उच्च ज्वार उर्लने समयमा चराहरूको भागदौड
बेलाइतका ब्यूँझनुहोस्! संवाददाताद्वारा
वर्षेनी एक करोड जति चराहरू जाडो छल्न उत्तरपश्चिम युरोपतिर उड्छन्। तिनीहरू अण्डा पार्ने र कोरल्ने स्थान अर्थात् सुमेरु क्षेत्रबाट मात्र होइनन् तर क्यानाडा र मध्य साइबेरियाजस्ता टाढ-टाढा ठाउँहरूबाट पनि आउँछन्। अफ्रिकातिर स्थानान्तरित हुँदा यी चराहरूको भेट पूर्वी आन्द्रको उड्डयन मार्गमा हुन्छ। स्थानान्तरण गर्दा चराचुरुंगीले प्रयोग गर्ने यो मार्ग बेलाइती टापुहरू भएर जानुपर्ने मार्ग हो।
तिनीहरूलाई बेलाइती पानी वरपर छरपष्ट ३० वटाभन्दा धेरै नदीमुखहरूले भोजन तथा आश्रय प्रदान गर्छन्। यी प्रत्येक स्थलहरूमा २०,००० भन्दा बढी चराले प्रशस्त मात्रामा आहार पाउनसक्छन् तर बेलाइतको पूर्वी तटस्थित द वाशले कर्ल्यु, डन्लिन, गडविट, नट, सिपी समात्ने चराहरू, हुटिट्याउँ, रातो खुट्टे चरो र टर्नस्टोनजस्ता साढे दुइ लाखभन्दा बढी चराहरूका निम्ति आहारको प्रबन्ध गर्नसक्नु उल्लेखनीय छ। नदीमुखहरूमा कस्ता आहार पाइन्छन् र ती किन यति महत्त्वपूर्ण छन्?
नदीमुखहरूको महत्त्व
तीनतिर तटीय इलाकाले घेरेको र समुद्री तथा स्वच्छ पानी मिसिने थलो नै नदीमुख हो। यहाँको न्यानो पानीमा लवण तथा जैविक पोषण तत्त्वहरू प्रशस्त हुने भएकोले तिनले संसारभरिका आधाजसो समुद्री प्राणीको जीवन धानिरहेका छन्। हुन त यहाँको बलौटे भूमिमा झिंगेमाछा, स्याण्ड हप्पर र अन्य प्राणीहरू पाइन्छन् तर त्योभन्दा पनि धेरै प्राणीहरू त यहाँको हिलाम्मे जमीनमा पाइन्छन्।
थिग्रोको आकारप्रकारअनुसार यहाँको हिलो पनि फरक फरक हुन्छ। अनि हिलोको प्रकारअनुसारै थरिथरिका समुद्री जीवहरू पनि पाइन्छन् र यिनै जीवहरू पानीचरोका आहार हुन्।a जस्तै, एकप्रकारको एक वर्गमिटर हिलोमा लाखौंको संख्यामा स-साना चिप्लेकीराहरू हुन्छन् र तिनीहरू तीन मिलिमिटरभन्दा ठूला हुँदैनन्! यसबाहेक, हिलोमा बस्ने शंखेकीरा, लुग र ऱ्यागजस्ता कीराहरूलगायत मेरुदण्ड नहुने अन्य प्राणीहरू यहाँ पाइन्छन्।
बृहत् ज्वार
नदीमुखमा पाइने पानीचरोहरू अक्सर छरपष्ट हुने भएकोले हजारौंको संख्यामा भए तापनि यिनीहरू कहाँ हुन्छन्, किटान गर्न सकिन्न। तर बृहत् ज्वार आउँदा भने परिस्थिति एक्कासि बद्लिन्छ। उर्लंदो भेलले गर्दा सतह हिलाम्मे हुन्छ र पानीचरोहरू जलमग्न सतहb र अरू माथि उठेका ठाउँतिर हुत्तिन्छन्। त्यतिखेर यी जात जातका पानीचरोहरू एकै ठाउँमा गुटमुटिने भएकोले तिनीहरूलाई राम्ररी हेर्न पाइन्छ।
आज अप्रिल महिनाको घमाइलो बिहानी भएकोले पक्कै पनि ज्वार आउनेछ। उत्तरपूर्वबाट सरर चिसो हावा बहँदैछ। र हामी बेलाइती प्रान्तको सफकमा नागबेली खेल्दै उत्तरी समुद्रमा मिल्न बगेको ओल्ड नदीको सुन्दर तथा सजीव नदीमुखतिर हानिंदैछौं। यहाँ जाडो छल्न आएका पानीचरोहरूको संख्या ११,००० भन्दा धेरै हुनसक्छ। यसबाहेक यस नदीमुखको चौडाइ ०.८ किलोमिटर मात्र भएकोले यहाँ यी चराहरूको क्रियाकलाप राम्ररी हेर्न पाउनेछौं
तटवर्ती जमीन कटान नहोस् भनेर नदीको छेउ छेउमा पर्खाल खडा गरिएको छ। बगरहरूमा कतै नर्कटका झ्यांगहरू छन् भने कतै समुद्री तटमा पाइने एकप्रकारमा घाँसहरू छन्। अनि बाँकी भागमा चाहिं काला टिम्बर ठड्याइएका छन् र ढुंगाहरू छन्। नदीको मुहानतर्फ राम्रा राम्रा भिक्टोरियन भवनहरू छन्। र तीमध्ये ओल्डबर्र सांगीतिक चाडको जन्मथलो अर्थात् स्नापे माल्टिङ कन्सर्ट हल पनि छ। तर हामीलाई नदी बगेको दिशातर्फ जानु थियो र त्यहाँ छाप्रो खोज्नु थियो। मुटु छेड्ने बतास बेस्सरी चल्न थाल्यो र यसले गर्दा हामीले आँखा खोल्नै सकेनौं।
नदीको पुच्छारमा (चित्रमा बिन्दु क हेर्नुहोस्।) आइपुग्दा एक जोडी एभोसेट स्पष्ट कोकिल कण्ठमा हामीलाई स्वागत गरिरहेको भेट्टायौं। हामी बसेको नदीमुखभन्दा तिनीहरू लगभग ४० मिटरजति पर छन् र त्यो जोडी आमनेसामने बसेर आपसमा प्वाँख मिलाउँदैछन्। सुलुत्त र अलिकता मास्तिर फर्केको चुच्चोले ती चराहरू आ-आफ्नो छातीमा बिस्तारै ठुंग्दैछन्। यो हेर्नु निकै रमाइलो लाग्यो तर अरू थोक पनि हेर्नु परेकोले यहीं बसिरहनु मिलेन र हामी फेरि हिंड्न थाल्यौं।
उर्लंदो ज्वार
ज्वार धमाधम उर्लंदैछ त्यसैकारण हामीले छानेको निरीक्षण बिन्दुतिर हतारिंदै लाग्यौं। (चित्रमा बिन्दु ख हेर्नुहोस्।) निरीक्षण बिन्दुतिर जाँदै गर्दा नदीमुखको पहरेदार मानिएको रातो खुट्टे चरो जलमग्न सतहबाट उडेर “टुहुहु-टुहुहु!” गर्दै तीखो आवाज निकाल्छ। घाममा टल्किरहेको उसका सेता पखेटाहरूको तुलनामा ती राता खुट्टाहरू कत्ति भिन्न देखिन्छन्। आफ्नो गन्तव्यस्थानमा पुगेपछि बालुवा र हिलोको सतह त्यसरी छिट-छिटो धसिंदै गएको हामीले सरसरती नियाल्यौं।
अलि पर रातो खुट्टे चराको बथान आफ्नै सुरमा बिस्तारै हिलोमा चारा खोज्दैछ भने अरू चराहरू चाहिं ओत लाग्न मिल्ने तटमा चारा खोज्दैछन्। मुन्तिर घुम्रिएको चुच्चो भएका डन्लिनहरू एउटा सानो झुन्ड बनाएर एकसाथ गुटुमुटिंदै बसेका छन्। तिनीहरू आफ्नो बथानबाट अलग्गिंदै हिलोमा चारा खोज्छन् र पानीको छेउ हुँदो हिंड्छन्। छरपष्टिएका कर्ल्यु चराहरू गिलो र लेसिलो हिलोमा होशियारीपूर्वक चारा खोज्दै आफ्नै धुनमा टहल्न मस्त छन्। नदीको अलि मास्तिर भने केही टर्नस्टोन चराहरू ज्वारले बगाएको टुक्राटाक्रीलाई आफ्नो छोटो र अलिकता माथि फर्केको चुच्चोले ओल्टाइ पल्टाइ आहार खोज्दैछन्।
अकस्मात् खरानी रंगको हुटिट्याउँले निकाल्ने चार अक्षरको चर्को तर व्यग्र सुसेली “हु-ट्टि-ट्या-उँ” चारैतिर गुञ्जिन्छ। हुन त यो चरो फिक्का रंगको छ तर उड्दा भने यसको काखीमुनिको कालो रंग बाँकी भागको तुलनामा प्रष्ट देखिन्छ। हावा बहेको दिशातिर फर्केका चार सयजति सुनौलो रंगका हुटिट्याउँहरू बाटुलो आकार हुनेगरि आ-आफ्नो टाउको पखेटामुनि लुकाएर आपसमा गुटुमुटिएर रहेका छन्। यी हुटिट्याउँहरूमध्ये कुन चाहिं बलियो भनेर निधो गर्न तिनीहरूबीच कहिलेकाहीं झगडा पनि हुन्छ। धेरैजसोको प्वाँख जाडो मौसममा देखिने रंगको अर्थात् छिरबिरे हुन्छ। तिनीहरूको पिठ्यूँ सुनौलो र गाढा रंगको छ भने आँखा, मुख र तल्लो भाग फिक्का रंगको तथा चुच्चो कालो हुन्छ। दूरबीनलाई यसो घुमाउँदा हामीले घेरावाल हुटिट्याउँ पनि देख्यौं।
एक्कासि केही १,००० जति टिंटिंबाँसहरू देखा पर्छन्। यी चञ्चले चराहरू आफ्नै एउटा विशिष्ट तरिकामा फ्याटफ्याट गर्दै ओर्लन्छन्। टिंटिंबाँस र सुनौलो रंगको हुटिट्याउँ आफूलाई मन पर्ने आहार प्रशस्त मात्रामा पाइने ठाउँ, पश्चिमको कृषि योग्य जमीनमा यहाँ आउँछन्। तर यी चराहरू नदीमुखमा आहारको लागि मात्र होइन तर नुहाउन र आ-आफ्नो प्वाँख मिलाउन आउँछन्।
यो पछिल्तिर सुनिएको चिरबिरे आवाज चाहिं कर्ल्युको हो। यसबाहेक रातो खुट्टे चराको सुरिलो आवाज र कालो टाउके जलकुक्कुटको चर्को आवाज पनि सुनिन्छ। धर्के पुच्छर भएको दुइवटा गडविट चराहरू हिलोमा चुच्चो गाड्न थाल्छन्। सिपी समात्ने केही चराहरू चाहिं अलि अलि सुन्तले र अलि अलि रातोजस्तो देखिने बाक्लो चुच्चोले लुग कीराहरू तान्दैछन्। खरानी रंगको एउटा हुटिट्याउँ रवाफिलो ढंगमा अघि बढ्छ, एकैछिन रोकिन्छ अनि दाँया खुट्टा झट्कार्छ, त्यसपछि शिकारलाई समात्छ र निल्छ। तर त्यो उर्लंदै आइरहेको ज्वारले तिनीहरू सबैलाई तुरुन्तै छोप्न अब धेरै बेर लाग्दैन!
भागदौड सुरु हुन्छ
अचानक चराहरू आ-आफ्नै जातको बथान बनाउँदै उड्छन्। यी पानीचरोहरूको समूह एउटा आकारमा गुजुमुज्जिंदै उड्दा बडो सुन्दर देखिन्छ। कहिले दाँयातिर ढल्कँदै त कहिले बाँयातिर ढल्कँदै उडिरहेका यी चराहरूको बथानमा सूर्यको किरण पर्दा यिनीहरूको रंग पनि फरक फरक भएको देखिन्छ। अर्थात् कहिले तिनीहरू गाढा खैरो देखिन्छन् त कहिले चाँदीजस्तै सेता। एकैछिन तिनीहरू देखा पर्छन् त केही बेरमै उर्लंदै गरेको हिलाम्मे ज्वारमा विलिनै हुन पुगेको भान हुन्छ। कालोबाट सेतो, सेतोबाट कालो, कत्ति ताल र सुर मिलाएर तिनीहरू उड्दा रहेछन्। उड्दा उड्दै त्यस झुन्डको आकृति पनि अण्डाकारबाट गोलो हुँदै समुद्रको छालझैं तलमाथि हुन्छ र अन्तमा एउटा ठाडो रेखा बन्न जान्छ। अनि ती पानीचरोहरूमध्ये धेरैजसो ज्वारले नभेटेको सतहमा उत्रन्छन्।
वरपरको बलौटे तथा हिलाम्मे जमीन जलमग्न हुनै लागेकोले हामी पनि हत्तारिंदै ती पानीचरोहरूसँगसँगै नदी मास्तिर लाग्न थाल्यौं। तर गुजुमुज्जिंदै उडेका ती फुच्चे डन्लिनको सानो झुन्डले हामीलाई उछिन्यो। जोडसित भ्याटभ्याट गर्दै तिनीहरू छिनछिनमा छोटो तर तीखो आवाज निकाल्दै आपसमा खबरहरू आदानप्रदान गर्दैछन्। त्यसपछि ठूल-ठूला रातो खुट्टे चराहरूको बथान अलि फैलिंदै रवाफिलो ढंगमा हामीमाथिबाट उड्यो। अनि चिर्रचिर्र गर्दै जलकुक्कुट जत्रो कर्ल्यु चराहरू उडे। तिनीहरूलाई एभोसेटको ठूलो झुन्डले पछ्यायो। निलो आकाशमा उडिरहेका यी कालो र सेतो एभोसेटहरू विछट्टै राम्रा देखिन्थे। ती सबै नदीमुखको मुहानमा उत्रिए र त्यहाँ पानीमा तिनीहरूको सिलेटी रंगको लामा लामा खुट्टाहरू मात्र देखिन्थे।
एकै ठाउँमा गुटुमुटिएका
नदीमुख साँघुरिएको ठाउँमा पुग्न हामी हत्तारिंदै उकालो चढ्न थाल्यौं। (चित्रमा बिन्दु ग हेर्नुहोस्।) हुन त यो नियम होइन तर चराचुरुंगी एकै ठाउँमा भेला हुन रुचाउँछन्। ज्वार उर्लंदै गर्दा अझै अरू चराहरू पनि ती चराहरूको थुप्रोमा मिसिन आउँछन्। यसरी यो तटमा खुट्टै राख्न नमिल्नेगरि चराहरू थुप्रिसकेकोले पछि आउने चराहरूलाई पनि उत्रन दिन छिनछिनमा तिनीहरू यताउता सर्छन्।
ज्वार उर्लिसक्यो। टिंटिंबाँस र सुनौलो रंगको हुटिट्याउँ कृषि योग्य जमीनमा फर्किसकेका छन्। बाँकी रहेका सबै चराहरू पनि फेरि पहिलेकै तटमा फर्कन बाध्य भएका छन्। सिपी समात्ने चराहरूको आवाज पनि तिनीहरूको संख्याभन्दा निकै चर्को हुँदैछ। तिनीहरूसँगसँगै रातो खुट्टे चराहरू र कर्ल्यु पनि चिच्याउँदैछन्। तर यिनीहरूको आवाज हामीमाथि उडेर गएको स्काईलार्कको चिरबिरे गीतले गर्दा मधुरो सुनिन्छ। साँच्चै कत्ति रमाइलो छ!
अर्को बृहत् ज्वार नउर्लुञ्जेल ती पानीचरोहरू फेरि एकै ठाउँमा गुटुमुटिएर रमाउन थालेको देखेर हामी फर्क्यौं। अनौठो कुरा के छ भने, पानी नदेखिने ठाउँमा छेकिएर बसेको भए तापनि पुरानै हिलाम्मे सतह वा बलौटे तटमा कहिले फर्कनुपर्छ भनेर ती चराहरूलाई थाह हुन्छ। तिनीहरू ठीक ठीक समय अनुमान गर्नसक्छन्, तिनीहरूसित सहज ज्ञान छ र ज्वारबारे पनि तिनीहरूलाई राम्ररी थाह छ।
हो, उच्च ज्वार उर्लिएको हेर्नु विशेषगरि पहिलो पटक निकै रोमाञ्चकारी हुन्छ!
[फुटनोटहरू]
a यी (चाराड्रीफोर्म्स जातका) पानीचरोहरूलाई संयुक्त राज्य र क्यानाडामा समुद्री चरो भनिन्छ।
b ज्वारले गर्दा सधैंजसो पानी पानी हुने ठाउँ।
[पृष्ठ २४-मा भएको पेटी/चित्र]
ज्वार उर्लने समयमा हुने भागदौडको आनन्द उठाउनुहोस्
उच्च ज्वार उर्लने समयमा हुने भागदौडको आनन्द उठाउन सबैभन्दा पहिला आफूलाई सुविधा पर्ने ठाउँ नदीमुख रोज्नुहोस्। त्यसपछि त्यो इलाकाबारे तपाईंले केही जानकारी हासिल गर्नुपर्छ। जस्तै, पानीचरोहरू उडेर कता जान्छन् र तिनीहरूलाई कहाँबाट हेर्ने आदि। पूर्णे र औंसीपछि उच्च बृहत् ज्वार उर्लने भएकोले ठीक समय पत्ता लगाउन ज्वार उर्लने समय तालिका हेर्नुहोस्। यात्रा गर्नुबाहेक ती चराहरूलाई राम्ररी हेर्न तीन घण्टाजति साँचेर राख्नुहोस् र उच्च ज्वार उर्लने समयभन्दा कम्तीमा पनि दुइ घण्टा अगावै निश्चित स्थानमा पुग्नुहोस्।
तपाईंलाई के के सा- मान चाहिएला? पानीचरोहरूबीच फरक छुट्याउन सक्नुहुन्न भने तिनीहरूबारे लेखिएको किताब साथै राख्नुहोला। दूरबीन लानु पनि कामलाग्दो हुन्छ। हरेक पानीचरोको स्वभाव फरक फरक भएको र चुच्चोको बनोटअनुसार तिनीहरू आहार टिप्दा रहेछन् भनेर तपाईंले केही बेरमै थाह पाउनुहुनेछ। टेलिस्कोप चाहिन्छ नै भन्ने छैन तर न्यानो र पानी नछिर्ने लुगा भने अत्यावश्यक छ! खतराहरूदेखि सतर्क हुनुहोस्! हिलाम्मे जमीनको सतह कस्तो छ थाह छैन भने त्यहाँ नटेक्नुहोस्। नत्रता उर्लंदै गरेको ज्वारमा पर्न के बेर? यसबाहेक एक्कासि समुद्र डम्म तुवाँलोले ढाकियो भने मात्र पनि तपाईंले बाटो बिराउन सक्नुहुन्छ। हावाको बहावलाई पनि ध्यान दिनुहोस्। तातो बतास चल्दा पनि ज्वार उर्लन्छ। र यस्तो समयमा जुनसुकै नदीमुख पनि खतरनाक हुनसक्छ।
[पृष्ठ २५-मा भएको पेटी/चित्र]
विश्वका प्रमुख नदीमुखहरू
नेदरल्याण्ड्सको भाडेन जी युरोपमा ज्वारभाटा चल्ने सबैभन्दा महत्त्वपूर्ण इलाका हो र यहाँ कहिलेकाहीं लगभग ४० लाखभन्दा धेरै पानीचरोहरू आउँछन्। यो नदीमुख उत्तरदेखि दक्षिणपश्चिम जटल्याण्डसम्म फैलिएको छ। विस्तृत रूपमा फैलिएको यो इलाकामा पस्ने तीन ठाउँहरू डेनमार्कको रम जाने राजमार्ग, उच्च ज्वार उर्लंदा चराहरू जम्मा हुने मुख्य ठाउँ जर्मनीको भेजर नदीको नदीमुख र नेदरल्याण्ड्सस्थित ग्रोनिङेन नजीकैको लाऊभर्स जी हुन्। आइबेरियन प्रायद्वीपको सबैभन्दा महत्त्वपूर्ण नदीमुखचाहिं पुर्तुगालको तेगस नदी हो।
उत्तर अमेरिका र दक्षिण अमेरिकाका प्रशान्त समुद्री तटहरूलगायत नदीमुखहरूमा लगभग ६० देखि ८० लाख जति पानीचरोहरू चारा खोज्न आउँछन्। तीमध्ये क्यालिफोर्नियाको सान फ्रान्सिस्को र हम्बोल्ड्ट खाडी, क्यानाडाको भ्यानकुभर बाउन्ड्री खाडीदेखि ब्रिटिश कोलम्बियाको आइयोन टापुसम्म फैलिएको २०० वर्ग किलोमिटर लामो जमीन अनि अलास्काको स्टिकिनी नदीमुख र शाखा नदीहरू भएको कप्पर नदी प्रमुख हुन्।
पानीचरोहरूको मन लोभ्याउने ठाउँहरू सं.रा.अ.-को टेक्सासस्थित बाल्भर फ्लाट र ग्लाभेन्स्टन, हङकङको ताई-पो, उत्तरपूर्वी अस्ट्रेलियाको कार्न्ज र केन्यास्थित मोम्बासा नजीकै पनि हुन्।
[पृष्ठ २२-मा भएको चित्र]
सिपी समात्ने पाँच चराहरू
[पृष्ठ २३-मा भएको चित्र]
गुँड छोडेर उडिरहेका नटहरू
[पृष्ठ २३-मा भएको चित्र]
ओल्ड नदीमुख, सफक
निरीक्षण बिन्दु ख
अवलोकनस्थल ग
सुरुमा देखिने स्थल क
स्नापे माल्टिङ कन्सर्ट हल
[स्रोत]
Snape Maltings Riverside Centre
[पृष्ठ २४-मा भएको चित्र]
नट
[पृष्ठ २४-मा भएको चित्र]
रातो खुट्टे चरो
कर्ल्यु
[पृष्ठ २५-मा भएको चित्र]
माथि: कर्ल्युको बथान