विश्वदर्शन
“शक्तिशाली किटाणुहरू”-देखि होसियार
दक्षिण अफ्रिकी पत्रिका स्टार भन्छ “ ‘शक्तिशाली किटाणुहरूले’ प्रभावशाली एन्टिबायोटिकहरूको प्रतिरोध गरेको देखेर औषधी उत्पादकहरू मात्र होइन तर क्रेताहरू समेत सजग हुनुपरेको छ”। माइक डभ नामक प्याथोलोजिष्टले यस्तो चेतावनी दिए, “पहिला नियन्त्रित भइसकेका वा झन्डै निर्मूल पारिसकिएका रोगहरू पुनः देखिनुका साथै सक्रिय हुनथालेका छन्।” एन्टिबायोटिकको अत्याधिक प्रयोगको कारण क्षयरोग (टिबी), मलेरिया, टाइफाइड, सुजाक, मेनिन्जाइटिस् तथा न्यूमोनिया रोगहरूका नयाँ रूप देखापरेका छन् र यिनीहरूको उपचार गर्न कठिन हुनुका साथै आधुनिक औषधीहरूले समेत असर गर्न नसक्ने भएको छ। टिबीबाट मात्रै वर्षेनी तीस लाखभन्दा बढी मानिस मर्छन्। तसर्थ, रोगीहरूले निम्न कुराहरू ध्यानमा राखेको खण्डमा यसको समाधान गर्नेतर्फ सहयोग पुऱ्याउन सक्छन्: सबैभन्दा पहिला, तरल पदार्थ धेरै मात्रामा पिउने, पूरा आराम गर्ने र घाँटी दुखेको छ भने तातो पानीमा नून हालेर कुल्ला गर्ने। तपाईंलाई एन्टिबायोटिक नै चाहिंन्छ भनेर डाक्टरसित जिद्दी नगर्नुहोस्, बरु साँच्चै आवश्यकता परेको हो वा होइन तिनलाई पक्का गर्न दिनुहोस्। यदि एन्टिबायोटिक खाने सल्लाह पाउनुभयो भने रोग निको भएजस्तो लाग्ने बित्तिक्कै खान नछोड्नुहोस् बरु जति दिन खानुभनेर तोकेको छ त्यति नै दिन खानुहोस्। तर एन्टिबायोटिकले भाइरसबाट लाग्ने रूघाखोकी ज्वरो होइन ब्याक्टेरियाबाट लाग्ने रोग मात्र निको गर्छ भन्नेकुरा याद राख्नुस्। डभ भन्छन्, “ठूलो स्वास्थ्य समस्या ल्याउन सक्ने भएकोले यस ग्रहकै पीडादायी समस्यामाथि विजयी हुन हरेकले लड्नुपर्छ।”
तनाउको चर्को मोल
ओ ग्लोबो नामक ब्राजिलियन अखबार भन्छ, “संसारमा थुप्रै कामदारहरू कार्यालयमा उपस्थित नहुनु वा गुणस्तरीय उत्पादनमा ह्रास आउनुको खास कारण, शारीरिक रोग नभई, तनाउ हो। विश्व स्वास्थ्य संघको रिपोर्टले मानसिक रोगको कारण, १९९७ मा मात्रै २,००,००० मानिसहरूको ज्यान गएको थियो भन्ने देखाउँछ। त्यसमाथि पनि मुड परिवर्त्तन हुने जस्ता, सामान्य मानसिक विकार कै कारण विश्वव्यापी रूपमा १४ करोड ६० लाख मानिसहरूको व्यवसायीक क्रियाकलापमा नकारात्मक असर परेको छ। जुन संख्या कान सुन्न नसक्ने समस्याले पीडित १२ करोड ३० लाख कामदार वा व्यवसायीक कामकै सिलसिलामा दुर्घटनामा पर्ने २ करोड ५० लाखको तुलनामा धेरै छ। अक्सफर्ड विश्वविद्यालयका प्राध्यापक गाइ गुडवनले गरेको अध्ययनअनुसार आउँदा वर्षहरूमा यसको प्रभाव झनै बढ्ने देखिन्छ। फलतः गुणस्तरीय उत्पादनमा ह्रास तर उपचार खर्चमा हुने बृद्धिको कारण समाजलाई अचाक्ली भार पर्नेछ। संयुक्त राज्यमा मात्रै तनाउको कारण जम्माजम्मी वार्षिक ५३ अरब अमेरिकी डलर घाटा बेहोर्नुपर्छ।
बदलाका व्यापारीहरू
“गोप्यता” कायम राख्ने अनि जापानको जुनसुकै ठाउँमा पनि सेवा प्रदान गर्ने वाचा गर्दै टोकियोको एउटा कम्पनीले यस्तो विज्ञापन गऱ्यो: “तपाईंहरूको लागि हामी हिसाब चुक्ता गर्नेछौं।” यो कम्पनीको ध्येय “आफ्ना ग्राहकहरूलाई दुःख दिने व्यक्तिलाई त्यस्तै किसिमको दुःख दिनु हो” भनी उपरोक्त सेवाका संचालक भन्छन्। अशाही इभिनिंग न्यूज-अनुसार यस कम्पनीले “कानुनी तवरमा बदला लिने छ” जस्तै, “जागिर अनि परिवार गुमाउन बाध्य पारेर,” नाता तोड्न लगाएर अनि “जागिरबाट हटाएर वा यौन दुर्व्यवहार गर्ने हाकिमलाई सबैको अगाडि बेइज्जती गरेर।” उक्त कम्पनीमा फोन गर्ने ५० जनामा सालाखाला २० जनाले हत्या गराउन फोन गर्छन्, तर कम्पनीको उदेश्य शक्ति प्रयोग गर्ने वा कानुन उल्लंघन गर्ने नभए “तापनि, कहिलेकाहीं त्यस्तै गर्नुपर्ने हुन्छ।” उक्त सेवाले दर्जनौं मानिसहरूलाई काममा लगाएको छ जसमध्येका थुप्रै अर्कै ठाउँमा पूर्णसमय काम गर्छन्। तिनीहरूमध्ये कसैकसैले त्यस्तो दुःख भोगेका हुनाले अरूलाई बदला लिने काममा मदत पुऱ्याउन चाहन्छन्। “तपाईंले कसैलाई त्यस्तै रिस उठ्ने काम गर्नुभएको थियो कि थिएन थाह नहुन सक्छ। त्यसैले होसियार हुनुहोस्,” कम्पनीका मालिक चेतावनी दिन्छन्।
विवाह स्वास्थ्यकर छ
विवाहले स्त्री तथा पुरुषको “उमेर, शारीरिक तथा मानसिक तन्दुरुस्ती र आम्दानी पनि बढाउँछ,” भनेर द न्यू योर्क टाइम्स-लाई एक अन्वेषक बताउँछिन्। शिकागो विश्वविद्यालयका प्रोफेसर लिन्डा जे. वेटले सन् १९७२ मा प्रकाशित विवाहित आइमाईहरू मानसिक तनाउ भोग्छन् भन्ने रिपोर्टको खण्डन गर्दै उक्त कुरा भनेकी हुन्। डा. वेटअनुसार “विवाहले मानिसहरूलाई असल बनाउँछ,” जस्तै विवाह गर्ने व्यक्तिहरू मद्यपान कम गर्छन्। विवाहले तनाउ पनि कम गर्छ जस्तो देखिन्छ। वास्तवमा, “अविवाहित पुरूषहरूको अध्ययन गर्दा तनाउग्रस्त भएको पाइयो र पछिसम्म अविवाहित रहेमा तिनीहरू झन् तनाउग्रस्त हुनेछन्।” तथापि, मिनेसोटा विश्वविद्यालयका डा. विलियम जे. डोअर्ती, भर्खरै पत्ता लागेका यी कुरा सामान्य कुराहरू मात्र हुन् अर्थात् विवाह गर्दैमा सुखी भइन्छ वा गलत व्यक्तिसित विवाह गर्नेहरू खुसी अनि स्वस्थ हुन्छ भन्ने छैन भनेर बताउँछन्।
हिंस्रक हिरोहरू
संयुक्त राष्ट्र संघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनले संचारमाध्यममा प्रस्तुत गरिने हिंसाको प्रभावबारे अध्ययन गर्दा केटाकेटीहरूले नक्कल गर्ने लोकप्रिय व्यक्तिहरूमा एक्सन-फिल्मका हिरोहरू पनि पर्ने गरेको पाए। तेइस राष्ट्रमा १२ वर्षका पाँच हजार केटाकेटीहरूसित अन्तर्वाता लिंदा २६ प्रतिशतले यी फिल्मी हिरोहरूलाई, “पप गायकहरू तथा संगीतकारहरू (१८.५ प्रतिशत), धार्मिक नेताहरू (८ प्रतिशत), वा राजनैतिक नेताहरू (३ प्रतिशतले) भन्दा अग्रस्थानमा राखेको पाइयो” भनी ब्राजिलको जूर्नल डा टार्डे टिप्पणी गर्छ। स्पष्टतयाः केटाकेटीहरू कठिन परिस्थिति आइपर्दा कसरी बच्ने भनेर सिक्न ती हिंस्रक हिरोहरूलाई आफ्ना आदर्श बताउँछन् भनी यस अध्ययनका संयोजक, प्राध्यापक जो ग्रोवेल भन्छन्। केटाकेटीहरू हिंसासित जति अभ्यस्त हुँदै जान्छन् उनीहरूको व्यवहारहरू पनि उत्तिनै रूखो र हिंस्रक हुन्छ। तिनी फेरि भन्छन्: “संचार माध्यमहरूले हिंसा साधारण कुरा हो र यो फाइदाजनकै हुन्छ भन्ने धारणा फैलाउँछ।” आफ्ना बालबच्चाहरूलाई काल्पनिक तथा वास्तविकताबीच भिन्नता छुट्याउन निर्देशन दिने मुख्य भूमिका आमाबाबुको हुन्छ भन्ने कुरामा ग्रोवेल जोड दिन्छन्।
“युवतीहरूको नम्बर १ हत्यारा”
आर्थिक रूपमा विकसित ठाउँहरूमा क्षयरोगले प्रायः ६५ वर्षभन्दा माथिका मानिसहरूलाई सिकार बनाउँछ भनेर नान्डो पत्रिका रिपोर्ट गर्छ। तर विश्वव्यापी क्षेत्रमा हेर्ने हो भने विश्व स्वास्थ्य संघअनुसार क्षयरोग “युवतीहरूको नम्बर १ हत्यारा” भएको छ। विश्व स्वास्थ्य संघ विश्वव्यापी क्षयरोग कार्यक्रमका डा. पावल डोलिन भन्छिन्, “गृहिणी, आमा तथा जागिरेहरू, तरूणी अवस्थामै यसको सिकार भइरहेका छन्।” स्वीडेनको योर्टेवरीमा भर्खरै भएको मेडिकल सेमिनारमा उपस्थित विशेषज्ञहरूअनुसार सारा संसारभरि ९० करोड आइमाईहरू क्षयरोगले ग्रस्त छन्। जसमध्ये १५ देखि ४४ वर्षका झन्डै १० लाख आइमाईहरू वर्षेनी मर्छन्। यसो हुनुको एउटा कारण ब्राजिलको पत्रिका ओ एस्तादो दे साऊ पाऊलू–अनुसार आफ्ना उपचार पूरा हुन नपाउँदै औषधी खान छोड्नु हो।
जमिनमा बस्ने गँगटो र वातावरण
कमिला, धमिरो अनि गड्यौंला मिलेर जंगलको भुईंमा झरेका पातपतिंगर सखाप पारिदिन्छन् भनेर त हामीलाई थाह छ तर पानी परेको पऱ्यै गर्ने उष्णप्रदेशीय जंगलमा नि? यो काम जमिनमा बस्ने गँगटाहरूले गर्छन्। संयुक्त राज्य अमेरिकास्थित मिचिगन विश्वविद्यालयका वातावरणविद् कोस्टा रिकाको प्रशान्त महासागरीय तटको त्यस्तै फराकिलो जंगलमा एउटै पनि पात भुईंमा नभएको बरु त्यहाँ ठूलठूला असंख्य दुलोहरू भएको देखेर तीनछक परे। तिनले त्यस ठाउँमा राति निरीक्षण गर्दा एक हेक्टरमा लगभग ६०,००० जति जमिनमा बस्ने गँगटाहरू निस्केर सुकेका पातहरू, फलफूल तथा बीउहरू एक मिटर गहिरो आ-आफ्नो दुलोभित्र ओसारिरहेका देखे। पानीमा अनि जमिनमा समेत सास फेर्नसक्ने गील्स भएका यी गँगटाहरू २० सेन्टिमिटर ठूला हुन्छन् र अण्डा पार्नुपर्दा मात्र समुद्रमा जाने गर्छन्। यी गँगटाहरूले गहिराइसम्म जरा गाड्ने रूखहरूलाई पोषण दिन मदत गर्छन्। जंगलको सम्पूर्ण जीवनचक्र यी जीवहरूका काममा निर्भर गर्छ भनी द टाइम्स अफ लण्डन रिपोर्ट गर्छ।
एकसाथ भोजन गर्ने परिवार
पाँच सय सत्ताइस किशोरकिशोरीहरूको अध्ययन गर्दा, हप्ताको कम्तीमा पनि पाँचचोटि परिवारसित सँगै भोजन गर्नेहरूमा “लागूपदार्थ दुर्व्यसनीमा लाग्ने वा तनाउग्रस्त हुने सम्भावना निकै कम हुनुका साथसाथै पढाइमा उन्नति गर्ने तथा साथीहरूसित पनि राम्रो मित्रता बनाउन सक्ने हुँदो रहेछन्,” भन्ने कुरा क्यानाडाको टोरोन्टो स्टार पत्रिकाले बतायो। “परिवारसित हप्ताको तीन दिन वा सोभन्दा कम सँगै भोजन गर्ने किशोरकिशोरीहरूचाहिं ‘राम्रो मानसिक विकास भइनसकेका’ वर्गमा पर्दा रहेछन्। पूरै परिवार एकसाथ भोजन गर्नु “स्वस्थ परिवारको चिह्न हो” भनेर मनोचिकित्सक ब्रुस ब्रायन ठोकुवा गर्छन्। यसो गर्दा पारिवारिक एकता मजबुत हुन्छ, कुराकानी गर्ने क्षमता विकास हुन्छ र आफ्नोपनको भावना बढ्नुका साथै टेबुलमा बस्दा शिष्टाचार देखाउने, वार्तालापमा भाग लिने, हँसी मजाक गर्ने तथा प्रार्थना गर्न सिक्ने मौका पाइन्छ। यसरी एकसाथ भोजन गर्ने एक महिलाले सधैं त्यसरी भोजन नगरेको भए, “उहाँहरूसित यस्तो घनिष्ठ हुनसक्ने थिइनँ” भन्ने कुरा मानिलिइन्।
सुर्ती कम्पनीहरूद्वारा प्रायोजित खेलहरू
अस्ट्रेलियाको भिक्टोरीयन हेल्थ प्रमोशन फाउण्डेशनका राण्डे गलबेलीअनुसार, सूर्ती उद्योगहरूले आफ्ना उत्पादनहरूको प्रचारप्रसार गर्न खेलकुद तथा अन्य मनोरञ्जनका माध्यमहरू अचाक्ली प्रयोग गरेका हुनाले “खेलकुद . . . तथा धूम्रपानबीच सकारात्मक सम्बन्ध” विकास भएको छ। परिणामस्वरूप चलाकीपूर्वक खेलकुदद्वारा प्रसारण गरिने चुरोटहरूको विज्ञापनहरूले मानिसहरूलाई धूम्रपान गर्न उक्साउन सक्छन्। पानोस समाचार समतिले दिएको रिपोर्टअनुसार, बेलाइतको क्यान्सर अनुसन्धान अभियानले “टिभीमा फर्मूला वन मोटर दौड हेर्न मनपराउने केटाहरूले धूम्रपान थाल्ने सम्भावना दुई गुणा बढी हुन्छ” भन्ने पत्ता लगाएको छ। “युरोपमा सुर्ती कम्पनीहरूले कार दौड प्रतियोगितालाई प्रायोजित गर्न वर्षेनी करोडौं डलर खर्च गर्छन्।” अनि प्रायः टेलिभिजनमा देखाइने ती कारहरू घुम्ती विज्ञापन (का माध्यम) बनेका छन्।