प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ५/८ पृ. १५-१७
  • अर्थोडन्टिक्स—यसमा के समावेश छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अर्थोडन्टिक्स—यसमा के समावेश छ?
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • दन्तचिकित्साको एउटा शाखा
  • अर्थोडन्टिक्सले के गर्छ
  • उपचार कहिले थाल्ने?
  • केटाकेटीहरूका लागि मात्र होइन
  • उपचार अवधि र तरिकाहरू
  • के तपाईं दाह्रा किट्‌नुहुन्छ?
    ब्यूँझनुहोस्‌!—१९९८
  • डेन्टिस्टकहाँ किन जानुपर्छ?
    ब्यूँझनुहोस्‌!—२००७
  • स्वस्थ दाँत, मीठो मुस्कान
    ब्यूँझनुहोस्‌!—२००५
  • लिम्पेटको दाँतको बनावट
    सृष्टि या संयोग
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ५/८ पृ. १५-१७

अर्थोडन्टिक्स—यसमा के समावेश छ?

तपाईंका दाँतहरू कामलाग्दा छन्‌! तपाईंलाई खान र बोल्न दाँतहरू नभई हुँदैन। यसबाहेक, मुसुक्क हाँस्दा वा मुख खोलेर हाँस्दा पनि तिनीहरूको उत्तिकै महत्त्व छ।

बाँगाटिंगा दाँतहरूले गर्दा खाना चपाउन गाह्रो हुनसक्छ, गिजामा रोग लाग्नसक्छ र बोली अस्पष्ट हुनसक्छ। दाँत नराम्रो भएकोले हाँस्दा हिसी नपरेको देखिन्छु कि भन्‍ने भान पर्ने भएकोले कसै कसैलाई धक फुकाएर हाँस्न अप्ठेरो लाग्नसक्छ। फलतः सामाजिक तवरमा घुलमिल हुन पनि तिनीहरूलाई अप्ठ्यारो लाग्नसक्छ भनी विशेषज्ञहरू बताउँछन्‌।

तपाईंका दाँतहरू टम्म मिलेका छैनन्‌ भने के गर्न सकिन्छ? तपाईंलाई कसले मदत गर्नसक्ला? कुन उमेरमा? कुन उपचारविधि रोज्ने होला? उपचार गराउँदा दुख्ने पो हो कि? के उपचार गर्नैपर्छ?

दन्तचिकित्साको एउटा शाखा

माथि उल्लिखित त्यस्ता समस्याहरू समाधान गर्ने दन्तचिकित्साको शाखालाई अर्थोडन्टिक्स भनिन्छ। यसअन्तर्गत विभिन्‍न दन्तविकारहरू सुधारिन्छन्‌।

अर्थोडन्टिक्सअन्तर्गत के कस्ता उपचारहरू गरिन्छन्‌? यसमा विकार पत्ता लगाउनु र समस्याहरू हटाउनुका साथै विकार सुधार्ने उपकरणहरू तयार पारेर लगाउनु आदि गरिन्छन्‌।

उहिले उहिलेका मानिसहरूलाई पनि खप्टिएका, टम्म नमिलेका र उच्छिटिएका दाँतहरूले दुःख दिन्थे। सा.यु.पू. आठौं शताब्दीतिर यस्ता विकारहरू सुधार्ने प्रयास गरिएको देखिन्छ। आश्‍चर्यको कुरा, युनानी र एट्रुस्कानीहरूबारे खोजबिन गर्दा त्यो जमानामा पनि दाँतमा लगाउने तार प्रयोग गरिएको र ती तारहरू कुशलतासाथ तयार पारिएको पत्ता लगाइयो।

दन्तविकार विशेषज्ञहरूलाई अचेल अर्थोडन्टिस्ट भनिन्छ। यी विशेषज्ञहरूले बाँगाटिंगा दाँतहरूसित सम्बन्धित समस्याहरू उपचार गर्छन्‌। तिनीहरूलाई दाँतहरू उम्रने र बढ्‌ने तरिका अनि गिजा तथा वरपरका मांसपेशी र कोषहरूबारे पर्याप्त जानकारी छ।

अर्थोडन्टिक्सले के गर्छ

“बन्दै गरेको तथा बनिसकेको बंगारा तथा अनुहारको बान्की जाँच्ने, मिलाउने र सुधार्ने दन्तचिकित्सा” भनी अर्थोडन्टिक्सलाई परिभाषित गर्न सकिन्छ। यो, “दाँतहरू तथा अनुहारका हाडहरूलाई बल प्रयोग गरेर मिलाउनु र/अथवा खप्पर र अनुहारको जटिल बनोटलाई बल प्रयोग गर्दै सक्रिय पार्नु अनि फेरि काम गराउनु” हो। यो हो, अर्थोडन्टिक्सको पारिभाषिक तर सही विवरण।

अतः अर्थोडन्टिक्सअन्तर्गत व्यक्‍तिविशेषको समस्या तथा आवश्‍यकताअनुसार तयार पारिएका उपकरणहरू प्रयोग गरी दाँत तथा हाडलाईसमेत सही ठाउँमा मिलाउन दाँतहरू वा गिजामा बल लगाइन्छ।

दाँत वरपरको हाडमा ओस्टिओक्लास्ट र ओस्टिओब्लास्ट भनिने कोषहरू हुन्छन्‌। तारहरूले गर्दा बल पर्ने भएको हुँदा दबाब दिइएको भागमा ओस्टिओक्लास्ट सक्रिय हुनथाल्छ र यसरी हाडका कोषहरू मर्न थाल्छन्‌। तन्काइएको ठाउँलाई ओस्टिओब्लास्टले बनाएको नयाँ हाडले पुर्छ। यसप्रकार दाँतहरू बिस्तारै सर्न थाल्छन्‌।

मुखमा महिनौंसम्म तार, रेजिनजस्तो उपकरण र सायद इलास्टिक जस्ता बाह्‍य वस्तुहरू राख्दा असजिलो हुँदैन र? यी उपकरणहरू पहिलो पटक मिलाउँदा वा लगाउँदा अलि अप्ठ्यारो त हुन्छ नै तर केही समयपछि बानी पर्न थाल्छ। भनौं भने, दाँतमा तार लगाउँदा कसैलाई पनि अप्ठेरो नपर्नुपर्ने हो।

उपचार कहिले थाल्ने?

केटाकेटी छँदा चपाउन अप्ठेरो भयो वा दाँतहरू एकै ठाउँमा खुजमुजियो भन्दैमा हुर्केपछि पनि त्यस्तै भइरहन्छ भन्‍ने छैन। कुनै कुनै बाँगाटिंगा दाँतहरू आफै मिल्छन्‌। वास्तवमा, दूधे दाँत झरेर स्थायी दाँत आउने बेला नयाँ उम्रने स्थायी दाँतहरू पहिलेको दूधे दाँतभन्दा ठूला हुने भएकाले ती अगाडिका दाँतहरू अक्सर एकै ठाउँमा खाँदिन्छन्‌।

तथापि, दूधे बंगारा झरेपछि त्यसको ठाउँ दुइटा जरा भएको स्थायी दाँतले ओगट्‌न थाल्छ र सोहीअनुरूप दाँतहरू रहने ठाउँ साटिंदै जान्छ। दाँतहरू आ-आफ्नो ठाउँमा राम्ररी उम्रिए भने ती स्थायी दाँतहरू आफै टम्म मिल्दै जानसक्छन्‌। त्यसकारण, छोराछोरीको दाँत बाँगो भएर उम्रिरहेको देख्नुभयो भने नआत्तिनुहोस्‌, किनकि भर्खरै उम्रँदा दाँत बाँगाटिंगा जस्तै देखिन्छन्‌। केही गर्नु आवश्‍यक छ वा छैन, दन्तविशेषज्ञले बताउनेछन्‌।

कलिला केटाकेटीहरूको उपचार कुन उमेरमा सुरु गर्ने भन्‍नेबारे सबै दन्तविशेषज्ञहरूको एउटै मत छैन। कोही कोही बच्चा कलिलै छँदा (४-६ वर्षभित्रै) उपचार गर्नुपर्छ भन्छन्‌। कोही चाहिं स्थायी दाँतहरू सबै उम्रिएपछि किशोरावस्थामा (१२-१५ वर्षभित्र) उपचार गर्नुपर्छ भन्छन्‌। कतिपय चाहिं यी दुई उमेरबीच उपचार गर्नुपर्छ भन्‍ने धारणा राख्छन्‌।

केटाकेटीहरूका लागि मात्र होइन

अर्थोडन्टिक्स केटाकेटीहरूका लागि मात्र होइन। वयस्क भएपछि पनि बाँगाटिंगा दाँतहरूले उत्तिकै दुःख दिन्छन्‌। तपाईंका दाँतहरू तथा गिजा स्वस्थ छन्‌ भने जुनसुकै उमेरमा दाँत मिलाउन सकिन्छ।

बाँगाटिंगा दाँतहरूका कारण उब्जने समस्याहरू के हुन्‌? ती कम्तीमा पनि तीन प्रकारका छन्‌: (१) बाह्‍य रूपसम्बन्धी समस्या; (२) बंगारा चलाउन गाह्रो हुनु (दुख्नु तथा मांसपेशीहरूबीचको तालमेल नमिल्नु), चपाउन गाह्रो हुनु र बोली राम्ररी नफुट्‌नु अनि त्यस्तै अन्य समस्याहरू हुनु; (३) एकै ठाउँमा खुजमुजिएका दाँतहरूले गर्दा घाउ हुने सम्भावना बढी हुन्छ र गिजासम्बन्धी रोगहरू लाग्ने र दाँतमा कीरा लाग्ने खतरा पनि बढी हुनुका साथै दाँत झर्न तथा खिइनसक्छ।

यसबाहेक, डँडाल्नुको (विशेषगरि गर्धन वरपर) र शरीरका अन्य भागहरूको मांसपेशीमा समस्या हुँदा पनि दाँतहरू एकै ठाउँमा खुजमुजिनसक्ने कुरा केही विशेषज्ञहरू बताउँछन्‌। तर यसको उपचार कसरी गरिन्छ? अनि कतिञ्जेलसम्म उपचार गर्नुपर्छ?

उपचार अवधि र तरिकाहरू

तपाईं वा तपाईंको बच्चालाई दन्तविशेषज्ञकहाँ लैजानुपरेको छ भने भरपर्दो चिकित्सकलाई देखाउनुहोस्‌। उपचार अवधि र तरिकाहरू समस्याको प्रकृतिअनुसार फरक फरक हुन्छ तर उपचार गर्न केही महिना, सायद वर्षौं पनि लाग्नसक्छ।

सरल भाषामा भन्‍ने हो भने, उपचार उपकरणहरूलाई दुई समूहमा विभाजन गर्न सकिन्छ: अस्थायी उपकरण र स्थायी उपकरण। अस्थायी उपकरणलाई बिरामी आफैले झिक्नसक्छ तर स्थायी उपकरण दाँतैमा सिमेन्ट गरिन्छ। यसो गर्दा दाँत चलाउन असाध्यै गाह्रो हुन्छ।

अचेल यस्ता साधनहरू बनाइसकिएका छन्‌ कि थुप्रै “सक्कली” नै हो कि भन्‍ने भान पर्छ। कुनै कुनै त दुरुस्त दाँतकै रंगजस्तो हुने भएकोले झट्टै छुट्याउन पनि नसकिने हुन्छन्‌ र अन्य कतिपय जिब्रो नजिकै, नदेखिने ठाउँमा दाँतको भित्री पत्रमा जडान गरिन्छन्‌। यस्तो प्रविधिलाई अदृश्‍य अर्थोडन्टिक्स भनिन्छ।

तार लगाएर पनि दन्तविकार सुधार्न सकिएन भने अर्थोडन्टिस्टले मुख तथा अनुहारको समस्या हटाउन सम्बन्धित शल्यचिकित्सकको मदत लिनसक्छन्‌। अनि तिनले शल्यचिकित्साद्वारा अनुहारका हाडहरूलाई यताउता पारेर मिलाउनसक्छन्‌।

आजभोलि दन्तविशेषज्ञहरूले दाँत तथा बंगाराको समस्या हुने कैयौं मानिसहरूको उपचार गर्नुका साथै निर्धक्कसँग हाँस्न चाहनेहरूलाई दाँतको पीर गर्नै नपर्नेगरि खुलेर हाँस्नसक्ने बनाउनसकेका छन्‌। तथापि, अर्थोडन्टिक्स गराउने वा नगराउने त्यो व्यक्‍तिगत निर्णय हो।

अहिलेलाई मानिसजातिले आफ्ना शारीरिक खोटलाई सहेर बस्नुपर्छ जुनमध्ये कुनै कुनै खोट केही हदसम्म सुधार्न सकिए तापनि हामी परमेश्‍वरको नयाँ संसारको प्रतीक्षा गर्नसक्छौं। त्यसबेला उहाँले मुखलगायत सबै खोटहरू पूर्णतया र सदाका लागि हटाउनुहुनेछ। त्यसपछि, सिद्ध स्वास्थ्य हासिल गर्नसकिने त्यो नयाँ संसारमा भेटेजति सबैलाई हामी प्रत्येकले न्यानो र सुमधुर मुस्कानसहित स्वागत गर्नसक्ने छौं।

त्यतिखेरको समयबारे बाइबलले यसरी भविष्यवाणी गर्छ: “सारा पृथ्वीले विश्राम पाएको छ, र शान्त छ। तिनीहरू गाउनलागेका छन्‌।” (यशैया १४:७) हो, त्यतिबेला भने टम्म मिलेको दाँत देखाउँदै यस्तो गीत गाउन सकिनेछ!

[पृष्ठ १६-मा भएको चित्र]

(१) बंगारा पछिल्तिर धकेल्न र (२) बंगाराको वृद्धिलाई सक्रिय गर्न तयार पारिएका तारहरूको चित्र देखाइएका छन्‌

१

२

[पृष्ठ १६-मा भएको चित्र]

तल्ला र माथिल्ला दाँतहरू आपसमा ठप्प मिलोस्‌ भनेर तयार पारिएका तारहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने