हाम्रो मूल्यवान वायुमण्डल
मे ४, १९६१ को दिन माल्कम रस र भिक प्राथर ३४.६ किलोमिटर माथि हावामा उचालिए। त्यो नयाँ रेकर्ड कायम हुनु रसलाई त्यत्तिखेर कुनै ठूलो कुरा जस्तो लागेको थिएन। उसलाई प्रभावित पारेको कुरा त यो पो थियो, प्रथम पटक पर्दालाई बिस्तारै उघारेर त्यस बेलुनबाट देखेको दृश्य।
उनी सम्झन्छन्, “३०,५०० मिटरको उचाइमा पुग्दाको दृश्य पूर्णतया आश्चर्यमय थियो।” वायुमण्डलको विभिन्न तहलाई छुट्याउने रङ्गहरू देखेर रस छक्क परेका थिए। प्रथमतः पृथ्वीभन्दा १६ किलोमिटर माथि फैलिएको “चहकिलो सेतो-निलो” ट्रोपोस्फेर छ। त्यसपछि अन्तरिक्षको अन्धकारमा नपुगेसम्म झन् झन् गाढा हुँदै जाने गाढा निलो स्ट्राटोस्फेर छ। नेशनल जियोग्राफिकमा रसले यसप्रकार लेखे: “विस्मित भएर मौनतामा हामीले वायुमण्डलको अत्यधिक सुन्दरतालाई विचार गऱ्यौं।”
निस्सन्देह, हाम्रो सुन्दर वायुमण्डल विचारणीय छ।
जीवन सँभाल्ने
वास्तवमा, वायुमण्डल हाम्रो पृथ्वी वरपर ८० किलोमिटरसम्म घेर्ने हावाको समुद्र हो। यसको वजन ५०,००० खरब टनभन्दा बढी हुन्छ र समुद्री सतहमा १.०३ किलोग्राम प्रति वर्ग सेन्टिमिटरको बलले हाम्रो टाउकोलाई थिचिरहेको हुन्छ। हावाको त्यो चाप नभएको भए हामी बाँच्ने थिएनौं किनभने त्यसको अभावमा हाम्रो शरीरका तरल पदार्थहरू वाष्पीकरण हुन सक्दैन। माथिल्लो वायुमण्डलमा जीवन सँभाल्ने वायु चाप छैन। त्यसैकारण रस र भिकले अन्तरिक्ष यात्रीहरूको विशेष पोशाक लगाउनुपऱ्यो। रसले भने, “कृत्रिम चाप नभइदिएको भए हाम्रो रगत उम्लनेथ्यो, हाम्रा रक्तवाहिनी नशा तथा अंगहरू फुट्नेथियो।”
निस्सन्देह, सास फेर्न पनि हामीलाई यो हावाको समुद्र चाहिन्छ। तर हामीले देख्न नसक्ने हुँदा हामीमध्ये धेरैले यसबारे गम्भीरतापूर्वक विचार गर्दैनौं। प्राचीन समयका धार्मिक मानिसले मूल्यांकनसहित यो कुरा व्यक्त गरेका थिए: “[परमेश्वरले] सबैलाई जीवन, सास र सबै चीज दिनुहुन्छ।”—प्रेरित १७:२४, २५.
वायुमण्डल नभएको भए जलकणहरू हावामा उड्न धूलोहरूको लागि कुनै माध्यम हुने थिएन। त्यसो भयो भने पानी पनि पर्ने थिएन। वायुमण्डल नहुँदो हो त, सोझै आउने सूर्यका किरणहरूले डढ्ने थियौं र रातमा जाडोले कठाङ्ग्रिने थियौं। तर आनन्दको कुरा, वायुमण्डलले सिरकझैं काम गर्छ जसले सूर्यको तापलाई सोसेर राती असाध्यै चीसो हुनबाट रोक्छ।
यसको अलावा पृथ्वीका निवासीहरूलाई हानि पुऱ्या- उन सक्ने पुच्छ्रे तारा आउनबाट वायुमण्डलले रोक्छ। इन्ट्रोडक्शन टु द एट्मोसफेर नामक पुस्तकमा हबर्ट रेल यसप्रकार व्याख्या गर्छन्, “प्रति दिन हजारौं टनको अनुमानित वजनमा वायुमण्डलको बाहिरी तहमा ठोस पदार्थहरू अन्तरिक्षबाट खसिरहेका हुन्छन्।” तर थुप्रै पुच्छ्रे ताराहरू पृथ्वीको सतहमा पुग्नअघि नै वायुमण्डलमा टुक्रिन्छन्।
वायुमण्डलले हाम्रो जीवनको आनन्दलाई पनि बढाउँछ। यसले हामीलाई सुन्दर नीलो आकाश, कपासरूपी सेता बादलहरू, स्फूर्तिदायी वर्षा र भव्य सूर्योदय तथा सूर्यास्तहरूको आनन्द प्रदान गर्छ। यसबाहेक, वायुमण्डल नभइदिएको भए हामीले हाम्रा प्रिय जनहरूको आवाज सुन्ने थिएनौं, नता हामीलाई मनपर्ने संगीत नै सुन्न सक्थ्यौं। किन? किनभने ध्वनि तरंगहरू प्रसारण हुन माध्यम चाहिन्छ। ध्वनिको सर्वोत्तम प्रसारक हावा हो जबकि बाह्य अन्तरिक्षमा कुनै आवाज सुनिंदैन।
अद्भुत सम्मिश्रण
पुरातन समयमा मानिसहरूले वायुमण्डललाई सिंगो वस्तुको रूपमा हेर्थे। पछि, हावा मुख्यतया नाइट्रोजन र अक्सिजन दुई पूरक ग्याँसहरू मिलेर बनेको हुन्छ भनी १८ औं शताब्दीको अन्ततिर वैज्ञानिकहरूले पत्ता लगाए। वायुमण्डलमा ७८ प्रतिशत नाइट्रोजन र २१ प्रतिशत अक्सिजन छ; बाँकि १ प्रतिशत आर्गन, वाफ, कार्बनडाइअक्साइड, नियोन, हेलियम, क्रिप्टन, हाइड्रोजन, जेनोन र ओजोनजस्ता ग्याँसहरूको सम्मिश्रण हुन्छ।
निस्सन्देह, श्वासप्रश्वासद्वारा हाम्रो शरीरले सोस्ने जीवन-सँभाल्ने ग्याँस अक्सिजन हो। पृथ्वीमा जीवन धान्न वायुमण्डलमा अक्सिजनको तह ठिक्क छ। यसको तह निकै तल पुगेमा हामी झुम्म भएको महसुस गर्ने थियौं र अन्ततः चेतना गुमाउने थियौं। यसको मात्रा असाध्यै बढ्यो भने ओसिला छेस्काहरू र जंगलका घाँसहरू समेत बल्नेछन् भनिन्छ।
अक्सिजनको मात्रा कम गर्ने सबैभन्दा राम्रो ग्याँस नाइट्रोजन हो। यद्यपि यसले जीवन सँभाल्ने निष्क्रिय भूमिका मात्र निभाउँदैन। बाँच्नको लागि सबै जीवाणुहरूमा नाइट्रोजन हुनुपर्छ। उज्यालो र विशेष प्रकारको ब्याक्टेरिया मार्फत बोटबिरूवाहरूले वायुमण्डलबाट नाइट्रोजन प्राप्त गर्छन्। फलतः हामीले खाने भोजनबाट हामी नाइट्रोजन प्राप्त गर्छौं।
हाम्रो वायुमण्डलमा अक्सिजन र नाइट्रोजनको सही अनुपात कायम हुनु एउटा चमत्कार हो। खुशीको कुरा सूक्ष्म जीवाणुहरू मार्फत नाइट्रोजन पुनः वायुमण्डलमा पठाइन्छ। अक्सिजन नि? आगो बाल्दा र मानव तथा जनावरहरूले सास फेर्दा निकै अक्सिजन प्रयोग हुन्छ। यद्यपि, वायुमण्डलले २१ प्रतिशत अक्सिजनको अनुपातलाई कायम गर्छ। तर कसरी? हरिया पातहरू र अल्गीमा हुने रासायनिक प्रक्रिया अर्थात् फोटोसिन्थेसिसद्वारा प्रत्येक दिन वायुमण्डलमा दश करोड टनभन्दा बढी अक्सिजन फ्यालिन्छ।
कार्बनडाइअक्साइडबिना फोटोसिन्थेसिस हुन सक्दैन। त्यो वायुमण्डलमा न्यून मात्रामा हुने अर्थात् ०.०३ प्रतिशत हुने ग्याँस हो। प्रकाशको मदतद्वारा फलफूलहरू, सुकेका फलहरू, अन्न तथा तरकारीहरू उमार्न बोटबिरूवाहरू कार्बनडाइअक्साइडमा निर्भर गर्छन्। हाम्रो ग्रहलाई न्यानो पार्न कार्बनडाइअक्साइडले पृथ्वीतर्फ ताप फर्काइदिन्छ। तर काठ, कोइला, प्राकृतिक ग्याँस र पेट्रोलियमजस्ता तेलहरू अत्यधिक मात्रामा बालेर कार्बनडाइअक्साइडको तह बढ्दो हो ता पृथ्वीमा तापक्रम अन्ततः असाध्यै तातो हुनेछ र कुनै जीवन रहनेछैन। तर अर्कोतिर, कार्बनडाइअक्साइडको तह असाध्यै घट्यो भने फोटोसिन्थेसिस बन्द हुनेछ र हामी भोक भोकै मर्नेछौं।
पृथ्वीमा जीवन धान्न निर्भर गर्नुपर्ने अर्को न्यून मात्रामा हुने ग्याँस ओजोन हो। स्ट्राटोस्फेर नामक वायुमण्डलको माथिल्लो तहमा हुने ओजोनले सूर्यबाट आउने परागबैजनी किरणहरूलाई सोस्छ। यसप्रकार यी हानिकारक परागबैजनी किरणहरूबाट पृथ्वीमा भएका हामीहरू जोगिएका छौं।
निस्सन्देह, वायुमण्डलबारे जति बढी कुरा थाहा पाउँछौं उति नै अचम्म मान्नु पर्ने कारण छ। यसमा नाइट्रोजन, अक्सिजन र अन्य न्यून ग्याँसहरूको सम्मिश्रण ठिक्क छ। त्यो सन्तुलन कायम गर्न पृथ्वीको आकार पनि ठिक्क छ। पृथ्वी सानो र कम वजनको हुँदो हो त यसको गुरुत्वाकर्षण शक्ति असाध्यै कमजोर भएर हाम्रो मूल्यवान वायुमण्डलको अधिकांश भाग अन्तरिक्षमा उडेर जाने थियो।
एन्भाइर्नमेन्ट अफ लाइफ नामक विज्ञान पाठ्यपुस्तकले यसो भन्छ, “अर्कोतिर पृथ्वी अलिकता मात्र ठूलो हुँदो हो त गुरुत्वाकर्षण शक्तिले ग्याँसको ठूलो परिमाणलाई वायुमण्डलमै राखिराख्न सक्थ्यो। . . . वायुमण्डलका ग्याँसहरू बीचको नाजुक सन्तुलन गडबड हुनेथियो।”
तर दुःखको कुरा, मानिसको आधुनिक जीवनशैलीले त्यो “नाजुक सन्तुलन[लाई]” गडबड गरिरहेको छ। यो परिस्थिति कतिको गम्भीर छ र हाम्रो मूल्यवान वायुमण्डल बिग्रिनुबाट जोगाइनेछ भन्ने के आशा छ? (g94 12/22)
[पृष्ठ ५-मा भएको पेटी]
जब सूर्यास्तहरू अझ राम्रा देखिन्छन्
वायुमण्डलले सूर्यका किरणहरूलाई यस्तोसित प्रतिबिम्बित गर्छ, यसले आकाशमा मनमोहक नीलो रूप दिन्छ। जब सूर्य क्षितिजतर्फ ढल्कँदै जान्छ तब यसका किरणहरू वायुमण्डलका निकै तहहरू भएर जानुपर्छ। यसले विविध सजीव रंगहरू पैदा गर्छ जसलाई शहरियाहरूले शायद कहिल्यै देख्नेछैनन्।
औद्योगिक क्षेत्रहरूमाथि हुने सूर्यास्त प्रायजसो बोधो र त्यसमा रातो बाहेक अरू रंग हुँदैन। यदि त्यो क्षेत्र असाध्यै प्रदूषित छ भने, “सूर्य क्षितिजमा पुग्नु अगावै धमिलिएर जाने बोधो रातो रंगको डल्लोजस्तै देखिन्छ” भनी न्यु साइन्टिस्ट पत्रिकाले अवलोकन गर्छ।
माथि उल्लेखित पत्रिकाले यसरी वर्णन गर्छ, “असाधारण किसिमले स्वच्छ, अप्रदूषित वायुमण्डलमा सूर्यास्तका रंगहरू प्रायजसो सजीव हुन्छन्। सूर्य चहकिलो पहेंलो र त्यो सँगैको आकाश सुन्तला र पहेंलो रंगको हुन्छ। क्षितिजमुनि सूर्य हराएपछि सुन्तला रंग बिस्तारै परिवर्तन भएर नीलो हुन्छ। सूर्य दृश्यपटलबाट हराइसकेपछि पनि कम उचाइमा रहेका बादलहरूले सूर्यको प्रकाशलाई प्रतिबिम्बित गरिरहेको हुन्छ।”
प्रदूषण मुक्त संसारमा हामीले आनन्द उठाउन सक्ने सुन्दर सूर्यास्तका विविधतालाई यसो कल्पना गर्नुहोस्!—प्रकाश २१:३-५.