प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ८/८ पृ. १५-१८
  • विविधताले भरिएको सजीव शहर—कलकत्ता

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विविधताले भरिएको सजीव शहर—कलकत्ता
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • त्यस शहरको स्थापना
  • कलकत्ताको अन्धकार घडी
  • कलकत्ताको साजसज्जा
  • मुख्य व्यापारिक शहर
  • पुराना तथा आधुनिक सवारीसाधनहरू
  • कलकत्ताको विविध संस्कृति
  • हेर्न रमाइला अनौठा ठाउँहरू
  • पकवान मेला
  • भारतीय रेल—देशभरि फैलिएको बृहत्‌ जालो
    ब्यूँझनुहोस्‌!—२००२
  • भारतको फसलमा रमाहट
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ८/८ पृ. १५-१८

विविधताले भरिएको सजीव शहर—कलकत्ता

भारतका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

बेलायती लेखक रुडयार्ड किपलिंगको निम्ति यो “भयानक रातको शहर,” “घना आबादीको रोगाहा शहर” थियो। तर प्रख्यात उर्दू कवि मिर्जा गालिबको निम्ति यो “अत्यन्तै स्फूर्तिदायी शहर,” “त्यो स्वर्गीय शहर” थियो। लेखक डोमिनिक लापियर आफ्नो हरेक भ्रमणमा त्यस शहरदेखि “मोहित भए” भने पिटर टि. ह्वाइटले नेशनल जियोग्राफिक-मा कलकत्ता “भयानक, वीभत्स, डरलाग्दो” भन्‍ने अरूको टिप्पणी उद्धरण गरे। “संसारको सबैभन्दा ठूलो फोहर बस्ती।” निस्सन्देह, कलकत्ता (बंगाली, कोलकत्ता) विविधताको शहर हो।

त्यस शहरको स्थापना

कलकत्ता भारतको उत्तरपूर्वी तट, पश्‍चिम बंगाल प्रान्तमा पर्छ र सुरुमा यो भारतको प्राचीन इतिहासको भाग थिएन। दिल्ली र थानजाभुर शहरहरूको तुलनामा यो त्यति पुरानो शहर होइन। अन्य शहरहरूझैं कलकत्ता पनि विशाल गंगा नदीले गर्दा उत्पत्ति भएको हो। बंगालको खाडी नजिकै गंगा दुइटा अनि अन्य थुप्रै स-साना नदीमा छुट्टिन्छ। अनि पछि यो संसारकै सबैभन्दा ठूलो नदीमुख बन्यो। नदीमुखको पश्‍चिमी छेउमा भगिरथी-गंगा नदी छ र यो पछि हुग्ली नाउँद्वारा चिनियो जुन समुद्रको दक्षिणतिरबाट बग्छ।

पुर्तगाली, डच, बेलायती व्यापारीहरू १५ औं र १६ औं शताब्दीमा जहाजबाट हुग्लीमा आए र स्थानीय शासकहरूको अनुमतिमा व्यापार केन्द्रहरू बनाए। ब्रिटिश इस्ट इन्डिया कम्पनीका अधिकृत जोब चारनोकले व्यापारिक केन्द्रको रूपमा सुटानुटी गाउँ रोजे। केही अवरोधहरूपछि तिनी सुटानुटी गए र गोविन्दपुर तथा कलिकत्त गाउँहरू पनि छिरे। यसरी यो व्यापारी थलो मात्र नभई बेलायतीहरू बसोबास पनि गर्न थाले। यो थियो, अगस्त २४, १६९०। यसरी कलकत्ताको जन्म भयो!

सन्‌ १६९८ मा कानुनी तवरमा यो ठाउँ भाडामा लिइयो र १७५७ सम्म बेलायतीहरूले मुगल शासकहरूलाई बाल तिर्थे। विकासोन्मुख शहरलाई सैन्य सुरक्षा दिन बेलायतीहरूले फोर्ट विलियम नाउँ गरेको किल्ला निर्माण गरे। फोर्ट विलियमको निर्माणपछि व्यापारीहरूले सुरक्षित महसुस गर्न थाले र धमाधम भव्य घरहरू बनाउन थाले। त्यतिबेलासम्म शहर तथा वरिपरिका गाउँहरूमा जनसंख्या ४,००,००० पुगिसकेको थियो र वर्षेनी हुग्लीमा व्यापार गर्न लगभग ५० वटा जहाजहरू आउँथे।

कलकत्ताको अन्धकार घडी

सन्‌ १७५६ मा बंगालका एक जवान शूरो शासक सिरज-उद-डाउलाले कलकत्तामा हमला गरे। त्यहाँका थुप्रै मानिसहरू भागे तर फोर्ट विलियममा शरण लिएका केही युरोपेलीहरूले आत्मसमर्पण गरे र जून महिनाको त्यस्तो उखुम गर्मीमा तिनीहरू सबैलाई एउटा सानो जेलमा कोचे। अर्को दिन त तिनीहरूमध्ये थुप्रै निस्सासेर मरिरहेको पाइयो। त्यही जेल नै कलकत्ताको अन्धकार घडी भनी चिनियो।

यस घटनापछि इस्ट इन्डिया कम्पनी क्रूद्ध भयो र १७५७ मा रबर्ट क्लाइभको नेतृत्वमा बेलायती सेनाले त्यस शहरलाई फेरि कब्जा गऱ्‍यो। भनिन्छ, प्लासेको युद्धपछि नै बेलायतीहरूले भारतमा शासन गर्न थालेका हुन्‌। अनि कलकत्तालाई के भयो? सन्‌ १७७३ मा यो बेलायती इन्डियाको राजधानी भयो र १९११ सम्मै कलकत्ता राजधानी रह्‍यो।

कलकत्ताको साजसज्जा

शहर सम्पन्‍न हुँदै गएपछि भव्य आलिसान भवनहरू बनिन थाले जसको कारण कलकत्तालाई दरबारहरूको शहर भनियो। चौडा बाटो, संग्रहालय तथा पुस्तकालयहरू निर्माण गरिए। अहिले पनि देखिने कतिपय चित्ताकर्षक भवनहरू त्यसको प्रमाण हो।

भारतमा १९० वर्ष लामो बेलायती शासनपछि मोहनदास गान्धी र जवाहरलाल नेहरूको नेतृत्वमा १९४७ मा भारत स्वतन्त्र भयो अनि त्यसपछि टुक्रिन पनि थाल्यो। मोहमद अलि जिन्‍नाको नेतृत्वमा मुस्लिम राज्य पाकिस्तान (पूर्वी र पश्‍चिम पाकिस्तान) बनियो। अनि १९७१ मा पूर्वी पाकिस्तान बंगलादेश भयो। यी सबै घटनाका कारण कलकत्तामा शरणार्थीहरूको ओइरो लाग्यो। आज यस महानगरको जनसंख्या झन्डै १,२०,००,००० छ।

स्रोतसाधनबिनाका शरणार्थीहरूको आगमनले थुप्रै समस्याहरू खडा गऱ्‍यो। आवास समस्याको कारण लाखौं मानिसहरू सबैभन्दा गरिब बस्तीहरूमा कार्डबोर्ड र जूटको घर बनाएर बसिरहेका थिए जहाँ ढलनिकास, विद्युत वा पानीको कुनै प्रबन्ध थिएन। अरू हजारौं चाहिं सडकहरूमै गुजारा चलाउँथे। सन्‌ १९६७ मा नौ अन्तरराष्ट्रिय शहर आयोजकहरूले कलकत्ताको अवस्थाबारे प्रतिवेदन पेश गर्दै “यसको अर्थतन्त्र, निवास, ढलनिकास, सवारीसाधन तथा जीवनका अत्यावश्‍यक कुराहरू सबै खतम हुनलागेको छ” भने। भविष्य अन्धकारमय देखिन्थ्यो।

विशेषगरि निम्न वर्गीय समूहहरूको निम्ति आवास प्रबन्ध गर्न नुनिलो कच्छभूमिको ठूलो इलाका आबाद गरियो। अनि पानीको धारले थुपारेको माटोको थेग्रो खनेर जमीन तयार पार्न नौयात्रा प्रयोग गरियो।

सन्‌ १९९० दशकको सुरुतिर भारतमा थुप्रै अन्तरराष्ट्रिय कम्पनीहरूले लगानी गर्न थाले र कलकत्ता पनि यसमा सम्मिलित हुन चाहन्थ्यो। त्यसैले बृहत्‌ सफाइ अभियान चलाइयो। झुपडीबस्तीहरूलाई शहरबाहिर सारियो, फोहरहरू विद्युत तथा मलहरू उत्पादन गर्न प्रयोग गरियो र प्रदूषण गर्ने सवारीसाधनहरूका साथै खुला आकाशमा धूवाँ फ्याँक्ने चुलोहरू पनि निषेधित गरियो। बाटोहरू चौडा बनाइयो र ठूला राम्रा बजारहरू बनाइयो। त्यहाँ क्षेत्रीय क्लबहरूले बाटोमा टाँसेको टूल, पोस्टर सबै निकालेर सफा गरे। खत्तम हुनै लागेको कलकत्तालाई फेरि पुनर्जीवित हुने अवसर दिइयो र यत्तिसम्म भयो कि एकचोटि ‘मर्नै लागेको’ शहर फेरि सजीव भयो। सन्‌ १९९७ मा देशको लागि फाइदाजनक तथा नागरिक सुविधा प्रतिवेदनमा कलकत्ता भारतका अन्य शहरहरूभन्दा कता हो कता माथि थियो।

मुख्य व्यापारिक शहर

छिमेकी राष्ट्रहरूबाट शरणार्थी, भारतकै अन्य प्रान्तहरूबाट आप्रवासी, स्थानीय बंगाली र लामो समयदेखि बसिरहेका चिनियाँ तथा आरमेनीहरूले गर्दा यस महानगर साँच्चै भाषा, संस्कृति, धर्म र पकवानको समिश्रण थलो भएको छ। के कारणले गर्दा यी लाखौं मानिसहरू कलकत्ता आए? व्यापार! विश्‍वभरिबाट जहाजहरू यस बन्दरगाहमा आउँथे जहाँ पूर्व र पश्‍चिमको मिलन हुन्थ्यो। सल्टपिटर, जूट, चिया, चिनी, इन्डिगो, कपास र रेसम निर्यात गरिन्थ्यो। बाटो, रेल तथा समुद्रबाट अनेकन्‌ सामानहरू आयातनिर्यात गरिन्थ्यो। स्वतन्त्रतापछि फलाम तथा स्टिल आदि पगालेर ढाल्ने ठूल-ठूला कारखाना निर्माण गरियो र घरायसी कार्य तथा निर्यातको निम्ति मूल्यवान्‌ खानीहरू खनियो।

व्यापार बढ्‌नुको मुख्य कारण बन्दरगाह थियो। सुरुसुरुतिर बेलायतीहरूले तिनीहरूको जहाजलाई हुग्लीको अलि गहिरो भागमै लङ्‌गर लाउँथे र साना डुंगाहरूमा सामानहरू ओसार्थे। सन्‌ १७५८ मा कलकत्तामा भारतको मुख्य बन्दरगाह बनाइयो जुन पछि गएर मुख्य व्यापार केन्द्र बन्यो। बढ्‌दो आधुनिकताका साथै गंगाको बाँधबाट बढ्‌दो पानीको प्रवाहले गर्दा कलकत्तामा अन्तरराष्ट्रिय तटवर्ती तथा अन्तरदेशीय पानी मार्गको बिस्तार भइरहेको छ।

पुराना तथा आधुनिक सवारीसाधनहरू

झन्डै १.२ करोड जनसंख्या भएको शहरमा यातायात एउटा मुख्य समस्या हो। कलकत्तामा अक्सर आधुनिक शहरमा पाइने सबै प्रकारका यातायात साधनहरू पाइन्छन्‌, अझ भन्‍ने हो भने त्योभन्दा बढी नै पाइन्छ। जो कोही आगन्तुक पनि मानिसले तान्‍ने रिक्सा देखेर दंग पर्छन्‌ किनभने ट्राफिकको चापमा पनि फुर्तिला मानिसहरूले तान्‍ने यी रिक्साहरू अक्सर बस वा ट्याक्सीभन्दा चाँडो गन्तव्यस्थानमा पुग्छन्‌। यो १९०० मा सामानहरू ओसार्न पहिलो चोटि प्रयोग गरिएको थियो र चाँडै मानिस ओसार्न चलाइयो। शहरका बाटाहरूमा झन्डै २५,००० रिक्सा गुड्‌ने अनुमान लगाइएको छ! तिनीहरूले सवारी आवागमनमा बाधा पुऱ्‍याउने भए तापनि ५०,००० भन्दा बढी मानिसहरूले यसैबाट गुजारा चलाइरहेका छन्‌ साथै अझ थुप्रैलाई यातायात प्रदान गरिरहेको छ।

दिनहुँ कलकत्ताको मुख्य रेल स्टेसन र मुख्य व्यापारिक थलोसम्म स-साना डुंगाहरूले हजारौं यात्रुहरू ओसारपसार गर्छन्‌। बाटोमा सवारी चापलाई कम गर्न जल यातायात विस्तार गरिएको छ किनभने प्रत्येक दिन संसारको अत्यन्तै व्यस्त रहने हाउरा पुलमा ५०,००० भन्दा बढी कार तथा हजारौं ट्रकहरू ओहरदोहर हुन्छन्‌।

सायद, यस शहरको सबैभन्दा लोकप्रिय पक्ष विद्युतीय ट्राम होला। सधैं आरामदायी नभए तापनि यो हरेक दिन शहरमा यताउता जान सयौं हजार मानिसहरूको निम्ति प्रदूषणरहित, धेरै अटाउने, कार्यकुशल सवारीसाधन हो। ठेलमठेल यस ट्रामको ढोकामा झुन्डेर बस्न पनि त विशेष कला नै चाहिन्छ! हालै तयार भएको मेट्रो रेल सेवाले गर्दा यातायात सुविधा निकै सजिलो भएको छ। यसले आरामसाथ चिसो हावाको आनन्द दिंदै प्रतिघण्टा ६०,००० भन्दा बढी यात्रुहरूलाई शहरको मुख्य भागमा आवतजावत गर्न सघाउँछ।

कलकत्ताको विविध संस्कृति

कलकत्तामा पाइने शैक्षिक सुविधाहरूको कारण थुप्रै मानिसहरू विज्ञान तथा कानुन क्षेत्रमा लागेका छन्‌ साथै यहाँ कला पनि फस्टाएको छ। कलकत्ता उपमहाद्वीपको सांस्कृतिक केन्द्र भएको छ। कलकत्ताको १४० वर्ष पुरानो कलकत्ता विश्‍वविद्यालयमा अढाइ लाखभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन्‌ र यो संसारको सबैभन्दा ठूलो विश्‍वविद्यालयहरूमध्ये एउटा हो।

व्यवसायिक चलचित्रको निम्ति मुम्बई भारतको केन्द्र हो भने कलकत्ता उच्चस्तरीय आर्ट फिल्मको केन्द्र हो। आर्ट फिल्मजगत्‌मा पुऱ्‍याएको योगदानको निम्ति सत्यजित रे र मृनाल सेनजस्ता नाउँ विश्‍वभरि नै प्रख्यात छन्‌। रोम र पेरिसका कविहरूको कुल जनसंख्याभन्दा बढी कविहरू कलकत्तामा छन्‌। न्यु योर्क र लन्डनमा भन्दा बढी साहित्यिक पत्रिकाहरू कलकत्तामा प्रकाशित हुन्छन्‌ र पुराना पुस्तकहरू बेचबिखन हुने संसारकै सबैभन्दा ठूलो ठाउँ कलेज स्ट्रीट हो।

हेर्न रमाइला अनौठा ठाउँहरू

उल्लेखनीय ठाउँहरूमध्ये एउटा भिक्टोरिया मेमोरियल पनि हो जुन संगमरमरद्वारा इटालेली कलाशैलीमा बनाइएको छ। सन्‌ १९२१ देखि जनसाधारणको निम्ति खोलिएको यस स्थान एउटा ठूलो संग्रहालय हो। भारतमा बेलायती शासन हुँदाका अनेक स्मारिकाहरू यहाँ राखिएका छन्‌। कलकत्तामा ठूलो भारतीय संग्रहालय र अन्य ३० भन्दा बढी संग्रहालयहरू छन्‌। चार सय मिटरभन्दा बढी परिधि भएको २४० वर्ष पुरानो बरको रूख भारतीय वनस्पति उद्यान र चिडियाखाना हेर्न लायकका ठाउँहरू हुन्‌। एक हजार दुई सय अस्सी एकड जमीन ओगटेको यहाँको मैदान कलकत्ताको फोक्सो भनेर चिनिन्छ र यो भारतमै सबैभन्दा ठूलो मैदान हो। साथै कलकत्तामा संसारकै सबैभन्दा ठूलो सौरमण्डलको नमुना बिर्ला प्लानिटेरियम पनि छ। क्रिकेट प्रेमीहरूको निम्ति इडेन गार्डेन रंगशाला छ जहाँ अन्तरराष्ट्रिय क्रिकेट खेलहरू हेर्न आएका १,००,००० भन्दा बढी उत्साही हल्लागिरी दर्शकहरूसम्म अटाएको छ।

अत्यन्तै सुन्दर भवन विज्ञान शहर पनि हो जहाँ दर्शकहरूले विभिन्‍न कुराहरू अनुभव गर्न पाउँछन्‌। जस्तै, आगन्तुकहरूले भुँइचालो महसुस गर्नसक्छन्‌, टापु पानीमा डुबेको, भुँवरी देख्नसक्छन्‌, वातावरणबारे मनमोहक तथ्यहरूका साथै थुप्रै प्राणीका बानीबेहोरा पनि सिक्नसक्छन्‌। तर कलकत्ताका हिन्दूहरूका निम्ति सबैभन्दा मुख्य आकर्षण दुर्गा पूजा हो। त्यसबेला पूरा शहर नै पाँच दिने धार्मिक आमोदप्रमोदमा उन्मत्त हुन्छ र सामान्य कामकाजहरू सबै ठप्पै हुन्छन्‌।

कलकत्ताको बजारमा के के किनमेल गर्न सकिन्छ? नपाउने कुरा केही छैन! खालि यति हो, तपाईं कल्याङमल्याङ हूलमा जान तयार हुनुपर्छ। तपाईंले राम्रा रंगीचंगी साडी लगाएका महिलाहरू पनि अवश्‍य याद गर्नुहोला। ठीक्कको भाउमा तपाईंले छालाका सरसामानहरू किन्‍न सक्नुहुन्छ। यतिसम्म कि चिनियाँको पसलमा छालाको जुत्ता पाउन सक्नुहुन्छ। झर्को नमानी किनमेल गर्नसक्ने व्यक्‍तिले “मालतालहरूको प्रमोदवनमा” पाउने केही सामानहरू हुन्‌—स्टेनलेस स्टीलका भाँडा, कपडा, बहुमूल्य माटाका भाँडा, असाध्यै राम्ररी कुँदेको गहना इत्यादि।

पकवान मेला

कलकत्तालाई स्वादपारखीहरूको प्रमोदवन पनि भनिएको छ। त्यसैले यहाँको कुनै कुनै स्वादिष्ट पकवानहरू चाख्नैपर्छ। भनिन्छ, बंगालीहरूले खानालाई अत्यन्तै महत्त्वपूर्ण ठान्छन्‌ र तिनीहरू पकवान कला हेरेर मानिसहरूलाई छुट्याउने गर्छन्‌। कलकत्ताको खाना महोत्सवमा माछा नभई हुँदैन र त्यहाँको ठूलो बजारमा अनेक किसिमका माछा, मासु र तरकारीहरू पाइन्छन्‌। ताजा मसलालाई राम्रोसित मिलाउँदा सबैभन्दा सामान्य तरकारी अत्यन्तै स्वादिष्ट हुन्छ। चिनियाँ खाना पनि प्रशस्त पाइन्छ। कलकत्तामा पाइने खानाहरूबारे कुरा गर्दा यहाँका प्रख्यात मिठाइहरूको नाउँ नलिई हुँदैन। फाटेको दूधको छोक्रा बनाएर गोल आकार पारी चिनीको चास्नीमा डुबाएर रसबरी बनाइन्छ र यो बंगालको चिनारी हो। अनि मिष्ठी डो खान पनि नभुल्नुहोस्‌ नि, यो गुलियो दही हो जुन अक्सर भोजनको अन्तमा खाइन्छ। कतै तपाईंको मुखमा पानी त आएन? के तपाईंले ती भोजनालयहरूमा पाकिरहेका पकवानको मीठो बास पाउनुभयो? हो, कलकत्ता साँच्चै विविधताले भरिएको सजीव शहर हो!

[पृष्ठ १५-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

श्रीलंका

भारत

कलकत्ता

बंगलादेश

[नक्सा]

कलकत्ता

भारतीय वनस्पति उद्यान

मैदान

चिडियाखाना

बिर्ला प्लानिटेरियम

भिक्टोरिया मेमोरियल

भारतीय संग्रहालय

हुग्ली नदी

नुनिलो पानी भएको ताल

डम डम अन्तरराष्ट्रिय विमानस्थल

[स्रोत]

Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.

[पृष्ठ १५-मा भएको चित्र]

विज्ञान शहर

[पृष्ठ १६-मा भएको चित्र]

भिक्टोरिया मेमोरियल

[पृष्ठ १७-मा भएको चित्र]

व्यस्त बजारको दृश्‍य

[पृष्ठ १७-मा भएको चित्र]

पेटीमा हजामको पसल

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने