समस्यारहित प्रमोदवनको खोज
“मानिसहरूले एकअर्काको ख्याल राख्ने, सुरक्षित अनि शायद पुरानो शैलीको जीवन मात्र खोजेका हौं,” एक बेलाइती दम्पतीले बताए। तिनीहरूले एउटा प्रमोदवनरूपी उष्णप्रदेशीय टापु खोज्ने र त्यहाँ शान्तपूर्वक जीवन बिताउने समाज सृजना गर्ने निधो गरे। तपाईं पक्कै पनि तिनीहरूको भावना बुझ्न सक्नुहुन्छ। समस्यारहित प्रमोदवनमा जीवन बिताउने मौका दिइयो भने, कसले पो इन्कार गर्ला र?
एकलास ठाउँमा बस्नु के समाधान हो?
एकलास ठाउँमा बस्दा केही हदसम्म सुरक्षित हुने भएकोले धेरैजसोलाई टापुमा जीवन बिताउन मन पर्छ। कोही पानामाको प्रशान्तीय तट पारिका टापुहरू रोज्छन् भने, कोही बेलिज पारिको क्यारेबियन टापुहरूमा बस्न रुचाउँछन्। अन्य कतिपय हिन्द महासागरको शेशल्सजस्तै कुनै रमणीय इलाकामा बस्न मन गर्छन्।
तर एकलासको ठाउँमा समाज खडा गर्नु र त्यसलाई सञ्चालन गर्नु कल्पनाबाहिरको कुरा हो। प्रशस्त पैसा छ भने पनि विद्यमान सरकारी व्यवस्थाले गर्दा भन्नेबित्तिकै जग्गा किन्न गाह्रो हुनसक्छ। केही गरी, बडो गजबको उष्णप्रदेशीय टापु हात पऱ्यो भने पनि के तपाईं त्यहाँ आनन्दित हुनुहुनेछ र? के तपाईंको प्रमोदवन समस्यारहित होला त?
बेलाइती तट वरपरको दुर्गम टापुहरूमा जनसंख्या धमाधम बढ्दैछ। त्यहाँका नयाँ बासिन्दाहरू मुख्यतया एकान्तप्रिय तथा शान्तिप्रेमीहरू हुन्। स्कटल्याण्डको पश्चिमी तटदेखि टाढा २५० एकडको ईओर्सा टापुमा एक्लै बस्ने एक पुरुष आफ्नो १०० वटा भेडाहरूको बथान हेरचाह गर्दागर्दै सास फेर्ने फुर्सतसमेत नपाएकोले कहिल्यै एक्लो महसुस नभएको दाबी गर्छन्। तर एकान्त ठाउँ चाहने अरू कतिपय मानिसहरू भने केही समयमै एक्लो महसुस गर्छन्। कसै कसैले त आत्महत्या गर्ने कोसिस गरेको र तिनीहरूको उद्धार गर्नुपरेको पनि रिपोर्ट गरिएको छ।
रमणीय उष्णप्रदेशीय टापु नै प्रमोदवन हो भन्ने विश्वास धेरैको छ। कहिलेकाहीं मात्र मौसममा फेरबदल हुने तर धेरैजसो बेला मन्दमन्द हावा चल्ने मोहक वातावरणले तिनीहरूको मन लोभ्याएको छ। तर सम्भाव्य हरितगृह प्रभाव र समुद्री सतहको वृद्धिले धेरैजसो टापु निवासीहरू भयभीत छन्। पश्चिमी प्रशान्त महासागरीय टोकलाऊ टापुका प्रवाल द्वीप इलाकालगायत समुद्री सतहभन्दा करिब दुइ मिटर जत्ति मात्र माथि उठेको र हिन्द महासागरमा छरिएका माल्दिभ्स टापुका बासिन्दाहरू पनि त्रस्त छन्।
टापु निवासीहरूलाई सहयोग गर्ने हेतुले एकजुट हुन साना टापु विकासोन्मुख राष्ट्र संघमा भिन्नाभिन्नै ४० वटा सरकारहरू सामेल भएका छन्। स-साना टापुका निवासीहरूको सरदर आयु लामो र बाल मृत्युदर पनि कम हुने भए तापनि तिनीहरूले पर्यावरणीय खतरनाक समस्याहरू निरन्तर भोगिरहेका छन्। समुद्रमा भएको तेल चुहावट र फोहरमैलाले गर्दा केही टापुहरूको आर्थिक आय चालै नपाउनेगरि खस्किरहेको छ। अर्कोतिर अन्य केही टापुहरू भने ठूलठूला राष्ट्रहरूको विषालु फोहर फाल्ने ठाउँ भएका छन्।
प्रमोदवनजस्तै मनमोहक दृश्यले सजिएका टापुमा भित्रिने पर्यटकहरूसमेत खतरा साबित भएका छन्। कसरी? टापुको घमाइलो तटमा ओइरिने पर्यटकहरूले गर्दा तटमा मानिसको घुइँचो निकै बढ्ने र बचेखुचेका प्राकृतिक सम्पदाहरू पनि ह्रास हुने गर्दछ। उदाहरणका लागि, क्यारेबियन टापुमा वर्षेनी आउने दुइ करोड आगन्तुकहरूले फालेको फोहरमैलाको दश भागको एक भाग मात्र सफा गरिन्छ।
अन्य मनमोहक स्थलहरूको अवस्था पनि यस्तै छ। भारतको पश्चिमी तटमा पर्ने गोआलाई लिनुहोस्। लण्डनको इन्डिपेन्डेन्ट अन सन्डे-अनुसार, “अत्यधिक पर्यटकहरूले ‘प्रमोदवन दूषित पारिरहेका छन्।’ ” सन् १९७२ मा १०,००० पर्यटकहरू मात्र भित्रिए तापनि १९९० दशकको सुरुमा यो संख्या बढेर दश लाखभन्दा बढी भएको सरकारी अनुमानले देखाएको छ। पर्यटकहरूबाट सोहर्न सकिने धनको लोभले गर्दा होटेल मालिकहरूले गोआको पर्यावरणलाई झन् नाजुक पार्नुका साथै विशिष्ट संस्कृतिलाई खतरामा पारेका छन् भनी पर्यावरणीय समूहले चेताउनी दिएको छ। गोआको तटमा कुनै कुनै होटल गैरकानुनी तरिकामा बनाइएका छन् भनी भारतको सरकारी प्रतिवेदनले पुष्टि गरेको छ। बालुवा निकाल्ने, रूखहरू ढाल्ने र हावाले गर्दा बनेको बालुवाको ढिस्को समतल पार्नेजस्ता काम त्यहाँ भइरहेका छन्। फोहरमैला तटमा वा नजीकैको धानबालीमा निकासी गरिएकोले प्रदूषण जताततै फैलन थालेको छ।
अपराधमुक्त?
अपराधी गतिविधिको बिगबिगीले सबैभन्दा शान्त कहलाइएका इलाकाहरूको प्रतिष्ठामा समेत दाग लागेको छ। क्यारेबियनको सानो टापु बार्बुडाबारे मुख्य समाचार थियो, “प्रमोदवनमा हत्या।” उक्त टापुको तटमा एक आरामदायी नौकामा यात्रा गरिरहेका चार जना मानिसहरूको बीभत्स हत्याबारे यस प्रतिवेदनमा विस्तृत विवरण दिइएको थियो। यस्ता घटनाहरूले गर्दा उक्त इलाकाभरि फैलिरहेको अपराधबारे चिन्ता अझ बढ्छ।
केन्द्रीय अमेरिकाको एउटा मुलुकबारे लण्डनको द सन्डे टाइम्स यस्तो मुख्य समाचार दिन्छ, “ ‘प्रमोदवनमा’ लागू पदार्थले गर्दा गिरोहहरूबीच युद्ध।” स्थानीय सम्पादक शान्ति हराइसकेको छ भन्दै यसरी दुखेसो पोख्छन्: “बिहान बिउँझनेबित्तिकै एउटा १६ वर्षे केटो रगताम्य भएको भेट्टाउनु सामान्य भइसक्यो।”
प्रमोदवनरूपी समाजमा बस्ने निधो गरेकाहरूले त्यहीं शान्तपूर्वक रहन चाहने अन्य व्यक्तिहरूलाई आकर्षित पार्ने आशा पनि गर्छन्। तर वास्तविकता के छ? लेखको सुरुमै उल्लेख गरिएका बेलाइती दम्पतीलाई विचार गर्ने हो भने, तिनीहरूको योजनामा तुरुन्तै असहमती प्रकट हुन थाल्यो। यस अभियानमा भाग लिने केही व्यक्तिहरूले स्पष्टतः यो नयाँ प्रस्तावबाट पैसा कमाउन खोजेका थिए। “हामीलाई नेता चाहिंदैन,” उक्त योजनाका प्रवर्तकले भने। “यसको मूल आशय हाम्रा योजनाहरू पूरा गर्न स्रोत तथा साधनहरू जम्मा गर्नु हो। म यसलाई युटोपियाली समाज भन्छु।” भनौं भने यो योजना पहिलो होइन, यस्ता अनेकन् योजनाहरू बनिए।—“प्रमोदवनरूपी समाजको परीक्षण” पेटी हेर्नुहोस्।
प्रमोदवन खोज्ने अन्य व्यक्तिहरूले चाहिं चिट्ठा जितेर आफ्नो लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने विश्वास गर्छन्। तर यसरी प्राप्त भौतिक लाभले विरलै आनन्द दिन्छ। उदाहरणका लागि, अहिलेसम्म चिट्ठाबाट सबैभन्दा धेरै धनराशी हासिल गर्ने बेलाइती परिवारमा निरन्तर झैझगडा हुने गरेको रिपोर्ट छ। चिट्ठाले तिनीहरूबीच “रीस, कलह” गराउनु र तिनीहरूको “हावामहल” भत्काउनु सिवाय केही गर्नसकेन भनी फेब्रुअरी १९९५ मा द सन्डे टाइम्स-ले रिपोर्ट गऱ्यो। यस्तो हुनु कुनै अनौठो घटना होइन।
युटोपियाको लागि मानिसजातिको खोजसम्बन्धी गहन अध्ययन गर्ने पत्रकार बर्नार्ड लेभिनले “तत्कालै धनी हुने सपना”-बारे टिप्पणी गर्दै यसो भने: “अधिकांश सपनाहरूजस्तै यो पनि डरलाग्दो दुःस्वपनमा परिणत हुन के बेर। एक्कासी धनी हुनेहरू अत्यन्त दुःखी भएका (र आत्महत्या गर्ने हदसम्म पुगेका) यत्ति धेरै घटनाहरू छन् कि यस्ता घटनाहरूलाई संयोग भन्न कदापि सकिन्न।”
डूम्सडे पन्थहरूबारे के भन्न सकिन्छ?
प्रमोदवनसम्बन्धी अन्य योजनाहरू त झनै अनिष्टकारी छन्। सन् १९९३ मा सरकारी रक्षकहरूले डेभिडियन शाखामा गरेको घेराबन्दीबारे टिप्पणी गर्दै एउटा समाचार पत्रले “बन्दुक, मन-मस्तिष्क नियन्त्रण गर्ने विधि र डुम्सडे अगमवक्ताको” उल्लेख गरेको थियो। फलतः त्यहाँ घमासान मुठभेट पनि भएको थियो। तर दुःखको कुरा, यस्तो घटना यही एउटा मात्र नभई अन्य कैयौं छन्।
मृत श्री रजनीश भारतीय आध्यात्मिक गुरु थिए। तिनका अनुयायीहरूले ओरेगनमा खडा गरेको एउटा समाजले वरपरका मानिसहरूको नैतिकतामा धक्का पुऱ्याएको थियो। “एउटा सुन्दर मरुद्यान” स्थापित गर्न सफल भयौं भन्ने तिनीहरूको दाबीलाई उक्त गुरुको धन तथा तिनीहरूको यौनाभ्यासले कमजोर साबित गरेको छ।
प्रमोदवनको आशा राख्ने धेरैजसो पन्थहरूले आफ्ना अनुयायीहरूलाई अनौठो रीति पालन गर्ने माग गर्छन्, जसले गर्दा कहिलेकाहीं हिंसात्मक मुठभेट हुन्छ। समाचारपत्रका स्तम्भकार ईअन ब्रोडी बताउँछन्: “नीरस जीवन बिताउनेहरू अनि वास्तविक संसारको दबाबसित लड्न नसक्नेहरूलाई पन्थहरूले आश्रय दिन्छन्।” तैपनि अधिकांश मानिसहरू प्रमोदवनमा बस्न रुचाउँछन् भन्ने तथ्यलाई ईअन ब्रोडीका शब्दहरूले पुष्टि गर्छन्।
समस्यामुक्त प्रमोदवन
समस्याको सूची निकै लामो देखिन्छ: प्रदूषण, अपराध, लागू पदार्थको दुरुपयोग, जनसंख्याको चाप, जातीय दंगा, राजनैतिक उथलपुथल र मानवजातिको साझा समस्या अर्थात् रोग तथा मृत्यु आदि। अतः निष्कर्षमा भन्न सकिन्छ, यो पृथ्वीमा पूर्णतया समस्यारहित प्रमोदवन कतै कुनै ठाउँमा छैन। बर्नार्ड लेभिनले स्वीकारेजस्तै: “मानवताको अभिलेखमा कालो मोसो पोतिएको छ र लाग्छ, यो मानवताको प्रारम्भदेखि नै थियो। यसैकारण, मुठीभर मानिसहरूबाहेक अरूसित घनिष्ठता कायम गरेर आनन्दायी जीवन बिताउन सकिंदैन।”
तथापि, पृथ्वीभरि साँच्चै समस्यारहित प्रमोदवन हुनेछ। अनि यो प्रमोदवन रहिरहनेछ भनेर अलौकिक शक्तिका मालिकले तोक्नुभएको छ। वास्तवमा ५० लाखभन्दा धेरै मानिसहरूले यो प्रमोदवनतर्फ डोऱ्याउने बाटोमा अहिलेदेखि नै पाइला चालिरहेका छन्। फलतः अहिले पनि तिनीहरूले आपसमा बहुमूल्य एकता र आफूबीच केही हदसम्म समस्यारहित वातावरणको आनन्द उठाइरहेका छन्। तपाईं तिनीहरूलाई कहाँ भेट्टाउन सक्नुहुन्छ? तिनीहरूले अहिले आनन्द उठाइरहेको आशा र लाभ तपाईं पनि कसरी पाउन सक्नुहुन्छ? अनि यो आउँदै गरेको प्रमोदवन कतिञ्जेल रहनेछ?
[पृष्ठ ६-मा भएको पेटी]
प्रमोदवनरूपी समाजको परीक्षण
उन्नाइसौं शताब्दीको प्रारम्भतिर फ्रान्सेली समाजवादी आट्येन कबे (१७८८-१८५६) र तिनका २८० समर्थकहरूले नोभू, इल्यिन्योसमा आफ्नो कल्पनाअनुरूपको एउटा समाज खडा गरे। तर आठ वर्षभित्रै त्यो समाज विघटन हुनेगरि कलह भयो। इओवा र क्यालिफोर्नियाका यस्तै समूहहरूको हालत पनि त्यस्तै भयो।
अर्का फ्रान्सेली पुरुष शार्ल फूरिआले (१७७२-१८३७) सम्प्रदायका प्रत्येक सदस्यले पालैसित काम गर्नुपर्ने गरी सहकारी कृषि समाज गठन गरे। सामूहिक सफलताको आधारमा प्रत्येकले आ-आफ्नो ज्याला पाउँथ्यो। तर फ्रान्स र संयुक्त राज्य अमेरिका दुवै ठाउँहरूमा यस्ता सहकारी समाजहरू केही समयमै विलीन भए।
त्यसै समयतिर वेल्श समाज सुधारक रोबर्ट ओएनले (१७७१-१८५८) सयौं मानिसहरू एकै ठाउँमा एउटै भान्छामा एकसाथ खाने ठाउँको रूपमा एउटा सहकारी गाउँ खडा गर्ने प्रस्ताव पेश गरे। प्रत्येक परिवार आ-आफ्नै घरमा बस्नेथियो र छोराछोरी तीन वर्षको नहोउञ्जेल आफैले तिनीहरूको हेरचाह गर्नुपर्थ्यो। त्यसपछि, ती छोराछोरीहरूको जिम्मेवारी पूरै समाजले लिन्थ्यो। तर ओएनको परीक्षण असफल भयो, तिनले आफ्नो निजी सम्पत्ति पनि निकै गुमाउनुपऱ्यो।
द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका-अनुसार जोन नोयेस (१८११-१८८६) “संयुक्त राज्य अमेरिकामा सबैभन्दा सफल युटोपिया समाजवादी समुदायका” संस्थापक थिए। तिनका अनुयायीहरूले आफ्नै लोग्ने वा स्वास्नीसित मात्र सम्बन्ध राख्नुको साटो आपसी समझदारीमा सबैसित यौन सम्बन्ध कायम गर्न थाल्दा व्यभिचारको आरोपमा नोयेस गिरफ्तार भए।
केन्द्रीय अमेरिकाको एकप्रकारको “पूँजीवाद युटोपिया” अर्थात् लासा फार शहर, हालै युटोपिया समाज स्थापना गर्न गरिएको प्रयासको नमुना हो भनी लण्डनको द सन्डे टाइम्स रिपोर्ट गर्छ। उक्त योजनालाई पूरा गर्न लगानीकर्ताहरू खोजिए। “एक्काइसौं शताब्दीको चमत्कारी शहरमा” बस्न पाउने लालसा दिएर प्रमोदवन खोजी गर्नेहरूलाई ५,००० अमेरिकी डलर लगानी गर्न र त्यस्तै लगानी गर्न चाहनेहरूलाई खोजी आफ्नो नाफा बढाउन आह्वान गरियो। भनिन्छ, कथनकदाचित “मुलुकले जग्गा किन्ने अनुमति दिइहाल्यो वा त्यहाँ एउटा सानो होटेल मात्र बनाउन दिइहाल्यो” भने पनि त्यति पैसाले त त्यहाँसम्म पुग्न हवाईजहाजको भाडा मात्र टर्छ, भनी उक्त समाचारपत्रले टिप्पणी गऱ्यो। वास्तवमा, त्यहाँ “प्रमोदवन” स्थापना गर्ने कुनै विश्वसनीय योजना नै छैन।
[पृष्ठ ७-मा भएको चित्र]
प्रमोदवन खोज्ने धेरैजसोका लागि टापुमा बस्नु रहरलाग्दो हुन्छ। तर अपराधी गतिविधिले सबै-भन्दा शान्त ठाउँहरूमा पनि दाग लगाएको छ