युवाहरू सोध्छन् . . .
दादागिरी गर्नु—यसमा के खराबी छ र?
‘धत्! ठट्टा पो गरेको। त्यति गरेर के भो त? भनौं भने, रानलाई त्यसो नगरी हुन्न।’
साथीहरूमध्ये तपाईं हट्टाकट्टा हुनुहुन्छ होला। अथवा तपाईं निकै बाठो, छेडपेच गर्न खप्पिस अनि मापाको हुनुहुन्छ होला। जे होस्, तपाईं सजिलै अरूलाई धम्क्याउन, जिस्काउन वा होच्याउन रमाउनुहुन्छ होला।
अरूलाई उल्लीबिल्ली पारेर साथीहरूलाई हँसाउन सकिएला तर यसलाई सानोतिनो कुरा मान्न मिल्दैन। वास्तवमा दादागिरीको शिकार हुनुपरेकाहरूले त्यतिबिघ्न हानिनोक्सानी बेहोर्दा रहेछन् भनेर अनुसन्धानकर्ताहरूले समेत विचार गरेका थिएनन्। सं.रा.-मा स्कूल पढ्ने केटाकेटीहरूको सर्वेक्षण लिइंदा “दादागिरीको शिकार हुनुपरेका ९० प्रतिशत विद्यार्थीहरूले नराम्रा परिणामहरू भोग्नुपरेको पत्ता लाग्यो। जस्तै, पढाइमा कमजोर हुँदै जानु, चिन्ताग्रस्त हुनु, मित्रहरू गुमाउनु अथवा सामाजिक जीवन नै अस्तव्यस्त हुनु आदि।” जापानमा १३ वर्षको केटो “गत तीन वर्षदेखि दादागिरीको शिकार हुनुपरेको विस्तृत विवरण लेखेपछि झुण्डेर मऱ्यो।”a
कुनै पनि व्यक्ति किन दादागिरी गर्न थाल्छन्? यदि तपाईं दादागिरी गर्नुहुन्छ भने कसरी परिवर्तन हुन सक्नुहुन्छ?
दादागिरी गर्नु भनेको के हो?
नूहको समयमा भएको जलप्रलयअघि दादागिरी गर्नेहरू थिए भनी बाइबलमा उल्लेख गरिएको छ। तिनीहरूलाई नपील भनिन्थ्यो र यसको अर्थ हो “बड़े बड़े कदमका मानिसहरू वा दैत्यहरू।” तिनीहरूले राज्य गरुञ्जेल “पृथ्वी . . . उपद्रवले [“आतंकले,” NW] भरिएको थियो।”—उत्पत्ति ६:४, ११.
तथापि, अरूलाई पाटपुट पिट्ने वा होच्याउने मात्र दादा हुँदैनन्। अरूलाई र अझ विशेषगरि आफूभन्दा कमजोर निर्धाहरूसित क्रूर व्यवहार गर्नु अथवा मनपरी बोल्नु दादागिरी गर्ने एउटा तरिका हो। (उपदेशक ४:१ तुलना गर्नुहोस्।) दादागिरी गर्नेहरूले अरूलाई धम्क्याउँछन्, तर्साउँछन् र हैकम चलाउँछन्। तर धेरैजसोले मुक्का होइन, मुख चलाउँछन्। वास्तवमा, भावनात्मक दुर्व्यवहार गरेर अक्सर दादागिरी गरिन्छ। अतः, त्यसमा बेइज्जत गर्नु, छेडपेच गर्नु, ठट्टा गर्नु र जे पायो त्यही नाउँ राख्नु पनि समावेश हुनसक्छ।
यद्यपि, कहिलेकाहीं छट्टू तरिकाबाट पनि दादागिरी गरिन्छ। उदाहरणका लागि, लीसालाई के भयो विचार गर्नुहोस्।b सँगिनीहरूसँगसँगै तिनी हाँस्दै खेल्दै हुर्किन्। तर १५ वर्षकी हुँदा परिस्थिति बद्लिन थाल्यो। लीसा राम्री भएकीले धेरै जना आकर्षित हुन थाले। तिनी यसो भन्छिन्: “सँगिनीहरू मलाई एक्लै पार्थे र अरूलाई भए नभएका कुरा सुनाउथे अनि कहिलेकाहीं मेरैअघि जे पायो त्यही भन्थे।” उनीहरूले तिनीबारे नचाहिंदा हल्ला फैलाएर तिनको बदनाम गरे। हो, ईर्ष्याले गर्दा उनीहरूले तिनलाई निकै कठोर र क्रूर तरिकामा दादागिरी गरे।
दादा कसरी भइन्छ
अक्सर घरको वातावरणले गर्दा पनि मापाको भइन्छ। सुनिल नाउँ गरेको केटो यसो भन्छन्, “बुबा असाध्यै रीसाहा हुनुहुन्थ्यो त्यसैले म पनि रीसाहा भएँ।” आनन्दलाई पनि घरमा निकै गाह्रो थियो। तिनी सम्झन्छन्: “मेरो पारिवारिक स्थिति ठीक छैन भनी मानिसहरूलाई थाह रहेछ। मानिसहरूले मलाई दया देखाएको मनै परेन।” त्यसैकारण कुनै खेल खेल्यो कि त आनन्दलाई जसरी भए पनि जित्नैपर्थ्यो। तर खेल जितेर मात्रै कहाँ पुग्थ्यो र? उसले आफ्नो प्रतिद्वन्द्वीलाई होच्याउनु पनि पर्थ्यो अर्थात् हार्नेहरूको खिसी पनि गर्नुपर्थ्यो।
बिक्रमलाई ईश्वरभीरु आमाबाबुले हुर्काएका थिए। तैपनि तिनी यसो भन्छन्: “म मानिसहरूलाई हसाउँथे तर कहिलेकाहीं मानिसलाई हँसाउने धुनमा अरूलाई चोट पुगेको पत्तो हुँदैन थियो।” रमाइलो गर्ने इच्छा र आकर्षणको केन्द्रबिन्दु बन्ने लालसाको कारण बिक्रमले अरूको भावनालाई चोट पुऱ्याए।—हितोपदेश १२:१८.
कतिपय युवाहरूलाई चाहिं टेलिभिजनले असर गरेजस्तो देखिन्छ। अपराध कथाहरूमा ‘कठोर नायकहरूको’ प्रशंसा गरिएको देखाइन्छ र दयालु हुनु भनेको त नामर्द हुनु हो भन्ने आभाष दिइन्छ। लोकप्रिय प्रहसनहरूमा पनि अरूलाई छेडपेच गर्नुबाहेक अरू केही हुँदैन। खेलकुद समाचारहरूमा पनि खेलकुदको दौडान भएका झैंझगडा र अभद्र व्यवहारलाई बढ्ता जोड दिइरहेको हुन्छ। अरूसितको हाम्रो व्यवहारलाई साथीभाइले पनि त्यत्तिकै असर गरिरहेका हुन्छन्। हाम्रा साथीहरू दादागिरी गर्छन् भने हाँसो र खिसीको पात्र नहुन हामी पनि तिनीहरूको देखासिकी गर्न अघि सर्छौं।
जेसुकै होस्, यदि तपाईं एक वा अर्को तरिकामा दादागिरी गर्दै हुनुहुन्छ भने दादागिरीको शिकार हुनुपर्नेहरूलाई मात्र होइन तर तपाईंलाई पनि हानि हुन्छ भन्ने कुरा नबिर्सनुहोस्।
आजीवन भोग्नुपर्ने परिणामहरू
साइकलोजी टुडे पत्रिकाले यस्तो प्रतिवेदन पेश गर्छ: “दादागिरी गर्ने बानी बालककालमै सुरु हुन्छ र यो बानी वयस्क होउञ्जेल रहन्छ।” द डालस मर्निङ न्युज-मा छापिएको एउटा अनुसन्धनात्मक प्रतिवेदनअनुसार “कक्षा दुइमा दादागिरी गर्नेहरूमध्ये ६५ प्रतिशत केटाहरू २४ वर्षको उमेर पुगुञ्जेल अपराध गतिविधिमा पक्राउ परेको पाइयो।”
हो, दादागिरी गर्ने सबै अपराधी बन्दैनन्। तर अरूको भावनाको कदर नगर्ने बानी बस्यो भने तपाईंमाथि पछि धेरै समस्याहरू आइपर्नेछन्। विवाहपछि पनि त्यो बानी छोडेन भने तपाईंको पति, पत्नी र छोराछोरीलाई असाध्यै मर्का पर्नसक्छ। मिलनसार मानिसहरूलाई जागिर दिइने भएकोले तपाईं बेरोजगार पनि हुन सक्नुहुन्छ। मसीही मण्डलीमा दिइने भावी विशेषाधिकारहरूबाट पनि वञ्चित हुनुपर्नेछ। “भविष्यमा म प्राचीन हुन चाहन्थें” बिक्रम भन्छन्, “तर मेरो छेडपेंच गर्ने बानीले गर्दा मानिसहरू मसित सल्लाह माग्न आउने छैनन् भनेर बुबाले मलाई सम्झाउनुभयो।”—तीतस १:७.
परिवर्तन कसरी हुने
हामी आफ्नो भूल सधैं देख्दैनौं। “[“आफ्नै नजरमा,” NW] घृणित नठहरियोस् भनेर” कुनै व्यक्तिले “आफ्नो मनमा खुशामदका कुरा विचार गर्छ” भनी धर्मशास्त्र चेताउनी दिन्छ। (भजन ३६:२) अतः तपाईंको व्यवहार कस्तो छ त्यो जाँचिदिनुस् भनेर आमाबाबु, विश्वासिलो साथी वा परिपक्व मसीहीलाई आग्रह गर्न सक्नुहुन्छ। सत्य तीतो हुनसक्छ तर यसले आवश्यक परिवर्तनहरू गर्न तपाईंलाई मदत गर्नेछ। (हितोपदेश २०:३०) “मेरो विचारमा सल्लाह सुनेकोले नै परिवर्तन गर्न मदत पाएँ,” आनन्द भन्छन्। “मैले के गल्ती गरें, मेरा निष्कपट मित्रहरूले बताए। उनीहरूको टिप्पणी अक्सर मन पर्दो त थिएन तर त्यस्तै टिप्पणीहरू सुनेर मैले वास्तवमा परिवर्तन गर्न सकें।”
त्यसोभए के तपाईंको सम्पूर्ण व्यक्तित्वलाई नाटकीय ढंगमा परिवर्तन गर्नुपर्ने हो कि? होइन। तपाईंले आफ्नो सोचाइ र आनीबानीमा काँटछाँट गरे मात्र पनि यथेष्ट हुनसक्छ। (२ कोरिन्थी १३:११) उदाहरणका लागि, आफ्नो जीउडाल, बल वा चतुऱ्याइँले गर्दा अहिलेसम्म तपाईंले आफूलाई सबैभन्दा श्रेष्ठ ठान्नुभएको होला। तर बाइबलले हामीलाई “नम्रतामा एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ” ठान्न प्रोत्साहित गर्छ। (फिलिप्पी २:३) जीउडाल जस्तोसुकै होस् वा बल जतिसुकै होस्, तपाईंसित नभएका राम्रा गुनहरू अरूसित हुनसक्छन् भनेर स्वीकार्नुहोस्।
रीसाउने वा अरूमाथि हैकम जमाउने झुकाउ छ भने त्यो बानीलाई पनि पन्छाउनु आवश्यक हुनसक्छ। “आफ्नै कुरामा मात्र होइन, तर . . . अरूहरूका कुरामा पनि ध्यान” दिनुहोस्। (फिलिपी २:४) आफ्नो विचार व्यक्त गर्नुपर्दा मनपरी बोल्ने, छेडपेच गर्ने वा बेइज्जत हुने ढंगमा नगर्नुहोस्।—एफिसी ४:३१.
यदि तपाईंको मन दादागिरी गर्न चुलबुलायो भने परमेश्वरले दादागिरी गर्ने नपीलहरूलाई नाश गर्नुभएको थियो भनेर सम्झनुहोस्। (उत्पत्ति ६:४-७; ७:११, १२, २२) शताब्दीयौंपछि अगमवक्ता इजकिएलको समयमा “घचेट्दै” र ‘धपाउँदै’ हिंड्नेहरूसित परमेश्वर असाध्यै रीसाउनुभयो। (इजकिएल ३४:२१) दादागिरी गर्नेहरूलाई यहोवा घृणा गर्नुहुन्छ भनेर थाह पाउँदा मात्र पनि आवश्यक परिवर्तनहरू गर्ने बलियो प्रेरणा पाउन सकिन्छ!
बाइबलका सिद्धान्तहरूलाई प्रार्थनापूर्वक मनन गर्नु पनि लाभदायी हुनसक्छ। सुनौलो नियम यसो भन्छ: “मानिसहरूले तिमीहरूलाई जे जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।” (मत्ती ७:१२) कसैलाई धम्क्याउन चुलबुलिनुहुँदा आफैलाई सोध्नुहोस्: ‘के मलाई पनि कसैले दादागिरी गरेको, डरत्रास देखाएको वा बेइज्जत गरेको मन पर्छ? मन पर्दैन भने अरूलाई किन त्यसो गर्ने?’ बाइबल हामीलाई “एक अर्कोप्रति कोमल मनको र दयालु होओ” भन्ने आदेश दिन्छ। (एफिसी ४:३२) यस सन्दर्भमा येशूले सिद्ध उदाहरण कायम गर्नुभयो। अन्य मानवहरूको तुलनामा श्रेष्ठ हुनुभए तापनि उहाँले सबैसित दयालु, समानुभूतिशील र आदरपूर्ण व्यवहार गर्नुभयो। (मत्ती ११:२८-३०) आफूभन्दा कमजोर व्यक्ति वा अझ तपाईंलाई रीस उठाउने व्यक्ति भेट्नुहुँदासमेत येशूले जस्तै गर्ने कोसिस गर्नुहोस्।
घरमा तपाईंसित गरिने व्यवहारले गर्दा तपाईंलाई जरंग रीस उठ्ने गरेको हो भने के गर्ने? कहिलेकाहीं त्यसरी रीस उठ्नु मनासिब हुनसक्छ। (उपदेशक ७:७ तुलना गर्नुहोस्।) तैपनि यस्तै अवस्थामा पर्दा धर्मी पुरुष अय्यूबले समेत चेताउनी पाएको कुरा बाइबल यसरी बताउँछ: “होशियार हुनुहोस्, क्रोधले तपाईंलाई ईख फेर्न नउस्काओस्, . . . दुष्ट कामतिर नफर्कनु होस्।” (अय्यूब ३६:१८, २१, NW) तपाईं दुर्व्यवहारको शिकार हुनुभएको छ भन्दैमा अरूलाई दुर्व्यवहार गर्न मिल्दैन। बरु आमाबाबुसित कुरा गर्नुहोस्। अचाक्ली दुर्व्यवहारबाट पीडित हुनुभएको छ भने फेरि भविष्यमा त्यस्तो हुन नदिन परिवारबाहिरका सदस्यहरूको मदत लिनु आवश्यक हुनसक्छ।
परिवर्तन गर्नु सजिलो नहोला तर असम्भव भने छैन। बिक्रम यसो भन्छन्: “म प्रायः सधैं प्रार्थना गर्छु र यहोवाले मलाई असल परिवर्तनहरू गर्न मदत दिनुभएको छ।” त्यसैगरि मानिसहरूसित व्यवहार गर्दा तपाईंले असल परिवर्तनहरू गर्नुभयो भने तिनीहरू तपाईंसित संगत गर्न रुचाएको पाउनुहुनेछ। स्मरण रहोस्, मानिसहरू दादागिरी गर्नेहरू देखेर डराउलान् तर वास्तवमा तिनीहरूलाई कसैले मन पराउँदैनन्।
[फुटनोटहरू]
a दादागिरी गर्नेहरूको हातबाट कसरी उम्कने, भन्ने छलफलका लागि अगस्त ८, १९८९ को (अंग्रेजी) “युवा जनहरू सोध्छन् . . . स्कूलमा दादागिरी गर्दा म के गर्नसक्छु?” लेख हेर्नुहोस्।
b केही नाउँ परिवर्तन गरिएका छन्।
[पृष्ठ २०-मा भएको ठूलो अक्षरको क्याप्सन]
दुर्वचन बोल्नु पनि दादागिरी गर्ने एउटा तरिका हो
[पृष्ठ २१-मा भएको चित्र]
“दादागिरी गर्ने बानी बालककालमै सुरु हुन्छ र यो बानी वयस्क होउञ्जेल रहन्छ”