प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ६/८ पृ. १२-१४
  • कसको आदर्श पछ्याए बेस होला?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कसको आदर्श पछ्याए बेस होला?
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आदर्श नमुनाहरू—असल र खराब
  • असल व्यक्‍तिलाई आदर्श बनाउँदा कसरी फाइदा हुनसक्छ
  • आमाबाबुलाई आदर्श बनाउने
  • सर्वोत्कृष्ट आदर्श नमुना
  • आफ्नो लागि प्रेरणाको स्रोत कसरी रोज्ने?
    युवाहरू सोध्छन्‌
  • जवानहरू—तपाईंहरू कुन कुराको पछि लागिरहनु भएको छ?
    सन्‌ १९९३ को अंग्रेजी प्रहरीधरहरा-बाट अध्ययन लेखहरू
  • आमाबुबाको भूमिका
    परिवारका लागि
  • जवानमानिसहरू हो, यहोवाको हृदयलाई आनन्दित तुल्याउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९३
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ६/८ पृ. १२-१४

युवा जनहरू सोध्छन्‌

कसको आदर्श पछ्याए बेस होला?

“तिनी एकदमै राम्रो बास्केटबल खेल्थे। मेरा साथीहरू सबै तिनलाई मन पराउँथे। तिनलाई म आदर्श मान्थें र म तिनीजस्तै बन्‍न चाहन्थें र तिनीसित जे जे थियो, ती सबै आर्जन गर्न चाहन्थें।”—पिङ, एसियाली किशोर।

अरू मानिसहरूले तारिफ तथा देखासिकी गर्ने व्यक्‍तिहरूलाई प्रायजसो आदर्श नमुना भनिन्छ। लेखिका लिन्डा निल्सनले यस्तो टिप्पणी गरिन्‌: “युवायुवतीहरू आफ्नाजस्तै भावना तथा धारणा भएको र आफूले लालसा गरेजस्तो तारिफ अथवा इनाम पाइरहेका व्यक्‍तिहरूको देखासिकी गर्छन्‌।” त्यसकारण, युवाहरूसित लोकप्रिय वा आकर्षक साथीहरूको तारिफ गर्ने झुकाउ हुन्छ। तर प्रायजसो युवाहरूले अभिनेता अभिनेत्री, संगीतकार तथा खेलाडीहरूप्रति आकर्षित भएर तिनीहरूलाई आफ्नो आदर्श नमुना बनाएका हुन्छन्‌।

निस्सन्देह, प्रायजसो ख्यातिप्राप्त व्यक्‍तिहरूको जनसमक्ष देखिने बाह्‍यरूप कथाजस्तै मात्र हो अर्थात्‌ त्रुटिहरू ढाकछोप गर्न, प्रशंसा पाउन र मुख्यतया बिकोस्‌ भनेर चलाखी ढंगमा रचिएको योजना मात्र हो! माथि उल्लिखित पिङ यसो भन्दै स्वीकार्छन्‌: “मेरो बास्केटबल हिरोका सारा भिडियोहरू किनें अनि उसकै जस्तो जुत्ता, लुगा लगाउँथे।” कोही कोही युवाहरू टिभी वा खेलकूदका ख्यातिप्राप्त व्यक्‍तिहरूको जस्तै लुगा लगाउँछन्‌, तिनीहरूको जस्तै कपाल बनाउँछन्‌ अनि हिंडाइ र बोलाइ पनि तिनीहरूकै जस्तै नक्कल गर्छन्‌।

आदर्श नमुनाहरू—असल र खराब

कसैले भन्ला ‘कसैको तारिफ गर्नुमा के खराबी छ र?’ त्यो, तपाईं कसको तारिफ गर्नुहुन्छ, त्यसमा भर पर्छ। बाइबल यसो भन्छ: “बुद्धिमानीहरूको संगत गर्नाले बुद्धिमान होइन्छ मूर्खहरूसित लागे बरालिन्छ।” (हितोपदेश १३:२०) बाइबलले हामीलाई मानिसहरूको देखासिकी गर्न प्रोत्साहित गर्दैन। (मत्ती २३:१०) तर “विश्‍वास र धीरजद्वारा प्रतिज्ञाका हकदार हुनेहरूका देखा-सिकिगर्ने होओ” भनेर अवश्‍य भन्छ। (हिब्रू ६:१२) उक्‍त शब्दहरूका लेखक प्रेरित पावलले प्रारम्भिक मसीहीहरूका लागि उत्कृष्ट नमुना बसाले। त्यसकारण, तिनले यसो भन्‍नसके: “म ख्रीष्टमा भएझैं तिमीहरू पनि मेरो देखा-सिकी गर्ने होओ।”—१ कोरिन्थी ११:१.

तिमोथी नाउँको जवानले त्यसै गरे। तिनले मिसनरी यात्राको दौडान पावलसित घनिष्ठ मित्रता गाँसे। (प्रेरित १६:१-४) पावलले तिमोथीलाई “प्रभुमा [आफ्ना] प्यारा र विश्‍वासी छोरा” सम्झे। (१ कोरिन्थी ४:१७) पावलको मदत पाएर तिमोथी उत्कृष्ट मसीही बन्‍न पुगे।—फिलिप्पी २:१९-२३.

तर गलत व्यक्‍तिलाई आफ्नो आदर्श बनाएको खण्डमा के हुनसक्छ? रिचर्ड नाउँका जवान व्यक्‍ति यसो भन्छन्‌: “पन्ध्र वर्षको हुँदा मारियो मेरा घनिष्ठ मित्र भए। मेरा आमाबाबु मसीहीहरू थिए र मलाई आध्यात्मिक मदत दिने प्रयास गर्नुभयो। तर मारियोको भने मस्ती थियो—डिस्को, पार्टी, मोटरसाइकल इत्यादि। ऊ आफूखुसी जहिले पनि जे पनि गर्नसक्थ्यो। तर मैले भने त्यसो गर्न पाइनँ। अतः १६ वर्ष पुगेपछि मैले आमाबाबुलाई आफू मसीही हुन नचाहेका कुरा बताएँ र त्यसै गरें।”

ख्यातिप्राप्त व्यक्‍ति तथा खेलाडीहरूलाई आदर्श बनाउन खोज्दा के त्यस्तै खतराहरू आइपर्न सक्छन्‌? अवश्‍य। खेलाडी, अभिनेता वा संगीतकारको सीपको तारिफ गर्नु नै खराब कुरा त होइन। तर आफैलाई सोध्नुहोस्‌, ‘यी मानिसहरूले आफ्नो व्यक्‍तिगत जीवनमा कस्ता नमुना बसालेका छन्‌?’ के प्रायजसो खेलाडी, संगीतकार तथा अन्य कलाकारहरू अनैतिकता, लागूपदार्थ तथा मद्य सेवनका लागि नाउँ कहलिएका मानिसहरू होइनन्‌ र? साथै त्यत्रो पैसा र ख्यातिको बावजूद पनि के तिनीहरूमध्ये प्रायजसोले दुःखी, असन्तुष्ट जीवन बिताइरहेका छैनन्‌ र? यस्तो दृष्टिकोणबाट हेर्ने हो भने त्यस्ता व्यक्‍तिहरूको देखासिकी गरेर के फाइदा?

हो, ख्यातिप्राप्त व्यक्‍तिको कपालको स्टाइल, लुगा वा बोली नक्कल गर्नु मामुली कुरा जस्तो देखिएला। तर त्यो “संसारसित एकै चालका” हुन उक्साउने पहिलो कदम हुनसक्छ। (रोमी १२:२) सुरुसुरुमा त्यो चाल रमाइलो लाग्नसक्छ। तर त्यो चालको वशमा पूर्णतया पर्नुभयो भने परमेश्‍वरसित टक्कर खाने तौरतरिकामा फस्न सक्नुहुन्छ। “संसारसँगको मित्रता परमेश्‍वरसँगको दुश्‍मनी हो” भनी बाइबलमा याकूब ४:४ ले बताउँछ।

असल व्यक्‍तिलाई आदर्श बनाउँदा कसरी फाइदा हुनसक्छ

तथापि, असल उदाहरण बसाल्ने व्यक्‍तिको अनुसरण गर्दा तपाईंको जीवनमा सकारात्मक असर पर्नसक्छ! थुप्रै सँगी मसीहीहरू छन्‌ जसले ‘वचन, चाल-चलन, प्रेम, विश्‍वास, शुद्धतामा उदाहरण’ बसालेका छन्‌। (१ तिमोथी ४:१२) हो, मसीही मण्डलीभित्र समेत साथीसँगी छान्दा होसियार हुनुपर्छ। (२ तिमोथी २:२०, २१) तर मण्डलीमा ‘सत्यमा चल्ने’ व्यक्‍तिहरू चिन्‍नु गाह्रो कुरा होइन। (२ यूहन्‍ना ४) हिब्रू १३:७ मा उल्लिखित सिद्धान्त यसप्रकार छ: “नतिजालाई विचार गरेर तिनीहरूको विश्‍वासको देखा-सिकि गर।” तपाईंका प्रायजसो साथीहरूको आचरणको परिणाम कस्तो हुनेछ भनेर हेर्नु बाँकी नै छ। तर मण्डलीमा पाको व्यक्‍तिहरू पनि छन्‌ जसले आफ्नो विश्‍वसनीयता प्रमाणित गरिसकेका छन्‌ र तिनीहरूसित चिनजान गर्ने प्रयास गर्नु बुद्धिमानी हो।

तपाईं सोध्नुहोला, ‘पाको व्यक्‍तिहरूसित चिनजान गर्ने रे?’ हुन त यो कुरा सुरुसुरुमा त्यति रमाइलो लाग्दैन। तर पाको साथी पावलसित तिमोथीको कस्तो मित्रता थियो, सम्झनुहोस्‌ त। पावलले तिमोथीको क्षमता देखेर आफूसित “भएको परमेश्‍वरको वरदानलाई बल्दो पार” भनी प्रोत्साहित गरे। (२ तिमोथी १:६) तपाईंलाई मदत या प्रोत्साहन दिएर तपाईंको ईश्‍वरप्रदत्त वरदान झल्काउन मदत तथा प्रोत्साहन दिने व्यक्‍ति पाउनु फाइदाजनक नहोला र?

ब्रायन नाउँको केटोले त्यस्तै अनुभव गरे। तिनी हीन भावनाले पिरोलिएका थिए र त्यसै समयताक आफूभन्दा उमेरमा पाको अविवाहित सेवकाई सेवकसित तिनको चिनापर्ची भयो। ब्रायन भन्छन्‌: “तिनले अरू मानिसहरू र मप्रति देखाउने मायालु चासो, सेवकाईप्रति तिनको जोस अनि तिनका सानदार भाषणहरू असाध्यै राम्रो लाग्छ।” यस पाको मसीहीले देखाएको व्यक्‍तिगत चासोबाट ब्रायनले लाभ उठाउन थालिसकेका छन्‌। तिनी कुरा नलुकाई यसो भन्छन्‌: “म पहिलेको जस्तो लजालु अनि सुस्त नभएर नयाँ मान्छे भएको छु।”

आमाबाबुलाई आदर्श बनाउने

किशोरावस्था—दबाबमा परेको पुस्ता (अंग्रेजी) पुस्तक भन्छ, “किशोर वा किशोरीलाई चित्तबुझ्दो चिनारी बसाल्न वा बिगार्न प्रभाव पार्ने” विभिन्‍न बाह्‍य कुराहरूमध्ये आमाबाबुको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ। त्यस्तो कुनै डोऱ्‍याइ वा चिनारीको स्पष्ट आभासबिना किशोरकिशोरीहरू “छाल सँगसँगै यताउता बहकिने पतवार नभएको जहाज जस्तै हुनेछन्‌।”

यस सल्लाहले चेला याकूबले १,९०० वर्षअघि याकूब १:६ मा लिपिबद्ध गरेका यी शब्दहरू प्रतिबिम्बित गर्छन्‌: “त्यसले केही पनि सन्देह नगरी विश्‍वाससाथ मागोस्‌। सन्देह गर्नेचाहिं बतासले हुत्तिएर उचाल्दै पछार्दै गरेका समुद्रका लहरीसमान हुनेछ।” यस्तै प्रकारका युवायुवतीहरू सायद तपाईंले देख्नुभएको होला। तिनीहरू भोलिको पर्वाह नगरी केवल आजको मोजमज्जामा जिउँछन्‌।

के तपाईंका आमाबाबु मण्डलीमा असल नमुना बसाल्ने ईश्‍वरभीरु व्यक्‍तिहरू हुन्‌? हुन्‌ भने के तपाईं उनीहरूको कुरा मान्‍नुहुन्छ? वा के तपाईं सधैं उनीहरूको विद्रोह गर्नुहुन्छ? हो, तपाईंका आमाबाबुहरू सिद्ध हुनुहुन्‍न। तर उहाँहरूका राम्रा गुनहरूप्रति आँखा नचिम्लनुहोस्‌ किनभने ती गुनहरू अनुसरण गर्नुमा तपाईंकै भलाइ छ। “म आफ्ना आमाबाबुलाई असाध्यै प्रशंसनीय ठान्छु” भनी जारोद नाउँका मसीही युवकले लेखे। “सेवकाईमा उहाँहरूको अथक जोस, उहाँहरूले झेल्नुभएका आर्थिक कठिनाइहरू र पूर्ण समय सेवकाईमा लाग्न उहाँहरूले मलाई दिनुभएको प्रोत्साहन आदिले मलाई राम्रो प्रभाव पाऱ्‍यो। मेरा आदर्श नमुना मेरा आमाबाबु नै हुनुहुन्छ।”

सर्वोत्कृष्ट आदर्श नमुना

आमसर्वेक्षण संगठनले संयुक्‍त राज्यका केही युवाहरूलाई इतिहासका सबैभन्दा महान्‌ व्यक्‍ति को भनी प्रश्‍न गर्दा प्रायजसोले अमेरिकी राजनीतिज्ञहरू रोजे। मात्र ६ प्रतिशतले येशू ख्रीष्ट रोजे। तथापि, बाइबलले बताएअनुसार येशू ख्रीष्टले “उहाँको पाइलामा टेकेर हिंड़नालाई [हामीलाई] एक उदाहरण” छोड्‌नुभयो। (१ पत्रुस २:२१; हिब्रू १२:३) उहाँ आफ्ना चेलाहरूलाई उहाँलाई हेरेर सिक्ने प्रोत्साहन दिनुहुन्छ। (मत्ती ११:२८, २९) तर सिक्ने कसरी?

येशूको जीवनीबारे पूर्ण जानकारी हासिल गर्नुहोस्‌। आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुषa पुस्तकको मदत लिएर सुसमाचारका पुस्तकहरू सुरुदेखि अन्तसम्म पढ्‌ने प्रयास गर्नुहोस्‌। येशूको शिक्षा, मानिसहरूसितको दयालु व्यवहार र दबाब आइपर्दा उहाँले देखाउनुभएको साहस नियालेर हेर्नुहोस्‌। त्यसपछि, तपाईंले देखासिकी गर्न योग्यको सर्वोत्कृष्ट आदर्श नमुना येशू नै पाउनुहुनेछ।

तपाईंले सिद्ध आदर्श नमुनाबारे जति बढी सिक्नुहुन्छ हानिकारक साथी वा ख्यातिप्राप्त व्यक्‍तिहरूतर्फ त्यति नै कम आकर्षित हुनुहुनेछ। सम्झनुभएको छ, पिङ आफूलाई मन परेको खेलाडी देखेर कति मक्ख पर्थे? पिङ अहिले पनि बेला बेलामा बास्केटबल खेल्छन्‌ तर ख्यातिप्राप्त व्यक्‍तिको देखासिकी गर्नु मूर्खता हो भनेर बुझ्न थालेका छन्‌।

रिचर्ड नि? आफूले छानेको आदर्श नमुनाले गर्दा तिनले मसीही विश्‍वास त्यागे। तथापि, रिचर्डको चिनापर्ची २० वर्ष नाघिसकेका साइमनसित भयो र तिनी यहोवाका साक्षी थिए। रिचर्ड भन्छन्‌, “साइमनले मलाई साथी बनायो र बाइबलका सिद्धान्तहरू नपन्छाई जीवनको आनन्द उठाउन सकिन्छ भनी बुझ्न मदत गऱ्‍यो। साइमनलाई मैले आदर गर्न थालें र मण्डलीमा पुनः फर्केर यहोवालाई आफ्नो जीवन समर्पण गर्न उसको उदाहरणले मेरो जीवनमा निकै ठूलो भूमिका खेल्यो। म अहिले पहिलेभन्दा खुसी छु र मेरो जीवन साँच्चै अर्थपूर्ण भएको छ।”

हो, कसलाई आफ्नो आदर्श नमुना छान्‍नुहुन्छ, त्यसले ठूलो फरक पार्छ!

[फुटनोट]

a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।

[पृष्ठ १३-मा भएको चित्र]

असल नाउँ कमाएका पाको व्यक्‍तिहरूसित सरसंगत गर्नु मदतकारी हुनसक्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने