पुलहरू—नभएका भए?
“तपाईंलाई एक ठाउँदेखि अर्को ठाउँसम्म पुऱ्याउने पुलको प्रशंसा गर्नुहोस्।” —१९ औं शताब्दीको अंग्रेज नाटककार जर्ज कोल्मेन।
तपाईं हालै पुल तर्नुभएको कति भयो? के त्यसलाई ध्यान दिएर हेर्नुभयो? दिनहुँ लाखौं मानिसहरू पुल तर्छन्। हामी त्यसलाई त्यति ध्यान दिदैनौं। हामी पुलबारे सायद केही नसोची हिंड्छौं, साइकल, मोटरसाइकल अनि मोटर गुडाउँछौं। तर ती नभएका भए?
नदी, खोंच वा भीरजस्ता वारपार गर्नै नसकिने ठाउँहरूमा मानिस र जनावरहरू हजारौं वर्षदेखि विभिन्न प्रकारका पुलहरूको मदतद्वारा वारपार गरिरहेका छन्। कुनै कुनै शहरहरूमा पुल नभएको भए कस्तो होला, कल्पनै गर्न सकिन्न। जस्तै, कायरो, न्यु योर्क, मस्को, लन्डन, सिड्नी तथा अन्य थुप्रै शहरहरू। हो, पुरातन समयदेखि नै पुलहरू प्रयोग गरिएका छन्।
पुरातन समयका पुलहरू
आजभन्दा २,५०० वर्षअघि बाबेलकी रानी निटोक्रिसले युफ्रेटिस नदीमा पुल निर्माण गरिन्। किन? ग्रीक इतिहासकार हेरोडोटस जवाफ दिन्छन्: “[बाबेललाई] नदीले दुई भागमा छुट्टयाएको थियो। त्यस अघिका राजाहरूको समयमा एक भागबाट अर्को भागसम्म जान ढुंगा चढ्नुपर्थ्यो। मलाई लाग्छ, त्यसरी वारपार गर्नु एकदमै कठिन थियो।” काठ, इँटा तथा ढुंगाजस्ता निर्माण सामग्री अनि फलाम र सीसाको मार्टर प्रयोग गरेर निटोक्रिसले पुरातन समयका प्रसिद्ध नदीहरूमध्ये एउटा नदीमा पुल बनाइन्।
कहिलेकाहीं पुलहरूले इतिहासलाई पनि असर गरेका छन्। फारसका महान् राजा दारा आफ्नो सैनिक दल लिएर सिनेथीहरूलाई आक्रमण गर्न जाँदा एसियादेखि युरोप पुग्ने सबैभन्दा छोटो स्थलमार्ग पछ्याउन चाहन्थे। त्यसको लागि तिनले आफ्ना ६,००,००० सेनालाई बासपरस स्ट्रेट तार्नुपर्थ्यो। बाक्लो हुस्सु र पानीको तीव्र प्रभावले गर्दा डुंगाद्वारा स्ट्रेट अर्थात् साँघुरो नदी पार गर्नु खतरनाक थियो। अतः ९०० मिटर लामो अस्थायी पुल निर्माण नगरुञ्जेल दाराले डुंगाहरू एकै ठाउँमा बाँधेर राखे। आज नदी तर्न दाराले जस्तो दुःख गर्नुपर्दैन। अहिले इस्तानबुल, टर्कीको बासपरस पुल तपाईं मोटर चढेर दुई मिनेटभन्दा कम समयमै वारपार गर्न सक्नुहुन्छ।
तपाईं बाइबल विद्यार्थी हुनुहुन्छ भने, पुल नहुनाले इतिहासलाई असर गरेको एउटा घटना विचार गर्नसक्नुहुन्छ। बाबेलका राजा नबूकदनेसरले टायर टापुको शहरलाई घेरा हाल्दा के भयो, सम्झनुहोस्। तिनले १३ वर्षदेखि यो शहर कब्जा गर्ने कोसिस गरिरहेका थिए तर सकेनन्। किनकि उक्त टापु र मुख्य भूभागबीच कुनै पुल थिएन। (इजकिएल २९:१७-२०) त्यसपछि ३०० वर्षसम्म अर्थात् महान् सिकन्दरले मुख्य भूभाग र टापुबीच पुल निर्माण नगरेसम्म उक्त टापुको शहरलाई कब्जा गर्न सकिएन।
प्रथम शताब्दीतिर ‘सबै बाटोले रोम नै पुऱ्याउँछ’ भन्ने आहान प्रचलित भइसकेको थियो। तर पूरै साम्राज्य एकीकरण गर्न रोममा पुल र बाटोहरू बनाउनु आवश्यक थियो। रोमी इन्जिनियरहरूले आठ/आठ टनका ढुंगाहरू जोडेर गुम्बज आकारका पुलहरू बनाए। ती पुलहरू यत्ति कुशल ढंगमा डिजाइन गरिएका थिए कि २,००० वर्षभन्दा बढी समय बितिसक्दा पनि तीमध्ये कुनै कुनै त अझै अस्तित्वमा छन्। त्यहाँका नहर तथा सुरुङहरूले पनि पुलकै काम गर्छन्।
मध्ययुगमा पुलले कहिलेकाहीं किल्लाको काम पनि गर्थ्यो। स्याक्सनहरूले डेनिसहरूको आक्रमणबाट बच्न सा.यु. ९४४ मा लन्डनको थेम्स नदीमा काठको पुल निर्माण गरे। झन्डै ३०० वर्षपछि उक्त काठको पुल भएको ठाउँमा ओल्ड लन्डन ब्रीज निर्माण गरेर धुमधामसित उद्घाटन गरियो।
रानी एलिजाबेथ प्रथमले बेलाइतमा शासन गर्न थालेपछि ओल्ड लन्डन ब्रीज ढुंगाको किल्लामा मात्र सीमित रहेन। पुलको दायाँतिर भवनहरू बनाइए। भवनको भुइँ तलामा पसलहरू खोलिए। अनि माथिल्लो तला नि? त्यहाँ धनाढ्य व्यापारी अनि शाही अदालतका सदस्यहरूसमेत भाडामा बस्न थाले। लन्डन ब्रीज लन्डनको सामाजिक जीवनको केन्द्र बन्यो। पसल र निवास स्थानको भाडाले पुलको स्याहारसम्भार गर्न टेवा पुग्यो। हो, लन्डन ब्रीजको मार्ग कर पनि उठाइन्थ्यो!
युरोपेलीहरू काठ र ढुंगाको पुल निर्माण गर्न व्यस्त हुँदा दक्षिण अमेरिकाका इन्काहरूले डोरीद्वारा पुल बनाउँदै थिए। एउटा प्रसिद्ध उदाहरण, सान लुइस रेको पुल हो। यो पुल पेरूको आपुरिमेक नदीमा छ। इन्काहरूले बोटबिरुवाका रेशा निकाले अनि बटारेर मान्छे जत्तिकै मोटो केबुलहरू बनाए। तिनीहरूले केबुलहरू ढुंगामा बाँधेर नदीको वारिपारि तन्काए। तिनीहरूले नदीको दुवैतिर केबुल बाँधेपछि ठूलठूला फलेकहरू झुन्डाएर सडक बनाए। पुल मरम्मत गर्नेहरूले प्रत्येक दुई वर्षमा नयाँ केबुलहरू फेर्थे। एकदमै राम्रोसँग बनाइएको अनि उचित मरम्मत गरिएकोले यो पुल पाँच वर्षसम्म टिक्नसक्यो!
पुल अनि हाम्रो बद्लिंदा आवश्यकताहरू
पुलहरू भुइँचालो, हुरीबतास अनि तापक्रमको परिवर्तनमा टिक्नसक्ने हुनैपर्छ। हामीले थाह पाइसक्यौं, केही समयअघिसम्म इन्जिनियरहरू काठ, इँटा अथवा ढुंगाद्वारा पुल निर्माण गर्थे। उन्नाइसौं शताब्दीको अन्ततिर गाडी चल्न थालेपछि त्यतिखेरका पुलहरू मरम्मत गर्नुका साथै ठूलठूलो गाडी छिर्न चौडा बनाउनु पऱ्यो।
बाफले चल्ने यन्त्रको आविष्कारले पनि पुल बनाउने तथा डिजाइन गर्ने उत्प्रेरणा दियो। सबैभन्दा सजिलो रेल मार्ग बनाउँदा अक्सर फराकिलो खोल्सा वा ठूलो खाँद पार गर्नुपर्छ। तर के यस्तो खोंच जोड्ने अनि धेरै सरसामान ढुवानी गर्ने रेल थाम्नसक्ने पुल बनाउनु सम्भव थियो? यो आवश्यकता केही समयसम्म कीटका पुलहरूले पूरा गरे। उन्नाइसौं शताब्दीको प्रारम्भतिरको प्रसिद्ध पुलहरूमध्ये एउटा उत्तर वेल्सको मिनाइ स्ट्रेटको झोलुंगे पुल हो। यो पुल स्कटिश इन्जिनियर थोमस टेलफ्रेडले डिजाइन गरेका हुन् जसको निर्माण कार्य १८२६ मा सिद्धियो। यो पुल १७६ मिटर लामो छ र अहिले पनि प्रयोग भइरहेको छ! तर कीट चर्किने हुनाले पुल भत्कनु साधारण कुरा हो। अन्ततः, १८०० शताब्दीको अन्ततिर फलामका बीमहरू उत्पादन गर्न थालियो। फलामका बीमहरूमा लामो र सुरक्षित पुल बनाउँदा चाहिने विशेषताहरू थिए।
विभिन्न प्रकारका पुलहरू
पुलहरू मुख्यतः सात प्रकारका छन्। (माथिको पेटी हेर्नुहोस्।) यहाँ तीमध्ये दुइवटाको छोटकरीमा छलफल गर्नेछौं।
केन्टिलिभर पुल-मा दुइटा बडेमानका टावर हुन्छन्। ती टावरहरू नदीको दुवैतिर बनाइएका हुन्छन्। स्वीमिङ पुलमा डाइभिङ बोर्ड बाँधेर राखिएझैं ती दुवै टावरमा बीमहरू तेर्साइन्छन्। अनि ती बीमहरूलाई बीचमा सत्तरीले बाँधेपछि पुल तयार हुन्छ।
नदी बौलाएर बग्ने ठाउँमा अथवा नदीतल एकदमै कच्चा भएको ठाउँमा केन्टिलिभर पुल बनाउन उचित मानिन्छ। किनकि यो पुल बनाउँदा नदीमा स्तम्भहरू उठाउनुपर्दैन। केन्टिलिभर पुल एकदमै पक्का हुन्छ। अतः रेलजस्तो वजनदार सवारीसाधन थाम्न यो पुल उपयुक्त हुन्छ।
सर्कस देखाउने व्यक्ति तनक्कै तन्काएको डोरीमा हिंडेको त तपाईंले देख्नुभएको होला। के तिनी सस्पेन्सन पुलमा हिंडेजस्तो लागेन? अहिलेका कतिपय सस्पेन्सन पुलहरू तनक्क तन्काइएको डोरीभन्दा कम जटिल छैनन्। यस्ता पुलका दुईतिर केबुल तन्काएको हुन्छ अनि त्यसमा एउटा टोकरी झुन्डाइएको हुन्छ। यात्री टोकरीमा बस्छ अनि एक छेउदेखि अर्को छेउसम्म नपुगुञ्जेल आफैले ओरालोतिर ठेल्छ। विश्वभरिका मानिसहरूले सधैं डोरीले बनाएको पुल प्रयोग गरेका छन्।
निस्सन्देह, डोरीले बनाएको पुलमा मोटर गुडाएको तपाईं कल्पना पनि गर्नसक्नुहुन्न। फलामका साङला र फलामका केबुलहरू बनाउन थालेपछि धेरै भार थाम्नसक्ने सस्पेन्सन पुल बनाउन सम्भव भयो। अहिलेका सस्पेन्सन पुलहरू १,२०० मिटर वा त्योभन्दा लामो पनि हुनसक्छन्। सस्पेन्सन पुल साधारणतः फलामका बीमहरूको दुइटा स्तम्भमा बनाइएको हुन्छ अनि ती स्तम्भले एक एकवटा टावर थामेको हुन्छ। हजारौं तारहरूले बनिएका फलामका केबुलहरू टावर र सडकमा जोडिएका हुन्छन्। मुख्यतः केबुलहरूले सवारीसाधन र सडकको भार थाम्छन्। राम्ररी निर्माण गरियो भने, संसारका सुरक्षित पुलहरूमध्ये सस्पेन्सन पुल एक हो।
तपाईंले बितेका समयमा पुललाई त्यति वास्ता गर्नुभएको थिएन होला। तथापि, अर्को चोटि सधैं हिंडिरहनुभएको पुल तर्नुहुँदा आफैलाई यी प्रश्नहरू सोध्नुहोस्, ‘मलाई यो पुलबारे के थाह छ? यो कहिले निर्माण भएको हो?’ त्यसलाई ध्यान दिएर हेर्नुहोस्। त्यो कस्तो पुल हो, केन्टिलिभर, सस्पेन्सन वा अरू नै? यहाँ किन यही डिजाइनको पुल बनाइयो?
त्यसपछि, पुल तर्नुहुँदा तल हेरेर आफैलाई सोध्नुहोस्, ‘यो पुल नभएको भए?’
[पृष्ठ १२-मा भएको पेटी/चित्र]
पुलका डिजाइनहरू
१. सत्तरीले बनाइएका पुलहरू अक्सर राजमार्गमा बनाइन्छन्। सत्तरीहरू स्तम्भ वा कुनै आधारले थामेका हुन्छन्। यस्ता पुलहरूको लम्बाइ ३०० मिटरसम्म हुन्छ।
२. ट्रस पुलहरू त्रिभुज आकारका ट्रसहरूले थामेको हुन्छ। यस्ता पुलहरू खोंच, नदी तथा त्यस्तै अन्य ठाउँहरू जोड्न प्रायः रेलमार्गमा प्रयोग गरिन्छ।
३. गुम्बज आकारका पुलहरूको दुवैपट्टि गुम्बज हुन्छ। यो सबैभन्दा पुरानो प्रकारका पुलहरूमध्ये एक हो। रोमीहरूले जलमार्ग अनि सेतुहरूमा यस्ता गुम्बज बनाए अनि गुम्बजको टुप्पो ढुंगाले जोडे। त्यस्ता थुप्रै पुलहरू अहिले पनि अस्तित्वमा छन्।
४. केबुलले बनाइएका पुलहरू झोलुंगे पुलझैं हुन्छन्। फरक यति हो, केबुलहरू सिधैं टावरमा जोडिएका हुन्छन्।
५. जंगम पुलहरू पानी जहाज पार गर्ने समयमा माथि उठाउन वा चारैतिर घुमाउन सकिन्छ। यसको राम्रो उदाहरण, लन्डनको टावर ब्रीज हो।
६. केन्टिलिभर पुलबारे मूल लेखमा बताइएको छ।
७. सस्पेन्सन पुलबारे मूल लेखमा बताइएको छ। — वर्ल्ड बूक इन्साइक्लोपीडिया, १९९४.
[पृष्ठ १३-मा भएको तालिका]
केही प्रसिद्ध पुलहरू
सस्पेन्सन
स्टोरबेल्ट डेनमार्क १,६२४ मिटर
ब्रूकलिन स.रा.अ. ४८६ मिटर
गेल्डेन गेट स.रा.अ. १,२८० मिटर
याङजी चीन १,३८५ मिटर
केन्टिलिभर
फथ (दुई भाग भएको) स्कटल्याण्ड ५२१ मिटर
क्युबेक क्यानाडा ५४९ मिटर
मिस्सिसिपि नदी स.रा.अ. ४८० मिटर
फलामको गुम्बज
सिड्नी हार्बर अस्ट्रेलिया ५०० मिटर
बरचीनफ जिम्बावे ३२९ मिटर
केबुल पुल
पोन डि नर्मन्डे फ्रान्स ८५६ मिटर
स्कमसिनि नर्वे ५३० मिटर
[पृष्ठ १०-मा भएको चित्र]
अल्मेरिया, स्पेनमा प्राचीन समयको गुम्बज पुलमाथि बनाइएको आधुनिक सत्तरी पुल
[पृष्ठ १३-मा भएको चित्र]
ब्रूकलिन ब्रीज, न्यू योर्क, स.रा.अ. (सस्पेन्सन)
[पृष्ठ १३-मा भएको चित्र]
टावर ब्रीज, लन्डन, बेलाइत (जंगम)
[पृष्ठ १३-मा भएको चित्र]
सिड्नी हार्बर ब्रीज, अस्ट्रेलिया (गुम्बज)
[पृष्ठ १३-मा भएको चित्र]
सेटो ओहासी, जापान (केबुल पुल)