प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g07 जनवरी पृ. २६-२७
  • गधाहरू नभए के गर्ने होला?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • गधाहरू नभए के गर्ने होला?
  • ब्यूँझनुहोस्‌!—२००७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • राजधानीमा गधाहरू
  • राम्रो व्यवहार गर्न लायकको
  • गधा बोल्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • जहाँ ऊँट र ब्रम्बिहरू स्वतन्त्र भएर घुमफिर गर्छन्‌
    ब्यूँझनुहोस्‌!—२००१
  • येशू राजाझैं आउनुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • बालामको गधा बोल्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००७
g07 जनवरी पृ. २६-२७

गधाहरू नभए के गर्ने होला?

इथियोपियाका ब्यूँझनुहोस्‌! लेखक

इथियोपियाको राजधानी अदिस अबाबामा गधाहरू धेरै पहिलेदेखि नै यातायातको एउटा महत्त्वपूर्ण साधन हुन्‌। सबैभन्दा धेरै जनसंख्या भएको देशहरूको सूचीमा इथियोपिया १६ औं स्थानमा पर्छ। इथियोपियाका प्रायः सबै ड्राइभरहरू गधालाई छलाएर गाडी चलाउन खप्पिस भइसकेका हुन्छन्‌। खप्पिस नभएर के गर्ने, आफ्नो बाटो राम्ररी चिन्‍ने गधाले सितिमिति बाटो छोड्‌दै छोड्‌दैन। सडकमा जत्ति नै धेरै गाडी गुडिरहेको भए तापनि गधालाई केही फरक पर्दैन। बरु गधाहरूदेखि आफू पो बच्नुपर्ने हुन्छ किनभने तिनीहरूको भारी एकदमै ठूलो हुन्छ र तिनीहरू हिंड्‌न थालेपछि एकोहोरो हिंड्‌छन्‌। त्यसैले गधाले बोकेको कोइला, गुइँठाको भारी वा अरू कुनै भारीले छोएको चाहनुहुन्‍न भने त्यसको बाटोबाट आफै हटिदिनुहोस्‌!

इथियोपियामा झन्डै ५० लाख गधाहरू छन्‌। यसको मतलब, त्यहाँका प्रत्येक १२ जना व्यक्‍तिको भागमा एउटा गधा पर्न आउँछ। इथियोपियामा धेरै मानिसहरू टाढ-टाढा डाँडाहरूमा बस्छन्‌ जसका बीच-बीचमा गहिरा खोचहरू हुन्छन्‌। यस देशको एउटा भागमा ठूलो पठार अर्थात्‌ डाँडाहरूका बीचमा परेको समतल मैदान पनि छ जसको बीच-बीचबाट थुप्रै स-साना खोलाहरू बग्छन्‌। यस्ता ठाउँहरूमा पुल वा कच्ची बाटो मात्र बनाउन पनि निकै खर्च लाग्छ र यस्तो भू-बनोट भएको अरू जुनसुकै देशको लागि पनि यो ठूलै भार हुन्छ। त्यसैले यस्ता भू-बनोट भएका ठाउँहरूमा खुरुखुरु काम गर्ने यी जब्बर गधाहरू नै यातायातको लागि सबैभन्दा उपयोगी साधन हुन्‌।

इथियोपियामा सुक्खा र समतल गर्मी ठाउँहरूदेखि लिएर डाँडाकाँडा सबै छन्‌। गधाले यी सबै ठाउँको मौसम खप्न सक्छ। अनि यो ठाडो भीर, गोरेटो बाटो, ढुङ्‌गै-ढुङ्‌गा भएको नदी किनार, हिल्लामे बाटो र खल्ड्याङखुल्डुङ बाटो हुँदो उत्तिकै सजिलोसित हिंड्‌छ। घोडा र ऊँट जान नसक्ने ठाउँमा पनि यो जान सक्छ। लाखौं मानिसहरूका लागि र अझ विशेष गरी मोटरगाडी पुग्न नसक्ने ठाउँहरूमा सामान ओसारपसार गर्न गधा एउटा महत्त्वपूर्ण साधन हो।

एकदमै साँघुरो र घुमौरो बाटोमा गधा मजाले हिंड्‌न सक्छ। यसको लागि तिनीहरूलाई न त महँगा टायरहरू नै चाहिन्छ न चिप्लो बाटोमा चिप्लेला भन्‍ने डर नै हुन्छ। तिनीहरूले बोक्ने भारीको साइज र आकारको त कुरै नगरौं! जस्तोसुकै आकार र जत्रो साइजको भारी किन नहोस्‌, यसले जस्तोसुकै ठाउँमा भए पनि घरसम्मै पुऱ्‍याइदिन्छन्‌। ट्राफिक जामकै कुरा गर्ने हो भने पनि, ड्राइभरहरू रिसले रातो-पीरो भएर हर्न बजाउँदै बसिराख्दा गधाचाहिं गाडीहरूको बीच-बीचबाटै खुरुखुरु हिंडेर ट्राफिक पार गर्छ। अनि एकतर्फी बाटो अर्थात्‌ वान-वेमा गधा गलत दिशाबाट आउँदा ट्राफिक-पुलिसले पनि कहाँ जरिवाना तिराउन सक्नु! पार्किङ त गधाको लागि चिन्ताको विषय नै होइन। एउटा गधालाई झन्डै ५० अमेरिकी डलर जति पर्छ। तर मोटरगाडीको मूल्यलाई विचार गर्दा गधा त कता हो कता सस्तो पर्न आउँछ!

राजधानीमा गधाहरू

बिहानको समयमा हजारौं गधाहरू २५ किलोमिटरभन्दा टाढादेखि राजधानी अदिस अबाबामा आइपुग्छन्‌। अदिस अबाबामा ३० लाखभन्दा धेरै मानिसहरू बस्छन्‌। बुधबार र शनिबार हाटबजार लाग्ने भएकोले ती दिन राजधानी अदिस अबाबा विशेष गरी व्यस्त हुन्छ। राजधानी आइपुग्न लगभग तीन घण्टा लाग्ने भएकोले झिसमिसे उज्यालो नहुँदै हिंड्‌नुपर्ने हुन्छ। कहिलेकाहीं तिनीहरूको मालिक पनि तिनीहरू सँगसँगै हिंडिरहेको देखिन्छ तर अक्सर तिनीहरूलाई भेट्टाउन मालिकहरूलाई धौधौ पर्छ।

गधाले प्रायजसो अन्‍न, तरकारी, दाउरा, सिमेन्ट, कोइला, खाना पकाउने तेलको ढ्‌वाङ अनि कोक र बियरका बाकसहरू बोकेको देखिन्छ। कुनै-कुनै गधाले त ९० किलो वा त्योभन्दा पनि बढी बोक्छ। बाँसजस्ता लामा भारी चाहिं तिनीहरूको जीउको दुई छेउमा बाँधिएको हुन्छ र तिनीहरूले ती घिसारेर तान्दै लैजान्छन्‌। आफूलाई नै छोपिने गरी गधाले परालको पर्वत बोकेको दृश्‍य चाहिं सायद सबैभन्दा रमणीय होला।

बिहान गह्रौं भारी बोकेर बजारतिर लाग्दा गधा छिट्‌छिटो हिंड्‌छ। बजारमा भारी पुऱ्‍याएर हलुका भई घरतिर लाग्दा चाहिं बिस्तारै आरामसित हिंड्‌छ र सडक छेउछाउको घाँसपात खान पनि भ्याउँछ। बजार जान नपरेको दिनमा पनि गधाले छुट्टि त पाउँदैन, पानी र दाउरा लिन त जानै पर्छ। कोही-कोही गधा-मालिकहरूले तिनीहरूलाई भाडामा पनि दिन्छन्‌। कतिपयले त ढुवानीको लागि गधाहरूलाई व्यावसायिक रूपमा चलाउने कम्पनीहरूलाई भाडामा दिन्छन्‌। कुनै-कुनै ठाउँमा गधाले सानो वा ठूलो टाँगा पनि तान्छ। ठूलो टाँगा तान्‍न चाहिं दुइटा गधा चाहिन्छ।

राम्रो व्यवहार गर्न लायकको

गधालाई धेरै हेरविचार गरिरहनु पर्दैन। यसले घाँसपात आफै खोजेर खान्छ र फेरि नखाने पनि केही छैन। गधालाई राम्रो व्यवहार गरिएको छ भने यसले आफ्नो मालिकलाई एकदमै माया गर्छ। बुद्धिकै कुरा गर्ने हो भने पनि गधा घोडाभन्दा बुद्धिमान्‌ हुन्छ। गधाले बाटो पनि बिर्संदैन। गधा केही किलोमिटर टाढासम्म एक्लै पानी लिन जान सक्छ। केवल पानीको भाँडो बोकाइदिने र झिकिदिने कोही चाहिन्छ। मानिसहरूले गधाको घाँटीमा घण्टी पनि झुन्ड्याइदिने गर्छन्‌ र यसो गर्दा त्यसको बाटोमा पर्ने मान्छेहरूले घण्टीको आवाज सुनेर आफ्नो सामान लिन सक्छन्‌।

गधा एकदमै जोतिन सक्छ। तर कति भारी बोक्ने र कति बेला थकाइ मार्ने भन्‍ने विषयमा उसको आफ्नै विचार हुन्छ। यस्तो बेला र भारी अप्ठ्यारो हुँदा वा भारीले दुख्दा यो थ्याच्चै बसिदिन्छ। यस्तो बेला मालिकले कुरा नबुझेर तिनीहरूलाई गाली गर्न वा पिट्‌न सक्छन्‌। यस्तै एउटा घटना बाइबलमा पनि छ जुन तपाईंलाई यादै होला।—गन्ती २२:२०-३१.

गधा राम्रो व्यवहार गर्न लायकको हुन्छ। भारी राखेको नमिलेर भारी यताउता सर्दा गधाले आफ्नो सन्तुलन गुमाउँछ र खाडलमा खसेर खुट्टा भाँच्न सक्छ। यस्तो हुनु साह्रै दुःखदायी कुरा हो। खुरुखुरु आफ्नो भारी बोक्ने यो इमानदार पशुलाई घाउ, विभिन्‍न खालका परजीवी, खुर कुहिने रोग, निमोनिया र अरू समस्याले कमजोर बनाउन सक्छ। यी कुरालाई ध्यानमा राख्दै अहिले अदिस अबाबाको नजिकै पर्ने डेब्रा जाट भन्‍ने ठाउँमा गधाहरूको लागि अत्याधुनिक क्लिनिक सुरु गरिएको छ। त्यहाँ कम्प्युटर, उपचार कोठा, बाटोमै उपचारको आवश्‍यक पर्दा जाने गाडी र राम्रो अप्रेसन कक्ष पनि छ। त्यो क्लिनिकमा सन्‌ २००२ मा मात्रै लगभग ४०,००० गधाहरूको विभिन्‍न उपचार गरियो।

कुलपिता अब्राहाम गधामै पहाडी भेग हुँदै मोरीयाह डाँडा पुगेका थिए। (उत्पत्ति २२:३) इस्राएलको लामो इतिहास हेऱ्‍यौं भने पनि तिनीहरूले आफ्नो दैनिक जीवनमा गधाको प्रयोग निकै गर्थे। येशू ख्रीष्ट पनि गधामै बसेर विजयोल्लासका साथ यरूशलेम प्रवेश गर्नुभएको थियो।—मत्ती २१:१-९.

इथियोपियामा पनि धेरै पहिलेदेखि गधाको प्रयोग गरिंदै आएको छ र यसको महत्त्व अहिले पनि त्यत्तिकै छ। वर्षौंको दौडान ट्रक तथा कारहरूको डिजाइनमा निकै परिवर्तन भइसक्यो तर गधा भने जस्ताको तस्तै छ, यसको रूप-रंगमा केही परिवर्तन आएको छैन। यो पक्कै पनि राम्रो व्यवहार गर्न लायकको छ! (g 12/06)

[पृष्ठ २६-मा भएको चित्रको स्रोत]

‘The Donkey Sanctuary’, Sidmouth, Devon, UK

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने