प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ८/८ पृ. १९-२१
  • मैले किन ध्यान दिन नसकेको?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मैले किन ध्यान दिन नसकेको?
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तपाईंको परिवर्तनशील सोचाइ पद्धति
  • भावना तथा हर्मोनहरू
  • तपाईंको सुत्ने बानी
  • भोजन तथा ध्यान दिने क्षमता
  • टिभी तथा कम्प्युटर युग
  • म कसरी ध्यान दिनसक्छु?
    ब्यूँझनुहोस्‌!—१९९८
  • म आफ्ना भावनाहरू कसरी नियन्त्रणमा राख्न सक्छु?
    ब्यूँझनुहोस्‌!—२००५
  • के कम्प्युटर गेम खेल्नेहरूलाई खतरा छ?
    ब्यूँझनुहोस्‌!—२००३
  • स्वास्थ्यकर मनोवृत्ति कसरी कायम गर्ने
    ब्यूँझनुहोस्‌!—१९९९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ८/८ पृ. १९-२१

युवा जनहरू सोध्छन्‌ . . .

मैले किन ध्यान दिन नसकेको?

“कहिलेकाहीं त चालै नपाई यसो हुन्छ। मण्डलीको सभामा सुनिरहेको हुन्छु तर अकस्मात्‌ मेरो मन कताकता डुल्न थाल्छ। अनि दस मिनेटपछि फेरि ध्यान दिन थाल्छु।”—जेस।

“ध्यान देऊ!” के तपाईं बारम्बार आफ्ना शिक्षक वा आमाबाबुले यसो भनेको सुन्‍नुहुन्छ? यदि हो भने ध्यान दिन नसक्ने तपाईंको समस्या छ। फलस्वरूप तपाईंको पढाइमा कम नम्बर आइरहेको हुनसक्छ। अनि तपाईंले महसुस गर्नुभएको होला कि अरूले तपाईंप्रति नकारात्मक दृष्टिकोण राख्छन्‌, तपाईंलाई लट्टू वा बेसोमती भनेर पन्छाउन खोज्लान्‌।

अझ महत्त्वपूर्ण कुरा त ध्यान दिन नसक्दा तपाईंको आध्यात्मिकतामा नकारात्मक असरहरू पर्नसक्छन्‌। आखिरमा, बाइबलले पनि यस्तो आज्ञा दिन्छ: “होशियार रहो, तिमीहरू कसरी सुन्छौ।” (लूका ८:१८) वास्तवमा मसीहीहरूलाई आध्यात्मिक कुराहरूमा “बढ़ी उत्कट ध्यान” दिन आज्ञा दिइएको छ। (हिब्रू २:१) अनि तपाईंलाई ध्यान दिन गाह्रो लाग्छ भने उक्‍त सल्लाह पालन गर्न पनि गाह्रो लाग्ला।

समस्या के हुनसक्छ? कुनै कुनै अवस्थामा शारीरिक समस्याले गर्दा ध्यान दिन नसकेको हुनसक्छ। उदाहरणका लागि, कोही कोही अनुसन्धानकर्ताअनुसार मस्तिष्कका स्नायु प्रणालीले राम्ररी काम नगर्दा अटेन्शन डेफिसिट डिस्‌अर्डर हुनसक्छ।a कुनै कुनै केटाकेटीका समस्याहरू पत्ता नलागेको हुनसक्छन्‌, जस्तै कान नसुन्‍ने वा कमजोर दृष्टि। यी कारणहरूले पनि ध्यान दिन नसकिरहेका हुनसक्छन्‌। अनुसन्धानकर्ताहरूले पत्ता लगाएअनुसार वयस्कहरूभन्दा केटाकेटीहरूलाई ध्यान दिन बढी कठिनाइ हुने गर्छ। ध्यान दिन नसक्नु केटाकेटीको सामान्य समस्या हो र यो स्वास्थ्य समस्याले नै भएको भन्‍न सकिन्‍न।

तपाईंको परिवर्तनशील सोचाइ पद्धति

ध्यान दिन नसक्ने तपाईंको समस्या छ भने सायद तपाईंले केवल हुर्किने समयमा भोग्ने समस्याहरू भोग्दै हुनुहुन्छ। प्रेरित पावलले यसप्रकार लेखे: “जब म बालक थिएँ, तब बालकले जस्तै बोल्थें, बालकले जस्तै सोच्थें, बालकले जस्तै विचार गर्थें, तर अब म जवान भएको छु, र केटा-केटीको कुरो छोड़िदिएको छु।” (१ कोरिन्थी १३:११) हो, वयस्क हुन लाग्दा तपाईंको सोचाइमा पनि परिवर्तन आउँछ। किशोरावस्थाको विकास (अंग्रेजी) पुस्तकअनुसार “किशोरावस्थाका सुरुसुरुतिर . . . नयाँ धारणागत क्षमताहरू देखा पर्न थाल्छन्‌।” अस्पष्ट विचार तथा धारणाहरू बुझेर त्यो केलाउने क्षमताको विकास हुन्छ। नीतिनियम तथा अन्य विस्तृत विषयहरूको गहिरो अर्थ बुझ्न थाल्नुहुन्छ। वयस्कले जस्तोगरि आफ्नो भविष्यबारे सोच्न थाल्नुहुन्छ।

त्यसो भए समस्या के त? दिमागमा घुमिरहेका यी नयाँ सोचाइ, विचार तथा धारणाहरूले अलमलाउनसक्छन्‌। बच्चाले जस्तो सोच्न छोड्‌नुहुन्छ। अब आफूले सुनेका तथा देखेका कुराहरू दिमागले केलाउन तथा प्रश्‍न गर्न लगाउँछ। शिक्षक वा प्राध्यापकको टिप्पणीले तपाईंको मनमा नौलो प्रकारको कूतुहल जगाउनसक्छ। तर यसरी जताततै बरालिएको सोचाइलाई नियन्त्रणमा राख्न सक्नुभएन भने मूल्यवान्‌ जानकारी गुमाइरहनुभएको हुनसक्छ। चाखलाग्दो कुरा, धर्मी मानिस इसहाकले शान्तपूर्वक ध्यान गर्थे भनी बाइबलले बताउँछ। (उत्पत्ति २४:६३) सायद हरेक दिन आरामसित बसेर मनन गर्न अनि कामकुराको तालमेल मिलाउन समय निकाल्नुभयो भने अरू बेला ध्यान दिन मदत मिल्नेछ।

भावना तथा हर्मोनहरू

तपाईंका भावनाहरूले पनि तपाईंलाई अलमलाइरहेका होलान्‌। तपाईं आफूले पढिरहनुभएको वा सुनिरहनुभएको कुरामा ध्यान दिन चाहनुहुन्छ तर अर्कै कुरा सोच्न पुग्नुहुन्छ। तपाईंलाई कहिले असाध्यै बोर त कहिले असाध्यै रमाइलो लाग्ला अनि निराशा र खुसियालीको सीमा नै नहोला। त्यसो हो भने नआत्तिनुहोस्‌! तपाईं बौलाउन लाग्नुभएको होइन। मुख्यतः हर्मोनहरूले नै यो सबै गोलमाल गरिरहेका हुनसक्छन्‌। तपाईंको शरीरमा किशोरावस्थाका परिवर्तनहरू भइरहेका छन्‌।

क्याथी मकोइ र चार्ल्स विबल्स्‌मान लेख्छन्‌: “किशोरावस्थामा भावनाहरूको छेलोखेलो हुन्छ . . . छिनछिनमा मूड परिवर्तन हुनु केही हदसम्म किशोरावस्थाका असरहरू हुन्‌। अहिले तपाईंले भोगिरहनुभएका परिवर्तनहरूको तनाउले गर्दा पनि यसो हुनसक्छ।” यसबाहेक तपाईंमा “बैंस” चढ्‌न लागेको छ। यो यस्तो समय हो, जुन बेला यौन इच्छाहरू सबैभन्दा प्रबल हुन्छन्‌। (१ कोरिन्थी ७:३६) लेखिका रूथ बेल यसो भन्छिन्‌: “किशोरावस्थाका शारीरिक परिवर्तनहरूले प्रायः अत्यन्तै तीव्र यौन भावनाहरू जगाउँछन्‌। यौनबारे बढी सोच्ने, सजिलै उत्तेजित हुने र कहिलेकाहीं त यौनसम्बन्धी विषयमा चुर्लुम्मै डुब्नुभएको महसुस गर्नुहोला।”b

सुरुमा उल्लिखित जेसले किशोरकिशोरीहरूको सामान्य समस्या अर्थात्‌ यताउता मन डुल्ने समस्या भोगेका छन्‌: “कहिलेकाहीं म केटीहरूबारे वा आफ्नो कुनै चिन्ता वा पछि के गर्ने भनेर सोच्न थाल्छु।” तर पछि गएर भावनाको यो लहर शान्त हुनेछ। त्यतिञ्जेल आत्मअनुशासनको खेती गर्नुहोस्‌। प्रेरित पावलले लेखे: “म आफ्नो शरीरलाई कुट्‌तछु, र वशमा ल्याउँछु।” (१ कोरिन्थी ९:२७) तपाईं आफ्ना भावनाहरूलाई जति बढी नियन्त्रण गर्न सिक्नुहुन्छ, उति नै बढी ध्यान दिन पनि सक्नुहुनेछ।

तपाईंको सुत्ने बानी

शारीरिक वृद्धि र दिनहुँ अनुभव गर्नुहुने थुप्रै नयाँ धारणा तथा भावनाहरू दिमागले केलाउन सक्न हुर्कंदै गरेको तपाईंको शरीरलाई प्रशस्त मात्रामा निद्रा चाहिन्छ। तर थुप्रै किशोरकिशोरीहरू प्रशस्त सुत्न पाइरहेका हुँदैनन्‌। एक स्नायुविद्‌ यस्तो टिप्पणी गर्छन्‌: “मानिसलाई कति घण्टा निद्रा चाहिन्छ भनेर शरीरले बिर्संदैन। उल्टो सम्झिरहेको हुन्छ र पछि समयको दौडान क्षतिपूर्ति गर्न लगाउँछ र त्यसको परिणामस्वरूप सम्झन नसक्ने, ध्यान दिन नसक्ने तथा सुस्त सोचन क्षमता देखिन थाल्छ।”

कोही कोही अनुसन्धानकर्ताअनुसार हरेक रात आधी घण्टा वा एक घण्टा बढी सुतेको खण्डमा पनि ध्यान दिने क्षमतामा निकै सुधार आउनसक्छ। हो, बाइबलले अल्छीपन र निद्रालाई प्रेम गर्नेको निन्दा गर्छ। (हितोपदेश २०:१३) तथापि, सुचाररूपले कार्य सञ्चालन गर्न पर्याप्त मात्रामा आराम गर्नु मनासिब हो।—उपदेशक ४:६.

भोजन तथा ध्यान दिने क्षमता

समस्याको अर्को कारण भोजन हुनसक्छ। किशोरकिशोरीहरू चिल्लो तथा गुलियो थोकहरू मन पराउँछन्‌। अनुसन्धानकर्ताहरू भन्छन्‌, बजारी खाना मीठो होला तर त्यसले मानसिक तीक्ष्णता कम गर्छ। त्यस्तैगरि अध्ययनहरूले देखाएअनुसार रोटी, अन्‍न, चामल वा पास्ताजस्ता कार्बोहाइड्रेटयुक्‍त भोजन खाएपछि मानसिक क्षमतामा कमी आउँछ। कार्बोहाइड्रेटले दिमागमा सेरोटोनिन नाउँको रासायनिक पदार्थको मात्रा बढाएर लट्ठ बनाउने हुनाले ध्यान दिन गाह्रो हुनसक्छ। त्यसकारण, कोही कोही पोषण विशेषज्ञहरू मानसिक तवरमा सजग हुनुपर्ने काम गर्नुअघि प्रोटिनयुक्‍त भोजन खाने सुझाउ दिन्छन्‌।

टिभी तथा कम्प्युटर युग

टिभी तथा यसका चलचित्रहरूले गर्दा केटाकेटीले कुनै कुरामा लामो समयसम्म ध्यान केन्द्रित गर्न नसकेको हो भनी प्रशिक्षकहरूले महसुस गरेको वर्षौं भइसक्यो र अब त कोही कोहीले कम्प्युटरलाई पनि त्यो दोष दिइरहेका छन्‌। यी आधुनिक प्रविधिहरूले केटाकेटीहरूमा कस्तो असर पार्छन्‌ भन्‍ने सन्दर्भमा निकै तर्कवितर्क भए तापनि टिभी हेर्न वा कम्प्युटर गेम खेल्न अचाक्ली समय बिताउनु अवश्‍य पनि लाभदायक होइन। एक जना केटा यो मानि लिन्छन्‌: “भिडियो गेम, कम्प्युटर गेम अनि इन्टरनेटजस्ता कुराहरूले गर्दा हामी केटाकेटीलाई आफूले चाहेको कुरा भन्‍ने बित्तिकै चाहिने बानी परिसक्यो।”

तर समस्या के हो भने जीवनमा थुप्रै कुराहरू प्रयास, लगनशीलता र पुरानो जमानाको धीरजद्वारा मात्र प्राप्त हुन्छ। (हिब्रू ६:१२; याकूब ५:७ तुलना गर्नुहोस्‌।) अतः कुनै कुरा तुरुन्तै हासिल गर्न सकेमा र मनोरञ्जनदायी भएमा मात्र मूल्यवान्‌ हुन्छ भनेर नठान्‍नुहोस्‌। टिभी हेर्नु तथा कम्प्युटर गेम खेल्नु रमाइलो भए तापनि चित्र कोर्न, रंग भर्न वा कुनै बाजा बजाउन सिके कसो होला? त्यस्ता सीपहरूले तपाईंको ध्यान दिने क्षमतालाई तिखार्नसक्छन्‌।

ध्यान दिने क्षमतालाई अझ तिखार्ने के अन्य तरिकाहरू छन्‌? अवश्‍य छन्‌ र आउँदो लेखले त्यसबारे छलफल गर्नेछ।

[फुटनोटहरू]

a ब्यूँझनुहोस्‌! अंकहरू नोभेम्बर २२, १९९४ (अंग्रेजी), पृष्ठ ३-१२; जुलाई ८, १९९६, पृष्ठ २६-८; र मार्च ८, ११९७, पृष्ठ ५-१० हेर्नुहोस्‌।

b अगस्त ८, १९९४ (अंग्रेजी) अंकमा “युवा जनहरू सोध्छन्‌ . . . विपरीत लिंगबारे नसोच्न के गर्ने?” लेख हेर्नुहोस्‌।

[पृष्ठ २१-मा भएको ठूलो अक्षरको क्याप्सन]

अनुसन्धानकर्ताहरू भन्छन्‌, बजारी खाना मीठो होला तर त्यसले मानसिक तीक्ष्णता कम गर्छ

[पृष्ठ २१-मा भएको ठूलो अक्षरको क्याप्सन]

“कहिलेकाहीं म केटीहरूबारे वा आफ्नो कुनै चिन्ताबारे सोच्न थाल्छु”

[पृष्ठ २०-मा भएको चित्र]

के तपाईंलाई कक्षामा ध्यान दिन प्रायजसो गाह्रो लाग्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने