प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ७/८ पृ. २६-२८
  • उसले मेरो माया स्वीकारेन भने के गर्ने होला?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उसले मेरो माया स्वीकारेन भने के गर्ने होला?
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रेमविह्वल हुँदाका पीडाहरू
  • आफ्ना भावनाहरू जाँच्नुहोस्‌
  • तथ्य स्वीकार्नुहोस्‌
  • चित्त दुख्दा
  • मैले उसलाई कसरी इन्कार गर्ने?
    ब्यूँझनुहोस्‌!—२००१
  • आफ्नो मनको कुरा उसलाई कसरी भनूँ?
    ब्यूँझनुहोस्‌!—२००४
  • मलाई मन पराउने केटीसित म कस्तो व्यवहार गरूँ?
    ब्यूँझनुहोस्‌!—२००५
  • उसले नाइँ भनेमा के गर्ने?
    ब्यूँझनुहोस्‌!—२००५
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ७/८ पृ. २६-२८

युवा जनहरू सोध्छन्‌. . .

उसले मेरो माया स्वीकारेन भने के गर्ने होला?

“म चिन्तित छु, मेरो दिमागै ठेगानमा छैन। मलाई ऊ मन पर्न थालेको छ। तर ऊ मलाई मन पराउँछ, पराउँदैन मलाई थाह छैन। के गर्ने होला? मलाई ऊ मन पर्न थालेको छ भनी भनूँ कि नभनूँ? अहँ, कसरी भन्‍ने! अरूले मलाई के भन्लान्‌?”—हुडा।a

एक लेबनानी युवती हुडालाई एउटा केटा मन पर्न थालेको थियो तर त्यस केटाले तिनको माया स्वीकारेनन्‌। यो कुनै असामान्य समस्या होइन। जेना नाउँ गरेकी अर्की एक युवतीले पनि त्यस्तै अनुभव गरिन्‌। तिनी सम्झन्छिन्‌: “ऊ हाम्रो छिमेकी भएको हुँदा उसलाई दिनहुँ देख्थें। ऊ असाध्यै आकर्षक र सुन्दर थियो। त्यसैले मलाई ऊ मन पर्न थाल्यो।”

निस्सन्देह, विवाह गर्न मिल्ने व्यक्‍ति हो भने कुनै मसीहीले कसैलाई मन पराउन थाल्नुमा कुनै गल्ती छैन। (हितोपदेश ५:१५; १ कोरिन्थी ७:३९) नता कुनै युवतीले विवाह गरेर परिवार बसाल्ने चाह गर्नु नै गलत हो। तर तपाईंलाई मन पर्न थालेको व्यक्‍तिलाई तपाईंका भावनाहरूबारे पत्तै छैन वा तपाईंको माया स्वीकारेन भने के गर्ने?

प्रेमविह्वल हुँदाका पीडाहरू

हुडाले झैं तपाईं पनि आफू भावनात्मक आँधीबेहरीको माझमा परेको महसुस गर्नुहुन्छ होला। कहिले खुसीको सीमै नहोला त कहिले असाध्यै दुःखी हुनुहोला। जेना भन्छिन्‌, “कहिलेकाहीं मलाई यस संसारमा मजस्तो खुसी व्यक्‍ति कोही छैन जस्तो लाग्छ र कहिलेकाहीं चाहिं संसारको सबैभन्दा दुःखी व्यक्‍तिजस्तो लाग्छ।” एकतर्फी माया चिन्ता, अनिद्रा र निराशाको समेत कारण हुनसक्छ।

बाइबलमा हितोपदेश १३:१२ ले यसो भन्छ: “आशा साकार नहुँदा मन मर्छ।” अनि आफ्ना आशाहरू साकार नहुँदा मन वाक्कब्याक्क होला! चौबीसै घण्टा त्यही व्यक्‍तिबारे मात्र विचार गरिरहने र तिनीबारे जस्तोसुकै सानोतिनो कुरा सुन्‍न पनि उत्सुक हुनुहोला। तिनलाई ध्यानाकर्षण गर्ने तरिकाहरूबारे सोच्न थाल्नुहोला वा तिनलाई भेट्‌न बहाना खोज्नुहोला। अनि तिनीसँगै हुँदा चाहिं के गर्ने, के नगर्ने थाह नभएर होस हवास गुमाउनुहोला।

विशेषगरि तपाईंलाई मन परिरहेको व्यक्‍तिले कहिलेकाहीं तपाईंलाई मात्र पूर्णतया ध्यान दिन्छ अनि अर्को बेला चाहिं तपाईंप्रति पटक्कै चासो नभएजस्तो गर्दा झनै पीडादायी हुन्छ। अनि तिनले अरू कसैलाई असल हृदयले माया देखाइरहेको देख्दा ईर्ष्याका भावनाहरू तपाईंमा पलाउनसक्छ। बाइबल भन्छ: “क्रोध निर्दयी हुन्छ, औ रीस चाहिं भल हो, तर डाहको सामने को खड़ा हुनसक्छ?”—हितोपदेश २७:४.

हुडा यस्तो स्वीकार्छिन्‌: “ममा यस्तो नराम्रो ईर्ष्याका भावनाहरू आउन थाल्यो कि मैले ती सोचाइहरू रहिरहन दिएकी भए म पागल हुने थिएँ।” फलस्वरूप आफैलाई घृणा गर्न थाल्नुहोला। हुडा भन्छिन्‌: “मलाई प्रेम नगर्ने व्यक्‍तिलाई प्रेम गरेर आफैलाई सास्ती दिइरहेकोले मैले आफैलाई दोषी ठहऱ्‍याउन थालें।”

पश्‍चिमी मुलुकका युवतीहरूले आफूलाई कुनै युवक मन पर्न थाल्यो भने आफ्ना भावनाहरू धक नमानी बताउनसक्छन्‌ तर सबै युवतीहरूसित त्यस्तो आँट हुँदैन। अनि केही संस्कृतिमा केटीहरूले आफ्नो भावना पहिला व्यक्‍त गर्नु अनुचित वा असाध्यै नराम्रो समेत ठानिन्छ। त्यसोभए तपाईंले मन पराएको मानिसले तपाईंको माया नस्वीकार्दा के गर्न सक्नुहुन्छ?

आफ्ना भावनाहरू जाँच्नुहोस्‌

पहिला आफ्ना भावनाहरू शान्त मनले जाँच्ने कोसिस गर्नुहोस्‌। बाइबलले यस्तो चेताउनी दिन्छ: “आफ्नै बुद्धिमा मात्र भरोसा गर्नु सरासर मूर्खता हो।” (हितोपदेश २८:२६) किन? किनभने हाम्रो हृदय प्रायः छली हुन्छ। (यर्मिया १७:९) अनि हामीले प्रेम भन्ठानेको त कुरा अर्कै हुनसक्छ। हुडा भन्छिन्‌: “मलाई ध्यान र प्रेम चाहिएको थियो। मलाई अरूले ध्यान दिएको र माया गरेको चाहन्थें। बाल्यकालदेखि मैले माया पाएकी थिइनँ। मलाई त्यसले गहिरो प्रभाव पाऱ्‍यो।” तपाईं पनि निर्दयी वा दुर्व्यवहारले भरिएको वातावरणमा हुर्कनुभएको हो भने त्यस्तै प्रेम र आदरको तृष्णा गर्नुहुन्छ होला। तर के यस्ता समस्याहरूको हल रोमान्टिक सम्बन्धहरू नै हुन्‌ त?

दुःखलाग्दो कुरा, दुःखी तथा एक्लो महसुस गर्ने व्यक्‍तिहरू प्रायः असल वैवाहिक जोडी हुनसक्दैनन्‌। आफूलाई अत्यन्तै आवश्‍यक परेको कुरा पाउने आशा गर्दै तिनीहरू विवाहबन्धनमा बाँधिन्छन्‌। तथापि, साँचो आनन्द लिंदा होइन दिंदा पाइन्छ। (प्रेरित २०:३५) अनि आफूसित खुसी र ‘आफ्नै कुरामा मात्र होइन, तर अरूहरूका कुरामा पनि ध्यान दिने’ महिलाले सुखमय वैवाहिक जीवन बिताउने सम्भावना धेरै हुन्छ।—फिलिप्पी २:४.

विवाह गर्न दबाब महसुस गरिरहनुभएको बेला तपाईंलाई विपरीत लिंगको व्यक्‍तिले केही सानोतिनो कुराहरू गरिदिंदा पनि तपाईंले गलत अर्थ लगाउने सम्भावना हुन्छ। साथी तथा परिवारको कारण पनि कहिलेकाहीं युवतीहरूमा मायाप्रीतिका चाहनाहरू उर्लिनसक्छन्‌। कुनै कुनै समाजमा केटीको उमेर पुग्ने बित्तिकै विवाह गरिदिन बढी जोड दिइन्छ। मध्यपूर्वमा महिलाहरू (अंग्रेजी) नामक पुस्तक यसो भन्छ: “कुनै महिला तीस वर्ष पुग्नै लागेकी छे र अझै बिहे गरेकी छैन भने परिवारलाई ठूलो चिन्ताको विषय हुनथाल्छ।” त्यसमा परिवारको इज्जत मुछिने हुँदा बुबाले छोरीलाई सकेसम्म छिटै बिहे गराएर पठाउन खोज्छन्‌।

तर संस्कृतिलाई भन्दा बाइबलका सिद्धान्तहरूलाई बढी ध्यान दिनुपर्छ। अनि धर्मशास्त्रले जवानहरूलाई “बैंस . . . पुगिसके[पछि]” मात्र विवाह गर्न आग्रह गर्छ। (१ कोरिन्थी ७:३६) तर तपाईंको साथी वा आमाबाबुले विवाह गर्न नचाहिंदो कचकच गरिरहेका छन्‌ भने के गर्ने? ईश्‍वरभीरु शूलम्मेनी केटीले ‘आफू तयार नहोउञ्जेल नजगाऊन’ आफ्ना साथीहरूलाई आग्रह गरिन्‌। (श्रेष्ठगीत २:७) विशेषगरि तपाईंका आमाबाबु ईश्‍वरभीरु छन्‌ भने तपाईंले पनि त्यस्तै दृढ तरिकाले आफ्ना भावनाहरू बताउँदा सकारात्मक प्रभाव पर्ला।

तथ्य स्वीकार्नुहोस्‌

अनि तपाईंलाई मन परेको व्यक्‍तिको सन्दर्भमा तपाईंलाई सत्य स्वीकार्न करै लाग्छ। त्यसो गर्नु सजिलो त नहोला र भावनात्मक तवरमा गाह्रो पनि पर्ला। तर धर्मशास्त्रले यस्तो सल्लाह दिन्छ: “सत्य किन्‌, औ त्यसलाई कहिल्यै नबेच्‌।” (हितोपदेश २३:२३) आफैलाई प्रश्‍न गर्नुहोस्‌, ‘माया बसेको भन्‍न के मसित ठोस प्रमाण छ? त्यस व्यक्‍तिबारे मलाई कत्तिको थाह छ? उसको सोचाइ, भावना, विचार, बानी, मूल्य मान्यता, योग्यता, सीप तथा जीवनशैलीबारे मलाई के थाह छ?’

विचार गर्नुपर्ने अर्को कुरा हो, त्यस व्यक्‍तिले तपाईंप्रति साँच्चिकै चासो देखाएको छ कि छैन। प्रायजसो सोझो मनले देखाएको दया वा मित्रतालाई पनि गलत अर्थ लगाइन्छ। हुडा भन्छिन्‌: “ऊ केवल मप्रति दयालु हुन खोजिरहेको थियो तर मैले उसको वचन तथा कार्यहरूको गलत अर्थ लगाइरहेकी थिएँ किनभने म त्यस्तै चाहन्थें। उसले मलाई मन पराएको होइन भनी थाह पाउँदा अपमानित महसुस गरें। म उसको लायक छैन र ममा नै केही गल्ती छ जस्तो लाग्यो।”

सायद यस्तै अनुभवको कारण तपाईंले पनि त्यस्तै महसुस गर्नुभएको होला। तर एउटा कुरा नबिर्सनुहोस्‌, एउटा मान्छेले मन पराएन भन्दैमा अरू कसैले पनि मन पराउँदैन भन्‍ने होइन। आखिरमा, सारा संसारमा ऊ एक जना मात्रै केटा त होइन नि!

चित्त दुख्दा

तैपनि, चित्त दुखेपछि तुरुन्तै ठीक भइहाल्दैन। कुन कुराले मदत गर्नसक्छ? एउटा तरिका त आफ्नो असल “मित्र” अर्थात्‌ तपाईंको कुरा सुन्‍ने परिपक्व मसीहीलाई मनको कुरा सबै पोखाउन सक्नुहुन्छ। (हितोपदेश १७:१७) सायद तपाईंको मण्डलीमा कोही परिपक्व बहिनी छिन्‌ होला जोसित तपाईंले कुरा गर्न सक्नुहुन्छ। मदत तथा सहायता दिने कुरामा मसीही आमाबाबुले पनि ठूलो भूमिका निर्वाह गर्नसक्छन्‌। जेना भन्छिन्‌: “मण्डलीकी एउटी अनुभवी बहिनीले म बिचल्लीमा परिरहेको देख्नुभयो र मलाई मदत दिनुभयो। मलाई उहाँसित कुरा गर्न अप्ठ्यारो लागेन र सबै कुरा बताएँ। मेरो आमाबाबुसित कुरा गर्न उहाँले मलाई प्रोत्साहन दिनुभयो। त्यसैले मैले उहाँहरूसित कुरा गरें र उहाँहरूले मेरो कुरा बुझ्नुभयो र मदत दिनुभयो।”

अनि प्रार्थनाको शक्‍तिलाई पनि नभुल्नुहोस्‌। (भजन ५५:२२) हुडा भन्छिन्‌: “यहोवालाई प्रार्थना गर्दा मेरो पीडा धेरै कम भयो। प्रहरीधरहरा तथा ब्यूँझनुहोस्‌! पत्रिकाबाट पनि मदतकारी लेखहरू पढें।” यसबाहेक, एकलकाँटे नहुनु एकदमै महत्त्वपूर्ण छ। (हितोपदेश १८:१) अरू मानिसहरूमा चासो लिनुहोस्‌। जेना भन्छिन्‌, “आफूलाई व्यस्त राख्दा र अग्रगामी [पूर्ण-समय सुसमाचारक] गर्दा पनि धेरै मदत पाएँ। मण्डलीका अरू बहिनीहरूसित पनि धेरै हेलमेल गर्न थालें। यसबाट मैले आध्यात्मिक तवरमा प्रगति गर्न मदत पाएँ।”

“प्रेम गर्ने एउटा समय छ” भनी बाइबल बताउँछ अनि हुनसक्छ समयमा तपाईंले तपाईंको माया स्वीकार्ने व्यक्‍ति भेट्टाउनुहुनेछ। (उपदेशक ३:८) वैवाहिक प्रेमको आनन्द उठाउने चाहनासहित यहोवा परमेश्‍वरले मानिसहरूलाई सृष्टि गर्नुभएको हो अनि अन्ततः तपाईंले पनि हाम्रा महान्‌ सृष्टिकर्ताको उत्तम प्रबन्धको आनन्द उठाउन सक्नुहुनेछ। त्यतिञ्जेल प्रेरित पावलले भनेझैं “निष्फिक्री” रहने अविवाहित अवस्थाको फाइदा किन नउठाउने? (१ कोरिन्थी ७:३२-३४) जस्तोसुकै अवस्थामा पनि बाइबलको यो प्रतिज्ञा पूरा हुनेछ भनी तपाईं निर्धक्क हुन सक्नुहुन्छ: “तपाईंले [यहोवाले] आफ्नो मुठी खोल्नुहुन्छ, र सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट पार्नुहुन्छ।”—भजन १४५:१६.

[फुटनोट]

a सम्मिलित व्यक्‍तिहरूको गोपनीयताको निम्ति केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

[पृष्ठ २७-मा भएको चित्र]

कहिलेकाहीं दयामायाको गलत अर्थ लगाइन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने