पाठकहरूका प्रतिक्रिया
जात प्रथा म १२ वर्षकी छु र हिजो मात्र मलाई जात प्रथाबारे लेख तयार पार्न स्कूलले अह्राएको थियो। म आधी भारतीय हुँ। आज, तपाईंहरूले तैयार पार्नुभएको “मसीहीहरू तथा जातभात” (अप्रिल ८, १९९८) भन्ने लेख मैले पाएँ। यस विषयमा मेरा पाठ्यपुस्तकहरूले भन्दा तपाईंहरूले राम्ररी वर्णन गर्नुभएको रहेछ।
एस. एस. एन., संयुक्त राज्य
तनाउ नियन्त्रणमा राख्ने मैले शारीरिक अनि मानसिक थकानलाई नियन्त्रणमा राख्नेबारे लोकप्रिय पत्र-पत्रिकाहरूको लेख थुप्रै पढें। तर ती लेखहरू पढेर म हरेस खान्थें! तपाईंहरूको पत्रिकामा दिइएका तनाउ नियन्त्रणमा राख्ने १५ वटा सुझाउहरूमध्ये एउटैले पनि हार मान्नू वा पन्छिनू नभनेको देखेर म अति खुसी भएँ। (“तपाईं तनाउ नियन्त्रणमा राख्न सक्नुहुन्छ!” अप्रिल ८, १९९८) बरु, ती लेखहरूले आफ्नो जीवनमा तनाउ बढ्दा कसरी नियन्त्रण गर्ने भन्ने कुरा देखाए।
जे. बि., बोलिभिया
म चिन्ताग्रस्त भइरहेकै बेला यी लेखहरू पाएँ। पूर्णसमय प्रचारक भएकी हुनाले त्यस्तो समस्याहरू ममाथि आइलाग्नु नपर्ने भन्ने मेरो सोचाइ थियो। जसै मैले यी लेखहरू पढें मेरा आँखाबाट आँसु बरबर्ती झर्न थाले। यहोवा आफ्ना सेवकहरूको मायालु हेरचाह गर्नुहुन्छ र तिनीहरूले के-कस्ता समस्याको सामना गर्नु परिरहेको छ भनेर बुझ्नुहुन्छ भन्ने मैले महसुस गरें।
डी. एम., इटाली
म अहिले तनाउग्रस्त अवस्था, अर्थात् सोरियासिसले पीडीत भएकी हुँदा यी लेखहरू नै मैले खोजिरहेकी थिएँ। कहिलेकाहीं आफू यहोवाको नजरमा महत्त्वपूर्ण छैन जस्तो लाग्थ्यो तर यस लेखले त्यो कुरा गलत रहेछ भन्ने देखायो। उहाँ साँच्चै मेरो चिन्ता गर्नुहुँदोरहेछ, यहाँसम्म कि उहाँले तनाउबारे मलाई चाहिएजस्तै जानकारीको प्रबन्ध गरिदिनुभएको छ।
एस. एस., ब्राजिल
“पि टि एस डी—असामान्य घटनाप्रति सामान्य प्रतिक्रिया” नामक पेटीको लागि म हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु। मैले भावनात्मक पीडा सहेर बाल्यकाल गुजारेकोले ती विगतका घटनाहरू मलाई अझ झलझल्ती याद आइरहन्छ। तथापि, यस लेखले मलाई साँच्चै सान्त्वना दिएको छ।
आर. एन., संयुक्त राज्य
मलाई यी लेखहरू साह्रै ज्ञानवर्द्धक लाग्यो। शैतानका दबाउहरू झन् झन् थपिंदै गरेको बेला विश्वासमा दह्रो भइरहन हामीलाई यस्तै किसिमको जानकारी चाहिन्छ। तपाईंहरू हाम्रा समस्याहरूमा निकै चासो लिनुहुन्छ र तिनीहरूको सामना गर्ने तरिका पनि बताउनुहुन्छ भन्ने कुरा मैले राम्ररी बुझें।
भी. टी., फिजी
पढाइमा उन्नति गर्ने म एक विद्यार्थी हुँ र “युवा जनहरू सोध्छन् . . . के म पढाइमा अझ उन्नति गर्नसक्छु?” लेखको लागि मुरी मुरी धन्यवाद दिन चाहन्छु। (अप्रिल ८, १९९८) मैले परीक्षामा राम्रै अंक प्राप्त गरिरहेकी भए तापनि, अझ उन्नति गर्नुपर्ला जस्तो कहिल्यै लागेन। तर यो चाखलाग्दो अनि प्रोत्साहनजनक लेखले गर्दा मैले व्यवहारिक लक्ष्यहरू कायम गरि थुप्रै काम पूरा गर्नसक्ने रहेछु भन्ने स्पष्ट बुझें।
बी. आर., संयुक्त राज्य
म १४ वर्षकी केटी हुँ र मैले अध्ययन गर्ने तरिका जानेकी थिइनँ। कतिपय कुराहरू पढ्न मलाई असाध्यै झ्याउ लाग्थ्यो किनकि मलाई ती कुराहरू भविष्यमा काम लाग्छ जस्तो लाग्दैनथ्यो। यो लेख पढेपछि मैले आफ्नो विचार परिवर्तन गरें। साथै, व्यवहारिक रूपमा कसरी अध्ययन गर्ने भनेर बताउनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु!
के. एफ., जापान