प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ८/८ पृ. ८-११
  • स्वास्थ्यकर मनोवृत्ति कसरी कायम गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्वास्थ्यकर मनोवृत्ति कसरी कायम गर्ने
  • ब्यूँझनुहोस्‌!—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मस्तिष्कमा विष
  • बुद्धिमानीसाथ मनोरञ्जन छान्‍नुहोस्‌
  • ईश्‍वरीय निर्देशन खोज्नुहोस्‌
  • स्वस्थकर मनोरञ्जन कसरी छान्‍ने?
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • तपाईं लाभदायक मनोरञ्जनको आनन्द उठाउन सक्नुहुन्छ
    ब्यूँझनुहोस्‌!—१९९७
  • ६. मनोरञ्जन छान्दा विचार पुऱ्‍याउनुपर्ने कुराहरू
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • मनोरञ्जनको नाउँमा के भइरहेको छ?
    ब्यूँझनुहोस्‌!—१९९७
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ८/८ पृ. ८-११

स्वास्थ्यकर मनोवृत्ति कसरी कायम गर्ने

हामी जे खान्छौं, त्यसले हाम्रो शारीरिक स्वास्थ्यमा निकै असर गर्छ। यदि कुनै व्यक्‍तिले जतिखेर पनि बजारी खाना खाइरहन्छ भने उसको स्वास्थ्यमा हानि पुग्छ। यही सिद्धान्त हाम्रो मानसिक स्वास्थ्यमा पनि लागू हुन्छ।

उदाहरणका लागि, हामीले आफ्नो हृदयमा लिने कुराहरूलाई मानसिक भोजनसित तुलना गर्नसकिन्छ। मानसिक भोजन? हो, शारीरिक भोजनले हाम्रो शरीरलाई असर गरेजस्तै पुस्तक, पत्रिका, टिभी कार्यक्रम, भिडियो, भिडियो गेम, इन्टरनेट र गीतका बोलहरूबाट हामीले प्राप्त गरेका जानकारीहरूले हाम्रो सोचाइ र व्यक्‍तित्वमा असर गर्नसक्छ। कसरी?

टिभीले हाम्रो जीवनमा गर्ने असरबारे भूतपूर्व विज्ञापन एजेन्सीका व्यवस्थापक जेरी म्यान्डरले यस्तो लेखे: “हाम्रो मस्तिष्कमा सबैभन्दा बढी प्रभाव टिभीले नै पार्छ।” तथापि, ती मानसिक प्रभावहरूले हामीलाई मनोरञ्जन मात्र दिंदैनन्‌। द फेमेली थेरापी नेटवर्क पत्रिका यसो भन्छ: “पत्र-पत्रिका वा समाचारहरूका भाषा, चित्र, आवाज, विचार, पात्र, परिस्थिति, मूल्य र सौन्दर्य शास्त्रहरू हाम्रो सोचाइ, भावना र कल्पनाको भाग हुन जान्छन्‌।”

हो, चाहे हामीले मानौं वा नमानौं हामीले हेर्ने टिभी कार्यक्रम र अन्य प्रकारको मनोरञ्जनले चालै नपाई हाम्रो सोचाइ र भावनाहरूलाई प्रभावित गर्छ। अनि त्यसैमा खतरा हुन्छ। म्यान्डरले भनेअनुसार “हाम्रो मनमा भएका कुराहरूकै ढाँचामा हामी बिस्तारै ढल्किंदै जान्छौं।”

मस्तिष्कमा विष

आफ्नो शारीरिक भोजनलाई होसियारसाथ नियन्त्रणमा राख्ने थुप्रै मानिसहरू सञ्चार माध्यमबाट पाएको जुनै पनि मानसिक भोजन खाइहाल्छन्‌। उदाहरणका लागि, कसैले यसो भनेको तपाईंले कुनै बेला सुन्‍नुभएको होला: “टिभीमा हेर्न लायकको कार्यक्रम केही छैन!” कोहीचाहिं यति मन्त्रमुग्ध हुन्छन्‌ कि केही राम्रो कार्यक्रम आइहाल्छ कि भन्‍ने आशामा च्यानल फ्याट्ट फ्याट्ट फेरिरहन्छन्‌। अबचाहिं टिभी बन्द गर्नुपऱ्‍यो है भन्‍ने विचार तिनीहरूको मनमा आउँदै आउँदैन!

थुप्रै कार्यक्रमहरूले धेरै समय खर्च गर्नुका साथै मसीहीहरूले हेर्न नचाहने कार्यक्रमहरू पनि प्रसारण गर्छन्‌। चित्र लेखक ग्यारी कोल्टुकीयान भन्छन्‌, “पहिलेको तुलनामा अहिले टिभीमा अपवित्रताबाहेक विवादास्पद तथा यौनसम्बन्धी थुप्रै कार्यक्रमहरू प्रसारण गरिन्छ।” निस्सन्देह, प्राइम टाइममा प्रत्येक घण्टामा औसतन २७ पटक यौनसित सम्बन्धित कार्यक्रमहरू प्रसारण गरिन्छ भनी संयुक्‍त राज्यमा हालै गरिएको अध्ययनले देखाउँछ।

यसले मानिसहरूको सोचाइमा कस्तो असर पर्ला भनेर सोच्न मानिसहरू बाध्य हुन्छन्‌। जापानमा एउटा लोकप्रिय टिभी नाटकले यति थुप्रो मानिसहरूलाई मोहित पाऱ्‍यो कि यसले “व्यभिचारमा वृद्धि” गरायो भनी राष्ट्रका सञ्चार माध्यमले भने। साथै, अमेरिकालाई नियाल्दा (अंग्रेजी) पुस्तकका लेखकहरू यसो भन्छन्‌: “आज धेरैजसो यौन व्यवहारलाई . . . व्यक्‍तिगत जीवनशैलीको जायज छनौटको रूपमा मानिन्छ।”

तथापि, यौन विषयलाई बढावा दिने टिभी कार्यक्रमहरू समस्याको एउटा भाग मात्र हुन्‌। जीवन्त हिंस्रक दृश्‍यहरू पनि व्याप्त छन्‌। हिंस्रक टिभी कार्यक्रम तथा सिनेमाहरूले कलिला, छिट्टै प्रभाव पर्ने मनहरूमा पार्न सक्ने हानिकारक असरहरू विशेष चासोको कुरा हो। अवकाशप्राप्त सैन्य अधिकृत तथा हत्या गर्नुको मनोवैज्ञानिक कारण पत्ता लगाउने विशेषज्ञ डेभिड ग्रोस्म्यान भन्छन्‌, “कसैलाई बन्दुक हानेको, छुरी हानेको, बलात्कार गरेको, पाशविक व्यवहार गरेको, अपमान गरेको वा हत्या गरेकोजस्ता टिभीमा देखाइने दृश्‍यहरू केटाकेटीलाई वास्तविक लाग्छ।” यही समस्यामा टिप्पणी गर्दै द जोर्नल अफ दी अमेरिकन मेडिकल असोसिएसन भन्छ: “३ र ४ वर्षमाथिका थुप्रै केटाकेटीले टिभी कार्यक्रममा देखाइने वास्तविक र काल्पनिक कुरा छुट्ट्याउन सक्दैनन्‌। अनि वयस्कहरूले तिनीहरूलाई जति नै सिकाए तापनि तिनीहरूले उक्‍त कुरा बुझ्न सक्दैनन्‌। अर्को शब्दमा भन्‍ने हो भने, आमाबाबुले छोराछोरीलाई ‘ती मानिसहरू साँच्चै मरेका होइनन्‌, तिनीहरूले स्वांग मात्र पारेका हुन्‌’ भनेर भने तापनि केटाकेटीले भिन्‍नता छुट्ट्याउनै सक्दैनन्‌। टिभीमा देखाइने हिंस्रक कार्यक्रमहरू केटाकेटीको लागि वास्तविक नै हुन्छ।

“सञ्चार माध्यमद्वारा देखाइने हिंस्रक कार्यक्रम”-को असरबारे टाइम पत्रिका यसरी निचोड निकाल्छ: “टिभी र सिनेमामा देखाइने रक्‍तपात हेरेर केटाकेटीमा पर्ने असरबारे बहस गर्न थोरै अनुसन्धानकर्ताहरूले मात्र चासो राख्छन्‌।” यसका असरहरू के के हुन्‌? चलचित्र समालोचक माइकल मेडभेड भन्छन्‌, “दशकौंदेखि देखाउँदै आएको हिंस्रक मनोरञ्जनले जनसाधारणको समझ र महत्त्वलाई उल्टाइदिएको छ।” तिनी अझ भन्छन्‌: “मानिसहरू छक्क पर्न छोड्‌नु समाजको उन्‍नति भएको हो भन्‍नु मिल्दैन।” चार वर्षको केटाकेटीलाई हिंस्रक सिनेमा हेर्न लग्नु “[उसको] मस्तिष्कमा विष हाल्नुसरह हो” भनेर एक जना लेखकले भन्‍नुमा कुनै आश्‍चर्यको कुरा छैन।

निसन्देह, यसको अर्थ सम्पूर्ण टिभी कार्यक्रम खराब हुन्छ भनेको होइन। त्यसै गरी सबै पुस्तक, पत्रिका, भिडियो, कम्प्युटर गेम र अन्य प्रकारका मनोरञ्जनहरू खराब हुन्छन्‌ भन्‍ने छैन। स्पष्टतः स्वस्थ मनोवृत्ति कायम राख्न चाहनेहरूको लागि तथाकथित मनोरञ्जन उचित हुँदैन।

बुद्धिमानीसाथ मनोरञ्जन छान्‍नुहोस्‌

हामीले हेरेका दृश्‍यहरूले हाम्रो मनमा पारेका प्रभावले हाम्रो सोचाइ र कामहरूमा धेरै असर गर्छन्‌। उदाहरणका लागि, हामीले हाम्रो मनलाई अनैतिक मनोरञ्जन मात्र खुवाइरह्‍यौं भने “व्यभिचारदेखि अलग रहो” भन्‍ने बाइबलको आज्ञापालन गर्ने हाम्रो संकल्प बलियो हुन सक्दैन। (१ कोरिन्थी ६:१८) त्यस्तै गरी, “अधर्मका काम गर्नेहरूसित” मनोरञ्जन गऱ्‍यौं भने “सबै मानिसहरूसँग शान्तिमा” रहन हामीलाई गाह्रो हुनसक्छ। (भजन १४१:४; रोमी १२:१८) यसो नगर्न हामीले आफ्ना आँखालाई “नीच कुरा[बाट]” हटाउनुपर्छ।—भजन १०१:३; हितोपदेश ४:२५,२७.

हुन त हो, हामी सबै जन्मजात असिद्ध भएकाले सही काम गर्न हामीले संघर्ष गर्नुपर्छ। प्रेरित पावलले सोझै यो स्वीकारे: “म मेरो अन्तस्करणले परमेश्‍वरको व्यवस्थामा आनन्दित हुन्छु, तर मेरो बुद्धिको व्यवस्थाको विरुद्धमा लड़ाइँ गर्ने, र मेरा इन्द्रियहरूमा रहेको पापको अधीनमा भएको व्यवस्थाको बन्धनमा मलाई ल्याउने, मेरा इन्द्रियहरूमा भिन्‍नै व्यवस्था म देख्तछु।” (रोमी ७:२२,२३) के यसको अर्थ पावल आफ्नो शारीरिक कमजोरीमा नै दबेर बसिरहे भनेको हो? कदापि होइन! तिनले यसो भने: “म आफ्नो शरीरलाई कुट्‌तछु, र वशमा ल्याउँछु, नत्रता . . . म आफैचाहिं इन्कार गरिनेछु।”— १ कोरिन्थी ९:२७.

त्यस्तै गरी, हामी असिद्धतालाई पाप गर्ने बहाना बनाउन चाहँदैनौं। बाइबल लेखक यहूदाले यसो भने: “हे प्रिय हो, . . . पवित्र जनहरूलाई सधैंको निम्ति दिएको त्यो विश्‍वासको निम्ति उत्कटसाथ कम्मर कस भनेर . . . तिमीहरूलाई यस कुराको अर्ती दिएर लेख्न मलाई आवश्‍यक पऱ्‍यो।” (यहूदा ३, ४) हो, हामीले “उत्कटसाथ कम्मर क[सेर]” खराब कार्य गर्न उक्साउने मनोरञ्जनदेखि टाढा बस्नुपर्छ।a

ईश्‍वरीय निर्देशन खोज्नुहोस्‌

यस रीतिरिवाजमा स्वस्थ मनोवृत्ति खेती गर्नु सधैं सजिलो हुँदैन। तथापि, मानसिक र नैतिक, दुवै तवरमा हामी स्वच्छ रहनसक्छौं भनी बाइबलले हामीलाई आश्‍वासन दिन्छ। कसरी? भजन ११९:११ मा यस्तो लेखिएको हामी पाउँछौं: “तपाईंको विरुद्धमा पाप नगरुँ भनेर, तपाईंको वचन मैले मेरो हृदयमा राखेको छु।”

परमेश्‍वरका वचनहरू हृदयमा राख्नुको अर्थ ती वचनहरूलाई मूल्यवान्‌ ठान्‍नु वा त्यसको कदर गर्नु हो। स्पष्टतः बाइबलले भनेको कुरा हामीलाई थाह नहुँदो हो त त्यसको कदर गर्न हामीलाई गाह्रो हुने थियो। परमेश्‍वरको वचनबाट सही ज्ञान लिएर हामी परमेश्‍वरको विचारलाई आफ्नो मनमा ठप्प बसाल्नसक्छौं। (यशैया ५५:८,९; यूहन्‍ना १७:३) फलस्वरूप, यसले हामीलाई आध्यात्मिकतामा समृद्ध बनाउनुका साथै हाम्रो सोचाइमा उन्‍नति गराउँछ।

के स्वस्थ आध्यात्मिकता र मानसिक कुरा छान्‍ने भरपर्दो उपाय छ? छ! प्रेरित पावलले यस्तो सल्लाह दिए: “अन्त्यमा ए भाइ हो, जे कुरा सच्चा छन्‌, जे कुरा आदरणीय छन्‌, जे कुरा चोखा छन्‌, जे कुरा असल छन्‌, जे कुरा मनपर्दा छन्‌, तिनमा केही सद्‌गुण र केही प्रशंसा छ भने, तिनै कुराको विचार गर।”—फिलिप्पी ४:८.

तर साँचो फाइदा उठाउनको लागि परमेश्‍वरको ज्ञान लिएर मात्र पुग्दैन। अगमवक्‍ता यशैया प्रेरित भई यस्तो लेखे: परमप्रभु, जो तेरा उद्धारक र इस्राएलका पवित्र परमप्रभु हुनुहुन्छ, उहाँ भन्‍नुहुन्छ, ‘म परमप्रभु तेरा परमेश्‍वर हुँ, जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ। जसले तँ जाने बाटोमा तँलाई डोऱ्‍याउँछ।” (यशैया ४८:१७) हो, हामीले ईश्‍वरीय निर्देशन खोज्नुका साथै त्यस ज्ञानअनुसार चल्नु पनि पर्छ।

नैतिक र आध्यात्मिक, दुवै तरिकामा फाइदा उठाउन “प्रार्थना सुन्‍नुहुने” यहोवालाई पुकार्नुपर्छ। (भजन ६५:२; ६६:१९) हामी सच्चाइ र विनयसाथ सृष्टिकर्ताको नजिक गयौं भने उहाँले हाम्रो बिन्ती सुन्‍नुहुनेछ। अनि हामीहरूले “उहाँलाई खोज्यौ भने, उहाँ [हामी]हरूबाट भेट्टाइनुहुनेछ।”—२ इतिहास १५:२, नयाँ संशोधित संस्करण।

यस हिंस्रक र अनैतिक संसारमा हाम्रो मानसिक स्वास्थ्य कायम राख्न सम्भव छ र? अवश्‍य छ! यस संसारको मनोरञ्जनलाई हाम्रो मनमा जरा गाड्‌न नदिएर, परमेश्‍वरको वचनको अध्ययनद्वारा हाम्रो सोच्ने शक्‍तिलाई सुरक्षित राखेर अनि ईश्‍वरीय निर्देशन खोजेर हामीले स्वस्थ मनोवृत्ति कायम राख्नसक्छौं!

[फुटनोट]

a स्वास्थ्यकर मनोरञ्जन छान्‍नेबारे थप जानकारीको लागि ब्यूँझनुहोस्‌!, जून ८, १९९७, पृष्ठ ८-१० हेर्नुहोस्‌।

[पृष्ठ ९-मा भएको ठूलो अक्षरको क्याप्सन]

“थुप्रै केटाकेटीले टिभी कार्यक्रममा देखाइने वास्तविक र काल्पनिक कुरा छुट्ट्याउन सक्दैनन्‌”

[पृष्ठ ११-मा भएको ठूलो अक्षरको क्याप्सन]

“दशकौंदेखि देखाउँदै आएको हिंस्रक मनोरञ्जनले जनसाधारणको समझ र महत्त्वलाई उल्टाइदिएको छ”

[पृष्ठ ११-मा भएको पेटी]

हृदयरोगबाट जोगिने

हृदयरोगबाट जोगिन निम्न कदमहरू चाल्नुपर्छ भनी द न्यूट्रीशन एक्शन हेल्थलेटर सुझाउ दिन्छ।

• धूम्रपान गर्न छोड्‌नुहोस्‌। आजै छोड्‌नुभयो भने तपाईंको वजन त बढ्‌छ तर वर्षदिनभित्रै तपाईं हृदयरोग लाग्ने खतरा कम गर्नसक्नुहुन्छ।

• वजन घटाउनुहोस्‌। तपाईंको वजन बढी छ भने कमसे कम तीन देखि पाँच किलो घटाउँदा ठूलो फरक पर्नसक्छ।

• व्यायाम गर्नुहोस्‌। नियमित रूपमा (कमसे कम हप्तामा तीन पटक) व्यायाम गर्नाले खराब कोलेस्ट्रोल (एल डी एल) घटाउँछ अनि उच्च रक्‍तचाप र मोटोपनदेखि बचाउँछ।

• प्रशोधित चिल्लो पदार्थ कम मात्रामा खानुहोस्‌। तपाईंको एल डी एल बढी छ भने बोसो नभएको मासु खाने गर्नुहोस्‌ र २ प्रतिशत चिल्लो पदार्थ भएको दूधको सट्टा १ प्रतिशत चिल्लो पदार्थ भएको (चिल्लो पदार्थ कम भएको) दूध वा तर निकालेको (चिल्लो पदार्थ नभएको) दूध पिउने गर्नुहोस्‌।

• दाखमद्य कम पिउनुहोस्‌। सन्तुलित अनुपातमा रातो दाखमद्य पिउनेलाई हृदयरोग लाग्ने डर कम हुनसक्छ भन्‍ने संकेतहरू छ।

• फलफूल, तरकारी र अत्यधिक सल्युबल फाइबर भएका अन्य खानाहरू धेरै मात्रामा खानुहोस्‌।

[पृष्ठ ८-मा भएको चित्र]

टिभीमा देखाइने हिंस्रक कार्यक्रम केटाकेटीको मस्तिष्कको लागि विष जत्तिकै हो

[पृष्ठ ९-मा भएको चित्र]

कहिलेकाहीं केटाकेटी टिभीमा देखाइने हिंस्रक कार्यक्रमको अनुकरण गर्छन्‌

[पृष्ठ १०-मा भएको चित्र]

आमाबाबुले छोराछोरीको लागि पढ्‌न लायकको सामग्रीहरू प्रबन्ध गरिदिएर तिनीहरूलाई मदत गर्नसक्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने