डाउन अन्डरको जीवन भिन्नै छ
अस्ट्रेलियाका ब्यूँझनुहोस्! संवाददाताद्वारा
“डाउन अन्डर,” मुन्तिर अर्थ बुझाउने अंग्रेजी अभिव्यक्ति हो। यो हाल निकै प्रचलित भएको छ। तर के को मुन्तिर? यसले भूमध्यरेखा मुन्तिर वा तलतिर पर्ने देशहरू बुझाउँछ। पारिभाषिक अर्थमा भन्ने हो भने, दक्षिणी गोलार्द्धका सबै देशहरूलाई “डाउन अन्डर” भन्न सकिन्छ। तथापि, साधारणतया अस्ट्रेलिया र न्यु जील्याण्डलाई मात्र यस्तो सम्बोधन गरिन्छ। यस लेखले मुख्यतया अस्ट्रेलियाको विषयमा बताउनेछ। अस्ट्रेलिया नाउँ “दक्षिणी” अर्थ लाग्ने ल्याटिन शब्द अस्ट्रेलीस-बाट लिइएको हो।
उत्तरी गोलार्द्धका थुप्रै देशहरूको जीवनशैली र अस्ट्रेलियाको जीवनशैली एकदमै भिन्न छ। भौगोलिक बनावटले गर्दा मात्र यस्तो भिन्नता भएको होइन। त्यहाँ आगन्तुकहरूले अन्य थुप्रै भिन्नताहरू पनि देख्नसक्छन्।
युरोपेली बस्ती
टन्टलापुर घाम लाग्ने यस विशाल देशमा १७८८ देखि युरोपेलीहरू बसोबास गर्न थाले। फस्ट फ्लीट् अर्थात् जहाजका एक समूह सिड्नी कोभमा किनारा लागे। ती जहाजहरूका अधिकांश यात्रुहरू बेलाइत, आयरल्याण्ड र स्कटल्याण्डबाट आएका अपराधीहरू थिए र तिनीहरूसँगसँगै अंग्रेजी भाषा पनि त्यहाँ भित्रिए। त्यसपश्चात्, १५० वर्षको दौडान ओइरिएका प्रवासीहरूमध्ये धेरैजसो बेलाइतीहरू थिए।
दोस्रो विश्वयुद्धपश्चात् त अन्य देशहरूबाट पनि प्रवासीहरू यहाँ आउन थाले। आज विभिन्न देशहरूबाट आएका हजारौं “नव अस्ट्रेलियालीहरू” छन्। तीमध्ये धेरैजसो चाहिं इटाली र ग्रीसबाट आएका हुन्। यी प्रवासीहरूले नै अस्ट्रेलियाको जीवनशैलीमा विविधता ल्याएका हुन्। अनि तिनीहरूले आ-आफ्ना भाषा तथा अंग्रेजी शब्दहरूका विविध शब्दोच्चारणका साथै आफ्ना भोजन परिकार र संस्कृतिहरू पनि भित्राए।
यही कारणले यहाँ अनेक प्रकारको स्वाराघात सुन्न पाइन्छ। तर पुस्तौंदेखि आफ्ना पुर्खाहरू यहीं बसोबास गर्दै आएका व्यक्तिहरूको पनि स्वाराघात र अंग्रेजी बोल्ने तरिका बेग्लै छ। अस्ट्रेलियालीहरूले अंग्रेजी स्वरवर्ण ए, इ, आइ, ओ, यु-को एकैनासे शब्दोच्चारण गर्छन् र प्रायः नबुझ्ने हुन्छ। फलतः सुन्ने व्यक्तिले झट्ट बुझ्न सक्दैन। साथै अस्ट्रेलियामा कुराकानी गर्ने ढंग पनि अनौठो छ। उदाहरणका लागि, चाहे दिन होस् वा रात “गुड मर्निङ” वा “गुड नाइट” भन्नुको सट्टा मित्रैलो भावमा “गुड्डाई माइट!” भन्ने अभिवादन नै चलनचल्तीमा छ। त्यसपछि विनीत ढंगमा भलाकुसारी गर्छन्। अनि आगन्तुकलाई सोध्नसक्छन्, “हाउ या गोइङ माइट, ओराइट?”
मानिसहरू पनि भिन्नै छन्
यस उजाड भूमिमा बाँच्न मानिसहरू परिस्थितिअनुरूप घुलमिल हुन तथा हिम्मती हुन आवश्यक पऱ्यो। शायद यही कारण धेरैजसो अस्ट्रेलियालीहरू आशावादी बनेर भन्छन्, “शील्बी राइट माइट!” यसको अर्थ हो, उराठलाग्दो परिस्थितिमा गुज्रनुपर्दा पनि असाध्यै चिन्तित हुनु हुँदैन। किनकि सबै कुरा समयको अन्तरालमा अवश्य ठीक हुन्छ।
अस्ट्रेलियालीहरू (अंग्रेजी) पुस्तकको प्राक्कथनमा यसो भनिएको छ: “यस देशको सुरुआत कैदीहरूबाट भयो। दुइ सय वर्षको दौडानमा त यो देश साना देशहरूमध्ये सबैभन्दा प्रभावशाली र समृद्ध बन्यो। ती कैदीहरूद्वारा नै रमाइलो तथा विविध व्यक्तित्व बोकेका मानिसहरू फैलिए जस्तो देखिन्छ। तिनीहरू नै . . . अस्ट्रेलियालीहरू हुन्।”
विगत दुइ शताब्दीको दौडान बाँच्न कडा परिश्रम गर्नुपरेकै कारण अस्ट्रेलियालीहरू मित्रतालाई कुनै हालतमा पनि तोड्न चाहँदैनन्। प्रथम विश्व युद्धको समयमा अस्ट्रेलियाली सेनाहरूले प्रदर्शन गरेका अटल मित्रता तिनीहरू औंल्याउन रुचाउँछन्। न्यु जील्याण्डका फौजहरूसँगसँगै यी सेनाहरूलाई एन्ज्याक्स भनिन्थ्यो अर्थात् अस्ट्रेलिया र न्यु जील्याण्डको संयुक्त सेना दल। तिनीहरू “खन्ने मानिसहरू” भनेर पनि खूब प्रचलित भए। तर तिनीहरूले सुरुङ खने वा अस्ट्रेलियाका सुन खानीहरू खन्ने काम गरे जहाँ १८०० को दशकमा सबै मानिसहरू ओइरो लागेका थिए, त्यो चाहिं किटेरै भन्न सकिन्न।
ड्राइभिङ—एउटा प्रमुख भिन्नता
सडकको दायाँपट्टि गाडी हाँक्ने देशका आगन्तुकहरूले अस्ट्रेलियामा गाडी चलाउँदा भिन्नै अनुभव गर्छन्। यस देशमा त जहाँ पनि सडकको बायाँपट्टि गाडी गुडाइन्छ।
त्यसकारण, तपाईं दायाँपट्टि गाडी हाँक्ने देशबाट अस्ट्रेलिया आउनुभएको हो भने बाटो काट्नु जोखिमपूर्ण हुनसक्छ। तपाईंको पुरानो बानीअनुसार ‘पहिला बायाँ हेऱ्यो, त्यसपछि दायाँ अनि फेरि बायाँ हेरेर’ सडक फुत्त पार गर्दा दुर्घटना हुनसक्छ। यहाँ चाहिं ‘पहिला दायाँ हेऱ्यो, त्यसपछि बायाँ अनि फेरि दायाँ हेरेर’ मात्र सडक पार गर्नुपर्छ भनेर याद गर्नुहोस्। वाह कति राम्रो! तपाईंले त कत्ति छिट्टै सिक्नुभयो। हत्तेरिका! तपाईं त गलत ठाउँबाट पो गाडी चढ्नुभयो नि। यहाँ मोटरचालक दायाँपट्टि बस्छ भनेर तपाईंले भुसुक्कै भुल्नुभएछ क्यार!
भिन्नै किसिमको मौसम
डाउन अन्डरका ऋतुहरू उत्तरी गोलार्द्धको ठीक विपरीत छन्। उत्तर र उत्तरपश्चिम दिशाबाट तातो तथा सुक्खा बतास बहन्छ भने दक्षिणबाट ठण्डा हावा बहन्छ। चिसो उत्तरी बतास त बहँदैन तर दक्षिणबाट तुषारोसित अचानक हुरिएर आउने बतासदेखि चाहिं खूबै होशियार हुनुपर्छ। यो बतासले मुटु कमाउने हावा र कहिलेकाहीं हिउँ तथा सिरेटो पनि ल्याउने गर्छ।
अस्ट्रेलिया संसारकै सुक्खा र गर्मी महादेश हो। यहाँका सुक्खा इलाकाहरूको तापक्रम ३० डिग्री सेल्सियससम्म पुग्छ। अहिलेसम्मको रेकर्डअनुसार अधिकतम तापक्रम ५३.१ डिग्री हो। न्यूनतम तापक्रम भने -२२ डिग्रीसम्म पुगेको छ। यो तापक्रम अस्ट्रेलियाको दक्षिणपूर्वी इलाकामा पर्ने सबैभन्दा अग्लो चुचुरो कजेस्को पर्वत नजीकैको हो।
उत्तरी गोलार्द्धको तुलनामा यहाँ त्यति जाडो हुँदैन। उदाहरणका लागि, भिक्टोरिया प्रान्तको राजधानी मेलबोर्न शहरलाई विचार गर्नुहोस्। यो शहर अस्ट्रेलियाको सुदूर दक्षिणमा अवस्थित भए तापनि जुलाई महिनामा यहाँको दैनिक तापक्रम औसत ६ देखि १३ डिग्री सेल्सियस बीचमा हुन्छ। चीनस्थित बेइजिङको जनवरी महिनाको दैनिक तापक्रम औसत -१० देखि +१ अथवा न्यु योर्कको -४ देखि +३ डिग्रीसम्म पुग्ने तापक्रमसँग उक्त तापक्रम यसो तुलना गर्नुहोस् त। भूमध्यरेखादेखि यी दुवै शहरको दूरी भने मेलबोर्न जत्तिकै छ। डाउन अन्डरमा किन गर्मी भएको होला, किनकि अस्ट्रेलिया त संसारकै सबैभन्दा ठण्डा ठाउँ अर्थात् अन्टार्टिका नजीकै अवस्थित छ?
भिन्नता के छ भने, उत्तरी गोलार्द्ध जमिनले ओगटेको छ तर दक्षिणी गोलार्द्ध चाहिं समुद्रले घेरेको छ। अस्ट्रेलिया र न्यु जील्याण्डलाई चारैतिरबाट हजारौं वर्ग किलोमिटर समुद्रले घेरा हालेको छ। फलतः समुद्रले अन्टार्टिकाको चिसो हावा रोक्छ र गर्मी मौसम रहिरहन्छ।
अस्ट्रेलिया महादेश धेरै नै विशाल छ। तसर्थ, विभिन्न ठाउँहरूमा एकदमै विविध किसिमको हावापानी पाइन्छ। दक्षिणी प्रान्तहरूमा चारै वटा मौसम हुन्छ। हिउँदको समय रातहरू उज्यालो र शीतल हुन्छन् वा मुटु कमाउने जाडो हुन्छ भने दिनहरू चाहिं एकदमै रमाइला र न्याना हुन्छन्। हिउँदका यी रमाइला दिनहरू अक्सर उत्तरी गोलार्द्धका थुप्रै देशहरूका गर्मी दिनहरूजस्तै हुन्छन्। तथापि, अस्ट्रेलियाका उत्तरी राज्यहरूमा वर्षमा केवल दुइ याम हुन्छ अर्थात् लामो सुक्खायाम र मनसुन झरी ल्याउने छोटो वर्षायाम। उत्तरी प्रदेशको राजधानी डार्विन शहरको तापक्रम भने वर्षैभरि औसतन ३२ डिग्री सेल्सियस रहन्छ।
अन्य भिन्नताहरू
यस महादेशका प्रायः सबै ठाउँमा गर्मी हुने हुनाले अस्ट्रेलियालीहरू सामान्यतया अनौपचारिक पोसाक नै लगाउँछन्। तर चौडा घेरा भएको टोपी चाहिं नभई हुँदैन। समशीतोष्ण हावापानी हुने देशहरूमा भन्दा यहाँ सूर्यको उष्ण तापले गर्दा छालाको क्यान्सर धेरै नै हुने गर्छ।
अहिले पनि अस्ट्रेलियामा थुप्रै खुला स्थानहरू छन्। त्यसैकारण, सेकुवा बनाउने ठाउँहरूसमेत भएका थुप्रै वनभोज स्थलहरू बनाइएका छन्। अरू खानेकुराको तुलनामा मासु सस्तो हुने हुनाले प्रायजसो सेकुवाको रूपमा ससेज तथा मासुहरू पाइन्छ। तर सेकुवा लिएर ठिंग उभिरहेका मानिसहरूले हात हल्लाउँदै एकअर्कालाई इशारा गरिरहेका हुन कि क्या हो? अहँ, तिनीहरूले त झिंगा धपाउन पो आफ्नो हात हल्लाइरहेका रहेछन्! विशेषगरि, गर्मीयाममा बाहिर बसेर खाँदा झिंगा र लामखुट्टेले सताउनु सताउँछन्।
तसर्थ, डाउन अन्डरमा बसोबास गर्नु भनेको नै झिंगा र लामखुट्टेका पल्टनसँग बस्न सिक्नु हो। त्यसकारण, प्रायजसो सबै घरहरूका अगाडि र पछाडि दुवै ढोकामा जाली लगाएको हुन्छ। झिंगाले हैरान नपारोस् भनेर पहिला पहिला मानिसहरूले टोपीको घेरामा वरिपरि अनेकौं काठका टुक्राहरू झुन्डाउँथे। कीटनाशक औषधीहरू प्रयोग गर्न थालेएपछि अचेल त यस्ता टोपीहरू विरलै मात्र देख्न पाइन्छ।
यहाँ देखिने अर्को भिन्नता हो, आँखै लोभ्याउने रंगीबिरंगी फूल र ढकमक्क फुल्ने झाडी तथा वृक्षहरू। उत्तरी गोलार्द्धमा पाइने प्रायजसो फूलको बास्ना भने हुँदैन। यहाँ त, फूलप्रेमीले फूलका बास्नाको मीठो स्वाद लिन फूलमै आफ्नो नाक गाडनुपर्छ। निस्सन्देह, अस्ट्रेलियाका सबै फूलहरू बास्नारहित हुने चाहिं होइनन्। उदाहरणका लागि, ड्याफ्नी र ज्यासमिन फूलको बास्नाले त तपाईंको नाकलाई लट्ठ बनाइदिन्छ। तर साधारणतया, ठण्डा ठाउँहरूका फूलमा जत्ति बास्ना पाइन्छ, त्यति यहाँ पाइन्न।
खुला स्थानहरू
डाउन अन्डरको जीवन साँच्चै भिन्न हुनुको एउटा पक्ष चाहिं खुला स्थान हो। उत्तरी देशहरूमा असाध्यै टाढा लाग्ने ठाउँहरू यहाँको हिसाबमा त्यति टाढा नहुन सक्छ। कुनै कुनै शहरहरू त यत्ति टाढा छन् कि एक शहरदेखि अर्को शहर पुग्न घण्टौंसम्म यात्रा गर्नुपर्छ। विषेशगरि, ग्रामीण क्षेत्रमा यस्तो स्थिति हुन्छ। यस्ता क्षेत्रमा जताततै खुला तथा शान्तमय स्थानहरू छन् जहाँ पर्यटकले स्वच्छ र प्रदूषणरहित हावा लिनसक्छ। साधारणतया गुँदको रूख भनिने तारपिनका रूखहरू वरिपरि देखिन्छन्। डाँडाकाँडाहरू गुँद र बबुलका रूखले डम्म ढाकिएका हुन्छन्।
साँझ पर्न लाग्दा सूर्यास्तको मनोहर दृश्यले तपाईंका आँखाहरू रमाउँछन्। तर डाउन अन्डरमा संध्याको मिरमिरे छिनभर मात्र रहने हुनाले एकैछिनमै निष्पट्ट अंधकारले छोप्छ। अंधकारको आगमनसँगसँगै दक्षिण अकासमा दक्षिणी स्वस्तिक भनिने ताराहरूलगायत अरू अनगन्ती तारागण चमचम गर्न थाल्छन्। पशुपंक्षीहरू आ-आफ्ना वासस्थान फर्कन थालेपछि गुँदका रूखहरू अकासमा लहरै उभिएझैं देखिन्छन्। अनि खुला ठाउँ कत्तिको एकान्त रहेछ भनेर झनै प्रस्ट हुन्छ।
स्लीपिङ ब्यागभित्र पसेर सुत्नअघि आगो निभाउन नबिर्सनुहोस् है। यसो गर्नु नितान्त आवश्यक छ किनभने अस्ट्रेलियाको झाडीमा सल्केको आगो निभाउन सकेन भने आँखाको एक निमेषमै सबै कुरा स्वाहा हुन्छ। आगोको प्रचण्ड रापले गुँदका रूखका पातहरू पड्किन थाल्छन् जसले गर्दा जताततै कहालीलाग्दो आगो फैलिन्छ। उष्ण गर्मी र खडेरी पर्ने गर्मी महिनाहरूमा, झाडी नजीकै बसोबास गर्ने मानिसहरूलाई सधैं ढडेलोको त्रास हुन्छ। जहाँ पायो त्यहाँ आगो बाल्नु हुँदैन भनेर सख्त मनाही गरिएको छ र त्यसलाई पालन गर्नैपर्छ।
बिहानीको झिसमिसे उज्यालो हुनासाथ तपाईं खित्कै खित्काको चर्को आवाजमाझ ब्यूँझनुहुनेछ। किनकि नजीकैका गुँदका रूखहरूमा बास बसेका कोकाबुरासहरू हर्षगान गाइरहेका हुन्छन्। दंग परेर तपाईं आफ्नो पालबाहिर नजर डुलाउनुहुनेछ र अन्य रूखहरूमा पनि चित्ताकर्षक रंगीबिरंगी चराहरूको हूल देख्नुहुनेछ। अब त तीमध्ये थुप्रैको दर्शन गरिसक्नुभयो होला। साथै कंगारू, कोला, इमु अनि हुनसक्छ वम्ब्याटलगायत अन्य जीवजन्तुहरू पनि देख्नुभयो होला। सर्प र माकुराहरू त तपाईं पक्कै पनि हेर्न चाहनुहुन्न होला। हो, यस महादेशमा संसारकै सबैभन्दा विषालु सर्प र माकुराहरू पाइन्छन्। तर यिनीहरूमध्ये धेरैजसोले जिस्काएन भने केही हानि गर्दैन।
अब भने आगो नजीकै चिया-चमेना अर्थात् साधारणतया बेकन, अण्डा र सेकेको पाउरोटी खाने समय भयो। स्वच्छ हावाले गर्दा भोक पनि लाग्यो होला। झाडीमा बसेर झिंगाहरू धपाउँदै चिया-चमेना खान थाल्नुभएपछि, अस्ट्रेलिया महादेशको विशालताको झलक अनायासै सम्झन थाल्नुहुनेछ।
अब भने यस विशाल देश घुम्न सिद्धियो र तपाईं स्वदेश फर्किनुहुँदैछ। निश्चय पनि मिलनसार अस्ट्रेलियालीहरूसँगको भेटघाट तथा तिनीहरूको आडम्बररहित जीवनशैलीको अनुभव तपाईंको मन मस्तिष्कमा सधैं ताजै रहनेछ। अरू थुप्रै पर्यटकहरूजस्तै तपाईं पनि अवश्य फेरि फेरि आउन उत्सुक हुनुहुनेछ। तर तपाईं एउटा निष्कर्षमा भने पक्कै पनि पुग्नुभयो: डाउन अन्डरको जीवन भिन्नै छ!
[पृष्ठ १३-मा भएको चित्रको स्रोत]
तोता र गुलाफी काकातुवा चरो: Australian International Public Relations बाट सौजन्य प्राप्त; आइमाई: West Australian Tourist Commission बाट सौजन्य प्राप्त