नङ—के तपाईं त्यसलाई स्याहार्नुहुन्छ?
स्वीडेनका ब्यूँझनुहोस्! संवाददाताद्वारा
कसैले तपाईंलाई “खै, तपाईंको नङ हेरूँ त?” भन्यो भने तपाईं के गर्नुहुन्छ? सफा नङ दंग परेर देखाउनुहुन्छ वा हत्तपत्त हात लुकाउनुहुन्छ? नङ लुकाउनुपर्ने ठोस कारण होला। सायद ती राम्रा छैनन् वा तपाईं नङ टोक्नुहुन्छ। नङको अद्भुत बनावटबारे अझ बढी थाह पाउनुभयो भने त्यसको मोल गर्न अनि राम्रो स्याहार्न जोसिन सक्नुहुन्छ।
तपाईंको नङको अधिकांश भाग कडा मृत कोषहरू हुन् अनि त्यसमा केराटीन नाउँको रेशादार प्रोटिन पाइन्छ। नङ बढ्ने दर औंलैपिच्छे र मान्छेपिच्छे फरक फरक हुन्छ। नङ प्रति महिना औसतन तीन मिलिमिटरको दरले बढ्छ। कहिल्यै नकाटी बढ्न दिने हो भने निकै लामो हुनसक्छ। द गिनेस बुक अफ वर्ल्ड रेकर्डस् १९९८ अनुसार एक भारतीय पुरुषको बायाँ हातका पाँच औंलाहरूका नङको कुल लम्बाइ ५७४ सेन्टिमिटर थियो। तिनको बूढी औंलाको नङ १३२ सेन्टिमिटर लामो थियो।
जटिल बनोट
झट्ट हेर्दा नङ एउटा सिंगो पाता, एउटा टुक्रा जस्तो देखिन्छ। त्यसकारण, नङको देखिने तथा नदेखिने भागहरू थुप्रै छन् भनी थाह पाउँदा तपाईं छक्कै पर्नु होला। आउनुहोस्, नङको बनोटलाई नियालेर हेरौं।
१. नङको पाता। हामी सामान्यतया यही कडा भागलाई नङ भन्छौं। नङको पाताको माथिल्लो र तल्लो गरी दुई तह हुन्छन्। यी दुवै तहका कोषहरूको संरचना बेग्लाबेग्लै हुन्छन् र तिनीहरूको वृद्धि दर पनि फरक फरक छ। माथिल्लो तह चिल्लो हुन्छ तर तल्लो तहका चुच्चाहरू नङको पींधसित मिलेर बसेका हुन्छन्। यी चुच्चाहरू हरेक व्यक्तिमा फरक फरक हुन्छन् र व्यक्तिविशेषको चिनारीसरह हुनसक्छन्।
२. लुन्युल। यो, नङको पाताको सबैभन्दा तलतिर अर्धचन्द्रमाजस्तो देखिने सेतो भाग हो। सबै नङमा यो प्रस्ट हुँदैन। म्याट्रिक्स अर्थात् नङको पाताको सबैभन्दा तल्लो भागमा हुने जीवित तन्तुको सानो ठाउँबाट नङ बढ्छ। नङको सबैभन्दा महत्त्वपूर्ण भाग यही हो। नङको म्याट्रिक्सको सबैभन्दा तल्लो भाग लुन्युल हो र यो जीवित नङको देखिने अंश पनि हो। नङको पाताको बाँकी भाग मृत कोषहरूले बनेको हुन्छ।
३. नजिक तथा टाढाको छालाको पत्र। यसले नङको पाता वरपरको छालालाई बुझाउँछ। यो छालाको पत्रले नङको पाता मात्र छोप्ने होइन तर नङको पातामुनि तथा नयाँ पलाएको पातालाई पनि ढाक्छ। यो छालाको पत्रले नङ वरपरको भागलाई सुरक्षा प्रदान गर्नुका साथै टेवा पुऱ्याउँछ।
४. एपनिकियम। यो नङको पाताको सबैभन्दा तलतिर देखिने छालाको मसिनो पत्र हो। कहिलेकाहीं यसलाई क्युटिकल पनि भनिन्छ।
५. क्युटिकल। क्युटिकल वास्तवमा एपनिकियममुनिको सानो टुक्रा छाला हो। यो छालाको पत्रको कुनै रंग हुँदैन र नङको पातापछाडि जोडिएको हुन्छ।
६. खुला भाग। औंलाको टुप्पोभन्दा माथि पट्टिको नङको पाता।
७. हाइपोनिकियम। नङको खुला भागमुनि यो तन्तुले छालालाई टमक्क कस्छ र पानी पस्न र संक्रमण हुनदेखि जोगाउँछ।
उपयोगिता
हाम्रो नङ असाध्यै उपयोगी चीज हो, जस्तै कन्याउन। सुन्तला छोडाउन, गाँठो फुस्काउन वा स-साना मालतालहरू मिलाउन साह्रै उपयोगी छन्। यसबाहेक, नङले असाध्यै संवेदनशील तथा नाजुक औंलाको टुप्पोलाई सुरक्षा प्रदान गर्छ।
शारीरिक सौन्दर्यमा पनि नङको भूमिका महत्त्वपूर्ण छ। सफासुग्घर गर्ने हाम्रो बानी कस्तो छ भनेर पनि नङले देखाउनसक्छ। नङले सामान्य इसारामा महत्त्वपूर्ण भूमिका खेल्छ र राम्ररी जतन गरेको खण्डमा हाम्रो हातको शोभा बढाउँछ। ती नहुँदा हुन् त हाम्रो दैनिक जीवनमा बाधा पुग्नेथियो र हाम्रा हातहरू अपूरा देखिनेथिए।
उचित स्याहारले ती बलिया हुन्छन्
नङ, हाम्रो अद्भुत शरीरको एउटा भाग हो र त्यसको उचित स्याहार गर्नुपर्छ। नङको गम्भीर विकृति छ भने डाक्टरकहाँ जानुपर्छ। भनौं भने, औंलाको टुप्पो हेरेर पनि शारीरिक समस्याका लक्षणहरू पत्ता लगाउन सकिन्छ। भनिन्छ, कुनै कुनै शारीरिक समस्याहरू हाम्रो नङबाट पत्ता लाग्छ।
के थप क्याल्सियम वा भिटामिन खाएमा नङ बलियो हुन्छ? यो प्रश्नको जवाफमा स्वीडेनको स्टकहोमस्थित क्यारोलिन्स्का संस्थानका नङसम्बन्धी अनुसन्धानकर्ता प्राध्यापक बो फर्स्लिंन्डले ब्यूँझनुहोस्!-लाई यसो भने: “त्यो दृष्टिकोणलाई समर्थन गर्ने कुनै प्रमाण पाइँदैन। सामान्य नङ परीक्षण गर्दा एकदमै कम मात्रामा मात्र क्याल्सियम पाइयो।”
तपाईंको नङ बलियो तथा मुलायम राख्न साँच्चै मदत गर्ने तत्त्व चाहिं पानी हो। माथि उल्लेख गरिएअनुसार नङमा केराटीन हुन्छ। यी केराटीन पत्रहरू मुलायम हुन पानी चाहिन्छ। प्राध्यापक फर्स्लिंन्ड यो उदाहरण दिन्छन्: “सुरुमा नङ काट्दा मुलायम भए तापनि रातभरिमा सुकिसकेको नङ भोलिपल्ट काट्दा असाध्यै कडा हुन्छ।” आर्द्रताले तपाईंको नङ मुलायम तथा बलियो बनाउनेछ। तर यो आर्द्रता कहाँबाट प्राप्त हुन्छ? नङको पाता एक ढिक्काजस्तो देखिन्छ तर पानी छिर्नसक्छ। नङमुनिको आर्द्रता नङको पाता भएर सतहसम्म पुग्छ र त्यहाँबाट बाफ बनेर उड्छ। नङ कडा हुन नदिएर मजबूत बनाउन के गर्न सकिन्छ? प्राध्यापक फर्स्लिंन्ड यसो भन्छन्: “दिनहुँ तेल लगाउँदा फाइदा हुनसक्छ।”
नङ बढाउने र सुन्दर बनाउने
म्याट्रिक्सबाट नङ बढ्ने हुनाले यो भागको उचित स्याहारसुसार गर्नु खाँचो छ। क्रिम वा तेल लगाएर नियमित तवरमा म्याट्रिक्सको मालिस गरेमा नङको पातालाई फाइदा पुग्छ। यसबाहेक, नङको खुला भागमा एक थोपा तेल हाल्नु पनि राम्रो हुन्छ किनभने यसो गर्दा नङ सुक्खा हुँदैन।
नङ मिलाउने वा काट्ने तरिकाले पनि नङ बलियो वा कमजोर बनाउनसक्छ। छेउबाट सुरु गरेर पछि बीचको नङ मिलाउने सुझाउ दिइन्छ। नबिर्सनुहोस्, छेउमा धेरै मिलाउँदा नङ कमजोर हुन्छ। नङ चुच्चो हुन्छ र छेउमा कुनै टेवा नभएको हुँदा नङ एकदमै कमजोर हुन्छ। छोटो बलियो नङको लागि छेउ नकाटी १.५ मिलिमिटर बढ्न दिनुहोस् र औंलाको टुप्पोको घुमौरो आकारमा नङ मिलाउनुहोस्।
कोही कोही आइमाईहरूलाई अलि लामो नङ मन पर्छ। तर एउटा कुरामा ध्यान दिनुपर्छ। असाध्यै लामो नङले अरू मानिसहरूको अनावश्यक ध्यान खिंच्नुका साथै सामान्य कामहरू गर्न बाधा पुऱ्याउनसक्छ। त्यसकारण, नङको लम्बाइको सन्दर्भमा सन्तुलित दृष्टिकोण राख्नुहोस्। यसो गर्नुभयो भने तपाईंको नङ एउटा थप उपयोगी वस्तु हुनेछ र अरूमा राम्रो छवि बसाल्नेछ।
विशेषज्ञहरू भन्छन्, तीखो औजारले कहिल्यै नङ सफा नगर्नुहोस्। यसले नङमुनिको तन्तु हाइपोनिकियमलाई बिगार्नसक्छ। यो तन्तुले मुनिको नङ जोगाउन बलियो सिलबन्दी लगाउँछ। यो भागमा चोटपटक लाग्यो भने नङ निस्केर संक्रमण हुनसक्छ। नङमुनि सफा गर्न एकदमै नरम बुरुसको प्रयोग गर्नुहोस्।
बलियो तथा स्वस्थ नङहरूमा वंशाणुगत तत्त्वहरूको पनि ठूलो भूमिका रहन्छ। त्यसैकारण, कसै कसैको नङ बलियो अनि मुलायम हुन्छ त कसै कसैको सुक्खा वा कडा हुन्छ। तपाईंको नङ जस्तोसुकै भए तापनि नियमित तवरमा ठिक्कको स्याहार गरेर राम्रो बनाउन सक्नुहुन्छ। हो, नङको संरचना, कार्य तथा उचित हेरचाहसम्बन्धी जानकारी हासिल गरेर त्यो कसरी हेरचाह गर्ने भनेर बुझ्नुहुन्छ। त्यस्तो जानकारी बुद्धिमानीपूर्वक प्रयोग गर्दा परिणाम राम्रो हुन्छ।
औंलाका नङहरू मानव शरीरको साँच्चै एउटा अद्भुत भाग हो। तिनीहरूको संरचना तथा कार्यले ती नङ बनाउनुहुने व्यक्तिको तीक्ष्ण बुद्धिलाई झल्काउँछ। पुरातन समयका राजा दाऊदले सृष्टिकर्ताको तारिफ गर्दै भजन १३९:१४ मा नम्रतापूर्वक यसो भने: “म तपाईलाई धन्यवाद दिनेछु। किनकि म भयानक र आश्चर्य रीतिले बनिएको छु। तपाईका कार्यहरू आश्चर्यका छन्। र ती कुरा मेरो आत्माले राम्ररी जान्दछ।”
[पृष्ठ २३-मा भएको रेखाचित्र]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
१. नङ पाता;
२. ल्युनुल;
३. नङको नजिक तथा टाढाको पत्र;
४. इपोनिकियम;
५. क्युटिकल;
६. खुला भाग;
७. हाइपोनीकियम
८. म्याट्रिक्स;
९. नङको पींध$