अविश्वसनीय जम्काभेट
“मैले जीवनमा गरेका कुराहरूमध्ये सबैभन्दा चाखलाग्दो कुरा थियो!” क्रिष्टीले आफ्नो अविश्वसनीय जम्काभेटबारे भनिन्। मेक्सिकोको खाडीमा डल्फिनहरूसित पौडन पाउनुभएको भए के तपाईं पनि यस्तै महसुस गर्नुहुन्थ्यो?
डल्फिनले पौडेको वा पुच्छरको भरमा पछिल्तिर हिंडेको, अचम्मलाग्दो गरी धेरै माथिसम्म बुर्लुक्क उफ्रेको वा मानिसहरूलाई आफूमाथि बुइ चढ्न दिएको जस्ता पानीमा गरेको कलाबाज हेरेर सबै रोमाञ्चित हुन्छन्। यी कार्यक्रमहरू हेरेर मात्रै पनि एक व्यक्ति पानीमा पसेर यी डल्फिनहरूसित खेल्न चाहन्छन्।
क्रिष्टी सधैं त्यस्तो महसुस गर्ने गर्थिन्। अनि एक दिन मेक्सिको खाडीमा नाउ ख्याउँदै र पौडँदै गरेको बेला तिनीअघि एक्कासि एउटा टाउको टुक्क देखा पऱ्यो। केही बेरमै तीनवटा जिज्ञासु डल्फिनहरूले खेल्न एउटा साथी पायौं भन्ठानेजस्तै देखिन्छ। सुरुमा त क्रिष्टीलाई अलि डर लागेको थियो तर घुलमिल हुँदा ती डल्फिनहरूप्रतिको डर त उत्तेजनामा परिवर्तन भयो। अब ती डल्फिनहरूले के गर्छन्, त्यो हेर्न तनाउमुक्त भई परिस्थिति तिनीहरूको हातमा सुम्पिदिइन्।
क्रिष्टी भन्छिन्: “एउटा डल्फिन मअघि आफ्नो टाउको टुक्क निकाल्थ्यो र हामी हेराहेर गर्थ्यौं। आफ्नो कुकुरलाई म जसरी मुसार्ने गर्थें र ऊसित जसरी कुरा गर्थें, त्यो डल्फिनसित पनि त्यसै पो गरिरहेकी रहेछु।”
डल्फिनहरूको बुद्धिले गर्दा तिनीहरू प्रसिद्ध मनोरञ्जकहरू भएका हुन्। यसका साथै डल्फिनहरू मानिसहरूप्रति मित्रैलो हुने भएकोले चटक देखाउन लगाउन तिनीहरूलाई घूसको रूपमा खाना दिनुपर्दैन भनेर धेरैजसो प्रशिक्षकहरू भन्छन्।
डल्फिनहरूसित काम गर्दा सबैभन्दा रमाइलो कुरा के हो भनेर सोध्दा सं.रा.अ.-स्थित फ्लोरिडाको सी वर्ल्डकी जीव आचरणविद् लिज मोरिस भन्छिन्: “मेरो विचारमा त्यो तिनीहरूको स्वभाव हो। तिनीहरू स्वभावैले जीवन्त र जिज्ञासु भएकोले तपाईं साँच्चै तिनीहरूसित घनिष्ठ सम्बन्ध कायम राख्नसक्नुहुन्छ . . . स्पर्श गर्दा र स्नेह देखाउँदा तिनीहरू अनुकूल प्रतिक्रिया व्यक्त गर्छन्।” परमेश्वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसारमा हामीहरू सबैले क्रिष्टीले जस्तै अविश्वसनीय जम्काभेटहरू गर्न पाउनेछौं।