हाम्रै छेउछाउमा डल्फिन
अष्ट्रेलियाका ब्यूँझनुहोस्! संवाददाताद्वारा
यसलाई गहिराइ नभएको उष्ण पानी मन पर्छ, चाहे त्यो नूनिलो वा स्वच्छ, धमिलो वा सफा होस्। यो भारतको बंगाल खाडीदेखि माले प्रायद्वीपसम्म लिएर उत्तर अष्ट्रेलियासम्म पाइन्छ।
यो जनावर अष्ट्रेलियाको उत्तरी तटमा सबैभन्दा धेरै पाइने भए तापनि थोरै मानिसहरूले र अझ विशेषगरि अष्ट्रेलियालीहरूले कहिल्यै इरावाडी डल्फिनबारे सुनेका वा देखेका छैनन् होला। के यो छक्कलाग्दो होइन र? हो पनि, होइन पनि।
जीवशास्त्री जोन एन्डरसनले १९ औं शताब्दीमा म्यानमारको (त्यतिबेला बर्मा) इरावाडी नदीमा नीलो-खरानी रंगको यी जनावरहरूको एक हूल देखे। यस जनावरको थुतुनो थिएन तर टाउको गोलो थियो। तिनले ती डल्फिनलाई इरावाडी नाउँ दिए।
किन फाट्टफुट्ट मात्र देखिन्छ
इरावाडीहरू गर्मी र आद्र तटवर्ती क्षेत्र, नदीमुख र नदी किनारहरूमा फस्टाउँछन्। तिनीहरूको घर प्रायजसो धमिलो पानी, मानग्रोभ्स, जंगल, स्याउँस्याउँती लामखुट्टे भएको ठाउँ अनि कहीं कहीं त आसपासमा गोही समेत हुन्छ। यी पक्कै पनि मानिसहरूलाई जाऊँ जाऊँ लाग्ने ठाउँहरू होइनन्।
यी इलाकाहरूमा पानी पनि साधारणतया धमिलो हुने हुँदा डल्फिनले सास फेर्न माथि टाउको निकाल्दा मात्र त्यसलाई देख्न सक्नुहुन्छ। तर अझै पनि पूरा जीउ त देखिंदैन। ढाड पनि अलिकति मात्र देखिन्छ र यसको पछाडि पाताको पखेटा अरू डल्फिनहरूको दाँजोमा सानो हुन्छ।
तर कुनै कुनै ठाउँमा इरावाडी डल्फिनहरू जताजतै देखिन्छन्। म्यानमारको इरावाडी नदी र एसियाका अन्य नदीहरूमा नाउ चलाउने माझी तथा जहाज चालकहरूले यसलाई अक्सर आहार खोजिरहेको र खुसीले उन्मत्त भएर नाचिरहेको अनि कहिलेकाहीं त मुखबाट पचकाले जस्तै पानीको फोहरा निकालिरहेको पनि देखिन्छ वा पानी बगैंचामा स-सानो आकार निकालेर खेलिरहेको जस्तै देख्छन्।
अष्ट्रेलियामा इरावाडीहरू पश्चिमी तट हुँदै महाद्वीपको माथिल्लो भाग वरिपरि र तल पूर्वी तटसम्म पाइन्छन्। अक्सर तिनीहरू छवटा वा त्योभन्दा कमको संख्यामा देखिन्छन् तर कहिलेकाहीं चाहिं १५ वटा सम्म देखिन्छन्। अष्ट्रेलियामा पाइने इरावाडीहरूले आफ्ना एसियाली बन्धुहरूले जस्तो पानीको फोहराको नक्कल गरेको कहिल्यै देखिएको छैन।
के यो डल्फिन हो?
इरावाडीहरू जमिन नजिकै बस्छन् र सफा नीलो पानीमा बस्ने जाँगरिला नातेदारहरूभन्दा ती पौडी खेल्नमा अलि सुस्त हुन्छन्। तैपनि, वैज्ञानिकहरूलाई तिनीहरूबारे अध्ययन गर्न गाह्रो भएको छ। एउटा मुख्य कारण त तिनीहरू बस्ने अनाकर्षक ठाउँ पनि हो। तथापि, जीवित इरावाडीहरूबारे इन्डोनेसिया, जर्कातामा जया अंकोल ओसेनेरियममा अध्ययन गर्न सम्भव भएको छ।
इरावाडीहरूबारे राम्रो ज्ञान नभएकोले हालसालै सम्म पनि वैज्ञानिकहरू तिनीहरू ह्वेल-डल्फिन परिवारमा पर्छन कि पर्दैनन् भन्नेबारे अन्योलमा थिए। डल्फिनसित तिनीहरूको धेरै कुरा मिल्छ। यद्यपि, तिनीहरूको रंग (तिनीहरू गाढादेखि हल्का खरानी रंगका हुन्छन्) होइन आकारप्रकार मिल्छ। तिनीहरू झन्डै झन्डै आर्कटिक बेलूगा ह्वेल वा सेतो ह्वेल जस्ता देखिन्छन्। तिनीहरूका अत्यन्तै लचकदार घाँटीसमेत बेलूगाको जस्तै छ। त्यसोभए तिनीहरू के हुन् त? भूमध्यसागरमा पाइने बेलूगाजस्तै हुन् वा साँच्चै डल्फिन हुन्?
उदाहरणस्वरूप भन्ने हो भने तिनीहरू वास्तवमा के हुन् भनी थाह पाउन तिनीहरूको बृहत् शरीररचना र जनन गुनहरू तुलना गर्नसक्छौं र कहाँतिर बढी ढल्किन्छ हेर्नसक्छौं। यो धेरै त डल्फिनतिर नै ढल्किन्छ।
इरावाडीबारे थाह भएका धेरथोर कुराहरू
इरावाडीको भुरा जन्मिदाँ एक मिटर लामो पनि हुँदैन र वजन झन्डै १२ किलोग्राम हुन्छ। वयस्क भालेहरू लगभग २.७५ मिटर जति लामा हुन्छन् र पोथी चाहिं त्योभन्दा अलि साना हुन्छन्। तिनीहरू २८ वर्षसम्म बाँच्नसक्छन्।
मरेको इरावाडीको पेटमा स्क्वीड, स्रीम्प, झिंगेमाछा र विशेषगरि नदीको पींधमा पाइने माछा पाइयो। केही वैज्ञानिकहरूअनुसार एसियाली डल्फिनहरूले पचकाले जस्तै मुखबाट पानी निकाल्ने हुँदा धमिलो पानीमा पनि सजिलै माछा समात्नसक्छन्।
इरावाडीले पनि अरू डल्फिनहरूले जस्तै स्पष्ट तीखो आवाज निकाल्छ। ट्रपिकल क्वीन्सल्याण्ड संग्रहालयका डा. पिटर आर्नोल्डले ब्यूँझनुहोस्!-लाई यसो भने, “जया अंकोल ओसेनेरियममा गरिएको अध्ययनअनुसार इरावाडीहरूले पनि अरू डल्फिनहरूले जस्तै आहार समात्न सम्भवतः प्रतिध्वनि हुने तीखो आवाज निकाल्छन्।”
यसको भविष्य कस्तो छ?
संसारभरि कतिवटा इरावाडी छन् भनेर वैज्ञानिकहरूले अनुमानै लगाउन सकेका छैनन्। तर तिनीहरू लोप हुने अवस्थामा छन् भन्ने चिन्ता व्यक्त गरिएको छ। दक्षिणपूर्वी एसियाका केही भागहरूमा तिनीहरूको संख्या घट्दैछ र अरू भागहरूमा त तिनीहरू पूरै लोप भइसकेका छन्।
यो अक्सर वन फडानी र त्यसबाट उत्पन्न प्रदूषण तथा नदीहरूमा माटो थेग्रिनुले भएको हो। अष्ट्रेलियामा इरावाडी बस्ने प्रायजसो इलाकाहरू मानिसहरूद्वारा त्यति अतिक्रमण हुन पाएका छैनन्। तर पूर्वी तटका आकर्षक इलाकाहरूमा शहरीकरण र पर्यटनले ती इरावाडीहरूलाई प्रतिकूल असर पार्न थालेको छ। केही इरावाडीहरू माछा मार्ने जालमा अल्झन्छन् भने कोही समुद्र किनारमा पौडी खेल्नेहरूलाई सार्कबाट बचाउन राखिएको जालहरूमा फस्छन्। ठूलो परिणाममा माछा मार्दा पनि इरावाडीहरूको संख्या घट्छ किनभने इरावाडीको प्रमुख खानाको स्रोत माछा हो।
तर सबैभन्दा ठूलो खतरा त नदी तथा नदीमुखमा बढ्दो प्रदूषण हो। अत्यधिक खराब चाहिं वातावरणबाट हतपती नहराउने क्लोरिनको मात्रा धेरै भएको बाइफिनाइलजस्ता (PCBs) सिन्थेटिक जैविक पदार्थ हुन्। PCBs इलेक्ट्रोनिक पाटपूर्जा, रंग, लुब्रिकेन्ट, धातुका वस्तुहरूमा लाइने लेपमा तथा अन्य उत्पादनहरूमा प्रयोग गरिन्छ।
सकारात्मक पक्षमा, अष्ट्रेलियाली प्रकृति संरक्षण निकायले अष्ट्रेलियाली जलजीवको निम्ति कार्य योजना (अंग्रेजी) नामक प्रतिवेदनले यस्तो उल्लेख गऱ्यो: “[इरावाडी डल्फिन] पाइने प्रायजसो इलाका क्वीन्सल्याण्ड ग्रेट ब्यारियर रिफ मरिन पार्क व्यवस्थापन अन्तर्गत पर्छ। तसर्थ, क्वीन्सल्याण्डमै ती इरावाडीहरूको संरक्षण गर्न सकिने सम्भावना धेरै छ।”
उक्त निकायले व्यवस्थापन कार्य अझ सुदृढ बनाउन कुप्रे ह्वेल, सर्दन राइट ह्वेल र नाकचुच्चे डल्फिनका साथसाथै यस इरावाडीलाई पनि जनचेतना कार्यक्रमहरूमा महत्त्वपूर्ण जातिको रूपमा राखियोस् भन्ने सुझाउ दिन्छ। यसो गर्दा लाभ इरावाडीलाई मात्र होइन हामीलाई पनि हुन्छ।
[पृष्ठ २१-मा भएको चित्रको स्रोत]
तस्बिरहरू: साभार डा. टोनी प्रीन