प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ५/८ पृ. २६-२९
  • जहाँ ऊँट र ब्रम्बिहरू स्वतन्त्र भएर घुमफिर गर्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जहाँ ऊँट र ब्रम्बिहरू स्वतन्त्र भएर घुमफिर गर्छन्‌
  • ब्यूँझनुहोस्‌!—२००१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ऊँटको मदतबाट निर्माण कार्य
  • ब्रम्बि भनेको के हो?
  • धोकाबाजीबाट समाधान
  • बलिया र प्रशस्त
  • गधाहरू नभए के गर्ने होला?
    ब्यूँझनुहोस्‌!—२००७
  • के अब्राहामसित ऊँटहरू साँच्चै थियो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—१९९८
  • डाउन अन्डरको जीवन भिन्‍नै छ
    ब्यूँझनुहोस्‌!—१९९७
ब्यूँझनुहोस्‌!—२००१
g०१ ५/८ पृ. २६-२९

जहाँ ऊँट र ब्रम्बिहरू स्वतन्त्र भएर घुमफिर गर्छन्‌

अस्ट्रेलियाका ब्यूँझनुहोस्‌! लेखकद्वारा

अस्ट्रेलियाका ग्रामीण इलाकाहरूको नाम लिंदा तपाईंको मनमा कस्ता दृश्‍यहरू आउँछन्‌? फुत्रुकफुत्रुक उफ्रिने कंगारु, उड्‌न नसक्ने इमु, धुलाम्य रातो मरुभूमि अनि टन्टलापुर घाम लाग्ने ठाउँ? केही हदसम्म तपाईंको कुरा सही हो तर यो अचम्मलाग्दा कुराहरूले भरिएको देश पनि हो।

अस्ट्रेलियामा पाइनेजस्तो जंगली ऊँटको ठूलो बगाल, जंगली घोडाको हूल र गधाको बथान संसारमा अरू कहीं पाइँदैन भनेर के तपाईंलाई थाह थियो? यी बलिया जन्तुहरू अहिलेसम्म कसरी बच्नसके भनेर त्यति धेरैलाई ज्ञान छैन। यसबारे सबैको आ-आफ्नै धारणा पाइन्छ र यी जन्तुहरू अतीतको जिउँदो इतिहास हो।

ऊँटको मदतबाट निर्माण कार्य

केही दुर्गम इलाकाका गोठालाहरू द क्यामल इन अस्ट्रेलिया नामक पुस्तकमा गोठालोले जस्तै यस्तो गुनासो गरेको झन्डै चार दशक भइसक्यो: “मैले १० किलोमिटर लामो छेकबार ५ वटा ऊँटले भताभुंग पारेको देखेको छु। . . . एक ठाउँमा त तिनीहरूले तार मात्र होइन खम्बासमेत सबै उखेले।”

लामो खुट्टा र बडेमाको जीउ भएको जिद्दी ऊँटको लागि जस्तोसुकै बलियो छेकबार पनि फासफुसे हुन्छ। यद्यपि, यी जबर खुट्टाहरूकै कारण अस्ट्रेलियाको सुक्खा भित्री भागहरूसम्म पुग्ने बाटो बनाउन सम्भव भयो।

यी ऊँटहरू सन्‌ १८६० मा भारतबाट आयात गरिएका थिए र अन्वेषकहरू बर्क र वील्ससँगै ती ऊँटहरूले अस्ट्रेलियाको दक्षिणदेखि उत्तरसम्मको अत्यन्तै लामो यात्रा गरेका थिए। यसको अत्यधिक बल र सहनशक्‍तिको कारण यस अनौठो प्राणी सुरुसुरुका साहसी व्यक्‍तिहरूको प्रिय सहयात्री भए। उर्जा बचाउनमा नामी यी जन्तुले जम्मा १५ लिटर पानीको भरमा ३०० किलोग्राम वजन बोकेर ८०० किलोमिटरको दूरी पार गर्थे।

अत्यन्तै भरपर्दा यी ऊँटले सुनखानी भएका शहरको सीमामा खाना र सरसामग्रीहरू ओसार्न, आडलेडदेखि डार्विनसम्म स्थलमार्गमा टेलिग्राफ लाइन जडान गर्न तथा सिड्‌नी र पर्थलाई जोड्‌ने ट्रान्स-अस्ट्रेलियन रेलमार्ग बनाउन सर्वेक्षण गर्न मदत गरे। चालीस लाख वर्ग किलोमिटरभन्दा ठूलो इलाकामा बाटो बनाउन मदत गरे जुन आधुनिक मेसिनहरूलाई अझै पनि गाह्रो हुन्छ।

सन्‌ १९२२ सम्ममा पाल्तु ऊँटहरूको संख्या २२,००० पुगेको थियो तर सवारीसाधनको धेरै चल्ती हुन थालेपछि धेरै ऊँटलाई खुला छोडियो। जतासुकै चहार्न र बियाउन स्वतन्त्र भएपछि लगभग २,००,००० भन्दा बढी ऊँटहरूले अहिले अस्ट्रेलियाली मरुभूमिलाई आफ्नो घर बनाएका छन्‌ र कसै कसैको अनुमानअनुसार छ वर्षभित्रमा यो संख्या दोब्बर हुनसक्छ।

तर यी सबै ऊँटहरूलाई खुला छोडिएको छैन। सेन्ट्रल अस्ट्रेलियन क्यामेल असोसिएसनका प्रवक्‍ताले ब्यूँझनुहोस्‌!-लाई यसो भने: “संसारभरि अस्ट्रेलियाका ऊँटका बगाललाई मात्र कुनै रोग लागेको छैन। त्यसैले प्रत्येक वर्ष संयुक्‍त राज्य अमेरिका र एसियाका चिडियाखाना तथा पार्कहरूमा केही ऊँटहरू निर्यात गरिन्छन्‌।” स्थानीय टुर सञ्चालकहरूले पनि ऊँटमा चढेर अस्ट्रेलियाको भित्री जंगलहरू घुम्ने प्रबन्ध मिलाउँछन्‌। ती जंगलहरूमा अरू ठूला जन्तुहरू पनि छन्‌।

ब्रम्बि भनेको के हो?

सन्‌ १७८८ मा बेलाइतबाट अस्ट्रेलियाली समुद्री किनारामा पुगेको जहाजबाट कैदी, सेना अनि घोडाहरू ल्याइयो। यस देशमा घोडाहरूको इतिहास यसका मानव सँगीहरूजस्तै रोमान्टिक र दुःखद्‌ दुवै छ।

नयाँ सीमाहरू नियन्त्रणमा राख्न, ती इलाकामा जाने पहिलो मानिसहरू ती घोडाहरूमै गए र तिनीहरू महादेशको चारै कुनामा पुगे। हराएका र भागेकाहरूले चाँडै एउटा बगाल बनाए र यी घोडाहरूलाई ब्रम्बि भन्‍न थालियो। “ब्रम्बि” भन्‍ने शब्द क्वीन्सल्याण्ड एबोरिजिनलहरूको शब्द बारूम्बि-बाट आएको हुनसक्छ जसको अर्थ “जंगली” हो।

ब्रम्बिको जंगली र मनमोजी स्वभावले गर्दा ए. बि. (बान्जो) प्याटर्सनजस्ता कविहरूको कल्पनाशक्‍तिलाई प्रेरणा दियो र तिनले लेखेको “द म्यान फ्रम स्नोयी रिभर” भन्‍ने कविताले थुप्रै अस्ट्रेलियालीको हृदय छोयो। पहिलो विश्‍वयुद्धपछि अस्ट्रेलियाली लाइट हर्स ब्रिगेडको निम्ति विशेष गरी पैदा गरेको र बेलाइत अधीनस्थ भारती सेनाले प्रयोग गर्ने वेलर घोडाको माग घटेको कारण स्वतन्त्र छोडेपछि ब्रम्बिको संख्या बढ्‌न थाल्यो। अहिले अस्ट्रेलिया महादेशमा झन्डै ३,००,००० जंगली घोडा भएको अनुमान लगाइएको छ।

तिनीहरू हिंड्‌दा खुरले मलिलो माटोलाई नकर्मीको घनले हिर्काएजस्तै हुन्छ र जमिनमुनि पानी जम्मा हुने ठाउँ नै बिगारिदिन्छ। खडेरी परेको बेला तिनीहरू भोकभोकै पर्छन्‌ वा तिर्खाले मर्छन्‌। ऊँटको बगालको बढ्‌दो संख्याले गर्दा गाह्रो भइरहेको देशमा यी ब्रम्बिहरू त झन्‌ थप बोझ हुन्छन्‌। अतः प्रत्येक वर्ष हजारौं मारिन्छन्‌। कसै कसैले खानको लागि मार्छन्‌ भने कसैलेचाहिं घरपालुवा जनावरको आहाराको लागि बिक्री गरिन्छ।

संख्याको हिसाबले हेर्दा ब्रम्बिको आफन्त गधा साँच्चै खुलेआम घुमिरहेको छ। जंगली घोडाहरूभन्दा प्रशस्त पाइने र ऊँटभन्दा विस्तृत इलाकामा छरिएका यी गधाहरू आफ्नै सफलताको सिकार भएका छन्‌।

धोकाबाजीबाट समाधान

घोडाहरूजस्तै गधाहरू पनि सन्‌ १७०० को अन्ततिर सबैभन्दा पहिला भारी ओसार्न वा खेत खन्‍न आयात गरिएको थियो र नयाँ ठाउँमा छिट्टै घुलमिल भए। सन्‌ १९२० को दशकमा यिनीहरूको बथानका बथानलाई त्यत्तिकै छोडिदिंदा जंगली अवस्थामा रहने खच्चरहरूको भन्दा तीस गुणा बढ्यो।

मरुभूमिमा बाँच्नसक्ने गरी बनाइएका यी गधाहरूले ऊँटलाई जस्तै पानीको कमी हुँदा पसिना निकाल्न बन्द गर्छन्‌ र आफ्नो कुल वजनमा ३० प्रतिशत बराबर पानीको मात्रामा कमी होउञ्जेलसम्म बाँच्नसक्छन्‌। (अन्य थुप्रै स्तनधारी १२ देखि १५ प्रतिशत पानीको कमी हुँदा मर्छन्‌।) तिनीहरू लहलहाउँदो रसिलो घाँस भएको चउरमा चर्न रुचाउँछन्‌ तर तिनीहरू गाईवस्तुले टेढो आँखाले पनि नहेर्ने रूखासुखा बोटविरुवाहरू खाएर पनि जीवन धान्‍नसक्छन्‌। सन्‌ १९७० को दशकसम्ममा महादेशको आधी भागभरि यसको संख्या ७,५०,००० भन्दा बढी भइसकेको थियो। यिनीहरूको बढ्‌दो संख्या पर्यावरण तथा गाईवस्तुको निम्ति खतरा भएको कारण केही कदम चाल्नु जरुरी भयो।

सन्‌ १९७८ देखि १९९३ सम्ममा अस्ट्रेलियाको उत्तरपश्‍चिमी भागमा मात्र ५,००,००० गधाहरू व्यवस्थित ढंगमा मारियो। हाल ३०० वटा गधामा रेडियो ट्रान्समिटर लगाइएको छ र यसलाई जुडास कार्यक्रम भनिन्छ। बगालसँगै मिसिन छोडिएका यी गधाहरूमाथि हेलिकप्टरद्वारा निगरानी राखिन्छ अनि तिनीहरूका मित्रहरूलाई सास्ती नदिइकन मारिन्छ। अनि जुडास गधाले जसै अन्य बगालहरूलाई साथी बनाउँछ यिनीहरूलाई पनि खोजेर मारिन्छ।

पश्‍चिमी अस्ट्रेलियाका कृषिजन्य सुरक्षा अधिकारीले ब्यूँझनुहोस्‌!-लाई यसो भने: “यो दीर्धकालीन समस्या हो।” तिनले यस्तो चेताउनी दिए: “प्रजननको निम्ति गधाहरूको सानो समूह बाँकी राखियो भने केही समयमै गधाहरूको संख्या १९७० को दशकमा जति नै हुनेछ। मानिसहरू अक्सर तिनीहरूलाई किन मारिन्छ, आफै मर्न किन नदिएको भनेर बुझ्न सक्दैनन्‌। तर यी ठाउँसम्म पुग्न कति गाह्रो छ भनेर मानिसहरूलाई थाह छैन। त्यहाँ जाने बाटो छैन र प्रायजसो इलाकामा हेलिकप्टरबाट मात्र पुग्न सकिन्छ। मानिसको कारणले गर्दा यो समस्या भएको हो, त्यसैले सकेसम्म मायालु ढंगमा तिनीहरूको संख्या सीमित राख्ने प्रयास गर्नुपर्छ।”

बलिया र प्रशस्त

तपाईंले अस्ट्रेलियाको मध्य भागमा थरिथरिका जनावरहरूको बथान छ भन्‍ने कल्पना गर्नुको कारण बुझ्न सकिन्छ। तर अस्ट्रेलियाको विकट इलाका विशाल छ। यी पशुहरू घुम्ने इलाका युरोप जत्तिकै ठूलो छ तर चन्द्रमा जत्तिकै विकट छ अनि भूभाग पनि दुवै ठाउँसँग मिल्दोजुल्दो हुनसक्छ। तिनीहरूलाई नियन्त्रण गर्ने कुरा त परै जाओस्‌, बगाललाई भेट्टाउनु मात्र पनि चुनौतीपूर्ण छ।

लोप हुनसक्ने स्थानीय प्राणीहरूजस्तै यी बलिया र प्रशस्त पाइने पशुले अस्ट्रेलियाको प्राकृतिक दृश्‍यमा आफ्नै स्थान ओगटेको छ। प्राकृतिक आक्रमणकारीहरूबाट र रोगबाट स्वतन्त्र यी पशुहरू अस्ट्रेलियाको ग्रामीण इलाकामा खुलेआम घुमफिर गर्छन्‌! (g01 4/8)

[पृष्ठ १६-मा भएको चित्र]

अस्ट्रेलियाको मरुभूमिमा झन्डै २,००,००० ऊँटहरू खुलेआम घुमफिर गर्छन्‌

[स्रोत]

Agriculture Western Australia

[पृष्ठ २७-मा भएको चित्र]

ब्रम्बिहरू सिमसन मरुभूमिको छेउमा खुल्लमखुल्ला घुमफिर गर्छन्‌

[पृष्ठ २७-मा भएको चित्र]

सन्‌ १९२९ मा ऊँटको लस्करले ऊन ओसारिरहेको

[स्रोत]

Image Library, State Library of New South Wales

[पृष्ठ २८-मा भएको चित्र]

निर्जन ठाउँहरूमा ब्रम्बिलाई जम्मा गर्ने तरिका

[स्रोत]

© Esther Beaton

[पृष्ठ २८-मा भएको चित्र]

जुडास गधामा रेडियो ट्रान्समिटर राख्दै

[स्रोत]

Agriculture Western Australia

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने