बाइबलको दृष्टिकोण
के प्रेतहरू साँच्चै छन्?
युरोपभरि १७ औं र १८ औं शताब्दीको दौडान बोक्सीहरू विरुद्ध सतावटको लहर नै चल्यो। थुप्रै तथाकथित बोक्सीहरूले घोर यातना भोगे। लाञ्छना लगाइएका कोही कोहीले यातनाबाट मुक्त हुनको निम्ति मात्रै पनि बोक्सीविद्यामा लागेको स्वीकारे। हल्ला वा शंकाको भरमा मात्र असंख्य मानिसहरूलाई मारियो।
प्रेतवादको एउटा रूप बोक्सी विद्या विरुद्ध त्यस समयमा गरिएका कार्यहरू स्पष्टतया धर्मशास्त्रमा आधारित भए तापनि ती पक्कै कट्टर विचारधाराको नतिजा थिए। बोक्सीहरू वा अरू कुनै प्रकारको प्रेतवादी प्रचलनहरूसित सम्मिलित मानिसहरूलाई सास्ती वा ज्यान सजाय दिने जिम्मेवारी मसीहीहरूलाई दिइएको छैन। (रोमी १२:१९) आज कस्तो मनोवृत्ति व्याप्त छ नि?
हल्का मनोवृत्ति
आज मसीहीजगत्का थुप्रै मानिसहरूले प्रेतवादी प्रचलनहरूलाई गम्भीरतापूर्वक लिंदैनन्। खुलदुली लागेर कसै कसैले ज्योतिषविद्या, जादूगरी, भावी बताउने र बोक्सीविद्यामा चासो लिनसक्छन् तर तिनीहरूले तन्त्रमन्त्र अभ्यासलाई प्रेतवाद ठान्दैनन्। कहिलेकाहीं मनोरञ्जनकर्ता, खेलाडी तथा राजनीतिज्ञहरूले तन्त्रमन्त्र गरेको खुल्लमखुल्ला स्वीकार्छन्। केही पुस्तक तथा चलचित्रहरूले बोक्सी तथा जादूगरहरूलाई “आकर्षक, अलि असामान्य व्यक्तिको” रूपमा चित्रण गर्छन् “जसको अलौकिक क्रियाकलापले कसैलाई कुनै हानि गर्दैन” भनी एउटा इनसाइक्लोपीडियाले बताउँछ। बच्चाहरूको मनोरञ्जन तथा शिक्षाको निम्ति बनाइएका चीजबीजहरूले पनि तन्त्रमन्त्रका विषयवस्तुलाई बढावा दिनसक्छन्।
प्रेतवादप्रति त्यस्तो फितलो तथा हल्का मनोवृत्तिले गर्दा प्रेतहरूको अस्तित्वबारे नै विश्वास नलाग्नसक्छ। प्रेतहरू छन् र हाम्रो नोक्सान गर्न सक्रिय छन् भनी के तपाईं विश्वास गर्नुहुन्छ? आखिरमा आज थुप्रै मानिसहरू आफू कहिल्यै प्रेतहरूको सम्पर्कमा नआएको वा तिनीहरूको गतिविधि नदेखेको कुरा बताउँछन्। के प्रेतहरू साँच्चै छन्?
अविश्वासले अन्योल खडा गर्छ
बाइबलमाथि विश्वास गरेको दाबी गर्ने तर प्रेतहरू साँच्चै छन् भन्नेबारे चाहिं शंका गर्ने मानिसहरू अन्योलमा पर्छन्। तिनीहरूले प्रेतहरू साँच्चै छन् भनी पत्याउँदैनन् भने तिनीहरूको बाइबलमा गहिरो विश्वास नभएको देखिन्छ। किन? किनभने अलौकिक शक्ति भएका दुष्टात्माबारे परमेश्वरको वचन बाइबलमा बताइएको छ।
बाइबलको पहिलो पुस्तक उत्पत्तिमा एक बुद्धिमान् प्राणीले सर्प चलाएर कसरी हव्वालाई छकायो र कसरी परमेश्वर विरुद्ध विद्रोह गर्न लगायो भनी बताइएको छ। (उत्पत्ति ३:१-५) बाइबलको अन्तिम पुस्तक प्रकाशमा त्यस दुष्ट छलीलाई “वृद्ध साँप दियाबल र शैतान . . . सारा संसारलाई ठग्ने” भनी चिनाइएको छ। (प्रकाश १२:९) शैतानले अरू स्वर्गदूतहरूलाई पनि विद्रोह गर्न फुस्ल्यायो। (यहूदा ६) बाइबलमा यी पतित स्वर्गदूतहरूलाई प्रेतहरू भनिएको छ। तिनीहरूले आफ्नो कार्य पृथ्वीकै आसपासबाट गर्छन् साथै तिनीहरू परमेश्वर र उहाँलाई सेवा गर्नेहरूसित आक्रोसित छन्।—प्रकाश १२:१२.
शैतान अनि त्यसका प्रेतहरूसित मानिसहरूमाथि प्रभुत्व जमाउने, हानि गर्ने तथा कुरा गर्ने शक्ति छ। (लूका ८:२७-३३) तिनीहरूले हजारौं वर्षदेखि मानव स्वभावबारे अध्ययन गर्दै आएका छन्। तिनीहरूलाई मानव कमजोरीहरूको फाइदा उठाउने तरिका थाह छ। भूत लागेको वा पुरुष, स्त्री तथा बच्चाहरूलाई पूर्ण नियन्त्रणमा राखेका घटनाहरू पनि बाइबलमा लिपिबद्ध छन्। (मत्ती १५:२२; मर्कूस ५:२) तिनीहरूले रोग वा अन्धोपन जस्ता शारीरिक बिगार पनि गर्नसक्छन्। (अय्यूब २:६, ७; मत्ती ९:३२, ३३; १२:२२; १७:१४-१८) तिनीहरूले मानिसहरूको मन पनि अन्धो तुल्याई दिनसक्छन्। (२ कोरिन्थी ४:४) “कसलाई भेट्टाऊँ र निलिहालूँ भनेर गर्जने सिंहझैं” हिंड्ने शैतानजस्तै ती प्रेतहरू सक्रिय छन्। (१ पत्रुस ५:८) प्रेतहरूको अस्तित्वबारे बाइबलमा थुप्रै विवरणहरू लिपिबद्ध गरिएका छन्। तपाईं यदि बाइबलमा विश्वास गर्नुहुन्छ भने अदृश्य दुष्ट प्राणीहरू साँच्चै छन् भनेर पनि स्वीकार्नुहुन्छ।
दुष्ट ठगहरू
तर आज संसारमा कुनै आतंक नमच्चाई कसरी त्यस्ता शक्तिशाली प्रेतहरू अस्तित्वमा हुनसक्छन्? तिनीहरूको अस्तित्व र कार्य किन त्यस्तो प्रत्यक्ष नभएको? बाइबल यस्तो जवाफ दिन्छ: “शैतान पनि आफैलाई ज्योतिर्मय स्वर्गदूतहरूको भेषमा परिवर्त्तन गर्दछ।” (२ कोरिन्थी ११:१४) दियाबल ठग हो। प्रेतवादी क्रियाकलाप अक्सर अहानिकारक वा लाभदायी जस्तो देखाइन्छ। तसर्थ, चिन्न गाह्रो छ।
बाइबल समयमा झैं आज पनि शैतान अनि त्यसका प्रेतहरूले विभिन्न तरिकामा मानिसहरूलाई दुःख दिइरहन्छन्। अहिले साँचो मसीही भएका कोही कोही कुनै समय तन्त्रमन्त्र गर्थे। तिनीहरूले ती भयावह प्रेत आक्रमणहरूबारे पुष्टि दिनसक्छन्। आज सायद पहिलेभन्दा अझ बृहत् रूपमा प्रेतहरूले आफ्ना अलौकिक शक्तिहरू चलाएर मानिसहरूलाई प्रत्यक्ष ढंगमा तन्त्रमन्त्र गर्न फुस्ल्याइरहेका छन्। तिनीहरूको शक्तिलाई हल्कासित लिनु हुँदैन। तथापि, मानिसहरूलाई परमेश्वरबाट टाढा राख्न तिनीहरूले तर्साएरभन्दा लोभ्याएर बढी सफलता पाएका छन्। शैतान अनि त्यसका प्रेतहरूले ‘सारा संसारलाई ठगिरहेका’ छन् भनी बाइबल बताउँछ। (प्रकाश १२:९) छली तथा कपटपूर्ण ढंगमा आध्यात्मिकतालाई खोक्रो बनाउन तिनीहरू तल्लीन छन्।
प्रेतहरू साँच्चै छन्। त्यसो नहुँदा हुन् त आज मानिसहरूमा रगत र विनाशको त्यतिबिघ्न प्यास किन? मानवहरू स्वाभाविकतः सुख अनि शान्तिसित बस्न चाहन्छन्। तर प्रेतहरूले खराब कुराको बढावा गर्छन् र तिनीहरूमा मानव मनलाई गोलमाल तथा भ्रष्ट पार्ने शक्ति छ।
तैपनि, यहोवा सर्वोच्च परमेश्वर हुनुहुन्छ। उहाँ ती प्रेतहरूभन्दा कता हो कता शक्तिशाली हुनुहुन्छ। “शैतानका युक्तिहरूका विरुद्धमा” उहाँले हामीलाई आफ्नो शक्ति र सुरक्षा प्रदान गर्नुहुन्छ। (एफिसी ६:११-१८) हामी प्रेतहरूको डरले त्रसित हुनु पर्दैन किनभने परमेश्वरले यस्तो प्रतिज्ञा गर्नुभएको छ: “परमेश्वरको अधीनमा बस, शैतानको विरोध गर, अनि त्यो तिमीहरूबाट भाग्नेछ।”—याकूब ४:७.
[पृष्ठ १८-मा भएको चित्रको स्रोत]
Sipa Icono