प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ३/८ पृ. २५-२७
  • जातीय घमण्डबारे कस्तो विचार राख्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जातीय घमण्डबारे कस्तो विचार राख्नुहुन्छ?
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • उचित र अनुचित घमण्ड
  • जातीय घमण्डको सुरुआत
  • जातीय श्रेष्ठताबारे मिथ्या
  • के घमण्डी हुनु गलत हो?
    ब्यूँझनुहोस्‌!—१९९९
  • घमण्डको मूल्य—कति चर्को?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • तपाईं सैतानलाई जित्न सक्नुहुन्छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • छोराछोरीलाई जातीय विभेदबारे बुझाउनुहोस्‌
    परिवारका लागि
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ३/८ पृ. २५-२७

युवा जनहरू सोध्छन्‌

जातीय घमण्डबारे कस्तो विचार राख्नुहुन्छ?

“मेरो कक्षाको एक जना साथी जहिले पनि अर्काको जात र वर्णबारे कुरा गर्छ,” भन्दै १७ वर्षीया तान्या दुःख पोख्छिन्‌। “आफ्नो कुराकानीमा उसले सधैं आफूलाई तिनीहरूभन्दा उच्च देखाउँछ।”

आफ्नो परिवार, संस्कृति, भाषा तथा जन्मभूमिबारे घमण्ड गर्नु स्वभाविकै हो। फङ नाउँ गरेकी १५ वर्षीया केटी यसो भन्छिन्‌: “म भियतनामी हुँ र म आफ्नो संस्कृतिको गर्व गर्छु।”

तर, प्रायः जातीय घमण्ड सँगसँगै जातीयवाद पनि गाभिएको हुन्छ। अतः यस्तो घमण्ड बाहिरबाट हेर्दा शिष्ट देखिए तापनि यसले मानव सम्बन्धहरूलाई बिस्तारै बिस्तारै आघात पुऱ्‍याउनसक्छ। येशू ख्रीष्टले भन्‍नुभयो: “हृदयमा भरिएका कुरानै मुखले बोल्दछ।” (मत्ती १२:३४) श्रेष्ठ हुनुको भाव वा अरूलाई हेला गर्ने तीव्र भावनाहरू प्रायः बाहिर प्रकट हुन्छन्‌। यो पीडादायी हुनुका साथै यसले अरूको चित्त दुखाउँछ।

कहिलेकाहीं जातीय घमण्ड हिंस्रकसमेत हुनसक्छ। हालका वर्षहरूमा युद्ध, दंगाफसाद र रक्‍तपातपूर्ण “जातीय संहार” गर्न उक्साउने तत्त्व नै जातीय घमण्ड भएको छ। तथापि, जातीय घमण्डको घृणित पक्ष रक्‍तपात मात्र होइन। उदाहरणका लागि, के तपाईंले यसको प्रमाण स्कूल, काम वा तपाईंको छिमेकमा देख्नुभएको छ? “अवश्‍य” भनी मेलीसा नाउँ गरेकी मसीही केटी भन्छिन्‌। “मेरो स्कूलका कोही कोही साथीहरूले अलि अर्कै तरिकामा बोल्ने विद्यार्थीहरूलाई जिस्काउँछन्‌ र तुच्छ ठान्छन्‌।” तान्या पनि त्यस्तै कुरा बताउँछिन्‌: “स्कूलमा कोही कोही छात्रछात्राले खुलेआम यसो भनेको सुनेकी छु: ‘तिनीहरूभन्दा म ठूलो छु।’ ” सं.रा.-मा गरिएको एउटा सर्वेक्षणमा झन्डै आधी व्यक्‍तिहरूले व्यक्‍तिगत तवरमा गत वर्ष कुनै न कुनै तरिकामा जातीय पूर्वाग्रह भोगेको कुरा बताए। नताशा नाउँ गरेकी केटी भन्छिन्‌: “मेरो स्कूलमा अत्यन्तै जातीय भेदभाव गरिन्छ।”

अब मानी लिनुहोस्‌, तपाईं यस्तो ठाउँ वा इलाकामा बस्नुहुन्छ जहाँ थुप्रै आप्रवासीहरू ओइरिरहेका छन्‌ र यसले गर्दा तपाईंको स्कूल, छिमेक वा मसीही मण्डलीको रूपै बेग्लै भइरहेको छ। यसो हुँदा के तपाईं अलि अप्ठ्यारो महसुस गर्नुहुन्छ? गर्नुहुन्छ भने तपाईंलाई जातीय घमण्डले निकै प्रभाव पारिरहेको छ।

उचित र अनुचित घमण्ड

के यसको मतलब घमण्ड गर्नु नै खराब कुरा हो त? त्यसो होइन। बाइबलले बताएअनुसार उचित घमण्ड पनि छ। प्रेरित पावलले थिस्सोलोनिकीका मसीहीहरूलाई यसप्रकार लेखे: “हामी आफै पनि तिमीहरूमा घमण्ड गर्छौं।” (२ थिस्सलोनिकी १:४) त्यस्तैगरि, केही हदसम्म आत्मसम्मान हुनु स्वास्थ्यकर र स्वाभाविक हो। (रोमी १२:३) तसर्थ, आफ्नो जात, परिवार, भाषा, वर्ण वा जन्मस्थलबारे केही हदसम्म घमण्ड गर्नु गलत होइन। निश्‍चय पनि त्यस्ता कुराहरूबारे हामी लज्जित भएको परमेश्‍वर चाहनुहुन्‍न। प्रेरित पावललाई मिश्री अपराधी भन्ठान्दा तिनी यसो भन्‍न हिचकिचाएनन्‌: “म ता सिलिसियाको शहर टार्ससको एक यहूदी मानिस पो हुँ, सानो-तिनो शहरको बासिन्दा होइनँ।”—प्रेरित २१:३९.

तथापि, आत्मसम्मानलाई बढ्‌तै महत्त्व दिंदा वा अरूलाई तुच्छ जातिको रूपमा हेर्न थाल्दा भने जातीय घमण्डले डरलाग्दो रूप लिन थाल्छ। बाइबल यसो भन्छ: “परमेश्‍वरको भय मान्‍नु दुष्टतालाई घृणा गर्नु हो, अभिमान, अहंकार, खराब चाल, भड़काउने कुराहरू, यी सबैलाई म घृणा गर्छु।” (हितोपदेश ८:१३) अनि हितोपदेश १६:१८ यसो भन्छ: “नाशको अघि अहंकार र पतनको अघि अभिमान आउँछ।” अतः परमेश्‍वरसामु ठूलो जातको भनेर घमण्ड गर्नु खराब कुरा हो।—याकूब ४:१६ तुलना गर्नुहोस्‌।

जातीय घमण्डको सुरुआत

मानिसहरू के कारणले आफ्नो जातबारे बढ्‌तै घमण्ड गर्छन्‌? लिज फुन्डरबर्गद्वारा लिखित अश्‍वेत, श्‍वेत, अन्य (अंग्रेजी) नामक पुस्तक यसो भन्छ: “प्रायजसो मानिसहरूले सुरुमा आफ्ना आमाबाबु र परिवारबाट जातका कुराहरू (त्यो छाप अमेट हुन्छ) सिक्छन्‌।” दुःखको कुरा, प्रायजसो आमाबाबुले अरू जातबारे असन्तुलित वा बांगोटेढो कुरा बताएका हुन्छन्‌। केही युवाहरूलाई आमाबाबुले सीधै तिनीहरूको जात अरूको भन्दा ठूलो अनि अरू जातका मानिसहरू भिन्‍नै वा तुच्छ हुन्‌ भनेका हुन्छन्‌। तर प्रायजसो आमाबाबुको आफ्नो बाहेक अरू जातका मानिसहरूसित कुनै सम्पर्क नै नभएको केटाकेटीले देखेका हुन्छन्‌। यसले पनि तिनीहरूको सोचाइमा निकै प्रभाव पार्नसक्छ। लुगाफाटो वा संगीतबारे किशोरकिशोरी र आमाबाबुबीच कुरा नमिले तापनि जातको सन्दर्भमा चाहिं अधिकांश युवाहरूको विचार आमाबाबुको जस्तै भएको सर्वेक्षणहरूले देखाउँछन्‌।

छलछाम वा दुर्व्यवहारको शिकार हुँदा पनि कुनै जातप्रति असन्तुलित दृष्टिकोण विकास हुनसक्छ। (उपदेशक ७:७) उदाहरणका लागि, प्रशिक्षकहरूले अल्पसंख्यक समूहका बच्चाहरूमा आत्मसम्मानको कमी महसुस गरेका छन्‌। यस्तो हुन नदिने प्रयासमा केही प्रशिक्षकहरूले छात्रछात्राहरूलाई तिनीहरूको जातको इतिहासबारे सिकाउने तालिका पनि पाठ्यक्रममा समावेश गरेका छन्‌। चाखलाग्दो कुरा के छ भने यसरी जातीय घमण्डमा जोड दिंदा जातिवादलाई झन्‌ बढावा दिइरहेको हुन्छ भनी समालोचकहरू तर्क गर्छन्‌।

व्यक्‍तिगत अनुभवले गर्दा पनि कुनै जातबारे नकारात्मक मनोवृत्ति विकास हुनसक्छ। अरू कुनै जातको मानिससितको भेटघाट रमाइलो भएको थिएन भने त्यो जातका सबै मानिसहरू नै खराब वा हठी हुन्छन्‌ भन्‍ने निष्कर्षमा पुगेको हुनसक्छ। जातीय झै-झगडा, प्रहरी क्रूरता र विरोध जुलुसहरूमा आमसञ्चार माध्यमले ध्यानकेन्द्रित गर्दा वा कुनै जातीय समूहलाई नकारात्मक ढंगमा प्रस्तुत गर्दा पनि नकारात्मक भावनाहरू पलाउनसक्छन्‌।

जातीय श्रेष्ठताबारे मिथ्या

कोही मानिसहरूले अरू जातभन्दा आफ्नो जात ठूलो भन्‍ने दाबीबारे के भन्‍न सकिन्छ नि? प्रथमतः मानिसहरूलाई छुट्टाछुट्टै जातमा विभाजन गर्न सकिन्छ भन्‍ने विचार नै शंकास्पद छ। यसबारे न्युजवीक-को एउटा लेखले यस्तो रिपोर्ट गर्छ: “जातिसम्बन्धी अनुसन्धान गर्ने व्यक्‍तिहरूले जाति भनेको कुनै ठोस परिभाषा दिन नमिल्ने जटिल विषय भनेर महसुस गरेका छन्‌।” हो, “छालाको रंग, कपालको बनौट र आँखा वा नाकको आकारमा धेरै भिन्‍नता” होला। तथापि, न्युजवीक-ले भन्यो “यी भिन्‍नताहरू सतही हुन्‌। अनि वैज्ञानिकहरूले जति नै प्रयास गरे तापनि एउटा जातिलाई अर्को जातिबाट छुट्याउने कुनै उल्लेखनीय भिन्‍नता पाउन सकेका छैनन्‌। . . . यस क्षेत्रमा काम गरिरहेका वैज्ञानिकहरूले यस्तो सार निकालेका छन्‌, जाति भनेको केवल ‘सामाजिक विचारधारा’ हो र त्यो पनि पूर्वाग्रह, अन्धविश्‍वास र मिथ्याको [भ्रष्ट] समिश्रण हो।”

वैज्ञानिक तवरमा जातहरूबीच भिन्‍नता छुट्याउनसके तापनि “शुद्ध” जातको धारणा मिथ्या मात्र हो। द न्यु इनसाइक्लोपीडिया ब्रिटानिका यस्तो टिप्पणी गर्छ: “शुद्ध जात भनेको छँदै छैन; अहिले भएका सबै जातहरू छ्यासमिस हुन्‌।” कुरा जस्तै भए पनि परमेश्‍वरले “एउटै मानिसबाट हरेक जातिलाई बनाउनुभयो” भनी बाइबलले सिकाउँछ। (प्रेरित १७:२६) छालाको रंग, कपालको बनौट वा मुखको आकृति जस्तै भए पनि संसारमा एउटै मात्र जाति छ। त्यो हो, मानवजाति। सबैको पुर्खा आदम भएकोले हामी सबै नातेदारहरू हौं।

पुरातन यहूदीहरूलाई पनि सबै जातिको सुरुआत एउटै मानिसबाट भएको भनी राम्ररी थाह थियो। यद्यपि, मसीही भइसकेपछि पनि कसै कसैले गैरयहूदीहरू सँगी विश्‍वासीहरूभन्दा पनि उच्च हो भन्‍ने विचार राखे। जातीय श्रेष्ठतासम्बन्धी मत भिन्‍नतालाई प्रेरित पावलले साम्य पारे। यसबारे रोमी ३:९ मा यस्तो रेकर्ड गरिएको छ: “यहूदीलाई र ग्रीकलाई पनि, सबका सब पापमनि छन्‌।” अतः कुनै पनि जातीय समूहले परमेश्‍वरसित विशेष सम्बन्ध भएको घमण्ड गर्नसक्दैन। वास्तवमा, येशू ख्रीष्टमाथि विश्‍वास राखेर मात्र व्यक्‍तिविशेषहरूले परमेश्‍वरसित सम्बन्ध गाँस्न सक्छन्‌। (यूहन्‍ना १७:३) अनि “सबै मानिसहरूले उद्धार पाऊन्‌ र तिनीहरू सत्यको ज्ञानमा आऊन्‌ भन्‍ने” परमेश्‍वर इच्छा गर्नुहुन्छ।—१ तिमोथी २:४.

परमेश्‍वरसमक्ष सबै जात समान छ भनी मानी लिएपछि तपाईंले आफू र अरूबारे राख्नुहुने विचारधारामा आमूल परिवर्तन आउनसक्छ। यसले अरू व्यक्‍तिहरूलाई सम्मान र इज्जतका साथ व्यवहार गर्न साथै तिनीहरूको भिन्‍नतालाई मूल्यांकन र सराहना गर्न प्रेरित गर्नसक्छ। उदाहरणका लागि, माथि उल्लिखित मेलीसा आफ्ना साथीहरूको लहैलहैमा लागेर अलि अर्कै ढंगमा बोल्ने साथीहरूलाई जिस्क्याउँदिनन्‌। तिनी भन्छिन्‌: “म दुइटा भाषा बोल्ने मानिसहरूलाई बुद्धिमान्‌ ठान्छु। अर्को भाषा बोल्न मन लागे तापनि एउटा भाषा मात्र बोल्नसक्छु।”

अनि यो पनि स्मरण रहोस्‌, जसरी तपाईं आफ्नो जात र संस्कृतिबारे घमण्ड गर्न सक्नुहुन्छ, त्यसरी नै अरू जातका मानिसहरूसित पनि घमण्ड गर्ने थुप्रै कारणहरू छन्‌। अनि तपाईंको संस्कृति र तपाईंको पुर्खाका कामहरूबारे केही मात्रामा घमण्ड गर्नु व्यवहारिक भए तापनि आफूले व्यक्‍तिगत तवरमा प्रयास तथा मेहनतद्वारा सम्पन्‍न गरेका कामकुरामा घमण्ड गर्दा अझ सन्तोषजनक हुन्छ। (उपदेशक २:२४) वास्तवमा भन्‍ने हो भने बाइबलले हामीलाई एउटा उपलब्धिको घमण्ड गर्न चाहिं आग्रह गर्छ। यर्मिया ९:२४ मा उल्लेख गरेझैं परमेश्‍वर स्वयं यसो भन्‍नुहुन्छ: “जसले घमण्ड गर्छ त्यसले यसो भनेर घमण्ड गरोस्‌ ‘म परमप्रभुलाई बुझ्दछु, चिन्दछु औ उहाँनै परमप्रभु हुनुहुन्छ, जसले पृथ्वीमा दया, इन्साफ र धार्मिकताको व्यवहार गर्नुहुन्छ। किनभने यिनै कुरामा म प्रसन्‍न हुन्छु।’ ” के तपाईं त्यस्तो घमण्ड गर्न सक्नुहुन्छ?

[पृष्ठ २६-मा भएको चित्र]

जातिहरूबारे परमेश्‍वरको दृष्टिकोण बुझ्दा अरू जातका मानिसहरूको संगतिबाट आनन्द उठाउन मदत पाइन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने