प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ८/८ पृ. १४-१९
  • सिड्‌नी—भव्य बन्दरगाह शहर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सिड्‌नी—भव्य बन्दरगाह शहर
  • ब्यूँझनुहोस्‌!—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पहिले कैदखाना, अहिले सम्पन्‍न शहर
  • शहरले काँचुली फेर्न थाल्छ
  • सिड्‌नीको ‘आकर्षक तथा फराकिलो जलाशय’
  • सिड्‌नी हार्वर ब्रीज —इन्जिनियरिङको विशिष्ट नमुना
  • बन्दरगाहमा सिड्‌नीको रत्न
  • नाट्यशालाभित्र एक नजर
  • चिडियाखाना घुम्न नभुल्नुस्‌ नि!
  • वृद्ध र पूरा उमेर पुगेकी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • पुलहरू—नभएका भए?
    ब्यूँझनुहोस्‌!—१९९८
  • भास्को डा गामाको नाउँमा बनाइएको पुल
    ब्यूँझनुहोस्‌!—१९९८
  • टावर ब्रिज लण्डनको प्रवेशद्वार
    ब्यूँझनुहोस्‌!—२००७
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ८/८ पृ. १४-१९

सिड्‌नी—भव्य बन्दरगाह शहर

अस्ट्रेलियाका ब्यूँझनुहोस्‌! संवाददाताबाट

“अस्ट्रेलियाको सिड्‌नी” भन्‍ने बित्तिकै तपाईं के सम्झनुहुन्छ? के तपाईं तुरुन्तै हावाले डुंगाका पालहरूलाई भुक्क फुलाएझैं वा ठूलठूला खपटाहरूजस्तै देखिने छाना भएको पानी छेउमा अवस्थित विशिष्ट नाट्यशाला सम्झनुहुन्छ? यो तपाईंको चासोमा भरपर्ने कुरा भए तापनि त्यो चित्र तपाईंको मनमा आउनसक्छ।

सिड्‌नी अर्थात्‌ अस्ट्रेलियाको प्रवेशद्वार शहरलाई थुप्रैले संसारकै आकर्षक शहरहरू मध्ये एक मान्छन्‌। यो न्यु साउथ वेल्सको राजधानी शहर हुनुका साथै महादेशकै जनसंख्या चाप बढी भएको ठाउँ हो। तथापि, महादेशको राजधानी क्यानबेरा भने सिड्‌नी र मेलबोर्नको बीचतिर पर्दछ।

सिड्‌नीवासी भन्‍न रुचाउने यस शहरका बासिन्दाहरूलाई मित्रैलो तथा सुलभ भन्‍न सकिन्छ। अक्सर लोकप्रिय गीतहरूले “सिड्‌नी” शहरबारे बताएझैं यो सामान्यतयाः तीनवटा सीमाचिह्नका लागि उल्लेखनीय छ। ती हुन्‌: (१) हरियाली छाएको बन्दरगाह, (२) एउटा मात्र सत्तरी भएको आश्‍चर्यलाग्दो हार्बर ब्रीज र (३) विशिष्ट नाट्यशाला।

एकदम गर्मी हुने फेब्रुअरी महिनामा तापक्रम सालाखाला २२ डिग्री सेल्सियस र धेरै जाडो हुने महिना जुलाईमा औसत १२ डिग्री सेल्सियस हुने हुँदा यहाँको हावापानी ठिक्कको छ। अस्ट्रेलियामा कहिले धेरै त कहिले थोरै पानी पर्ने भएकोले मौसमसम्बन्धी पूर्वानुमान लगाउन सकिंदैन। तर सिड्‌नीमा भने वर्षमा सालाखाला १,१४० मिलिमिटर पानी पर्छ, त्यसमा पनि ग्रीष्मऋतुको (डिसेम्बरदेखि मार्चसम्म) दौडान सबैभन्दा बढी पानी पर्छ।

आउँदो केही महिनाहरूमा तपाईंले सिड्‌नीबारे अझ धेरै कुरा थाह पाउनुहुनेछ किनभने सन्‌ २००० मा आयोजना हुने ओलम्पिक खेलको लागि यसै शहरलाई आयोजक छनौट गरिएको छ।

पहिले कैदखाना, अहिले सम्पन्‍न शहर

संसारका अन्य ख्यातिप्राप्त शहरहरूको दाँजोमा सिड्‌नी शहर नौलो नै छ किनभने यस शहरको इतिहास २०० वर्षअघि १७७० मा मात्र सुरु भएको हो। त्यसबेला इतिहासमै पहिलो पल्ट बेलाइती अन्वेषक क्याप्टेन जेम्स कूक बोटानी खाडीमा पुगेका थिए। (बोटानी खाडीको उत्तरी किनारा अहिले सिड्‌नीको अन्तरराष्ट्रिय विमानस्थल भएको छ।) उत्तरतिर केही किलोमिटर यात्रा गरेपछि तिनी हरियाली प्रशस्त छाएको बन्दरगाहमा आइपुगे र त्यसलाई पोर्ट ज्याक्सन नाम दिएर सरासर अघि बढे। अतः तिनी बन्दरगाहतिर लैजाने ती दुई पहाडी श्रृंखलाहरूबीच छिरेनन्‌।

त्यसपछि, १७८८ मा बेलाइतबाट गभर्नर अर्थर फिलिप अपराधीहरूलाई राखिएको जहाजहरूलाई डोऱ्‍याउँदै त्यहाँ आइपुगे। जहाजबाट किनारातिर लागेर तिनले बोटानी खाडीमा शिविर बनाउने उपयुक्‍त ठाउँ खोजे तर तिनलाई त्यो ठाउँ अनुपयुक्‍त लाग्यो। अतः, तिनी अर्को कुनै राम्रो ठाउँको खोजीमा तीनवटा डुंगाहरू लिएर उत्तरतिर लागे।

वास्तवमा, केही किलोमिटर पर तिनले अचम्मको लामो अनि फराकिलो खाडी भेट्टाए जसलाई कूकले झलक्कमात्र हेरेर हिंडेका थिए। बेलाइतका गृह सचिव लर्ड सिड्‌नीलाई पठाएको प्रसिद्ध राजकीय सन्देशमा पोर्ट ज्याक्सनबारे फिलिपले आफ्नो धारणा यसरी व्यक्‍त गरे: “हामी . . . संसारको सबैभन्दा सुन्दर बन्दरगाह भेट्टाएकोमा सन्तुष्ट छौं। यहाँ हामी थुप्रै जहाजहरू मेलैसित राख्नसक्छौं र त्यो पनि पूरापूर सुरक्षासाथ।” लर्ड सिड्‌नीको सम्मानमा तिनले यो खाडी भित्रको खाडीलाई सिड्‌नी कोभ नामाकरण गरेर बस्ती बसाए। सिड्‌नी नाम त आजसम्म रहेकै छ।

सबै पुरुष अपराधीहरूलाई त्यहाँ ओह्रालेर तुरुन्तै त्यस भूमिलाई सफा गर्न र अस्थायी छाप्राहरू बनाउन थालियो। थुप्रै अपराधीहरूका साथ तिनीहरूका स्वास्नी तथा छोराछोरीहरू पनि त्यस जहाजमा थिए। आफ्नो जन्मभूमिभन्दा हजारौं किलोमिटर टाढा कठिन परिश्रम गरेर भेट्टाएको यस नयाँ “घरलाई” तिनीहरू सबैले निकै सुन्दर बनाउनु पर्ने थियो। अरू २० वर्षसम्म तिनीहरूले झुत्रो पालहरूका साथै छाप्रा तथा टहराजस्ता अस्थायी घरहरूमा मात्र बसोबास गर्नुपऱ्‍यो। किनभने खासगरी यो कैदखाना मात्र थियो। तथापि, १८१० मा गभर्नर लाकलन माक्वारी सिड्‌नी आइपुगेपछि तिनको ११ वर्षीय स्वामित्वमा यस उपनिवेशको रूप तीव्र गतिमा परिवर्तन हुनथाल्यो।

शहरले काँचुली फेर्न थाल्छ

बेलाइतबाट माक्वारीसँगै आएका आर्किटेक्टले पछि त्यहीं स्वतन्त्र भएका अपराधी, पूर्व आर्किटेक्टसँग मिलेर माक्वारीको निर्देशनमा सिड्‌नी तथा त्यस वरपर थुप्रै भवनहरू डिजाइन गरे। यसले तुरुन्तै उक्‍त अपराधी शिविर स्थिर गर्ने वातावरण तयार पाऱ्‍यो। त्यहाँ थुप्रै अपराधीहरू भएकाले श्रमिकहरूको कुनै कमी थिएन। त्यसमाथि पनि भवन निर्माण गर्न उपयोगी हुने बलौटे ढुंगाहरू त्यहाँ प्रशस्तै थिए।

लेखक पोर्टीया रविन्सनले आफ्नो पुस्तक दि वीमेन अफ बोटानी बे-मा यस उपनिवेशको स्वरूप कति छिटो परिवर्तन भयो भन्‍नेबारे यसो लेखिन्‌: “माक्वारीले शासन गरेको दशक [१८१०-२१] बितेपछि न्यु साउथ वेल्समा वेश्‍यावृत्ति, मतवालीपन अनि गैरकानुनी कार्यहरू गर्न त्यहाँ पुगेका यात्रुहरू, स्वतन्त्र बासिन्दाहरू, अधिकारीहरू, सिपाहीहरू तथा अपराधीहरू बेलाइतको उपनिवेश मात्र ठानेको यस ठाउँको ‘सभ्यता’ देखेर तीनछक परे। छाप्रो तथा टहराहरूको सट्टा तिनीहरूले ठूलठूला दरबारहरू देखे। ‘ती दरबारहरू हानोभर स्क्वायरमा पनि शोभनीय देखिने खालका थिए . . . सडकहरू अक्सफर्ड सडकजस्तै लामा न लामा थिए,’ विशाल चर्चहरू अनि सार्वजनिक भवनहरू, बाटोघाटो तथा पुलहरू, विभिन्‍न प्रकारका सामानहरू बेचिने पसलहरू अनि व्यापारहरू, श्रमिकहरूका लागि सफा घर, सम्पन्‍न व्यक्‍तिहरूले चढ्‌ने राम्रा बग्गीहरू . . . ‘यी सबै थोकलाई हेर्दा यसलाई अपराधीहरू राख्ने उपनिवेश भन्‍न मुस्किल परेको थियो।’ ”

त्यसैले १८२१ मा गभर्नर माक्वारीले सिड्‌नी छोड्‌ने बेलासम्ममा त्यहाँ ५९ वटा बलौटे ढुंगाका, २२१ वटा ईंटका अनि ७७३ वटा काठका घरहरूका साथै सरकारी स्वामित्वमा रहेका घरहरू र सार्वजनिक घरहरू पनि बनिसकेका थिए। हाल, करिब ४० लाख बासिन्दाहरू भएको सिड्‌नी शहरले ती अपराधी, स्वतन्त्र बासिन्दा तथा तिनीहरूका परिवारको दक्षताका साथै त्यस उपनिवेशका पहिले पहिलेका गभर्नरहरूको दूरदर्शिताका लागि सम्मान व्यक्‍त गरिरहेका छन्‌।

सिड्‌नीको ‘आकर्षक तथा फराकिलो जलाशय’

सिड्‌नीका विभिन्‍न भूभागमा बसोबास गर्ने बासिन्दाहरूले पोर्ट ज्याक्सनलाई नै सिड्‌नी बन्दरगाह भन्‍ने गरे तापनि यो वास्तवमा तीन क्षेत्रहरू मिलेर बनेको छ। ती हुन्‌, मध्य-बन्दरगाह, उत्तरी-बन्दरगाह र सिड्‌नी-बन्दरगाह। पारामाट्टा र लेन कोभ नदीहरू बन्दरगाहबाट शहरको छेउछाउसम्मै पुगेको छ।

संसारकै सुन्दर प्राकृतिक बन्दरगाहहरू मध्ये सिड्‌नी बन्दरगाह पनि एक हो। यसका २४० किलोमिटर लामो बलौटे ढुंगाहरू रहेको समुद्रीतट छन्‌। बन्दरगाहको प्रवेशद्वारबाट पारामाट्टा नदी पुगेर नमोडुञ्जेल यसको दूरी १९ किलोमिटर छ भने पानीको सतह जम्मा ५४ वर्ग किलोमिटर रहेको पाइन्छ। बन्दरगाह किनारको गहिराइ पनि यसको एउटा उल्लेखनीय भाग हो र त्यसको सबैभन्दा गहिरो ठाउँको नाप ४७ मिटर रहेको छ। प्रशान्त महासागरबाट भित्र पस्ने प्रवेशद्वार उत्तरी तथा दक्षिणी गरी दुई पहाडी श्रृंखलाहरूबीच रहेको कुरा पनि विचारणीय छ। यी दुई पहाडी श्रृंखलाहरूको दूरी दुई किलोमिटर मात्र छ। तर भित्रको बन्दरगाह कत्तिको विशाल छ भन्‍ने थाह पाउन त आफै भित्र गएर हेर्नुपर्ने हुन्छ। यसै कुरालाई ध्यान दिंदा पनि क्याप्टेन कूक त्यहाँ भित्र पसेर अन्वेषण गर्न किन गएनन्‌ थाह पाउनसकिन्छ। यो खाडी तिनले सोचेभन्दा साँच्चै भिन्‍न थियो।

गभर्नर फिलिपले १७८८ मा सिड्‌नी बन्दरगाहबारे यसो भने: ‘यो मैले देखेको मध्ये सबैभन्दा फराकिलो तथा सुरक्षित बन्दरगाह हो। अनि मसित भएका अत्यन्त अनुभवी जहाज चालकहरूले समेत यसलाई आकर्षक अनि फराकिलो जलाशय भनी स्वीकारेका छन्‌। ठूलठूला जहाजहरूका लागि पुग्ने गहिराइ तथा प्रशस्त ठाउँ हुनुकासाथै जतिसुकै जहाजहरू पनि यहाँ सुरक्षितसाथ राख्नसकिन्छ।’

सिड्‌नी हार्वर ब्रीज —इन्जिनियरिङको विशिष्ट नमुना

भनौं भने १८१५ मै उत्तरदेखि दक्षिणी बन्दरगाह जान पुलको आवश्‍यकता महसुस गरिएको थियो। तर पुलको रूपरेखा १८५७ पछि मात्र बनेको अभिलेखमा पाइन्छ। आज यो पुल बन्दरगाहको दक्षिणी भाग डोआजबाट उत्तरी किनार मिलसन्समा—ठ्याक्कै पहिले प्रस्ताव गरिएको ठाउँमै अडिएको छ! संसारका लामा पुलहरू मध्ये एउटै मात्र सत्तरीले बनेको यो पुल बनाउन मात्रै नौ वर्ष लागेको थियो भने झन्डै दुई करोड अस्ट्रेलियन डलर खर्च भएको थियो। त्यो पनि आर्थिक संकट चर्किरहेको १९३०/३२ सालको दशकमै सबैभन्दा बढी खर्च थियो। यातायातका लागि, आधिकारिक रूपमा यो मार्च १९, १९३२ मा खुल्ला गरिएको थियो।

यस गुम्बजको लम्बाइ ५०३ मिटर अनि पानीबाट सबैभन्दा अग्लो भाग १३४ मिटरको उचाइमा रहेको छ। त्यस्तै महासागरमा चल्ने ठूलठूला पानीजहाजहरू सुरक्षितसाथ सजिलै पुलमुनीबाट वारपार गर्नसक्छन्‌ किनभने पुलमुनी ५० मिटर ठाउँ खुला रहेको छ। त्यस्तै यस पुलको चौडाइ ४९ मिटर हुनुका साथै दुईतर्फी रेलमार्ग, दुईतर्फी ट्राममार्ग (स्ट्रिटकार लाइन), छ पंक्‍ति सडक अनि दुईवटा पैदलमार्ग रहेका छन्‌। सन्‌ १९५९ मा यहाँ स्ट्रिटकारहरूको सट्टा बसहरू चलाउन लगाइयो यसले गर्दा ती ट्राममार्गहरूलाई पनि सडक ट्राफिकमार्गमा परिवर्तन गरियो। अहिले कार, बस तथा ट्रकहरू हाँक्न त्यहाँ जम्मा आठ पंक्‍ति सडक छन्‌। यसरी यस पुलको गुम्बजको दुई किनारा बीचको लम्बाइ १,१४९ मिटर रहेको छ।

यस पुलको यातायात १९८० सम्ममा यतिबिघ्न साँघुरीसकेको थियो कि बन्दरगाह तर्न अर्को पुल बनाउने प्रस्तावसमेत राखिएको थियो। अब बनाउने पुलचाहिं पानीमुनि बनाउनु निकै व्यवहारिक देखियो। तसर्थ, अगस्त १९९२ मा चार पंक्‍ति बाटो भएको बन्दरगाह सुरुङ खोलियो।

यस पुलबाट सिड्‌नीको भव्य दृश्‍य देख्नसकिन्छ। बन्दरगाहको उत्तरी भागमा रूखै रूखले सजिएका भीरहरूमा तारोंगा वन्यजन्तु निकुञ्ज रहेको छ। यस बन्दरगाहको पारिपट्टि झन्डै झन्डै पुलकै मुन्तिर बेनेलंग प्वाइन्टमा सिड्‌नीको सुप्रसिद्ध नाट्यशाला अवस्थित छ।

बन्दरगाहमा सिड्‌नीको रत्न

“बेनेलंग प्वाइन्टको रत्न” भनी वर्णन गरिएको सिड्‌नी नाट्यशालाका तीन मोहडाहरूलाई बन्दरगाहको वरिपरि सलल बग्दै गरेको नीलो रंगको पानीले घेरिएको छ। सूर्यको उज्यालोमा यो साँच्चै एउटा रत्नजस्तै देखिन्छ। रातिचाहिं खपटा आकारका छानाहरू नाट्यशालाकै प्रकाशमा झिलमिल चम्कन्छ।

अ भिजन टेक्स फर्म पुस्तकमा यस नाट्यशालाबारे यसरी वर्णन गरेको पाइन्छ: “सिड्‌नीको नाट्यशाला पनि त्यस्ता भवनहरू मध्ये एक हो जसले कुनै वस्तु अलिकति चलमलाउने बित्तिकै अथवा प्रकाशमा परिवर्तन आउने बित्तिकै नयाँ रूप धारण गरिहाल्छ। . . . बिहान सबेरै कुइरो लागेको बेला वा घाम अस्ताउँदाखेरिको तेजिलो प्रकाशमा यसका खपटा आकारका छानाहरू दन्त्य कथामा हुने बडेमानका दैत्यहरूको हेलमेटजस्ता देखिन्छन्‌।”

अन्तरराष्ट्रिय डिजाइन प्रतिस्पर्धामा भाग लिएका २०० डिजाइनहरूबाट छानिएको यस नाट्यशालाको डिजाइन गर्ने आर्किटेक्ट डेनमार्कका यर्न युट्‌सन थिए। तर तिनले गरेको डिजाइनका आकृतिहरू अव्यवहारिक ठानेर त्यसमा थुप्रै परिवर्तनहरू गर्नुपऱ्‍यो।

लन्डनको आर्किटेक्ट्‌स जर्नल-ले यसलाई “मनोरञ्जन दिने भव्य कारीगरीको नमुना” भनी व्यख्या गरेका छन्‌। यद्यपि, यस रोमाञ्चक सपनालाई वास्तविकतामा ढाल्न थुप्रै इन्जिनियरिङ समस्याहरू सामना गर्नुपऱ्‍यो। दुई इन्जिनियरहरू सर ओभा अरुप तथा ज्याक जुन्सले भने: “सिड्‌नीको नाट्यशाला, भवनहरूको निर्माण कार्यमै एउटा साहसी कार्य हो। . . . किनभने यस भवनको निर्माण असामान्य स्थितिमा हुनुका साथै समस्याहरू समाधान गर्न निकै कठिनाइ परेको हुनाले नयाँ तकनिकहरूको विकास गर्न . . . अनुपम अवसरहरूसमेत दिएको थियो। तीमध्येका थुप्रै आजसम्म पनि अर्थडक्स पुल तथा भवनहरू निर्माण गर्न प्रयोग गरिन्छ।”

यस नाट्यशालाको अनुमानित लागत ७० लाख अस्ट्रेलियन डलर थियो। तर १९७३ मा निर्माण कार्य सकिंदा त यसको कूल लागत १० करोड २० लाख डलर पुगिसकेको थियो!

नाट्यशालाभित्र एक नजर

जसै हामी नाचघरमा प्रवेश गर्छौं, त्यहाँ सूर्यको किरण छान्‍ने सिसाका दुई पत्रहरू यसका छानाका अण्डाकार मुखहरूमा प्रयोग गरिएको देख्छौं। यसरी सिसा लगाउने काम साँच्चै आश्‍चर्यलाग्दो थियो किनभने जम्मा ६,२२५ वर्ग मिटर फैलिएको यो सिसा फ्रान्समा बनेको विशेष प्रकारको सिसा थियो। त्यसपछि हामी मुख्य हलमा पुग्छौं। हामीले हलको पछाडि बसेर स्टेजमा हेर्दा २,६९० वटा सीट भएको त्यस हलमा १०,५०० वटा पाइप भएको संसारको सबैभन्दा ठूलो मेकानिकल ट्राकर अर्गन देखेर छक्क पऱ्‍यौं।a यस हलको उचाइ २५ मिटर छ भने यसको क्षमता २६,४०० घन मिटर छ। यसले “यहाँ प्रतिध्वनी हुन करिब दुई सेकेण्ड लाग्दछ। यसले गर्दा सिम्फोनिक संगीतलाई तीखो, चर्को अनि मधुरो गरी सुन्‍न सकिन्छ,” भनी त्यहाँको आधिकारिक पुस्तिकाले बताउँछ।

त्यस्तै गीतिनाटक, सिम्फोनिक कन्सर्ट, नृत्यनाटक, गीत वा नाटकको तयारी, नाटक, संगीत कोठा, मेला तथा अधिवेशनहरू गर्न हुने गरी डिजाइन गरिएका आश्‍चर्यलाग्दा अन्य तीन हलहरू पनि छन्‌। गीतिनाटक हुने भवनका साथै रेष्टुरेण्ट, ड्रेसिङ कोठा, र अन्य सुविधा भएका कोठाहरू लगायत त्यहाँ जम्मा १,००० वटा कोठाहरू छन्‌।

चिडियाखाना घुम्न नभुल्नुस्‌ नि!

तपाईं सिड्‌नी घुम्न जाने विचार गर्दै हुनुहुन्छ भने त्यस बन्दरगाह वरपर नाउ वा डुंगा पनि चढ्‌नुहोस्‌। यसो गर्दा तपाईंले पछुताउनुपर्ने छैन। डुंगाबाटै तारोंगा चिडियाखाना पनि जानुहोस्‌। अस्ट्रेलिया आउने सबै यात्रुहरूलाई अस्ट्रेलियाका जंगलहरू तथा वन्यजन्तुहरू हेर्ने फुर्सत हुँदैन। तसर्थ, यस चिडियाखानामा बिताउने एकदिन पूरै देश घुम्नुजत्तिकै साहसी कार्य हुनसक्छ। यस चिडियाखानाले अस्ट्रेलियाको जन्तु जीवनको अद्वितीय प्रतिबिम्ब प्रस्तुत गर्दछ। यहाँ कंगारूदेखि कोआला अनि प्लेटिपसदेखि डिंगोसम्म देख्न सकिन्छ। नाट्यशाला नजिक डुंगा बिसौनीबाट बन्दरगाहसम्म डुंगा चढेर जाँदा केही मिनेटभित्रै पुग्न सकिने यो चिडियाखाना सिड्‌नीको केन्द्रबिन्दुमै रहेको छ। अनि यो पनि संसारका सर्वोत्तम थोकहरूमा पर्दछ। बन्दरगाह क्षेत्रमा बस्करहरूद्वारा प्रस्तुत गरिने मनोरञ्जनहरूको निःशुल्क आनन्द उठाउनुहोस्‌। ती मनोरञ्जनहरूमा कसरत, स्थानीय आदिबासीहरूले नै बजाउने डिजरीडु (स्थानीय बासिन्दाहरूको फुकेर बजाउने यन्त्र) अथवा साज बाजा बजाउने पनि हुनसक्छ।

दक्षिण प्रशान्त महासागरको नीलो विस्तीर्ण क्षेत्रमा रहेको यो साँच्चिकै भव्य शहर सिड्‌नीमा बस्दा तपाईंले पूरापूर आनन्द उठाउनुहुनेछ भनी हामी विश्‍वस्त छौं। अनि हुनसक्छ, हामी सेकुवामा चिंगडी पनि राखेर तपाईंको स्वागत गर्नेछौं!

[फुटनोट]

a ट्राकर गर्नु भनेको एउटा मेकानिकल सिस्टम हो जसले हावालाई पाइपहरू भित्र पठाउँछ अनि अर्गनिस्टले सजिलै बाजा बजाउनसक्छ।

[पृष्ठ १४-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

सिड्‌नी

मान्ली बीच

पोर्ट ज्याक्सन

सिड्‌नीको हार्वर ब्रीज

सिड्‌नी

बोटानी बन्दरगाह

[पृष्ठ १५-मा भएको चित्र]

सिड्‌नीको केन्द्रीय व्यापारिक क्षेत्र

[पृष्ठ १५-मा भएको चित्र]

बोटानी खाडीमा “उपहारको” नमुना

[पृष्ठ १५-मा भएको चित्र]

सिड्‌नीको तल्लो शहरमा एरियल ट्रेन

[पृष्ठ १७-मा भएको चित्र]

सिड्‌नीको नाट्यशाला र हार्वर ब्रीज

[स्रोत]

साभार, Sydney Opera House Trust (photograph by Tracy Schramm)

[पृष्ठ १७-मा भएको चित्र]

जम्मा १०,५०० पाइप अर्गनहरू सहित नाट्यशालाको भित्री भाग

[स्रोत]

साभार, Australian Archives, Canberra, A.C.T.

[पृष्ठ १८-मा भएको चित्र]

सिड्‌नीको मान्ली बीच

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने