मौसममा गडबड
हामीमध्ये धेरैजसो कुनै न कुनै प्रकारको कार्बनबाट निर्मित इन्धनमा निर्भर छौं। हामी पेट्रोल वा डिजेलले चल्ने गाडी चलाउँछौं। कोइला, प्राकृतिक ग्याँस तथा तेल खपत गर्ने विद्युत गृहहरूमा उत्पादित विद्युतको उपभोग गर्छौं। खाना पकाउन वा आगो ताप्न दाउरा, कोइला वा प्राकृतिक ग्याँस बाल्छौं। यी सबै गतिविधिहरूले वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा बढाउँछन्। यो ग्याँसले सूर्यबाट आएको तापलाई वायुमण्डलबाट उम्कन दिंदैन।
त्यसका साथसाथै तातो उम्कन नदिने अन्य हरितगृह ग्याँसहरू पनि वायुमण्डलमा थुपार्छौं। खेतीपातीमा प्रयोग हुने नाइट्रोजन मलहरूबाट उत्पन्न हुने नाइट्रस अक्साइड पनि वायुमण्डलमा मिसिन्छ। धानबाली तथा गाईबस्तुको चरनबाट मिथेन ग्याँस निस्कन्छ। प्लास्टिक फोमको उत्पादन तथा अन्य औद्योगिक प्रक्रियाहरूबाट क्लोरोफ्लोरोकार्बनहरू (सि एफ सि) निस्कन्छन्। सि एफ सि-ले तापलाई उम्कन नदिने मात्र होइन तर पृथ्वीको स्ट्राटोस्फेर ओजोन तहलाई पनि क्षति पुऱ्याउँछ।
अहिले नियन्त्रण गरिएको सि एफ सि-बाहेक ताप सोस्ने यी ग्याँसहरू पनि द्रुत गतिमा निष्कासन भएर वायुमण्डलमा थुप्रँदैछन्। यसरी थुप्रनुको कारण पृथ्वीमा जनसंख्या वृद्धिका साथसाथै ऊर्जा उपभोगमा वृद्धि, औद्योगिक गतिविधि तथा कृषि पनि हो। वाशिंटनस्थित वातावरण जोगाउ निकायअनुसार मानिसहरूले वर्षेनी छ अरब टन कार्बन डाइअक्साइड तथा अन्य हरितगृह ग्याँसहरू वायुमण्डलमा निष्कासन गर्छन्। यी हरितगृह ग्याँसहरू स्वतः हराउँदैनन्; ती दशकौंसम्म वायुमण्डलमा रहिरहन सक्छन्।
वैज्ञानिकहरू साधारणतया दुइटा कुरामा निश्चित छन्। प्रथमतः हालैका दशक तथा शताब्दीहरूमा वायुमण्डलमा कार्बन डाइअक्साइड तथा अन्य हरितगृह ग्याँसहरूको मात्रा बढेको छ। दोस्रो, गत सय वर्षभित्र पृथ्वीको औसतन सतही तापक्रम ०.३ देखि ०.६ डिग्री सेल्सियस बढेको छ।
प्रश्न उठ्छ, पृथ्वीको तापक्रम बढ्नु र मानिसहरूले गर्दा हरितगृह ग्याँसको वृद्धि हुनुबीच के कुनै सम्बन्ध छ? कतिपय वैज्ञानिकहरूले त्यो सामान्य परिवर्तन हो र सूर्यले गर्दा त्यसो भएको हुनसक्छ भन्छन्। तथापि, थुप्रै मौसमविद्हरू मौसम परिवर्तनसम्बन्धी अन्तरसरकारी निकायले तयार पारेको प्रतिवेदनमा सहमति जनाउँछन्। त्यसमा भनिएको थियो, तापक्रम बढ्नु “पूर्णतया स्वाभाविक हो भन्न मिल्दैन” अनि “प्राप्त प्रमाणहरू केलाउँदा पृथ्वीको तापक्रम बढ्नुमा मानिसको ठूलो हात भएको स्पष्ट देखिन्छ।” यद्यपि, मानव गतिविधिहरूले गर्दा पृथ्वीको तापक्रम बढेको हो या होइन भनेर अझै यकिन गर्न सकिएको छैन र अझ विशेषगरि २१ औं शताब्दीमा त्यो तापक्रम बढ्ने क्रम कत्तिको द्रुत होला र त्यसका परिणामहरू के कस्ता होलान् भन्न सकिएको छैन।
अनिश्चितताले गर्दा विवाद उत्पन्न हुन्छ
संसारको सबैभन्दा छिटो तथा प्रभावकारी कम्प्युटरबाट चल्ने मौसम नमुनाहरूको आधारमा मौसम विशेषज्ञहरू भावी हरितगृह असरबारे अगमवाणी गर्छन्। तथापि, पृथ्वीको मौसम पृथ्वीको परिक्रमा, वायुमण्डल, समुद्र, हिउँ, भू-संरचना र सूर्यबीचको अत्यन्तै जटिल अन्तरक्रियाले निर्धारण गर्छ। त्यस्तो व्यापक तवरमा त्यति धेरै तत्त्वहरूले असर पार्ने हुँदा आजभन्दा ५० या १०० वर्षपछि यस्तै होला भनेर कुनै पनि कम्प्युटरले किटान गर्नु असम्भव छ। हालै विज्ञान (अंग्रेजी) पत्रिकाले यस्तो टिप्पणी गऱ्यो: “मानव गतिविधिहरूले गर्दा पृथ्वीको तापक्रम बढिरहेको हो या होइन वा हरितगृह तापक्रमको असर कत्तिको खतरनाक होला भनेर यकिन गरेर भन्न नसकिने कुरा थुप्रै मौसमविद्हरू सतर्क गराउँछन्।”
अनिश्चितताहरूले गर्दा खतरा नकार्न सजिलो हुन्छ। पृथ्वीको तापक्रम बढिरहेको सन्दर्भमा शंका व्यक्त गर्ने वैज्ञानिकहरू र आर्थिक अवस्था यथावत् राख्न चाहने शक्तिशाली उद्योगपतिहरू अहिले उपलब्ध जानकारीको आधारमा सुधारात्मक महँगो कदमहरू चाल्नु त्यत्तिको मनासिब नहोला भन्ने तर्क गर्छन्। तिनीहरू भन्छन्, आखिर केही मानिसहरूले सोचेजति भविष्य अन्धकारमय नहुन सक्छ।
वैज्ञानिक अनिश्चितताहरूको आधारमा नीतिनिर्माताहरूले अहिले जस्तो छ, त्यसैमा चित्त बुझाउने झुकाउ राख्नु ठीक हुनेछैन भनी वातावरणविद्हरू सावधान गराउँछन्। हुन त हो, कसै कसैले सोचेजस्तो भावी मौसम खराब नहोला तर अर्कोतिर अवस्था अझ बिग्रनसक्ने सम्भावना पनि छ! यसबाहेक, भविष्य अनिश्चित छ भन्दैमा सम्भाव्य खतरा कम गर्न केही गर्नु आवश्यक छैन भनेको होइन भन्ने तर्क तिनीहरूको हो। उदाहरणका लागि, धूम्रपान गर्न छोड्ने मानिसहरूले धूम्रपान गरिरह्यो भने ३० वा ४० वर्षपछि फोक्सोको क्यान्सर हुनेछ भन्ने वैज्ञानिक प्रमाण खोज्दैनन्। धूम्रपान गर्दा हुने खतराबारे थाह भएकोले र त्यो खतरा कम गर्न वा पूर्णतया हटाउने उद्देश्यले तिनीहरू धूम्रपान गर्न छोड्छन्।
अहिले के गरिंदैछ?
विश्व तापक्रम बढिरहेको र त्यस्तो समस्या वास्तविक हो या होइन भन्ने सन्दर्भमा नै त्यति धेरै विवाद भएको हुँदा त्यसबारे के गर्ने भनेर बेग्लाबेग्लै दृष्टिकोण हुनु अनौठो होइन। वातावरणसम्बन्धी विभिन्न समूहहरूले प्रदूषणमुक्त उर्जा साधनहरू प्रयोग गर्न व्यापक प्रचारप्रसार गरेको वर्षौं भइसक्यो। सूर्य, हावा, नदीनाला, भूमिगत बाफ तथा तातो पानीको भूमिगत भण्डारबाट उर्जा उत्पादन गर्न सकिन्छ।
तापक्रमलाई बाहिर उम्कन नदिने ग्याँस निष्कासनको मात्रा कम गर्ने नियम पारित गर्न पनि वातावरणविद्हरूले सरकारहरूलाई आग्रह गरेका छन्। सरकारहरूले सम्झौताहरूमा हस्ताक्षर नगरेका होइनन्। उदाहरणका लागि, १९९२ मा ब्राजिलको रियो दे जेनेरोमा सम्पन्न पृथ्वी सम्मेलनमा लगभग १५० राष्ट्रका प्रतिनिधिहरूले हस्ताक्षर गरेको सम्झौता पत्र मुख्यतया कार्बन डाइअक्साइड र हरितगृह ग्याँसहरू कम गर्ने वचनबद्धता थियो। त्यसको लक्ष्य थियो, सन् २००० सम्म औद्योगिक राष्ट्रबाट निष्कासन हुने हरितगृह ग्याँस कम गरेर १९९० को तहसम्म पुऱ्याउने। यस मामिलामा कुनै कुनै राष्ट्रहरूले केही वचनबद्धता देखाए तापनि अधिकांश धनी राष्ट्रहरूले यस वचनबद्धताको एक छेउ पनि पूरा गर्न सकेका छैनन्। हरितगृहको मात्रा कम गर्नुको साटो अधिकांश राष्ट्रहरूले झन् बढी निष्कासन गरिरहेका छन्! उदाहरणका लागि, संयुक्त राज्यमा मात्र सन् २००० सम्म १९९० को तुलनामा कार्बन डाइअक्साइडको निष्कासन ११ प्रतिशत बढी हुने अनुमान छ।
हालै भने अन्तरराष्ट्रिय सम्झौताहरू “सुदृढ” बनाउने प्रयासहरू भइरहेका छन्। सन् १९९२ को सम्झौताअनुसार स्वेच्छिक कटौती गर्नुको साटो अनिवार्य रूपमा हरितगृहको निष्कासन कम गर्न माग गरिएको छ।
परिवर्तनको मूल्य
राजनैतिक नेताहरू पृथ्वीका हितैषीजस्तो देखिन चाहन्छन्। तथापि, कुनै पनि परिवर्तनले अर्थतन्त्रमा पार्नसक्ने परिणामलाई पनि तिनीहरूले नियालिरहेका हुन्छन्। दी इकनमिस्ट (अंग्रेजी) पत्रिकाअनुसार संसारको ९० प्रतिशत जनसमुदाय उर्जाको लागि कार्बनबाट निर्मित इन्धनमा निर्भर भएको हुँदा त्यो प्रयोग गर्न छोडेमा निकै ठूलठूला परिवर्तनहरू हुनेछन्। अनि त्यस्तो परिवर्तन हुँदा कत्रो मूल्य चुकाउनुपर्नेछ भनेर निकै विवाद गरिन्छ।
सन् १९९० मा भएको हरितगृह ग्याँसको परिमाणभन्दा सन् २०१० सम्ममा १० प्रतिशत कम गर्न कति खर्च लाग्ला? तपाईं कसलाई यो प्रश्न सोध्नुहुन्छ, त्यसमा भर पर्छ। संसारमा सबैभन्दा बढी हरितगृह ग्याँस उत्पादन गर्ने देश संयुक्त राष्ट्रको दृष्टिकोण विचार गर्नुहोस्। ती ग्याँसहरू कटौती गर्दा सं.रा. अर्थतन्त्रले वर्षेनी अरबौं डलर गुमाउनुका साथै ६,००,००० मानिसहरू बेरोजगार हुनेछन् भनी उद्योग व्यवसायका बुद्धिजीवीहरू चेताउनी दिन्छन्। त्यसको विपरीत वातावरणविद्हरू भन्छन्, ती लक्ष्य प्राप्त गर्दा अर्थतन्त्रको वर्षेनी अरबौं डलर बच्नेछ र ७,७३,००० जनाले रोजगार पाउनेछन्।
तत्कालै कदम चाल्न वातावरणसम्बन्धी समूहको आग्रहको बावजूद गाडी निर्माता, तेल कम्पनी, कोइला उत्पादकजस्ता शक्तिशाली उद्योगहरूले विश्व तापक्रम बढिरहेको छैन भन्ने कुरा माथि पार्न निकै पैसा खर्च गर्छन् तथा त्यो खतरा नगन्य देखाउन खोज्छन् अनि जिवावशेषबाट उत्पन्न कोइलाको साटो अन्य विकल्प प्रयोग गर्दा हुने आर्थिक असरलाई बढाइचढाइ गर्छन्।
विवाद यथावत छ। तथापि, मानिसहरूले गर्दा हावापानी हेरफेर भइरहेको छ र त्यसलाई सुधार्न केही कदम नचाली कुरा मात्रै गरिरह्यो भने मौसमबारे सबैले कुरा गर्छन् तर कसैले केही गर्दैनन् भन्ने कथनले अर्को विभत्स रूप लिनेछ।
[पृष्ठ ५-मा भएको पेटी]
क्योटो सन्धीपत्र
डिसेम्बर १९९७ मा १६१ राष्ट्रका २,२०० भन्दा बढी प्रतिनिधिहरू विश्व तापक्रमको खतरा कम गर्ने दिशातर्फ केही सकारात्मक कदम चाल्ने सम्झौता वा सन्धी गर्न जापानको क्योटोमा भेला भए। करिब एक हप्ता लामो छलफलपछि त्यहाँ भेला भएका प्रतिनिधिहरू विकसित राष्ट्रहरूले सन् २०१२ सम्ममा हरितगृह ग्याँस निष्कासनको मात्रा १९९० को तहभन्दा ५.२ प्रतिशत कम गर्नुपर्छ भन्ने निष्कर्षमा पुगे। यो सम्झौता भंग गर्नेहरूलाई दिइने सजायबारे पछि निर्णय गरिनेछ। मानी लेऔं, सबै राष्ट्रले उक्त सम्झौता पालन गरेको खण्डमा ५.२ प्रतिशत कटौतीले कत्तिको फरक पार्नेछ? एकदमै कम। टाइम पत्रिकाले यस्तो रिपोर्ट गऱ्यो: “औद्योगिक क्रान्ति सुरु भएदेखि वायुमण्डलमा थुप्रिरहेका हरितगृह ग्याँसहरू साँच्चै कम गर्न ६०% कटौती गर्नुपर्नेछ।”
[पृष्ठ ७-मा भएको पेटी/रेखाचित्र]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
हरितगृह असरको उदाहरण
हरितगृह असर: हरितगृहका ऐनाहरूले जस्तै पृथ्वीको वायुमण्डलले सूर्यको तापलाई बाहिर निस्कन दिंदैन। सूर्यको किरणले पृथ्वीलाई न्यानो बनाउँछ तर इन्फ्रारेड विकिरणद्वारा संवाहित तापक्रम वायुमण्डलबाट बाहिर निस्कन गाह्रो हुन्छ। त्यसको विपरीत हरितगृह ग्याँसले विकिरण रोक्छ र त्यसमध्ये केही ताप पृथ्वीमा फर्काउँछ जसले गर्दा पृथ्वीको सतह अझ तातो हुन्छ।
१. सूर्य
२. निस्कन नसकेको इन्फ्रारेड विकिरण
३. हरितगृह ग्याँस
४. बाहिर निस्किरहेको विकिरण
[पृष्ठ ८, ९-मा भएको पेटी/रेखाचित्र]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
हावापानीलाई नियन्त्रण गर्ने तत्त्वहरू
पृथ्वीको बढ्दो तापक्रमबारे हालको विवादलाई बुझ्ने हो भने अहिले हावापानी जे जस्तो छ त्यसमा संलग्न अचम्मलाग्दो तत्त्वहरूबारे बुझ्नु खाँचो छ। आउनुहोस्, केही आधारभूत तत्त्वहरू विचार गरौं।
१. सूर्य—ताप तथा प्रकाशको स्रोत
पृथ्वीमा जीवन धान्न त्यो बडेमानको आणविक भट्टी अर्थात् सूर्यमा निर्भर गर्नुपर्छ। पृथ्वीभन्दा दस लाख गुणा ठूलो सूर्य ताप तथा प्रकाशको अत्यन्तै भरपर्दो स्रोत हो। सूर्यले कम ताप दिन थाल्यो भने हाम्रो ग्रह बरफले ढाकिनेछ; अर्कोतिर तापक्रम बढेमा पृथ्वी रन्किएको ताप्के हुनेछ। पृथ्वीले १५ करोड किलोमिटर परबाट सूर्यको परिक्रमा गर्ने हुँदा सूर्यबाट निस्कने दुई अरब उर्जाको एक भाग मात्र पृथ्वीमा पुग्छ। तर कुरा के हो भने, पृथ्वीमा जनजीवन फस्टाउन चाहिने तापक्रम यति हो।
२. वायुमण्डल—पृथ्वीको न्यानो कम्बल
सूर्यले मात्र पृथ्वीको तापक्रमलाई निर्धारण गर्ने होइन; वायुमण्डलले पनि निर्णायक भूमिका निर्वाह गर्छ। सूर्यबाट पृथ्वी र चन्द्रमाको दूरी बराबर भएको हुँदा दुवैले सूर्यबाट एकैनासे ताप पाउँछन्। तैपनि, पृथ्वीको औसतन तापक्रम १५ डिग्री सेल्सियस र चन्द्रमाको तापक्रम -१८ डिग्री सेल्सियको कठांग्रिने चिसो छ। किन यस्तो भिन्नता? पृथ्वीको वरपर वायुमण्डल छ; चन्द्रमाको छैन।
अक्सिजन, नाइट्रोजन तथा अन्य ग्याँसहरूको सम्मिश्रण अर्थात् वायुमण्डलले सूर्यको तापको केही मात्रा सोस्छ र बाँकी बाहिर फ्याँक्छ। यो प्रक्रियालाई प्रायजसो हरितगृहसित तुलना गरिन्छ। सायद तपाईंलाई थाह होला, हरितगृह भनेको सिसा वा प्लास्टिकका भित्ता तथा छतहरू भएको घर हो। सजिलै भित्र छिर्नसक्ने सूर्यको प्रकाशले भित्र न्यानो बनाउँछ। साथै छत तथा भित्ताले गर्दा ताप त्यति सजिलै बाहिर निस्कनसक्दैन।
त्यस्तैगरि, सूर्यको किरण वायुमण्डल भएर प्रवेश गर्ने हुँदा पृथ्वीको सतह न्यानो हुन्छ। त्यसपछि, इन्फ्रारेड विकिरणको रूपमा पृथ्वीको ताप वायुमण्डलमा पुग्छ। यसरी विकिरण भएको तापमध्ये कम मात्र अन्तरिक्षमा पुग्छ किनभने वायुमण्डलका कुनै कुनै ग्याँसहरूले ताप सोसेर पृथ्वीमै फर्काउँछन्। फलतः पृथ्वीलाई अझ न्यानो बनाउँछन्। यसरी तातो हुने प्रक्रियालाई हरितगृह असर भनिन्छ। यसप्रकार, वायुमण्डलले सूर्यको तापलाई नसोसेको भए पृथ्वी पनि चन्द्रमा जस्तै जीवनरहित ग्रह हुनेथियो।
३. पानीको बाफ —अत्यावश्यक हरितगृह ग्याँस
वायुमण्डलको उनान्सय प्रतिशत भाग दुइटा ग्याँस मिलेर बनेको छ। ती हुन्, नाइट्रोजन र अक्सिजन। पृथ्वीमा जीवन धान्ने जटिल चक्रमा यी ग्याँसहरूको महत्त्वपूर्ण भूमिका भए तापनि मौसम नियन्त्रण गर्ने सन्दर्भमा यिनीहरूको कुनै प्रत्यक्ष सम्बन्ध छैन। मौसम नियन्त्रण गर्ने काम वायुमण्डलको बाँकी एक प्रतिशतले गर्छ। यी ताप सोस्ने ग्याँसहरू पानीको बाफ, कार्बन डाइअक्साइड, नाइट्रस अक्साइड, मिथेन, क्लोरोफ्लोरोकार्बन, ओजोन इत्यादि हुन्।
सबैभन्दा निर्णायक हरितगृह ग्याँस पानीको बाफ हो। यसलाई हामी सामान्यतया ग्याँस भन्ठान्दैनौं किनभने पानी भनेको तरल पदार्थ हो भन्ने हाम्रो सोचाइ छ। यद्यपि, पानीको बाफको प्रत्येक अणु ताप शक्तिले खाँदिएको हुन्छ। उदाहरणका लागि, बादलको बाफ चिसो भएर द्रवित भएपछि ताप निस्कन्छ र जोडदार संवहन-क्रिया हुन्छ। वायुमण्डलमा पानीको बाफको शक्तिशाली प्रवाहले मौसम र हावापानी दुवै निर्धारण गर्नमा निर्णायक तथा जटिल भूमिका खेल्छ।
४. कार्बन डाइअक्साइड —जीवनको लागि अत्यावश्यक
पृथ्वीको तापक्रम वृद्धिको सन्दर्भमा प्रायजसो छलफलमा आउने ग्याँस कार्बन डाइअक्साइड हो। कार्बन डाइअक्साइडलाई प्रदूषकको रूपमा मात्र लिनु भ्रामक सोचाइ हो। हरिया वनस्पतिहरूले आफै भोजन निर्माण गर्ने प्रक्रिया अर्थात् प्रकाश संश्लेषणका लागि नभई नहुने महत्त्वपूर्ण तत्त्व कार्बन डाइअक्साइड हो। मानव तथा पशुहरूले अक्सिजन लिन्छन् र कार्बन डाइअक्साइड फ्याल्छन्। वनस्पतिहरूले कार्बन डाइअक्साइड लिन्छन् र अक्सिजन फ्याल्छन्। साँच्चै भनौं भने, पृथ्वीमा जीवन सम्भव बनाउन सृष्टिकर्ताको यो एउटा प्रबन्ध हो।a तथापि, वायुमण्डलमा अत्यधिक मात्रामा कार्बन डाइअक्साइड हुनु भनेको सिरकमाथि सिरक खाप्नु जस्तै हुनेछ। त्यसो गर्दा झनै न्यानो हुनसक्छ।
जटिल शक्तिहरू
मौसम निर्धारण गर्नुमा सूर्य र वायुमण्डल बाहेक अन्य तत्त्वहरूले पनि भूमिका खेलेका हुन्छन्। ती हुन्, समुद्र, हिमचुली, सतहका खनिज तथा वनस्पति, पृथ्वीको इकोसिस्टम, अनेकन् भूजैविकरासायनिक प्रक्रियाहरू तथा पृथ्वीको परिक्रमा। हावापानीको अध्ययन, पृथ्वीसम्बन्धी सम्पूर्ण विज्ञानको अध्ययन हो।
सूर्य
वायुमण्डल
पानीको बाफ (H20)
कार्बन डाइअक्साइड (CO2)
[फुटनोट]
a पृथ्वीमा भएका सबैजसो जीवित वस्तुहरूले जैविक स्रोतबाट उर्जा प्राप्त गर्ने हुँदा सूर्यको प्रकाशमा प्रत्यक्ष वा अप्रत्यक्ष तवरमा निर्भर छन्। तथापि, समुद्री सतहको अन्धकारमा अजैविक रसायनहरूबाट शक्ति लिएर फस्टाउने जीवहरू पनि छन्। यी जीवहरूले प्रकाश संश्लेषणको साटो केमोसेन्थेसिस प्रक्रिया अपनाउँछन्।