर्दा त्यहाँका अधिकांश केटाकेटीहरूलाई टिभी नहेरी नहुने बानी परिसकेको देखियो। समाचारपत्र ला रिपब्लिका-ले “टिभी हेर्ने कलिला केटाकेटीहरूको डफ्फाले” जन्मेको वर्षदिनमै रिमोट कन्ट्रोल प्रयोग गर्न जानिसकेका हुन्छन्‌ भनेर टिप्पणी गऱ्‍यो। इटालीका तीनदेखि दश वर्षका ४० लाखभन्दा बढी केटाकेटीहरू मन्त्रमुग्ध भई दिनमा साढे दुइ घण्टाभन्दा धेरै समय टिभी हेर्छन्‌। छदेखि आठ महिनाका स-साना बच्चाहरूसमेत टिभी हेर्न रमाएको देखेर मानसिक स्वास्थ्य विशेषज्ञहरू चिन्तित छन्‌।

पैतालाको समस्या

जर्मनीको हेल्थ सर्भिस अफ द फेड्रल एसोसिएसन अफ फिजिशियनको अनुमानअनुसार मुलुकका आधा जनता पैतालाको समस्याले पीडित छन्‌। नास्साऊशी नोय प्रिसे समाचारपत्र यस्तो रिपोर्ट पेश गर्छ, “धेरैजसो मानिसहरू आफ्नो पैतालाको हेरविचार गर्दैनन्‌ या भनौं ज्यादै कस्सिएको वा स्वास्थ्यलाई हानि पुऱ्‍याउने खालका जुत्ता लगाएर पैतालाको ख्याल गर्दैनन्‌।” नियमित तवरमा अग्लो हिल भएको जुत्ता लगाउँदा वा टम्म नमिल्ने जुत्ता लगाउँदा घुँडा, नितम्ब वा कम्मर दुख्ने हुन्छ। खुट्टाको औंलाका कापहरूमा दाद आउने र माइकोसिसजस्ता फंगसले गर्दा हुने रोगहरू पनि फैलिरहेको छ। रोकथामको लागि “खुट्टाको औंलाका कापमा रहेको साबुनलाई राम्ररी पखाल्ने र सुख्खा हुनेगरि राम्ररी पुछ्‌ने” सुझाउ फेड्रल एसोसिएसन अफ फिजिशियनले दिएको छ।

कार्यालय धाउने महिलाहरू र आत्महत्या

लन्डनको द टाइम्स-को प्रतिवेदनअनुसार “बेलाइतमा वर्षेनी ४,५०० जनाले आत्महत्या गर्छन्‌ र आत्महत्या गर्ने पुरुषहरूको संख्या स्त्रीहरूको भन्दा पाँच गुना बढी छ।” तर बितेको चार वर्ष यतादेखि आत्महत्या गर्ने १५ देखि २४ वर्षबीचका स्त्रीहरूको संख्या एकदमै बढेको छ। यस्तो हुनुको सम्भाव्य कारणहरूमध्ये एउटा कारण “जवान स्त्रीहरू आफ्नो कार्यालयमा दक्ष हुन चाहन्छन्‌ तर तिनीहरूले गृहिणीको दायित्व पनि कुशलतासाथ पूरा गर्नुपर्ने” हुन्छ भनी साउथहाम्पटन विश्‍वविद्यालयका प्राध्यापक बताउँछन्‌। “काममा जानसकोस्‌ भनेर मध्यम वर्गीय जवान आमाहरूले बच्चाको लालनपालन धाईआमाहरूको जिम्मामा छोड्‌नुपर्ने हुन्छ। त्यसो गर्नुपरेकोले पछि तिनीहरू असाध्यै खिन्‍न महसुस गर्छन्‌ र आफूलाई दोषी ठान्छन्‌। तिनीहरूको मनले घरमै बसेर बच्चाको हेरविचार गर भन्छ भने दिमागले पेट पाल्न बाहिर गएर काम गर भन्छ।” यिनै भावना तथा दबाबहरू मनमा खाँदिएकोले तिनीहरू आत्महत्या गर्न बाध्य भएका हुनसक्छन्‌ भन्‍ने विश्‍वास उक्‍त प्राध्यापकले राखेका छन्‌।

एड्‌सको “विश्‍वव्यापी केन्द्रबिन्दु”

भारत “बेक्र फेल भएको रेलजस्तै भएको छ” र यो द्रुत गतिमा “मानिसजातिको इतिहासमा सबैभन्दा निर्दयी महामारीको विश्‍वव्यापी केन्द्रबिन्दु” बनिरहेको छ। लन्डनस्थित थेम्स भ्याली विश्‍वविद्यालयमा गरिएको अध्ययनबाट उक्‍त नयाँ कुरा पत्ता लगाइयो। त्यसैगरि भारतमा अचानक एड्‌स रोगले ग्रस्त मानिसहरूको संख्या बढेको छ अर्थात्‌ ९५ करोड जनतामा ३० लाखभन्दा धेरै एड्‌स रोगद्वारा पीडित छन्‌ भनी संयुक्‍त राष्ट्र संघका एड्‌स कार्यक्रमका प्रमुख डा. पीटर पीयोले एड्‌सबारे गरिएको ११ औं अन्तरराष्ट्रिय सभामा भने। समाचारपत्र इण्डियन एक्प्रेस-मा दिइएको अनुमानअनुसार भारतका लैंगिक तवरमा सक्रिय २२.३ करोड पुरुषहरूमध्ये १० प्रतिशत नियमित तवरमा वेश्‍याहरूकहाँ जाने गर्छन्‌। शहरी इलाकामा धन्धा चलाइरहेका वेश्‍याहरूमध्ये कुनैलाई एड्‌स लागेको थाह हुने बित्तिकै घर फर्काइन्छ। फलतः गाउँघरहरूमा एड्‌सबारे ज्ञान नभएको हुँदा र राम्रो औषधोपचारको अभावले गर्दा ती ठाउँहरूमा रोगको महामारी शहरमा भन्दा झन्‌ अकासिन थालेका छन्‌। त्यसैकारण सन्‌ २००० सम्ममा भारतका ५० देखि ८० लाख मानिसहरू एचआइभी-पोजिटिभद्वारा संक्रमित हुनेछन्‌ अनि कम्तीमा १० लाख मानिसहरू एड्‌सले ग्रस्त हुनेछन्‌ भन्‍ने अनुमान गरिएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने