प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९५ १/८ पृ. ६-९
  • जब हाम्रो वायुमण्डल क्षतिग्रस्त हुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जब हाम्रो वायुमण्डल क्षतिग्रस्त हुन्छ
  • ब्यूँझनुहोस्‌!—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ओजोन कसरी नाश हुँदैछ
  • कस्ता परिणामहरू?
  • प्रदूषणको प्रभाव
  • हाम्रो वायुमण्डल कसरी जोगाइनेछ
    ब्यूँझनुहोस्‌!—१९९५
  • हाम्रो मूल्यवान वायुमण्डल
    ब्यूँझनुहोस्‌!—१९९५
  • मौसममा गडबड
    ब्यूँझनुहोस्‌!—१९९८
  • एकमात्र जीवित ग्रह
    जीवन सृष्टि कि संयोग?
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९५
g९५ १/८ पृ. ६-९

जब हाम्रो वायुमण्डल क्षतिग्रस्त हुन्छ

सन्‌ १९७१ मा अपोलो १४ नामक अन्तरिक्ष वाहनबाट चन्द्रमातर्फ यात्रा गरिरहेका अन्तरिक्ष यात्री, एड्‌गार मिशेलले पृथ्वीलाई हेरेपछि यसो भने: “यो चम्किलो नीलो सेतो रत्नजस्तो देखिन्छ।” तर अन्तरिक्षबाट हेर्दा एक व्यक्‍तिले आज के देख्नेछ?

विशेष प्रकारको चश्‍मा लगाइदिएर पृथ्वीको वायुमण्डलका अदृश्‍य ग्याँसहरू हेर्ने हो भने उसले एउटा बेग्लै चित्र देख्नेथियो। इन्डिया टुडे नामक पत्रिकामा राज चेङ्‌गापाले यस्तो लेखे: “आन्टार्टिका र उत्तर अमेरिकाका सुरक्षात्मक ओजोन तहमा उसले ठूल-ठूला प्वालहरू देख्नेथियो। चम्किलो नीलो सेतो रत्नको सट्टा उसले अँध्यारो, कार्बनडाइअक्साइड र सल्फरडाइअक्साइड ग्याँसहरूले घेरिएको भद्दा, फोहोर पृथ्वी देख्नेथियो।”

वायुमण्डलको माथिल्लो तहको सुरक्षात्मक ओजोनमा त्यस्ता प्वालहरू कसरी हुन गए? वायुमण्डलीय प्रदूषकहरूको वृद्धि के साँच्चै त्यत्तिको खतरनाक छ र?

ओजोन कसरी नाश हुँदैछ

विषाक्‍त र दुर्गन्धित रेफ्रिजरेन्टको ठाउँमा सुरक्षित फ्रिजहरू आविष्कार गरेको घोषणा वैज्ञानिकहरूले झन्डै ६० वर्षअघि गरेका थिए। त्यो नयाँ रसायनिक पदार्थ एउटा कार्बन, दुइटा क्लोरिन, दुइटा फ्लोरिन परमाणु मिलेर बनेको अणु (CCl2F2) थियो। यो र यस्तै प्रकारका मानव निर्मित रसायनहरूलाई क्लोरोफ्लोरोकार्बनहरू (CFCs) भनिन्छ।

सन्‌ १९७० दशकको प्रारम्भतिर क्लोरोफ्लोरोकार्बनको उत्पादन एउटा ठूलो विश्‍वव्यापी उद्योग नै भइसकेको थियो। तिनीहरू फ्रिजमा मात्र होइनन्‌ तर ग्याँस भएका रासायनिक तरलहरू, वातानुकूल यन्त्र, सफा गर्ने रासायनिक तत्त्वहरू, छिट्टै तयार हुने खानाहरू राख्ने भाँडो वा प्लाष्टिकका उत्पादनहरूमा प्रयोग गरिन्थे।

तर सन्‌ १९७४ मा दुई वैज्ञानिकहरू, शेरवुड रोल्याण्ड र मार्यो मोलिनाले वर्णन गरेअनुसार क्लोरोफ्लोरोकार्बनहरू बिस्तारै उडेर स्ट्राटोस्फेरमा जान्छन्‌ र अन्ततः त्यहाँ क्लोरिन निष्कासन गर्छन्‌। वैज्ञानिकहरूको अनुमानअनुसार प्रत्येक क्लोरिन परमाणुले ओजोनका हजारौं अणुहरू नाश गर्न सक्छ। वायुमण्डलको माथिल्लो तहमा ओजोन एकनासले नाश हुनुको सट्टा ध्रुवीय क्षेत्रहरूमा बढी क्षति हुन्छ।

सन्‌ १९७९ देखि प्रत्येक वसन्त ओजोनको ठूलो परिमाण हराएको छ र पछि अन्टार्टिकामा पुनः देखा परेको छ। यो मौसममा हुने ओजोनको ह्रासलाई ओजोन प्वाल भनिन्छ। हाल सालहरूमा ती तथाकथित प्वालहरू झन्‌ झन्‌ ठूलो भएका र धेरै समयसम्म रहेका छन्‌। सन्‌ १९९२ मा भू-उपग्रहद्वारा सबैभन्दा ठूलो ओजोन प्वाल रेकर्ड गरिएको थियो, जुन उत्तर अमेरिकाको क्षेत्रफलभन्दा ठूलो थियो। अनि त्यसमा धेरै ओजोन बाँकि पनि थिएन। बेलुनद्वारा झुन्ड्याइने उपकरणहरूले ओजोनको तह ६० प्रतिशतभन्दा बढी घटेको रेकर्ड गऱ्‍यो, जुन ह्रास पूर्व रेकर्डहरूमध्ये सबैभन्दा बढी थियो।

त्यति नै खेर पृथ्वीका अन्य भागहरूका माथिको वायुमण्डलमा पनि ओजोन तह घट्‌न थालेको छ। न्यु साइन्टिस्ट पत्रिका यस्तो रिपोर्ट गर्छ, “उत्तरी युरोप, रुस र क्यानाडा ढाक्ने क्षेत्रहरूमा अक्षांस ५०° उत्तर र ६०° उत्तरबीच १९९२ मा ओजोनको मात्रा असाधारण तवरले कम भएको . . . हालैका नापहरूले देखायो।” ओजोनको तह सामान्यभन्दा १२ प्रतिशत तल थियो। पैंतीस वर्षसम्म लगातार नाप गरिएकोमध्ये यो सबैभन्दा कम थियो।”

साइन्टिफिक अमेरिकन पत्रिका यसो भन्छ: “असाध्यै भयानक अड्‌कलहरूले पनि अहिले क्लोरोफ्लोरोकार्बनहरूद्वारा हुने ओजोनको क्षति अल्पानुमानित भएको देखाउँछ। . . . तर ती अड्‌कलहरू गरिंदा सरकारी तथा औद्योगिक क्षेत्रका अतिप्रभावित भएका मानिसहरूले अपूर्ण वैज्ञानिक प्रमाणहरूको आधारमा त्यस्ता नियम-प्रतिबन्धहरूको विरोध गरेका थिए।”

अनुमानित दुई करोड टन क्लोरोफ्लोरोकार्बन वायुमण्डलमा निष्कासन भइसकेको छ। क्लोरोफ्लोरोकार्बनहरूलाई स्ट्राटोस्फेरसम्म पुग्न वर्षौं लाग्ने हुनाले वायुमण्डलको माथिल्लो तहसम्म लाखौं टन क्लोरोफ्लोरोकार्बनहरू पुगेकै छैन जहाँ तिनीहरूले खास नोक्सान पुऱ्‍याउन सक्छ। तर ओजोन-नाशक क्लोरिनका स्रोतहरू क्लोरोफ्लोरोकार्बनहरू मात्र होइनन्‌। पप्युलर साइन्स पत्रिकाले यस्तो रिपोर्ट गर्छ: “प्रत्येक पटक अन्तरिक्ष यान प्रक्षेपण गर्दा ७५ टन क्लोरिन ओजोन तहमा जम्मा हुने नासाले (NASA) अनुमान गरेको छ।”

कस्ता परिणामहरू?

वायुमण्डलको माथिल्लो तहमा ओजोन कम हुँदाका परिणामहरू राम्ररी बुझिएको छैन। तर एउटा कुरा निश्‍चित देखिन्छ, पृथ्वीमा आउने हानिकारक (UV) परागवैजनी किरणहरू वृद्धि भइरहेका छन्‌। परिणामस्वरूप छालाको अर्बुद रोग बढी देखा परिरहेको छ। अर्थ पत्रिका यस्तो रिपोर्ट गर्छ, “गत वर्ष उत्तरी गोलार्द्धमा प्रहार गर्ने हानिकारक परागवैजनी किरणहरूको मात्रा ५ प्रतिशत बढ्यो।”

परागवैजनी किरणहरू १ प्रतिशतले मात्र बढ्‌दा छालाको अर्बुद रोगमा २ देखि ३ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ। अफ्रिकी पत्रिका गेटवे यसो भन्छ: “दक्षिण अफ्रिकामा प्रति वर्ष अर्बुद रोगको ८,००० नयाँ प्रकारहरू देखा पर्छन्‌। . . . हामीसित ओजोन सुरक्षाको सबैभन्दा न्यून तह र अर्बुद रोगका अत्यधिक घटनाहरू छ (ती दुईबीचको सम्बन्ध कुनै संयोगको कुरा होइन)।”

वायुमण्डलको माथिल्लो तहमा ओजोन नाश हुनाले छालाको अर्बुद रोगमा वृद्धि हुनेछ भनेर वर्षौंअघि वैज्ञानिकहरू, रोल्याण्ड र मोलिनाले भविष्यवाणी गरेका थिए। ग्याँस भएका रासायनिक तरलहरूमा क्लोरोफ्लोरोकार्बनहरू प्रयोग नगर्ने प्रतिबन्ध लगाउन संयुक्‍त राज्य अमेरिकालाई तिनीहरूले तुरुन्तै सुझाव दिए। यो खतरालाई बुझेर जनवरी १९९६ देखि क्लोरोफ्लोरोकार्बनको उत्पादन बन्द गर्न थुप्रै देशहरू राजी भएका छन्‌। तर त्यतिन्जेल क्लोरोफ्लोरोकार्बनको प्रयोग पृथ्वीमा जीवनको निम्ति खतरा भई नै रहन्छ।

आवर लिभिङ्‌ग वर्ल्डले रिपोर्ट गरेअनुसार आन्टार्टिकामाथि ओजोनको ह्रासले गर्दा परागवैजनी विकिरणले “समुद्रको भित्री सतहसम्म पहिले शंका गरेभन्दा बढी छेडेको छ। . . . यसले गर्दा समुद्री खाद्य चक्रका आधारभूत एक-कोषीय सूक्ष्म जीवाणुहरूको उत्पादनमा निकै ह्रास आएको छ।” परीक्षणहरूले देखाएअनुसार परागवैजनी किरणहरूको वृद्धिले थुप्रै अन्‍नहरूको फसलमा कमी ल्याउँछ जसले विश्‍वव्यापी खाद्यान्‍न आपूर्तिलाई खतरा प्रदान गर्छ।

निस्सन्देह, क्लोरोफ्लोरोकार्बनको प्रयोग सम्भवतः विध्वंसकारी छ। यद्यपि हाम्रो वायुमण्डललाई अरू थुप्रै प्रदूषकहरूले प्रहार गरिरहेको छ। प्रदूषकहरूमध्ये एउटा वायुमण्डलीय ग्याँस हो जुन पृथ्वीमा जीवन धान्‍न न्यून मात्रामा आवश्‍यक हुन्छ।

प्रदूषणको प्रभाव

उन्‍नाइसौं शताब्दीको बीचतिर मानिसहरूले अझ बढी मात्रामा कोइला, प्राकृतिक ग्याँस, पेट्रोलियम पदार्थजस्ता तेलहरू बाल्न थाले जसले गर्दा वायुमण्डलमा कार्बनडाइअक्साइड असाध्यै थुप्रिन थाल्यो। त्यतिखेर यस वायुमण्डलीय ग्याँसको मात्रा प्रति दश लाखमा २८५ भाग थियो। तर मानिसहरूले अवशेषहरूबाट प्राप्त हुने इन्धन बढी प्रयोग गर्न थालेकोले कार्बनडाइअक्साइडको परिमाण प्रति दश लाखमा ३५० भन्दा बढी भएको छ। ताप सोस्ने यो ग्याँस वायुमण्डलमा वृद्धि हुनुको परिणाम के भएको छ?

पृथ्वीको तापक्रम बढ्‌नुको कारण कार्बनडाइअक्साइडको तहमा भएको वृद्धि हो भनी धेरैले विश्‍वास गर्छन्‌। तर अन्य अनुसन्धानकर्त्ताहरूको भनाइअनुसार पृथ्वीमा तापक्रम बढ्‌नुको कारण सूर्यको भिन्‍नता अर्थात्‌ हाल सूर्यले बढी शक्‍ति फ्याल्न थालेकोले हो।

कुरा जे सुकैहोस्‌, १९ औं शताब्दीको बीचदेखि रेकर्ड राख्न थालिए यता १९८० को दशक सबैभन्दा गर्मी समय थियो। द स्टार नामक दक्षिण अफ्रिकी समाचारपत्रिकाले यस्तो रिपोर्ट गर्छ, “यो दशकमा पनि न्यानोपना वृद्धि हुने कार्य जारी नै छ। रेकर्ड गरिएअनुसार १९९० सबैभन्दा गर्मी वर्ष, १९९१ सबैभन्दा न्यानो, र . . . १४० वर्षीय रेकर्डमा न्यानोपनाको क्रमानुसार १९९२ दशौं स्थानमा पऱ्‍यो।” गत दुई वर्षमा तापक्रम अलिकता कम हुनुको कारण सन्‌ १९९१ मा पिनाटुबो पर्वत विष्फोट हुँदा वायुमण्डलमा फ्याँकिएको धूलोले गर्दा हो।

पृथ्वीमा तापक्रम बढ्‌नाले भविष्यमा हुन सक्ने प्रभावहरू चर्को विवादको विषय भएको छ। जेहोस्‌ विश्‍वमा तापक्रम वृद्धिले एउटा काम भने अवश्‍य बढेको छ, यसले जलवायु तापक्रम भविष्यवाणी गर्ने कठिन कार्यलाई झन्‌ कठिन बनाएको छ। न्यु साइन्टिस्टले भनेअनुसार “तापक्रम बढेर मौसम परिवर्तन हुँदा झन्‌ बढी” गलत भविष्यवाणीहरू हुने सम्भावना छ।

विश्‍वमा तापक्रम बढ्‌नाले आफ्ना बिमालेखहरू त्यत्तिको नाफादारी हुनैछैनन्‌ भनी धेरै बिमा कम्पनीहरू डराइरहेका छन्‌। द इकोनोमिस्ट यसो भनेर मानी लिन्छ, “एक पछि अर्को विपत्ति भोग्नु परेकोले केही स-साना बिमा कम्पनीहरू प्राकृतिक प्रकोपहरूको क्षतिपूर्ति गर्न त्यतिको चाहँदैनन्‌। अरूले भने त्यो व्यापार नै छोड्‌ने कुरा गरिरहेका छन्‌। . . . अनिश्‍चितताले गर्दा तिनीहरू भयभीत भएका छन्‌।”

उल्लेखनीय कुरा, रेकर्ड गरिएमध्ये सबैभन्दा न्यानो वर्ष १९९० मा आर्कटिक क्षेत्रको एउटा ठूलो हिमशिला अपूर्व तापक्रममा झऱ्‍यो। यसले गर्दा सयौं हिम भालुहरू एक महिनाभन्दा बढी समयसम्म राङ्‌गल टापूमा अलपत्र परे। बीबीसी वाइल्डलाइफ पत्रिका यस्तो चेताउनी दिन्छ, “विश्‍वमा तापक्रम बढ्‌नाले यस्ता परिस्थितिहरू . . . नियमित तवरमा हुन सक्छन्‌।”

एउटा अफ्रिकी पत्रिकाले सन्‌ १९९२ मा यस्तो रिपोर्ट गऱ्‍यो, “आन्टार्टिकाबाट दक्षिणतिर बहने हिमशिलाहरूमा नाटकीय वृद्धि हुनाको कारण विश्‍वमा तापक्रम बढ्‌नु हो भनी जलवायु विशेषज्ञहरूले आरोप लगाइरहेका छन्‌। यो दक्षिणी आन्द्र महासागरमा यात्रा गर्ने जहाजहरूको निम्ति खतरापूर्ण साबित भएको छ।” अर्थ पत्रिकाको जनवरी १९९३ को अंकअनुसार दक्षिणी क्यालिफोर्नियाको तटवर्ती क्षेत्रमा समुद्री सतह बिस्तारै बढ्‌नुको एउटा कारण पानीको तापक्रममा वृद्धि हुनु हो।

तर दुःखको कुरा, मानिसहरूले निकै परिमाणमा विषाक्‍त ग्याँसहरू वायुमण्डलमा फ्याँकिरहन्छन्‌। द अर्थ रिपोर्ट थ्री नामक पुस्तकले यसो भन्छ, “वातावरण सुरक्षा निकायले १९८९ मा लिएको रिपोर्टअनुसार संराअमा प्रति वर्ष ९,००,००० टनभन्दा बढी विषाक्‍त रसायनहरू हावामा फ्याँकिने अनुमान गरिएको छ।” यो संख्यालाई अल्मानुमान ठानिन्छ किनभने यसमा लाखौं गाडीहरूले फ्याँक्ने धूवाँ समावेश गरिएको छैन।

अरू थुप्रै औद्योगिक देशहरूबाट पनि वायु प्रदूषणसम्बन्धी हामीलाई झसँगै पार्ने रिपोर्टहरू आउँछन्‌। विशेषगरि भयानक त साम्यवादी शासनकालमा पूर्वी युरोपी मुलुकहरूमा भएको अनियन्त्रित वायु प्रदूषणको पर्दाफास हो।

कार्बनडाइअक्साइड सोसेर अक्सिजन फ्याल्ने पृथ्वीका रूखहरू विषाक्‍त वायुका शिकारहरूमध्ये हुन्‌। न्यु साइन्टिस्टले रिपोर्ट गऱ्‍यो: “कृषी मन्त्रीअनुसार जर्मनीका रूखहरू झन्‌ झन्‌ अस्वस्थकर भइरहेका छन्‌ . . . जंगलको खस्कँदो स्वास्थ्यको एउटा प्रमुख कारण वायु प्रदूषण हो भनी [तिनले भनेका थिए]।”

दक्षिण अफ्रिकाको ट्रान्सभाल प्रान्तको उच्च-समस्थलको अवस्था यस्तै छ। ब्याक्‌ टु अर्थ नामक पुस्तकमा जेम्स्‌ क्लार्क यस्तो रिपोर्ट गर्छन्‌, “पूर्वीय ट्रान्सभालमा अम्लीय वर्षाका प्रथम लक्षणहरू अहिले देखा पर्न थालेका छन्‌। यहाँ सल्लाका चुच्चो सियोहरूको रंग स्वस्थकर गाढा हरियोबाट टाटेपाटे खैरो भएका छन्‌।”

संसारभरिबाट त्यस्ता रिपोर्टहरू आउँछन्‌। कुनै पनि देश यसबाट मुक्‍त छैन। आकाशसम्म चुल्लिएका धूवाँकसहरू मार्फत औद्योगिक राष्ट्रहरूले छिमेकी राष्ट्रहरूमा प्रदूषण निर्यात गरिरहेका छन्‌। लोभी औद्योगिक विकासको मानव रेकर्डले आशा उत्प्रेरित गर्दैन।

तापनि आशावादी हुने कारण छ। हाम्रो मूल्यवान वायुमण्डल बिग्रनबाट जोगाइनेछ भनी हामी निर्धक्क हुन सक्छौं। यो कसरी सम्पन्‍न हुनेछ भनेर आउँदो लेख पढेर थाहा पाउनुहुनेछ। (g94 12/22)

[पृष्ठ ७-मा भएको चित्र]

वायुमण्डलको माथिल्लो तहमा ओजोनको नाशले छालाको अर्बुद रोगमा वृद्धि ल्याएको छ

[पृष्ठ ९-मा भएको चित्र]

त्यस्ता प्रदूषणका परिणामहरू के के हुन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने