प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ २/८ पृ. १३-१८
  • इन्काहरूले आफ्नो स्वर्णिम साम्राज्य कसरी गुमाए

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • इन्काहरूले आफ्नो स्वर्णिम साम्राज्य कसरी गुमाए
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • इन्काहरूभन्दा पहिले को थिए?
  • मिथ्या र यथार्थ
  • चम्किलो सूर्य मन्दिर
  • कुन कुराले यो साम्राज्यलाई एकतामा बाँधेको थियो?
  • मीटा कर
  • उत्तरका आक्रमणकारीहरू
  • पतनको सुरुआत
  • अन्तिम इन्का
  • इन्काहरूका वर्तमान सन्तानहरू
  • शिक्षाले परिवर्तन ल्याउँछ
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९९
  • पेरूको अल्टिप्लानोमा राज्य प्रचार गर्दै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • सडकहरू—सभ्यताको माध्यम
    ब्यूँझनुहोस्‌!—१९९९
ब्यूँझनुहोस्‌!—१९९८
g९८ २/८ पृ. १३-१८

इन्काहरूले आफ्नो स्वर्णिम साम्राज्य कसरी गुमाए

पेरूका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

सूर्योदय। प्रभातकालीन सूर्यको किरणले गर्दा हिउँले ढाकिएका एन्डीज पर्वतहरूमा हल्का गुलाबी रंग फैलिएको देखिन्थ्यो। इन्डियनहरूमध्ये बिहान सखारै उठ्‌नेहरूले ४,३०० मिटर उचाइमा रातको चिसो भगाउन न्यानो घाम ताप्थे। बिस्तारै सूर्यको किरण इन्का साम्राज्यको राजधानी कुज्कोको (त्यसको अर्थ हो, “संसारको नाइटो”) केन्द्र अर्थात्‌ सूर्य मन्दिरमा पर्न थाल्यो। सुनौला भित्ताहरूमा सूर्यको किरण टलटल टल्कन्थे। मन्दिरअगाडी इन्काकोa चौरमा सुनको लामा, भिकुना तथा कन्डोर चमचम चम्किन्थ्यो। बटुवाहरूले सूर्य देवप्रति भक्‍तिभाव देखाउन टाढाबाट चुम्बनको इशारा गर्थे। आफू जीवित हुनुका साथै जीवन धान्‍ने सूर्यबाट आशिष्‌ पाएकोमा तिनीहरू अत्यन्तै कृतज्ञ थिए, यथार्थ अर्कै भए तापनि तिनीहरूको विश्‍वास भने त्यस्तो थियो!

चौधौं तथा १६ औं शताब्दीको बीचतिर दक्षिण अमेरिकाको पश्‍चिमी तटमा एउटा वैभवशाली स्वर्णिम साम्राज्यको प्रभुत्व थियो। प्रतिभाशाली वास्तुकार तथा प्राविधिज्ञहरूले शासन गर्ने यस इन्का साम्राज्यका मानिसहरू आफ्नो सामाजिक स्तर उकास्न संगठित थिए। यस आश्‍चर्यजनक इन्का साम्राज्य लगभग ५,००० किलोमिटरसम्म फैलिएको थियो। भनौं भने आधुनिक समयको कोलम्बियाको दक्षिणी छेऊदेखि अर्जेन्टिनासम्म। वास्तवमा, “इन्काहरूले संसारै आफ्नो अधीनमा छ भन्ठान्थे।” (नेशनल जियोग्राफिक) आफ्नो साम्राज्यको सीमाबाहिर आफूले हात पार्न लायकको केही पनि बाँकी छैन भन्ठान्थे। यद्यपि, बाँकी संसारलाई भने यस्तो कुनै साम्राज्य अस्तित्वमा थियो भनेर समेत थाह थिएन।

इन्काहरू को थिए? तिनीहरूको सुरुआत कसरी भयो?

इन्काहरूभन्दा पहिले को थिए?

पूरातात्त्विक उत्खननबाट पत्ता लागेअनुसार इन्काहरू यस महादेशका सुरुका बासिन्दाहरू थिएनन्‌। तिनीहरू अस्तित्वमा आउनुभन्दा सयौं हजारौं वर्षअघि अन्य पूर्ण विकसित संस्कृतिहरू थिए। पूरातत्त्वविद्‌हरूले ती संस्कृतिहरूलाई लाम्बायेके, चाभिन, मोचिका, चिमु र टियावाना इत्यादि संस्कृति भनेर वर्गीकरण गरेका छन्‌।

यी प्रारम्भिक समूहहरूले ज्यागुअर, प्युमा जातका बनबिरालो र माछाको समेत उपासना गर्थे। बनदेवताहरूको उपासना गर्नु पनि सामान्य प्रचलन थियो। माटाका भाँडाहरूमा कुँदिएका आकृतिहरूबाट कुनै कुनै जातिले यौन उपासना गर्थे भनेर प्रस्ट हुन्छ। पेरू र बोलिभियाबीचको सीमाना, टिटिकाका ताल नजिकै एउटा जातिले लिंगका प्रतीकहरू भएको मन्दिर बनाएका थिए। पाचा-मामा अर्थात्‌ “धर्ती माता”-ले प्रशस्त अन्‍नबाली देऊन्‌ भनेर उर्वरताको लागि ती प्रतीकहरूको उपासना गरिन्थ्यो।

मिथ्या र यथार्थ

इन्काहरू १२०० तिर पहिलो पटक देखा परेका हुन्‌। इन्का राजकुमारी र स्पेनी नाइट तथा जमिनदारको छोरा, अभिलेखक गार्थेलासो थे ला बेगाअनुसार सुरुको इन्का मांको कापाकलाई तिनको बुबा अर्थात्‌ सूर्य देवले बहिनी/दुलहीसित टिटिकाका तालमा पठाएर सारा मानिसहरूलाई सूर्यको उपासना गराउन खोजेका थिए भन्‍ने मिथ्या छ। आज पनि कुनै कुनै स्कूलमा केटाकेटीहरूलाई यही दन्त्यकथा सुनाइन्छ।

तथापि, मिथ्यालाई वास्ता नगर्ने हो भने इन्काहरू टिटिकाका तालका जातिहरू, टियावानाका सन्तानहरू हुनुपर्छ। समय बित्दै जाँदा झन्‌ झन्‌ बिस्तार हुँदै गएको यस साम्राज्यले आफ्नो अधीन गराएका जातिहरूको सुव्यवस्थित निर्माणहरू आफ्नो हातमा लिए अनि पहिल्यै निर्माण भइसकेका नहर तथा पाखापखेरो अझ राम्रो बनाए। बडे बडेमानका आकृतिहरू बनाउन इन्काहरू निपुण थिए। तिनीहरूका वास्तुकारहरूले साक्सावामानको गढी तथा मन्दिर कसरी बनाउनसके होलान्‌ भनेर बेग्लाबेग्लै धारणाहरू छन्‌। उच्च समस्थलबाट तलतिर हेर्दा कुज्को शहरको यस आकृति टड्‌कारै देखिन्छ। एक सय टन वजन भएको अजंगका ढुंगाहरू एकसाथ जोडिएका थिए। तिनीहरूलाई अड्याउन वज्रलेप प्रयोग गरिएको थिएन। पुरातन शहर कुज्कोका भित्ताहरूमा टक्क मिलाइएका ढुंगाहरूलाई भुइँचालोले पनि डेग हल्लाउन सकेको छैन।

चम्किलो सूर्य मन्दिर

शाही शहर कुज्कोमा इन्काहरूले टलक्क टल्काएको ढुंगाको मन्दिरमा सूर्यको उपासना गर्न पूजाहारीवर्गको प्रबन्ध मिलाएका थिए। मन्दिरको भित्ताका भित्री भागहरू विशुद्ध सुन तथा चाँदीले सिंगारिएका थिए। पूजाहारीवर्गका साथसाथै विशेष मठहरू स्थापना गरिएका थिए। जस्तै, लिमाबाहिर पाचाकामाक सूर्य मन्दिरमा पुननिर्मित मठ। असाध्यै राम्री कुमारीहरूलाई आठ वर्षको उमेरदेखि नै ‘सूर्यका कुमारीहरू’ हुन प्रशिक्षण दिइएको हुन्थ्यो। पूरातात्त्विक प्रमाणले देखाएअनुसार इन्काहरूले मानव बलिदानहरू पनि चढाउने गर्थे। तिनीहरूले आपस वा पहाडका बनदेवताहरूलाई बच्चाहरूको बलिदान चढाउँथे। एन्डीज चुचुराहरूमा बच्चाहरूका लासहरू जमेको अवस्थामा भेटिएका छन्‌।

इन्का तथा सुरु सुरुका जातिहरूले लेख्न नजाने तापनि तिनीहरूले किप्पु भन्‍ने एउटा प्रणाली अपनाएर विवरणहरू राख्ने गर्थे। यसको निम्ति प्रयोग हुने “उपकरणमा एउटा मूल डोरी स-साना रंगीचंगी डोरीसित गाँठो पारिन्थ्यो र पुरातन पेरूभियालीहरूले” त्यो उपकरण सूची तथा विभिन्‍न विवरणहरू सम्झने सहायकको रूपमा प्रयोग गर्थे।—वेब्स्टर्स नाइन्थ न्यु कोलिजियट डिक्सनरी।

कुन कुराले यो साम्राज्यलाई एकतामा बाँधेको थियो?

कडा नियम तथा योजनाबद्ध नीतिले गर्दा एउटा बलियो केन्द्रीय सरकार स्थापना गर्न मदत गऱ्‍यो। सबैले इन्काहरूको केचुआ भाषा सिक्नैपर्थ्यो। एल केचुआ आल आल्कान्से डे टोडोस (सबैका लागि केचुआ) पुस्तक यसो भन्छ, “दक्षिण अमेरिकाका उपभाषाहरूमध्ये सबैभन्दा विस्तृत, विविध तथा परिष्कृत भाषा केचुआ” मानिन्छ। पेरूको पहाडी इलाकाका ५० लाख मानिसहरू र कुनै समय यस साम्राज्यको भाग रहेका पाँचवटा देशका अरू लाखौं मानिसहरूले अझै पनि यो भाषा बोल्छन्‌। टिटिकाका तालको दक्षिणपूर्वमा बसोबास गर्ने जातिले अझै पनि इन्कापूर्व समयको केचुआ भाषाबाट निस्केको आमारा भाषा बोल्छन्‌।

इन्काहरूले विजय हासिल गरेका लगभग १०० जातिहरूलाई केचुआ भाषाले एकताबद्ध बनायो र हरेक समूहका नेता अर्थात्‌ गाउँका कुराकालाई (प्रभु) पनि समूहको नेतृत्व लिन सहयोग गऱ्‍यो। खेती गर्न हरेक परिवारलाई जग्गा छुट्याएको हुन्थ्यो। विजय हासिल गरेपछि इन्काले स्थानीय जातीय नाच तथा पर्वहरू मनाउन अनुमति दिन्थ्यो र आफ्नो अधीनमा भएका मानिसहरूलाई सन्तुष्ट पार्न रंगमंचमा प्रदर्शन तथा खेलहरूको आयोजना गर्थ्यो।

मीटा कर

साम्राज्यभरि कुनै पनि प्रकारको मुद्रा चलाउने चलन थिएन। त्यसकारण, सुन पनि मानिसहरूका निम्ति कुनै मोलको थिएन। मानिसहरूले सुन मन पराउनुको एउटै मात्र कारण यो सूर्यजस्तै पहेंलो हुनुका साथै चम्कन्थ्यो। जनताले तिर्नुपर्ने एउटै मात्र कर, मीटा (केचुआ, “पालो”) थियो। यहाँका प्रजाहरूले इन्काका थुप्रै बाटो तथा भवनहरू निर्माण गर्न पालैपालो श्रमदान दिनैपर्थ्यो। यसप्रकार, ऐनकानुनले हजारौं इन्डियन श्रमिकहरूलाई काममा लगाएको थियो।

मीटा कामदारहरूलाई चलाएर निपुण इन्का निर्माताहरूले २४,००० किलोमिटरभन्दा लामो बाटोहरू बनाए! इन्काहरूले कुज्कोदेखि यस साम्राज्यका टाढाटाढाका इलाकाहरूसम्म पुग्ने ढुंगे बाटोहरू निर्माण गरे। चास्की भनिने प्रशिक्षित सन्देशवाहक धावकहरूले यी बाटोहरू प्रयोग गर्थे। तिनीहरू एक देखि तीन किलोमिटरको दूरीमा अवस्थित झुपडीहरूमा बस्थे। रिले दौडमा जस्तै, सन्देश बोकेको चास्की त्यहाँ पुगेपछि अर्को चास्की उसँगसँगै दौडन्थ्यो। यसरी तिनीहरू पालैपालो गरी दिनभरिमा २४० किलोमिटर पार गर्थे। थोरै समयभित्र तत्कालीन शासनारूढ इन्काले सम्पूर्ण साम्राज्यको खबर पाउँथ्यो।

इन्काले बाटोहरूको छेउछाउमा ठूलठूला भण्डारहरू बनाउन लगाएका थिए। यी भण्डारहरूमा, युद्ध गर्न हिंडेका इन्का सेनाहरूको लागि खाद्यान्‍न तथा लुगाफाटा टन्‍नै राखिएका हुन्थे। यथासम्भव इन्काहरू युद्ध गर्दैनथे। सूर्य देवको उपासना गर्ने शर्तमा अनेकन्‌ नीतिहरू चलाएर इन्का शासनको अधीनमा आउन ती जातिहरूकहाँ दूतहरू पठाउँथे। तिनीहरूलाई यो मञ्जूर भएमा प्रशिक्षित इन्का निर्देशकहरूको अधीनमा कुनै अवरोधबिना आ-आफ्नै जातीय कामकुरा गर्न पाउँथे। इन्का शासनको अधीनमा बस्न इन्कार गरेको खण्डमा अनेकन्‌ कठोर आक्रमणका शिकार हुन्थे। शत्रुलाई मारेपछि तिनीहरूको खप्पर चिचा अर्थात्‌ मकैबाट बनाइने एक प्रकारको जाँड पिउने भाँडाको रूपमा प्रयोग गरिन्थ्यो।

नवौं इन्का सम्राट पाचाकुटी (१४३८ पछि), उनको छोरा टोपा इन्का युपांकी र विजेता-राजनीतिज्ञ वाइना कापाकको समयमा इन्का साम्राज्य उत्तर र दक्षिणमा टाढा टाढासम्म फैलियो। तर यो धेरै दिन टिकेन।

उत्तरका आक्रमणकारीहरू

गृह युद्धले विभाजित तथा प्रचुर मात्रामा सुन पाइने यस अज्ञात भूमिबारे सुनेपछि स्पेनी विजेता फ्रान्सिस्को पिजारो र तिनका सिपाहीहरू १५३० तिर पनामाबाट आए। राजधानीतिर लम्किरहेको सौतेला भाइ आतावाल्पाले सिंहासनका उत्तराधिकारी राजकुमार ह्वास्कारलाई पराजित गर्नुका साथै थुनामा राखेका थिए।

पिजारो र तिनका सेनाले काजामार्का शहरको भित्री भागसम्म पुग्ने कठिन यात्रा गरेपछि सिंहासन हडप्न खोज्ने आतावाल्पाले तिनीहरूको भव्य स्वागत गरे। तैपनि, स्पेनीहरूले जालझेल गरेर तिनलाई पालकीबाट निकालेर बन्दी बनाए। त्यति मात्र होइन अकमक्क परेर बसिरहेका हजारौं सेनालाई पनि मारे।

यद्यपि, बन्दी हुँदा समेत आतावाल्पाले गृहयुद्ध गर्न छोडेनन्‌। आफ्ना सौतेला भाइ ह्वास्कार र राजपरिवारका सयौं सदस्यहरूलाई मार्न कुज्कोमा सन्देशवाहकहरू पठाए। अनजानमै तिनले पिजारोको विजय यात्रालाई सुगम बनाइदिए।

सुन चाँदीप्रति स्पेनीहरूको लोभ देखेपछि आतावाल्पाले आफ्नो छुटकाराको मोलस्वरूप सुन र चाँदीका मूर्तिहरूले पिजारोको ठूलो कोठा भरिदिने वचन दिए। तर केही लागेन। फेरि पनि जालझेल गरियो! छुटकाराको मोलसरह कबुल गरिएको सुनचाँदी कोठामा थुपारिसकेपछि १३ औं इन्का आतावाल्पालाई क्याथोलिकको हैसियतमा बप्तिस्मा दिइयो र त्यसपछि गला अँठ्याएर मारियो। तिनी क्याथोलिक बन्‍ने प्रथम इन्का थिए र भिक्षुहरूको दृष्टिकोणमा मूर्तिपूजक पनि थिए।

पतनको सुरुआत

आतावाल्पाको पक्राउ र हत्या इन्का साम्राज्यको लागि असाध्यै घातक साबित भयो। तर इन्डियन जनसमुदायले आक्रमणकारीहरूको प्रतिरोध गरे र यस साम्राज्यलाई अर्को ४० वर्षसम्म पतन हुन दिएनन्‌।

थप सैन्य दल आइपुगेपछि पिजारो र तिनका सबै सिपाहीहरू इन्काको सुन हात पार्न कुज्को जान चाहन्थे। खजानाहरू राखेको ठाउँबारे कुरा खोतल्न वा विरोधीहरूलाई तर्साउन अनि शान्त पार्न स्पेनीहरू इन्डियनहरूलाई निर्ममतापूर्वक सास्ती गर्न पछि परेनन्‌।

ह्वासकारका भाइ तथा इन्का सम्राटका उत्तराधिकारी राजकुमार मांको द्वितीयको साथमा पिजारो कुज्को पुगे र त्यहाँको सुन खजाना खानतलाश गरे। स्पेनमा लैजान धेरैजसो सुनका मूर्तिहरू ढालियो। यसैकारण, पेरूबाट ल्याएका खजानाहरू बोकेका स्पेनी जहाजहरू लुट्‌न अंग्रेजी डाँकूहरू उत्सुक हुनु कुनै अचम्मको कुरा होइन! प्रशस्त खजाना हात पारेर पिजारो समुद्रीतटतर्फ लागे र तिनले यसै ठाउँमा १५३५ मा सरकारको केन्द्रबिन्दुको रूपमा लिमा शहर स्थापना गरे।

मांको इन्का यपांकीले त्यतिञ्जेलसम्म विजेताहरूको लोभ र जालझेल सबै बुझिसकेको हुँदा विद्रोह रचे। अरूले पनि स्पेनीहरूको विद्रोह गरे तर ज्यान जोगाउन भागाभाग गर्दा इन्डियनहरू दुर्गम इलाकामा पुगे। यस्तै एउटा सुरक्षित ठाउँ पहाडहरूमा लुकेको माचु पिचुको पवित्र शहर थियो।

अन्तिम इन्का

मांको इन्का यपांकीको छोरा टुपाक आमारू अन्तिम इन्का (१५७२) भए। स्पेनी राजप्रतिनिधिहरूले पेरूमा शासन गर्न थाले। राजप्रतिनिधि टोलेथोको लक्ष्य इन्काहरूलाई नामेट पार्नुथियो। एउटा ठूलो सेना लिएर तिनी भिल्काबाम्मा क्षेत्रमा घुसे। टुपाक आमारूलाई जंगलमा पक्रे। तिनी र तिनको गर्भवती पत्नीलाई मार्न कुज्को लगियो। क्यान्यारी इन्डियनले टुपाक आमारूलाई मार्न भाला उठाए। एकै प्रहारमा आफ्ना इन्काको टाउको छिनालेको देख्दा त्यहाँ उपस्थित हजारौं इन्डियनहरूले वेदनायुक्‍त सुस्केरा ताने। तिनका कप्तानहरूलाई सास्ती दिएर मारियो वा झुन्ड्याइयो। यसरी छोटो समयभित्रै इन्काहरूको निर्मम पतन भयो।

नियुक्‍त राजप्रतिनिधिहरूको साथमा क्याथोलिक भिक्षु तथा पादरीहरूले इन्डियनहरूमाथि बिस्तारै राम्रो नराम्रो दुवै असर पार्न थाले जो केवल दासको रूपमा मात्र गनिन्थे। धेरैलाई सुन वा चाँदी खानीमा जबरजस्ती काम गर्न लगाइयो। त्यस्तै एउटा चाँदी खानी पोटोसी, बोलिभियाको पहाडमा अवस्थित थियो। अमानवीय व्यवहार सहनु परेका इन्डियनहरूले लट्ठ्याउने कोका पात सेवन गर्न थाले। स्पेनको अधीनताबाट पेरु तथा बोलिभियाले १९ औं शताब्दीको सुरुतिर मात्र स्वतन्त्रता प्राप्त गरेका हुन्‌।

इन्काहरूका वर्तमान सन्तानहरू

वर्तमान युगमा इन्काहरूका सन्तानहरूको अवस्था कस्तो छ? अरू आधुनिक शहरहरूजस्तै पेरुभियाली राजधानी लिमामा लाखौं नागरिकहरू छन्‌। तर प्रान्तहरूमा भने समय टक्क अडिएझैं छ, अवस्था पहिलेकै जस्तो छ। थुप्रै गाउँहरू अझै पनि क्याथोलिक पादरीहरूको नियन्त्रणमा छन्‌। इन्डियन किसानको लागि आफ्नो गाउँको क्याथोलिक चर्च नै सबैभन्दा मुख्य कुरा हो। राम्रो पहिरन लगाएका सन्तहरूको प्रतिमा, रंगीचंगी बत्तीहरू, सुनौलो वेदी, बलिरहेको मैनबत्ती, पादरीले सुरु गरेको रहस्यमय उत्सव र विशेषगरि नाच तथा पर्व इन्डियन किसानहरूलाई असाध्यै रोचक लाग्छ। तर ती रमाइला आमोदप्रमोद अझै पनि पुरातन विश्‍वासहरूमा आधारित छन्‌। रहस्यमय शक्‍ति हुन्छ भन्ठानिने कोका पात अहिले पनि थुप्रै मानिसहरूले सेवन गर्छन्‌।

स्वाभिमानी इन्काका यी सन्तानहरू अहिले अरू जातिसित छ्यासमिस भइसके। तैपनि, तिनीहरूले रंगीचंगी नाच तथा विशेष वाइनो संगीतलाई भने जगेर्ना गर्न सकेका छन्‌। आफूले नचिनेका मानिसहरूसित कुरा गर्न सुरुमा हिचकिचाए तापनि तिनीहरू आफ्नो जन्मजात आतिथ्य भाव झल्काइहाल्छन्‌। इन्का साम्राज्यका सन्तानहरूलाई व्यक्‍तिगत तवरमा चिनेका, बाच्नको लागि तिनीहरूले भोगेका दुःख देखेका, तिनीहरूप्रति चासो अनि माया देखाउन खोज्ने व्यक्‍तिहरूका लागि यी इन्काहरूको जीवनकथा हृदयविदारक छ!

शिक्षाले परिवर्तन ल्याउँछ

टिटिकाका तालको सोका गाउँका आमारा भाषी इन्डियनको सन्तान भ्यालेन्टिन आरिसाकाले ब्यूँझनुहोस्‌!-लाई यस्तो अन्तरवार्ता दिए: “यहोवाको साक्षी हुनुअघि म नाउँ मात्रको क्याथोलिक थिएँ। मेरा साथीहरूसित मिलेर थुप्रै गैरमसीही रीतिथितिहरू मान्‍ने गर्थें। कोका पात चपाउँथें तर अहिले ती सबै गर्न छाडेको छु।”

अनेकन्‌ अन्धविश्‍वासहरूले गर्दा आपस-लाई अप्रसन्‍न तुल्याउने डरले पिरोलिएकी ८९ वर्षीय पेट्रोनिला मामानीले यसो भनिन्‌: “बनदेवतालाई खुसी पार्न अनि आफ्नो जीविका चलाउन सधैंजसो भेटी चढाउँथें। म कुनै पनि हालमा बनदेवतालाई रिस उठाएर विपत्तिहरू भोग्न तयार थिइनँ। अहिले बुढेसकालमा आएर मैले अर्कै कुरा सिकेकी छु। बाइबल तथा यहोवाका साक्षीहरूप्रति आभारी छु किनभने म अहिले त्यस्तो सोचाइबाट मुक्‍त छु।”

यहोवाका साक्षीहरूले केचुआ र आमारा भाषी थुप्रै इन्डियनहरूलाई पढ्‌न सिकाइरहेका छन्‌। अनि त्यसपछि यिनीहरूले अरूलाई बाइबल सिकाउँछन्‌। यसप्रकार, हजारौं इन्का तथा स्पेनी इन्डियनहरूले आफ्नो जीवन उकास्ने शिक्षा पाइरहेका छन्‌। अनि बाइबलमा उल्लिखित परमेश्‍वरको प्रतिज्ञाअनुसार पृथ्वीमा चाँडै स्थापना हुन लागेको नयाँ संसारबारे पनि सिकिरहेका छन्‌ जहाँ न्याय, शान्ति र धार्मिकताले बास गर्नेछ।—२ पत्रुस ३:१३; प्रकाश २१:१-४.

[फुटनोट]

a “इन्का” शब्दले इन्का साम्राज्यको सर्वोच्च नेता वा बासिन्दाहरूलाई बुझाउनसक्छ।

[पृष्ठ १५-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

इन्काहरूको स्वर्णिम साम्राज्य

दक्षिण अमेरिका

कुज्को

पोटोसी

इन्का साम्राज्य

क्यारीबियन समुद्र

प्रशान्त महासागर

कोलम्बिया

इक्वेडोर

एन्डीज

पेरु

काजामार्का

लिमा

पाचाकामाक

भिल्काबाम्मा

माचु पिचु

कुज्को

टिटिकाका ताल

बोलिभिया

चिली

अर्जेन्टिना

[पृष्ठ १६-मा भएको चित्र]

माथि: सुरुको सूर्य मन्दिर कुज्कोस्थित यस क्याथोलिक चर्चको आधार भएको छ

[पृष्ठ १६-मा भएको चित्र]

बायाँ: चुक्विटोको मन्दिरमा इन्कापूर्व लिंगको प्रतीक

[पृष्ठ १६-मा भएको चित्र]

दायाँ: यी कुँदिएका ढुंगाहरूमा इन्काहरूले चढाएका भेटीहरूको रगत बग्थ्यो

[पृष्ठ १७-मा भएको चित्र]

दायाँ: कुज्को नजिकै माचु पिचुमा सिंचाइ गरिएका गराहरू

[पृष्ठ १७-मा भएको चित्र]

तल: माचा पिचुको पुरातन ढोकाभित्रको दृश्‍य

[पृष्ठ १७-मा भएको चित्र]

तल दायाँ: साड्‌सावामानको गढी-मन्दिरको १०० टन ठूला ढिकाहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने