पाठकहरूका प्रतिक्रिया
प्रेमले मिलापमा राख्छ प्रिय भाइहरू, “बाइबलको दृष्टिकोण: प्रेमले मिलापमा राख्छ” (अक्टोबर ८, १९९६) (अंग्रेजी) शीर्षकको लेख छाप्नु भएकोमा तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु। मेरा आमाबाबुको आकस्मिक मृत्युलगायत मैले वर्षौंसम्म विश्वासका कैयौं परीक्षाहरू सामना गरेकी छु। तर अहिलेसम्ममा सबैभन्दा कडा परीक्षा चाहिं मण्डलीकै एक जना व्यक्तिबाट आएको छ। मैले भोगेको दुःख, मेरो चोट र वेदना यहोवालाई थाह छ र उहाँले बुझ्नुहुन्छ भनेर मैले जानेकी छु। यस लेखले मलाई ढाडस र सान्त्वना दिएको छ। प्रेरित पावलले पनि यस्तै चोटहरू सहनु परेको थियो भनेर मैले थाह पाएँ। समयको दौडान यहोवाले मेरा चोटहरू निको पार्नुहुनेछ भन्ने कुरामा म विश्वस्त छु।
एस. बी., क्यानाडा
यस दुष्ट रीतिरिवाजमा आध्यात्मिक कुराबाट मानिसहरू सजिलैसँग तर्किनसक्छन्। मलाई यो लेख साह्रै प्रोत्साहनजनक र प्रेरणादायी लाग्यो। अचेल दैनिक जीवनका फिक्रीहरूले गर्दा म विचलित भएको छु। हाम्रा असिद्ध भावनाहरूमा होइन बरु, येशूको प्रेममा भर पर्नु पर्ने महत्त्व बुझ्न मलाई यस लेखले मदत गऱ्यो।
ए. एम., संयुक्त राज्य
रासायनिक असन्तुलनले गर्दा म साह्रै निराश भएको थिएँ। मलाई यस लेखले निराशा हटाउन मदत गऱ्यो।
बी. यू., संयुक्त राज्य
रेडियो “रेडियो—संसारमा हलचल मच्चाउने आविष्कार” (अंग्रेजी) (अक्टोबर ८, १९९६) शीर्षक लेखको लागि धेरै धेरै धन्यवाद! म १८ वर्षको छु, मलाई एकदम रेडियो सुन्न मन लाग्छ। रेडियोको विकासबारे छलफल मलाई साह्रै घत लाग्यो। मैले सिकेको विशेष चाखलाग्दो कुरा त, पहिले पहिलेका यहोवाका साक्षीहरूले रेडियो मार्फत परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्थे भन्ने जानकारी नै हो।
एफ. बी., इटाली
पुतलीहरू म फाँटतिर एक्लै प्रचार गर्दैथिएँ र “निर्धो तर साहसी यात्री” (अंग्रेजी) (अक्टोबर ८, १९९६) शीर्षकको लेखबारे बताउने विचार गरें। मैले त्यहाँ बडेमानको मान्छे भेटें। त्यस्तो मान्छेसँग पुतलीबारे के कुरा गर्नु, जस्तो लागेको थियो! तर जे होस्, मनै हर्ने चित्रहरू देखेपछि उसले पत्रिका लियो। त्यसपछि उसको खेतमा पनि दुर्लभ जातका विभिन्न पुतलीहरू पाइन्छन् भनेर मलाई बतायो। मैले पत्रिका छोडेपछि उसकी पत्नीले मख्ख परेर पढ्दै थिइन्। त्यसकारण, पुतलीजस्तै म त्यहाँ फर्कनेछु र परमेश्वरको राज्यबारे अझ धेरै जानकारी दिनेछु!
बी. बी., बेलाइत
मैले पढेका थुप्रै लेखहरूमध्ये यो सबैभन्दा रोचक थियो। पत्रिका पाएको केही दिनपछि मेरो घर वरपरका रूखहरूमा मोनार्क जातका पुतलीहरू छापिएको देखें! परमेश्वरले यस्तो अद्भुत सृष्टि गर्नुभएकोमा उहाँलाई मुरीमुरी धन्यवाद दिएँ।
एस. एम., संयुक्त राज्य
दुष्टता रहिरहने अनुमति “युवा जनहरू सोध्छन् . . . परमेश्वरले खराब कुराहरू किन हुन दिनुहुन्छ?” (अंग्रेजी) (अक्टोबर २२, १९९६) लेखको लागि धन्यवाद! आइमाईलाई आदर गर्न नजान्ने अवफादार पतिसँग १८ वर्ष बिताउँदा म एक्लो, अपहेलित र एकदम उदास भएको छु। यो लेखमा यहोवा मायालु परमेश्वर हुनुभएकोले हाम्रो चिन्ता गर्नुहुन्छ भन्ने कुरा पढ्दा चोट लागेको घाउमा मलहम लगाएको जस्तै भयो। स्वयं यहोवाले मलाई नै सान्त्वना दिइरहनुभएको जस्तो लाग्यो।
एच. टी., संयुक्त राज्य
चुरोट “चुरोट—के तपाईं इन्कार गर्नुहुन्छ?” (अंग्रेजी) (अक्टोबर २२, १९९६) लेखबारे मलाई टिप्पणी गर्न मन लाग्यो। केही वर्षअघि मात्र मैले यो लेख पढ्न पाएको भए पनि हुन्थ्यो! यसै वर्ष मेरो श्रीमान् फोक्सोको क्यान्सरले बित्नुभयो। उहाँले अचाक्ली धूम्रपान गर्न थाल्नुभएको ५० वर्ष भइसकेको थियो। चुरोटले यस्तो नराम्रो असर गर्छ भनेर म आफैलाई पनि थाह थिएन।
एच. जी., जर्मनी