मनोरञ्जनको नाउँमा के भइरहेको छ?
संस्कृतिको उच्चतम शिखरमा पुगेका पुरातन रोमीहरूले आफ्नो सहमानवको पीडालाई कसरी मनोरञ्जनको रूपमा लिन सकेका होलान्? मसीहीधर्म र गैरमसीहीधर्मबीचको विवाद (अंग्रेजी) पुस्तकमा गेर्हाट उल्हर्न यसो लेख्छन्, “नयाँ तथा अझ जोडदार उत्तेजनाको लालसाले गर्दा नै यसो भएको होला। त्यो समयमा उपलब्ध हरेक मनोरञ्जन उपभोग गरेर वाक्कै भइसकेका मानिसहरूले . . . अरू कतै नपाइने खालको उत्तेजना खोज्न थाले।”
आज पनि थुप्रै मानिसहरू त्यस्तै “नयाँ तथा अझ जोडदार उत्तेजनाको लालसा” गर्छन्। हो, साँच्चै रगत छताछुल्ल भएको वा कामुक कुराहरू हेर्न मानिसहरू भेला नहोलान्। तर तिनीहरूले छान्ने मनोरञ्जनबाट हिंसा र यौनप्रति त्यस्तै प्रकारको लालसा देखाउँछ। केही उदाहरणहरू विचार गर्नुहोस्।
चलचित्र। हालैका वर्षहरूमा चलचित्र निर्माताहरूले “अनुचित कुराहरूलाई बढी रुचाएको” देखिन्छ भनी चलचित्र समालोचक माइकल मेडभेड भन्छन्। तिनी अझ यसो भन्छन्, “चलचित्रजगत्मा एउटा कुरा भने प्रष्टै भएको छ। त्यो हो, महानता वा भलाइभन्दा क्रूरता र बौलाहापन चित्रण गर्दा दर्शकको बढी ध्यानाकर्षण हुन्छ र ज्ञानगुणको कुरा नै पो हो कि भनी धेरैले हेर्ने पनि गर्छन्।”
टेलिभिजनसित प्रतिस्पर्धा गर्नुपर्ने हुँदा चलचित्र निर्माताहरूले मानिसहरूलाई सिनेमा हलतर्फ आकर्षित गर्न कुनै कसर छोडेका छैनन्। एउटा चलचित्र स्टुडिओका अध्यक्ष बताउँछन्, “मानिसहरूले टेलिभिजनमा हेर्ने कुराभन्दा एकदमै भिन्न तथा आकर्षक चलचित्रहरू बनाउनु परेको छ। हामीलाई रक्तपात, विभत्स दृश्यहरू तथा [छाडा] बोली मन परेको त होइन तर के गर्ने, चलचित्र बढी चलाउने हो भने ती सबै नभई हुँदैन।” निस्सन्देह, धेरैलाई त चलचित्रमा देखाइने स्पष्ट हिंस्रक दृश्यहरूले कुनै असर पार्दैन। “मानिसहरूलाई चलचित्रमा देखाइने हिंसात्मक दृश्यहरू हिंसाजस्तो पनि लाग्न छोडिसक्यो” भनी चलचित्र निर्देशक आलन जे. पाकुला भन्छन्। “चलचित्रमा मारिनेहरूको संख्या चौगुना बढेको छ, विष्फोटनको आवाजले कानै खान्छ तैपनि मानिसहरूलाई यसले कुनै फरक पार्दैन। तिनीहरूसित कहिल्यै तृप्त नहुने क्रूर उत्तेजनाको प्यास छ।”
टेलिभिजन। ब्राजिल, युरोप तथा जापानलगायत संसारका धेरैजसो मुलुकहरूका टिभी कार्यक्रमहरूमा सुस्पष्ट यौन दृश्यहरू सामान्य कुरा भइसक्यो। सामान्यतया टिभी हेर्ने अमेरिकीले वर्षमा यौनसित सम्बन्धित सालाखाला १४,००० दृश्यहरू हेर्छन्। एउटा अनुसन्धान टोलीले यस्तो टिप्पणी गऱ्यो, “यौन वा यसको सुस्पष्ट चित्रण गरिने दृश्यहरूमा भएको वृद्धि केलाउँदा यो दर पछि गएर घट्लाजस्तो पटक्कै देखिंदैन। हाडनाताकरनी, स्वच्छन्द आचरण, पशुसंभोगजस्ता कुनै समय निषेधित विषयहरू अहिले त प्राइम टाइमको प्रमुख आय आर्जनको स्रोत भएको छ।”
अमेरिकालाई नियाल्दा (अंग्रेजी) पुस्तकअनुसार टेलिभिजनमा छाडा कुराहरू देखाइनुको पनि एउटा कारण छ। उक्त किताब यसो भन्छ: “यौन बिक्छ। . . . त्यस्ता कार्यक्रमहरू अपमानजनक ठान्नेभन्दा रमाउने दर्शकहरू बढी भएको थाह पाएपछि नेटवर्क तथा निर्माण कम्पनीहरूले कुनै समय निषेधित र अपमानजनक ठानिने कुराहरू पनि अहिले खुलस्त प्रदर्शन गरिरहेका छन्।”
भिडिओ गेम। पहिले निस्केका प्याक-म्यान र डंकी कंग नामक अहानिकारक भिडिओ गेमहरूको साटो अहिले विभत्स गेमहरू देखा परिरहेका छन्। यी गेमहरू “टिभी वा चलचित्रहरूभन्दा पनि खत्तम छन्” भनी प्राध्यापक मार्शा किन्डर बताउँछन्। यी गेमहरूले शक्तिवान् हुने एकमात्र तरिका हिंसा हो भनी सिकाउँछन्।”
आम जनताले निकै चिन्ता व्यक्त गरेको हुँदा संयुक्त राज्यको एक प्रमुख निर्माताले भिडिओ गेमहरूलाई वर्गीकरण गर्न थालेको छ। “MA-17” लेबल टाँसिएको छ भने यो “पाको” गेम १७ वर्ष मुनिकाहरूलाई उपयुक्त हुँदैन किनभने यसमा अचाक्ली हिंसा, यौन तथा अश्लील कुराहरू हुनसक्छ। तथापि, कोही कोही यस्तो लेबलले गेमप्रतिको आकर्षणलाई झनै बढाउने पो हो कि भन्ने चिन्ता गर्छन्। त्यस्तै गेम खेल्न असाध्यै लग्गू भएका केटोले यसो भने, “मानौं, म १५ वर्षको छु र मैले कुनै भिडिओ गेममा MA-17 लेबल देखें भने जसरी भए पनि किनेरै छाड्छु।”
संगीत। लोकप्रिय संगीतका बोलहरू केरकार गरेपछि एउटा पत्रिकाले दाबी गरेअनुसार १९९५ को अन्तसम्मका ४० वटा लोकप्रिय संगीत एल्बममध्ये १० वटामा मात्र छाडापन, लागू पदार्थ, हिंसा वा यौन विषय नभएको पाइयो। सेन्ट लुइस पोस्ट-डिस्प्याच यसो भन्छ, “तेह्र वर्ष पनि नपुगेका केटाकेटीले सुन्ने संगीत खत्तम छ। त्यसको प्रायजसो विषयवस्तुले नकारात्मक सिद्धान्तहरूलाई बढावा दिन्छ। केही युवाहरूलाई मनपर्ने [संगीत] क्रोध वा निराशाले भरिएको हुन्छ र जनसाधारण अनि श्रोता दुवैको भविष्य अन्धकारमय छ भन्ने भावनाहरू जगाउँछ।”
डेथ मेटल, “ग्रंज” रक, र “ग्यांग्स्टा” ऱ्याप नामक संगीतहरूले हिंसाको तारिफ गर्छन्। अनि सान फ्रान्सिस्को क्रनिकल-अनुसार “मनोरञ्जन जगत्सित सम्बद्ध मानिसहरू त्यस्ता भयानक समूहहरू नै संगीत क्षेत्रको अग्रपंक्तिमा पुग्ने दाबी गर्छन्।” रीस र मृत्युको प्रशंसा गरिने गीतहरू अहिले अस्ट्रेलिया, युरोप र जापानमा लोकप्रिय हुँदैछन्। हो, केही समूहहरूले अलि भद्रखाले सन्देश दिन खोजिरहेका छन्। तैपनि क्रनिकल यस्तो टिप्पणी गर्छ, “भद्रखाले संगीतलाई बिकाउनै धौधौ पर्छ।”
कम्प्युटर। यो असाध्यै उपयोगी साधन हो। तथापि, कसै कसैले अश्लील विषयवस्तु फैलाउन यी चलाइरहेका छन्। उदाहरणका लागि, म्याकलिन्स् पत्रिकाले बताएअनुसार यस्तो अश्लील विषयवस्तुमा “अनौठो जन्तरदेखि लिएर वेश्यावृत्ति र यौन दुराचरणसम्बन्धी चित्र तथा पद्यांशहरू हुन्छन्। यसले वयस्कहरूलाई त अक्क न बक्क पार्छ भने केटाकेटीहरूको दिमागमा झन् कस्तो छाप पार्ला!”
पाठ्य सामग्री। धेरैजसो लोकप्रिय पुस्तकहरूको मूल विषय नै यौन र हिंसा हुन्छ। हालै संयुक्त राज्य र क्यानाडामा चलेको लहड “विभत्स कथाहरू” अर्थात् भूतका कथाहरू हुन् र यसले भर्खर आठ वर्ष पुगेका केटाकेटीलाई पनि आफ्नो तारो बनाउन छाडेको छैन। न्यु योर्क टिचर नामक पत्रिकामा डायन वेस्ट यसप्रकार लेख्छिन्, यस्ता किताबहरूले “असाध्यै कलिलो उमेरका केटाकेटीलाई असंवेदनशील बनाइरहेका छन् अनि तिनीहरूको मानसिक क्षमता विकासै हुन दिंदैनन्।”
हंगकंग, जापान तथा संयुक्त राज्यमा प्रकाशित हुने थुप्रै चित्रकथाहरूमा “भयानक तथा क्रूर युद्ध, नरभक्षी, टाउको छिनालेको दृश्य, शैतानवाद, बलात्कार र छाडा” कुराहरू देखाइन्छ भनी नेशनल कोआलिशन अन टेलिभिजन भायलेन्स (एन सी टिभी) संस्थाको प्रतिवेदनले बताउँछ। उक्त संस्थाका अनुसन्धान निर्देशक डा. थमस राडेकी यसो भन्छन्, “यी पत्रिकाहरूमा देखाइने हिंसा र पतित यौन विषयवस्तु अत्यन्तै घिनलाग्दो छ। हामीले आफूलाई कत्तिको असंवेदनशील हुन दिएका छौं भनी यसले देखाउँछ।”
होशियारीको खाँचो
कुरा स्पष्ट छ, वर्तमान संसार यौन र हिंसामा रमाउँछ अनि यो मनोरञ्जन जगत्मा प्रष्टै झल्किन्छ। अहिलेको परिस्थिति मसीही प्रेरित पावलले वर्णन गरेझैं छ: मानिसहरू “निर्दयी भएर लालचसाथ सारा अशुद्ध काम गर्नाको निम्ति आफैलाई कामोद्दीपनामा सुम्पिदिए।” (एफिसी ४:१९) त्यसकारण, अहिले मानिसहरू उत्तम मनोरञ्जनको खोजमा लाग्नुका जायज कारणहरू छन्। के तपाईं पनि त्यस्तै मनोरञ्जनको खोजमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने, यसपछिको लेखले देखाएअनुसार लाभदायक मनोरञ्जन गर्ने तरिकाहरू पनि छन् भनी थाह पाउनुहुँदा खुशी हुनुहुनेछ होला।
[पृष्ठ ५-मा भएको पेटी/चित्र]
टेलिभिजन हानिकारक हुनसक्छ
सन् १९३९ को कुरा हो, न्यु योर्कमा सम्पन्न अन्तरराष्ट्रिय बजार मेलामा टेलिभिजन प्रथम चोटि संयुक्त राज्यका जनसमक्ष देखा परेको थियो। त्यहाँ उपस्थित एक पत्रकारले यस नयाँ साधन भविष्यमा त्यति सफल नहोला भनी शंका व्यक्त गरेका थिए। तिनले लेखे, “टेलिभिजनको अवगुण के हो भने, मान्छेहरू बसेरै एकोहोरो हेरिरहनुपर्छ; सामान्य अमेरिकी परिवारसित त्यसो गर्ने फुर्सत कहाँ छ र।”
तिनको अनुमान कत्तिको गलत साबित भएको छ! भनिन्छ, सामान्यतया एक अमेरिकीले स्कूलको पढाइ सिध्याउञ्जेल कक्षाकोठामा भन्दा ५० प्रतिशत बढी समय टिभी हेर्न बिताइसकेको हुनेछ। “अचाक्ली टिभी हेर्ने केटाकेटीहरू बढी झगडालु, निराश हुन्छन् र तिनीहरूको शरीरको वजन बढी हुनुका साथै त्यतिको सृजनशील हुँदैनन्, उति समानुभूति देखाउँदैनन् र टिभी कम हेर्ने केटाकेटीहरूको दाँजोमा पढाइमा कमजोर पनि हुन्छन्” भनी डा. माडलिन लेभिनले आफ्नो पुस्तक बच्चामाथि हिंसाको असर-मा (अंग्रेजी) लेखिन्।
तिनी कस्तो सल्लाह दिन्छिन्? “घरमा हुने अन्य उपकरणहरूजस्तै टिभीको पनि एउटा खास उद्देश्य छ भनी केटाकेटीलाई सिकाउनुपर्छ। कपाल सुकिसकेपछि पनि हामी हेयर ड्रायर चलाइरहँदैनौं नता पाउरोटी सेकिसकेपछि टोस्टर प्लगमा जोडिरहन्छौं। यी उपकरणहरूको खास खास काम के हो र कतिखेर बन्द गर्नुपर्छ भनी हामीलाई थाह छ। टेलिभिजन पनि एउटा त्यस्तै साधन मात्र हो भनेर हामीले आफ्ना छोराछोरीहरूलाई सिकाउनु पर्छ।”
[पृष्ठ ७-मा भएको पेटी/चित्र]
संसारमा उपलब्ध मनोरञ्जनहरू
ब्यूँझनुहोस्!-ले संसारभरि छरिएका आफ्ना संवाददाताहरूलाई तिनीहरूका स्थानीय इलाकाहरूमा मनोरञ्जनसम्बन्धी के कस्ता लहडहरू चलेका छन् भनी सोध्यो। प्राप्त केही टिप्पणीहरू यसप्रकार छन्।
ब्राजिल: “टिभी कार्यक्रमहरू झन् झनै पतित हुँदै गइरहेका छन्। यद्यपि, धेरैजसो आमाबाबुहरू जागिरे हुनाले केटाकेटीहरू रमाइलो गर्न टिभीबाहेक अर्को उपाय देख्दैनन्। प्रेतात्माहरूसित सम्बन्धित सिडी-रम तथा भिडिओ गेमहरूमा देखाइने क्रूर हिंसा लोकप्रिय हुँदैछ।”
चेक गणतन्त्र: “साम्यवादको पतन भएदेखि यहाँ अहिलेजस्तो मनोरञ्जनको बिगबिगी पहिले कहिल्यै भएको थिएन र यसमा पश्चिमी मुलुकका टिभी कार्यक्रमका साथसाथै छाडा यौन थलोहरू धमाधम खुल्दैछन्। युवाहरू प्रायजसो डिस्को, बिलियार्ड क्लब तथा भट्टीहरूमा जाने गर्छन्। भड्किलो विज्ञापन तथा साथीभाइको दबाबले पनि तिनीहरूलाई निकै असर गर्छ।”
जर्मनी: “अफसोचको कुरा, धेरैजसो आमाबाबुहरू दिनहुँको दौडधूपले गर्दा छोराछोरीको निम्ति मनोरञ्जनको प्रबन्ध गर्न फुर्सदै निकाल्न सक्दैनन्। त्यसकारण, रमाइलो गर्न युवाहरूले एकअर्काको सहारा लिनुपर्ने हुन्छ। कोही चाहिं एक्लै बसेर कम्प्युटर गेमहरू खेल्छन्। अरू भने रातभरि चल्ने नाचगान पार्टीहरूमा जान्छन् जहाँ लागू पदार्थ फालाफाल हुन्छ।”
जापान: “केटाकेटी तथा ठूलाहरू दुवैले चित्रकथाहरू असाध्यै मन पराउँछन् तर यी प्रायजसो हिंसा, अनैतिकता तथा छाडा बोलीले भरिएका हुन्छन्। जूवा पनि प्रचलित छ। अर्को एउटा चिन्ताजनक लहड पनि चलिरहेको छ। त्यो हो, केही युवतीहरू टेलिफोन क्लबहरूमा फोन गरेर पुरुषहरूसित भेटघाट गर्ने प्रबन्ध मिलाउँछन् अनि अनैतिक यौनसम्बन्ध राख्छन्। कसै कसैले यो साधारण रमाइलो मात्र ठान्छन् तर कतिपय भने पैसाको लागि केटाहरूसित घुम्न जान्छन् र यसले गर्दा कहिलेकाहीं तिनीहरू वेश्यावृत्तिमा फसेका छन्।”
नाइजेरिया: “जथाभावी चलचित्रहरू देखाइने चलचित्र भवनहरू पश्चिम अफ्रिकामा च्याउ उम्रेझैं देखा परिरहेका छन्। यस्ता काम चलाउ थलोहरूमा केटाकेटीलगायत जोसुकै पनि छिर्नसक्छन्। प्रायजसो अश्लील तथा डरलाग्दा चलचित्रहरू देखाइन्छ। यसबाहेक, टिभीमा देखाइने स्थानीय चलचित्रहरूको मूल विषय प्रायजसो प्रेतवाद हुन्छ।”
दक्षिण अफ्रिका: “रातभरि नाचगान हुने क्लबहरू जताततै छन् र त्यहाँ लागू पदार्थ फालाफाल पाइन्छ।”
स्वीडेन: “स्वीडेनमा मद्यपेय पदार्थका क्लब तथा रात्रि क्लबहरूको व्यापार निकै फस्टाइरहेको छ र यहाँ प्रायजसो अपराधी तथा लागू औषध व्यापारीहरू आउने गर्छन्। टेलिभिजन तथा भिडिओले दिने मनोरञ्जन हिंसा, प्रेतवाद र अनैतिकताले भरिएको हुन्छ।”