प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ११/८ पृ. ८-११
  • समस्यारहित प्रमोदवन—चाँडै वास्तविकता हुनेछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • समस्यारहित प्रमोदवन—चाँडै वास्तविकता हुनेछ
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रमोदवन ल्याउने शक्‍ति
  • वर्तमान वास्तविकता
  • “प्रमोदवनमा भेटौँला!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • आर-मागेडोन पश्‍चात्‌, एउटा पार्थिव प्रमोदवन
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • पुनः प्रमोदवनतर्फ
    ब्यूँझनुहोस्‌!—१९९७
  • आध्यात्मिक प्रमोदवन भनेको के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ११/८ पृ. ८-११

समस्यारहित प्रमोदवन—चाँडै वास्तविकता हुनेछ

“तिमी मसित प्रमोदवनमा हुनेछौ।” अपराधी जीवन बिताउने व्यक्‍तिलाई यी शब्दहरू सुनेर एकदमै सान्त्वना मिलेको हुनुपर्छ! तथापि, मरेपछि नरक नगई सोझै स्वर्ग जान पाइनेभो भनेर उसले सोचिरहेको थिएन। तर, यस पृथ्वीमा पुनर्स्थापित हुने प्रमोदवनमा पुनरुत्थान गरिनेछु भन्‍ने आशाले गर्दा येशूसँगै टाँगिएको त्यो चोरले सान्त्वना पाइरहेको थियो। कृपया याद गर्नुहोस्‌, प्रमोदवनबारे यस्तो उल्लेखनीय वचन स्वयं परमेश्‍वरका पुत्र येशू ख्रीष्टले बोल्नुभएको थियो।—लूका २३:४३, NW..

येशूले प्रमोदवनबारे किन प्रतिज्ञा गर्नुभयो? त्यो चोरले यस्तो बिन्ती गरेको थियो: “हे येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्‌।” (लूका २३:४२) त्यो राज्य के हो अनि त्यो राज्य र पार्थिव प्रमोदवनबीच के सम्बन्ध छ? त्यसले प्रमोदवन समस्यारहित हुनेछ भनेर कसरी ठोकुवा गर्छ?

प्रमोदवन ल्याउने शक्‍ति

वर्तमान समस्याहरू सबै हटिसकेपछि मात्र प्रमोदवन साँच्चै हुनसक्छ भनी तपाईं पनि सहमत हुनुहुनेछ। मानिसहरूले समस्या हटाउन निकै प्रयास गरे तर सफल हुन सकेनन्‌ भनी इतिहासले प्रशस्त प्रमाणहरू पेश गरेको छ। हिब्रू अगमवक्‍ता यर्मियाले यसरी स्वीकारे: “हे परमप्रभु, मलाई थाह छ, . . . आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्‍ति मानिसमा छैन।” (यर्मिया १०:२३) त्यसोभए, वर्तमान समस्यालाई कसले हटाउनसक्छ त?

असाध्यै उतारचढाउ हुने मौसम तथा प्रदूषण। डुंगा नै डुबाउलाजस्तो गरी गालीलको समुद्रमा भीषण हुरीबतास चल्दा माझीहरूले सँगी यात्रुलाई निद्राबाट बिउँझाए। तर त्यस यात्रीले समुद्रलाई यत्ति मात्र भने: “चूप लाग्‌, शान्त हो।” त्यसपछिको घटना मर्कूसको विवरणले यसरी बताउँछ: “बतास थामियो र ठूलो सन्‍नाटा भयो।” (मर्कूस ४:३९) तिनीहरूका यी सँगी यात्रु अरू कोही नभई स्वयं येशू नै हुनुहुन्थ्यो। उहाँसित मौसमलाई काबूमा राख्ने शक्‍ति थियो।

“पृथ्वीका नष्टकारीहरूलाई नष्ट गर्नालाई” परमेश्‍वरको समय आएको छ भनी प्रेरित यूहन्‍ना मार्फत अगमवाणी गर्नुहुने व्यक्‍ति पनि येशू नै हुनुहुन्थ्यो। (प्रकाश १:१; ११:१८) यस्तो विनाश फेरि गर्नु नूहको दिनमा जलप्रलय ल्याएर संसारभरिका अभक्‍त मानिसहरूलाई हटाउनसक्ने व्यक्‍तिको लागि असम्भव थिएन।—२ पत्रुस ३:५, ६.

अपराध तथा हिंसा। बाइबल यस्तो प्रतिज्ञा गर्छ: “कुकर्मीहरू नष्ट हुनेछन्‌। तर परमप्रभुको बाटो हेर्ने जतिले देश अधिकार गर्नेछन्‌। तर नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌।” (भजन ३७:९, ११) सबै प्रकारको अपराध तथा हिंसा हटाएर नम्रहरूलाई मात्र प्रमोदवनमा राख्ने प्रतिज्ञा गर्नुहुने अरू कोही नभई यहोवा परमेश्‍वर नै हुनुहुन्छ।

गरिबी तथा भोक। वर्तमान समयको अन्याय यस्तो छ कि कुनै ठाउँको सरकारले एक रास खाद्यान्‍न सञ्चय गर्छ भने, अर्कोतिर गरिब राष्ट्रहरूमा मानिसहरू एक एक दाना अन्‍नका लागि तँछाड-मछाड गर्नुपर्छ। विश्‍वभरिका चिन्तित व्यक्‍तिहरूद्वारा सञ्चालित उद्धार संस्थाहरूले आधारभूत आवश्‍यकताहरू पूर्ति गर्ने कोसिस गरेका छन्‌। तर उचित व्यवस्था तथा नीतिको अभावले ती राहत सामग्री अक्सर भनेजस्तो ढंगमा वितरण हुन पाउँदैन। अब यसलाई अगमवक्‍ता यशैयाले भनेका कुरासित तुलना गर्नुहोस्‌: “सेनाहरूका परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा मीठा थोकहरू—छिप्पिएको मद्य, असल असल स्वादिष्ट थोकहरू, एकदमै छिप्पिएको छानेको मद्यको भोज लाउनुहुनेछ।” (यशैया २५:६) के यसले अनिकाल र भोकमरी नै हुनेछैन भनेको होइन र? निस्सन्देह।

युद्ध। यस पृथ्वीलाई एक शक्‍तिशाली राष्ट्रले शासन गर्ने प्रयास पनि विफल भएको छ। सन्‌ १९२० मा स्थापित राष्ट्र संघ, दोस्रो विश्‍वयुद्धलाई रोक्न नसकेर विघटन भयो। शान्तिको एक मात्र आधार भनेर बारम्बार संयुक्‍त राष्ट्र संघको प्रशंसा गरिएको भए तापनि गोलमाल मच्चिरहेको ठाउँबाट युद्धरत पक्षलाई हटाउन संयुक्‍त राष्ट्र संघलाई धौ धौ परिरहेको छ। यसले शान्ति ल्याउन गरेको प्रयत्न जत्ति नै प्रचारप्रसारमा आए तापनि गृहयुद्ध, जातीय युद्ध वा साम्प्रदायिक दंगा चर्केको चर्केकै छन्‌। परमेश्‍वरको सरकारले वर्तमान युद्धका कारक तत्त्वहरूलाई हटाउने र प्रजाहरूलाई शान्तसित रहने तरिकाहरू सिकाउने प्रतिज्ञा गरेको छ।—यशैया २:२-४; दानियल २:४४.

परिवार तथा नैतिक पतन। जताततै परिवार टुक्रँदैछ। बालअपराध धमाधम बढ्‌दैछ। हर स्तरका मानिसहरूमा अनैतिकता व्याप्त छ। यद्यपि, परमेश्‍वरका स्तरहरू भने पहिले जे-जस्ता थिए, अहिले पनि त्यस्तै छन्‌। येशूले भन्‍नुभयो, “मानिसले आफ्ना आमा-बाबुलाई छोड़ेर आफ्नो स्वास्नीसँग मिलिरहन्छ, र ती दुइ जना एक शरीर हुनेछन्‌। . . . यसकारण जसलाई परमेश्‍वरले एक साथ जोड़नुभएको छ, त्यसलाई मानिसले नछुट्याओस्‌।” (मत्ती १९:५, ६) यहोवा परमेश्‍वरले यस्तो आज्ञा पनि दिनुभयो: “आफ्ना बाबु र आमाको मान गर . . . र तिमीलाई भलो होस्‌, र पृथ्वीमा तिम्रो दीर्घायु होस्‌।” (एफिसी ६:२, ३) परमेश्‍वरको राज्य स्थापित हुँदा यस्ता स्तरहरू लागू हुनेछन्‌।

रोगबिमारी तथा मृत्यु। अगमवक्‍ता यशैयाले भविष्यवाणी गरे: “परमप्रभु [“यहोवाले,” NW] . . . नै हामीलाई बचाउनुहुनेछ। त्यहाँका बासिन्दाहरूले यसो भन्‍नेछैनन्‌, ‘म बिरामी परें।’ ” (यशैया ३३:२२, २४) मसीही प्रेरित पावलले स्वीकारे, “पापको ज्याला मृत्यु हो, तर परमेश्‍वरको अनुग्रहको वरदान हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो।”—रोमी ६:२३.

यहोवा परमेश्‍वरले यी सबै समस्याहरू पुत्र, ख्रीष्ट येशूद्वारा सञ्चालित आफ्नो स्वर्गीय सरकार मार्फत हटाउनुहुनेछ। तथापि, तपाईं भन्‍नुहोला, ‘यो त कुनै युटोपियाको वर्णन भएन र? हो र, साँच्चै यस्तै भयो भने त निकै रमाइलो हुनेछ नि, होइन र? तर के यस्तो होला त?’

वर्तमान वास्तविकता

यही पृथ्वीमा समस्यारहित प्रमोदवनमा जीवन बिताउने आशा गर्नु धेरैजसो मानिसलाई अव्यवहारिक लाग्छ। तपाईंलाई पनि त्यस्तै लाग्छ भने समस्यारहित प्रमोदवन वास्तवमा हुन्छ नै भन्‍ने प्रमाणहरू जाँच्नुहोस्‌।

हाल ५० लाखभन्दा धेरै मानिसहरू मिलेर यहोवाका साक्षीहरूको एउटा अन्तरराष्ट्रिय समाज बनेको छ। तिनीहरू अहिलेदेखि नै २३३ मुलुकहरूमा छरिएर रहेका ८२,००० जति मण्डलीहरूभित्र तुलनात्मक हिसाबले समस्यारहित परिवेशमा बस्न थालिसकेका छन्‌। तपाईं तिनीहरूको सानो, ठूलो कुनै पनि सभामा जान सक्नुहुन्छ। अनि जानुभयो भने के भेट्टाउनुहुनेछ?

(१) रमाइलो, स्वच्छ वातावरण। यहोवाका साक्षीहरूको नोरविच, बेलाइतमा आयोजित अधिवेशनबारे फुटबल रंगशालाका प्रबन्धकले यस्तो टिप्पणी गरे: “यो चार दिन छाएको शान्त वातावरण . . . एकपछि अर्कोमा सरिरहेको छ। चार/चार दिनसम्म व्यापारजगत्‌ तथा दैनिक भागदौडमा अनुभव गरिने तनाउको तुलनामा यहाँ कता हो कता ठूलो व्यक्‍तिगत शान्ति अनुभव हुन्छ। हो, साक्षीहरू साँच्चै भिन्‍न छन्‌ र यो भिन्‍नता के कारणले गर्दा भएको हो, त्यो वर्णन गर्न गाह्रो छ।”

लण्डनस्थित यहोवाका साक्षीहरूको कार्यालयमा आएका निर्माण सल्लाहकारले भने: “मैले जे देखें र सुनें, त्यसबाट म साह्रै प्रभावित भएँ। भवनमा मात्र नभई तपाईंहरूसित पनि [पुरुष तथा महिलाहरूबीच] शान्ति र चैन भएको देख्दा म अत्यन्त भावविभोर भएँ। तपाईंहरूको जीवनशैली तथा आनन्दबाट यस समस्याग्रस्त संसारले धेरै कुरा सिक्नु छ भन्‍ने मैले महसुस गरेको छु।”

(२) सुरक्षा तथा शान्ति। क्यानाडाको झर्नल दे मोन्रेअल-की स्तम्भ लेखिका लेख्छिन्‌: “म यहोवाको साक्षी होइन। तर यहोवाका साक्षीहरू दक्ष छन्‌ तथा शिष्ट व्यवहार गर्छन्‌ भन्‍ने तथ्य कुराको साक्षी भने पक्कै हुँ। . . . संसारमा तिनीहरू मात्र भइदिएका भए हामीले राति घरमा ताल्चा वा चोरसूचक घण्टी नै लाउनुपर्ने थिएन।”

(३) परमेश्‍वरको राज्यसरकारप्रतिको वफादारी साक्षीहरूको विशिष्ट गुण हो। तिनीहरू तटस्थ भएकाले कोही कोही चिढिन्छन्‌, जुन वास्तवमा हुनु नपर्ने हो। हिजोआज टालटुल गर्न अपनाइने राजनैतिक योजनाहरूमा तिनीहरू सहभागी नहुनुको अर्थ तिनीहरू समाज सुध्रिएको चाहँदैनन्‌ भन्‍ने होइन। बरु, तिनीहरू स्वर्गीय राज्य परिचालन गर्ने सरकार अर्थात्‌ पृथ्वीको सृजनहार यहोवा परमेश्‍वरलाई खुशी तुल्याउने ढंगमा काम गर्ने कोसिस गर्छन्‌।

परमेश्‍वरको वचन बाइबललाई साक्षीहरूले आफ्नो विश्‍वासको मूल आधार मानेका छन्‌। बाइबलमाथिको सम्पूर्ण विश्‍वासले गर्दा तिनीहरू पन्थ वा गुट बन्‍ने जालमा फस्दैनन्‌। धार्मिक आस्था जुनसुकै भए तापनि तिनीहरू सबै मानिसहरूप्रति मायालु चासो देखाउँछन्‌। तिनीहरू मानिसहरूलाई आफ्नो दृष्टिकोण परिवर्तन गर्न बलजफ्ती गर्दैनन्‌। यस पृथ्वीमा चाँडै समस्यारहित प्रमोदवन स्थापित हुनेछ भन्‍ने धर्मशास्त्रीय प्रमाण पेश गरेर तिनीहरू आफ्नो अगुवा ख्रीष्ट येशूको अनुकरण गर्ने अथक प्रयास गर्छन्‌।—मत्ती २८:१९, २०; १ पत्रुस २:२१.

(४) आध्यात्मिक सुस्वास्थ्य तथा आनन्द। यस दुनियाँका सम्पूर्ण समस्यादेखि मुक्‍त छौं भनेर यहोवाका साक्षीहरू दाबा गर्दैनन्‌ र त्यसो गर्नु व्यवहारिक पनि छैन। किनकि मानिसहरूले आदमबाट लाहाछापसरह वंशाणुगत पाप पाएका छन्‌। तर परमेश्‍वरको पवित्र आत्माको मदत लिएर तिनीहरू “प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वस्तता, नम्रता, संयम” जस्ता व्यक्‍तिगत गुणहरू खेती गर्ने प्रयत्न गर्छन्‌। (गलाती ५:२२, २३) ख्रीष्ट येशू मार्फत यहोवालाई चढाइने उपासनाले नै तिनीहरूलाई एकताको सूत्रमा बाँधेको छ र तिनीहरूको आशालाई जीवित राखेको छ।

हामीलाई विश्‍वास छ, साक्षीहरूको स्थानीय सभाघरमा जानुभयो भने परमेश्‍वरले यस पृथ्वीलाई साँच्चै एउटा प्रमोदवनमा परिणत गर्नुहुनेछ भनी तपाईं विश्‍वस्त हुनुहुनेछ।

वर्तमान समस्याहरू बितेर जानेछन्‌। आज्ञाकारी मानिसजातिले ख्रीष्टको छुडौतीको बलिदानका फाइदाहरू पाउँदै जाँदा हामीसित टाँसिएर बसेको असिद्धता पनि बिस्तारै हराउनेछ। हो, पूर्ण स्वास्थ्य तथा आनन्द तपाईंले पाउन सक्नुहुन्छ।

यस्तो प्रत्याशाको आनन्द उठाउन भागदौड गर्नुपर्दैन। साक्षीहरूसित ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तक मागे पुग्छ।a समस्यारहित प्रमोदवनमा जीवनको आनन्द उठाउन तपाईंले परमेश्‍वरका के कस्ता मागहरू पूरा गर्नुपर्छ, ती यस पुस्तकबाट थोरै समयमै सिक्न सक्नुहुन्छ।

[फुटनोट]

a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।

[पृष्ठ १०-मा भएको ठूलो अक्षरको क्याप्सन]

बाइबलमाथिको सम्पूर्ण विश्‍वासले गर्दा यहोवाका साक्षीहरू पन्थ वा गुट बन्‍नदेखि टाढा बस्छन्‌

[पृष्ठ ८, ९-मा भएका चित्रहरू]

समस्यारहित प्रमोदवनको आधार अहिल्यै बसालिंदैछ

चाँडै पूरै पृथ्वी साँच्चै प्रमोदवन हुनेछ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने