प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ १२/८ पृ. १४-१५
  • भास्को डा गामाको नाउँमा बनाइएको पुल

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भास्को डा गामाको नाउँमा बनाइएको पुल
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हर्षोल्लासपूर्ण उद्‌घाटन
  • बढ्‌दो आवश्‍यकता
  • पुल तर्ने
  • सुरक्षाका लागि चालिएका कदमहरू
  • पर्यावरणीय चुनौतीहरू
  • टावर ब्रिज लण्डनको प्रवेशद्वार
    ब्यूँझनुहोस्‌!—२००७
  • पुलहरू—नभएका भए?
    ब्यूँझनुहोस्‌!—१९९८
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२०००
  • सानो टापुबाट व्यस्त विमानस्थल
    ब्यूँझनुहोस्‌!—१९९८
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९८
g९८ १२/८ पृ. १४-१५

भास्को डा गामाको नाउँमा बनाइएको पुल

पुर्तगालका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

धूमधाम आतसबाजी गरेर युरोपको सबैभन्दा लामो पुलहरूमध्ये एउटा पुल भर्खरै उद्‌घाटन गरियो भन्‍ने समाचार पुर्तगाली अखबारहरूले प्रकाशित गरे। मार्च २९, १९९८ का दिन भास्को डा गामा नामक १७.२ किलोमिटर लामो पुल उद्‌घाटन गरियो। यो पुल १५ औं शताब्दीमा पश्‍चिम युरोपदेखि भारत पुग्ने जलमार्ग पत्ता लगाउने पुर्तगाली अन्वेषकको नाउँमा बनाइएको हो। यो नयाँ पुलले गर्दा पुर्तगालको उत्तरी औद्योगिक क्षेत्र अनि दक्षिण अल्गार्भ र स्पेनसम्म पुग्ने नयाँ बाटोहरू खोलिए।

संसारका सबैभन्दा लामा पुलहरूको सूचीमा यो पुल पाँचौं हो। पुर्तगालको राजधानी लिस्बनबाट बग्ने टागस नदीको किनारदेखि दक्षिण किनारस्थित मोन्टिहो शहरसम्म यो फैलिएको छ। यसको ८२६ मिटर लामो झोलुंगे भागले गर्दा ठूलठूला समुद्री जहाजहरू पुलको ४५ मिटर तलबाट जानसक्छन्‌।

हर्षोल्लासपूर्ण उद्‌घाटन

औपचारिक रूपमा उद्‌घाटन हुनुभन्दा हप्ता दिनअघि भव्य भोज आयोजना गरेर यो पुल उद्‌घाटन गरियो। हो, मार्च २२ आइतबारका दिन ठूलो रमझम थियो किनकि त्यस दिन फाज्वाडु वा कालो सिमीको परम्परागत पुर्तगाली भोजको लागि १५,००० मानिसहरू निम्त्याइएका थिए। यत्ति धेरै मानिसहरूलाई कहाँ भोज खुवाउने? कहाँ हुनु नि, त्यही नयाँ पुलमा! पुलमा पाँच किलोमिटर त टेबुलहरूले ओगटेको थियो। यो दृश्‍य असाध्यै मनमोहक देखिन्थ्यो! भोज राम्रो भयो अनि मानिसहरूले खूब प्रशंसा गरे।

बढ्‌दो आवश्‍यकता

किन यस्तो पुलको आवश्‍यकता पऱ्‍यो? लिस्बनमा अप्रिल २५, १९६६ देखि नै १,०१३ मिटर लामो झोलुंगे पुल प्रयोग हुन थालेको थियो। यस पुलमा दिनहुँ औसतन १,३०,००० वटा जति मोटर गुड्‌थे। व्यस्त आवागमनको समय वा सप्ताहन्तमा मोटरहरू कत्तिको धुइरो लाग्दा हुन्‌, कल्पना गर्नुहोस्‌ त। यात्रीहरूलाई लिस्बन र दक्षिण पुर्तगालबीचको बाटो पार गर्नु एक दुई घण्टा लाग्नु कुनै अनौठो थिएन। अतः अर्को पुलको आवश्‍यकता खट्‌कियो। नदीदेखि १३ किलोमिटर उँचाइमा अवस्थित यो छ वटा गाडी एकै चोटि ओहोरदोहोर गर्न मिल्ने नयाँ पुलले केही हदसम्म आवश्‍यकता पूरा गऱ्‍यो। दिनमा ५२,००० मोटरहरू आवतजावत गर्न थालेपछि अर्को दुईतर्फी मार्ग थप्न सकिने किसिमले यो पुल बनाइएको छ। यसमा प्रति घण्टा १०० किलोमिटरको गतिमा मोटरहरू पार गर्ने आशा गरिएको छ।

पुल तर्ने

आउनुहोस्‌, तपाईं हामीसँगसँगै दक्षिणपट्टि अर्थात्‌ मोन्टिजोबाट पुल तरौं। अहिले हामी जमीन र दलदललाई छोडेर १० किलोमिटर लामो टागस नदीमाथि छौं। नदीमा उच्च ज्वारभाटा छ अनि हामी वरपर पानी नै पानी छ। पुलमा नचिप्लने खालको पेटी भएकोले अनि पुल थाम्ने १,५०० स्तम्भहरूले गर्दा त्यति डर भने लागेन।

अब हामी पुलको झोलुंगे भागमा छौं। यो भागलाई १५० मिटर अग्ला दुइटा टावरमा झुन्ड्याइएका जटिल केबुलहरूले थामेका छन्‌। गोपुरहरूको जग ५० देखि ६५ मिटरसम्म गहिरो छ। थप सुरक्षाका लागि, प्रति घण्टा २२० किलोमिटरको रफ्तारमा बहने हुरीबतास सामना गर्नसक्ने अनि १७५५ मा प्रायः लिस्बन ध्वस्त गर्ने भैंचालोभन्दा साढे चार गुणा शक्‍तिशाली भैंचालो थाम्नसक्नेगरि बनाइएको छ।

हामी भास्को डा गामा पुलको पल्लो छेउमा पुग्दा उत्तरपूर्वी लिस्बनमा खजूरका बोटहरू भेट्‌छौं। चाहन्छौं भने, अब हामी उत्तरी पुर्तगाल जाने राजमार्गतिर लाग्नसक्छौं। यो नयाँ पुलले गर्दा दक्षिणमा अवस्थित अल्गार्भदेखि उत्तरी प्रान्त मेन्हुसम्म राम्रो राजमार्गमा यात्रा गर्न सम्भव भएको छ। साथै, लिस्बनको अव्यवस्थित ट्राफिकको झन्झट पनि छैन!

सुरक्षाका लागि चालिएका कदमहरू

यो पुल बनाउँदा सुरक्षाप्रति विशेष ध्यान दिइयो। पुलमा कार बिग्रेर झट्ट स्टार्ट गर्नसकिएन भने पनि अनेकौं गाडीहरूको भीड लाग्नसक्छ। तथापि, पुल अनि पुलको छेउछाउमा राखिएका ८७ वटा भिडियो क्यामेराहरूले ट्राफिक जाम हुने बित्तिकै प्रहरी चौकी र ट्राफिक कन्ट्रोल केन्द्रका मनिटरहरूमा जानकारी पठाउँछन्‌। पुलमा कुनै गाडी रोक्यो भने, कन्ट्रोल केन्द्रमा घण्टी बज्छ।

यसबाहेक, १७ किलोमिटर लामो पुलमा हरेक ४०० मिटरको अन्तरमा जम्मा ३६ जोडी SOS टेलिफोन राखिएका छन्‌। यी सुरक्षात्मक कदमहरूले कसरी आपत्‌कालिन परिस्थितिको हेरचाह गर्छन्‌? आगलागी नियन्त्रण गर्ने अनि बिग्रेको मोटर छेउमा पन्छाउने विशेष मोटरहरू पुलमा यताउति गुडिरहेकै हुन्छन्‌।

एकाएक हावापानीमा हेरफेर हुँदा नि? दुइटा जलवायु मापक स्टेशनले हावाको गति अनि तीव्रता नाप्नुका साथै हावा बहने दिशा पत्ता लगाएर मौसम र सडकको स्थिति हेरविचार गर्छ। अनि मौसमअनुसार गाडीको रफ्तार घटबढ गर्न लगाउँछ।

राजमार्गका १,२०० वटा बत्तीहरूको झिलिमिलीले राति पुल अति नै मनमोहक देखिन्छ।

पर्यावरणीय चुनौतीहरू

यो नयाँ पुल कहाँ बनाउने भनी निर्णय गर्न सजिलो भएन। यसमा कुन कुन कुराहरू बिथोलित थिए?

पर्यावरणको दृष्टिकोणले पुल बनाउने ठाउँमा ठूलो चुनौती खडा भयो। यसो हुनुको कारण, पश्‍चिमी युरोपको सबैभन्दा ठूला नदीमुखहरूमध्ये एउटा नदीमुखमा अवस्थित पक्षीहरूको प्राकृतिक संरक्षणमाथि यो पुल बनाउनु पर्नेथियो। वनस्पति, माछा, चराचुरुंगी, पुरातात्विक उत्खननहरू, हावापानी अनि नूनका खानीहरू जोगाउन विस्तृत अध्ययन गर्नुपऱ्‍यो। किन टागस नदीमुखमा जंगली जनावरहरू आकर्षित हुन्छन्‌? यो नदीमुख पुर्तगाल र युरोपका महत्त्वपूर्ण आर्द्र क्षेत्रहरूमध्ये एक हो। अतः यो अन्तरराष्ट्रिय तवरमै संरक्षण गरिएका ब्ल्याक विङ स्टिल्ट, केन्टिस प्लोभर र समुद्री चरा टर्नजस्ता बसाइँ सर्ने चराचुरुंगीहरू फैलिने उपयुक्‍त ठाउँ हो। शरद र हिउँद महिनामा उच्च ज्वरभाटाबाट बच्न हजारौं चराचुरुंगीहरू यही नुन खानीमा ओइरिन्छन्‌।

माछाका पुराना पोखरीहरूलाई पनि ध्यान दिनु आवश्‍यक थियो। यसको मतलब, माछालाई भरसक कम खलबल्याउन सावधान हुनुपर्थ्यो। ती पोखरीहरू अन्यत्र सार्न विशेषगरी सोल र सि बासमाछा गरेर तीन हजार माछाहरू पक्रियो।

माछाहरूका यी शान्त प्राकृतिक बासस्थान अकस्मात्‌ शहर नजिकै सारिए। वातावरणमाथि कतिको प्रभाव पर्ला त? टागस नदीको दक्षिणी किनार जगेर्ना गर्न चालिएका कदमहरूले प्राकृतिक सम्पदाहरू यथासम्भव संरक्षण गर्नेछ भन्‍ने आशा गरिएको छ।

भास्को डा गामा पुल इन्जिनियरिङ क्षेत्रमा भएको प्रगति, वास्तुकलात्मक सौन्दर्य र एकरूपताको ठूलो उपलब्धी हो। भास्को डा गामाको नाउँमा निर्मित पुलले गर्दा पुर्तगालले गर्व गर्नसक्छ!

[पृष्ठ १५-मा भएको नक्सा/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

पुर्तगाल

स्पेन

[नक्सा]

पुर्तगाल

लिस्बन

मोन्टिजो

भास्को डा गामा पुल

[स्रोत]

साभार Lusoponte/Sonomage

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने