प्रकाशगृहका रखवालाहरू—लोप हुँदै गएको पेसा
क्यानाडाका ब्यूँझनुहोस्! संवाददाताद्वारा
प्रकाशगृहका रखवालाहरूले कैयौं पटक यसो भनेका छन्: “मलाई सबैभन्दा मनपर्ने पेसा यही हो।” क्यानाडा, टोरोन्टोको प्लास्टिक कारखानामा प्रबन्धकको ओहदा छोडेर १०६ वर्षे पुरानो प्रकाशगृहको रखावाला हुन गएका मानिस यो कामले गर्दा आफ्नो “आयु १० वर्ष घटेको महसुस” गर्छन्।
प्रकाशगृहका रखवालाको मुख्य जिम्मेवारी नाविकहरूका निम्ति सुस्पष्ट प्रकाश प्रदान गर्नु हो। तिनले कुहिरोले डम्म ढाकेको बेला आवाज दिन हर्न परिचालन गर्नुका साथै मछुवा र त्यहाँबाट आवतजावत गर्ने जहाजहरूलाई रेडियोद्वारा मौसमको जानकारी दिनुपर्छ।
विगतमा प्रकाशगृहका रखवालाहरूले टन्न तेल भर्नु, बत्ती बाल्नु र लालटिनका शीशाहरूमा धूवाँ नहुनेगरि सफा राख्नुपर्थ्यो। प्रकाशगृहका बत्तीहरू तुरुन्तै मर्मत गर्न नसक्दा जहाजहरूको सुरक्षाको निम्ति ती रखवालाहरूले रातभरि हातैले प्रकाशसंकेतक घुमाइरहने वा कुहिरोले डम्म ढाकेको बेला आवाज दिने हर्न बिग्रिंदा घनले राति घण्टी बजाइरहनु कुनै असाधारण कुरा थिएन।
आँधीबेहरीको सामना गर्ने
ठूल-ठूला आँधीबेहरीहरू मुख्य चिन्ताका विषय हुन्। एकचोटि एक जना रखवालालाई “भयंकर सेतो बादल” देखेजस्तो लाग्यो तर त्यो त जोरसँग आएको छाल पो रहेछ! त्यस छाल १५ मिटर अग्लो भीर नाघेर रखवाला बस्ने ठाउँसम्म आइपुग्यो। यस छालले ठूलो आँधीले जत्तिकै क्षति पुऱ्यायो।
अर्कोचोटि, नोभा स्कटियाको पेब्निको बन्दरगाहमा रातभरि नै गर्जिएको आँधीबेहरीका छालहरूले प्रकाशगृहलाई हानिरह्यो। रखवाला र तिनको परिवारले पर्खनु र आशा गर्नुबाहेक अरू केही गर्नसक्दैनथे। बिहानसम्म आँधी शान्त भइसकेको थियो। तर रखवाला बाहिर निस्किंदा त तीन छक परे किनभने प्रकाशगृह वरिपरिको सबै जमिन पानीले स्वात्तै बगाएको थियो। प्रकाशगृहबाहिरको भूमि पानीले टन्न भरिएको थियो।
एकाकीपन र दिक्दारी
एक्लोपनाबारे प्रश्न गर्दा प्रकाशगृहका एक रखवालाले हाँस्दै भने: “मानिसहरूले हामीलाई भन्छन्, ‘बाफरे, तिमीहरू कसरी एक्लै बस्न सकेका?’ तर हामी पनि प्रत्युत्तरमा यस्तो प्रश्न गर्छौं, ‘तपाईंहरू चाहिं शहरको त्यस्तो होहल्ला र झमेलामा कसरी बसिरहन सकेको नि?’ ”
संयुक्त राज्यमा पहिला पहिला अनकन्टार ठाउँका प्रकाशगृहहरूमा सानो पुस्तकालयको प्रबन्ध गरिएको हुन्थ्यो। अतः १८८५ सम्ममा ४२० पुस्तकालयहरू प्रयोगमा थिए। स्पष्टतः प्रकाशगृहका रखवालाहरू असल पाठकहरू भए।
लोप हुँदै गएको पेसा
हालका वर्षहरूमा मानिसहरू रहने प्रकाशगृहको साटो मेसिनद्वारा सञ्चालित तेजिलो प्रकाश भएका स्टीलका धरहराहरू प्रयोग हुन्छन्। नाविकहरूले अब अन्धकारमा धमिलो प्रकाशसंकेतक वा अस्पष्ट प्रकाश खोजिरहनुपर्दैन। आजकाल, शक्तिशाली विद्युतीय रासायनिक संकेत प्रणाली र ठूलो आवाजका कानै खाने कुहिरोले डम्म ढाकेको बेला दिने आवाजहरूले नाविकहरूलाई समुद्रमा हुने खतराहरूको सूचना दिन्छन्।
जति नै बाक्लो कुहिरो लागे तापनि आफू कतातिर छ भनी थाह पाउन प्रकाशगृहहरूबाट संकेतहरू प्राप्त गर्नसक्ने उपकरणहरू जहाजहरूमा हुन्छन्। आधुनिक प्रविधिले गर्दा नाविकहरू खतरनाक बगर, जोखिमपूर्ण ढिस्काहरू र डरलाग्दो छेउछाउका चट्टानहरूबाट छलेर समुद्रमा लामो यात्रा गर्नसक्छन्।
आधुनिक प्रविधिको फलस्वरूप प्रकाशगृहका रखवालाहरूको काम द्रूत गतिमा लोप हुँदै गइरहेको छ। पच्चीस वर्षसम्म बसेको त्यस टापुको आफ्नो घर छोड्नुपर्दा जीवनकै एउटा भाग गुमेको जस्तो महसुस गर्दै एक प्रकाशगृहका रखवालाले यसरी आफ्नो गुनासो पोखे: “यहाँको जीवनसित हामी सन्तुष्ट थियौं। यो ठाउँ छोड्ने मनै थिएन।”
अझै पनि घुम्ने बत्ती, साना बत्ती, आपत्कालीन बत्ती, खतरासूचक आवाज तथा राडार प्रकाश संकेतकहरू तथा प्रकाशगृहको स्याहारसम्भार गर्नुपर्छ। आजकाल प्रकाशगृहहरूको स्याहारसम्भार परिभ्रमण प्राविधिज्ञहरूले गर्छन्।
प्रकाशगृहका रखवालाहरूले लामो समयसम्म पुऱ्याएको सेवाको मूल्यांकन गर्ने मानिसहरूको भावना मेन अगस्ताका यस मानिसको जस्तै छ, जसले यसो भने: “मानिसहरू नभएको कम्प्युटरद्वारा सञ्चालित अहिलेका प्रकाशगृहहरू हेर्न मजै लाग्दैन।”
[पृष्ठ १७-मा भएको पेटी]
पहिलो प्रकाशगृह
ऐतिहासिक रेकर्डअनुसार पहिलो प्रकाशगृह निर्माण कार्य इजिप्टका टोलेमी द्वितीयको शासनकालमा पूरा गरिएको थियो। यो सा.यु.पू. ३०० तिर निर्माण गरिएको थियो र अहिलेको एलेक्जान्ड्रियाको बन्दरगाहको प्रवेशद्वारसँगै फेरोस टापुमा अवस्थित थियो। यसको निर्माण २५ लाख अमेरिकी डलरको लागतमा २० वर्ष लगाएर बनाइएको थियो।
ऐतिहासिक लेखोटहरूअनुसार यसको उचाइ लगभग ९० मिटर थियो। माथिल्लो तल्लाका झ्यालहरू समुद्रतिर फर्केका थिए र जोसेफसअनुसार त्यसको पछाडि भुंग्रोहरू थियो जसले ५० किलोमिटर टाढासम्म देख्नसकिन्थ्यो।
अगाडिपट्टि संगमरमरले सजिएको ढुंगाको त्यस ठूलो आकृतिलाई विश्वका सात आश्चर्यहरूमध्ये मानिन्थ्यो। यसरी दनदन बलिरहेको आगोले १,६०० वर्षसम्म चेताउनी दिने प्रकाशको रूपमा काम गऱ्यो र यो सायद भूकम्पले नाश गरेको हुनसक्छ।
शताब्दीहरू बित्दै जाँदा विभिन्न आकारका हजारौं प्रकाशगृहहरू संसारभरिका बन्दरगाहहरूमा बनाइए। पुराना पक्की प्रकाशगृहहरू राष्ट्रिय, प्रान्तीय, क्षेत्रीय तथा शहरका संग्रहालयको रूपमा संरक्षित छन् र पर्यटकहरूलाई आकर्षित गर्छन् र लाखौं मानिसहरू यो हेर्न ओइरिन्छन्।
[पृष्ठ १६-मा भएको चित्र]
केप स्पेर प्रकाशगृह, न्युफाउण्डल्याण्ड, क्यानाडा