भिक्टोरिया ताल—अफ्रिकाभित्रको ठूलो समुद्र
केन्याका ब्यूँझनुहोस्! संवाददाताद्वारा
सन् १८५८ मा एक अंग्रेज उजाड र कहिल्यै कोही नगएको, अफ्रिकाको मध्यभागमा एक्लै यात्रा गर्न गए। तिनीसित सहयोगीका नाउँमा केही अफ्रिकी भरियाहरू मात्र थिए। बिमारी, थकान र अन्योलले घेरेका ती थोरै भरियाहरूलाई अघि बढाए। जोन ह्यानिन स्पिक सजिलै भेट्टाउन नसकिने नीलको मुहानको खोजमा थिए।
अरबी दास व्यापारीहरूले उकरेवी नाम दिएका समुद्रको हल्ला सुनी उत्तेजित भई स्पिकले कहिल्यै नटुंगिएलाजस्तो नदेखिने झाडी पार गर्ने कोसिस गरे। अन्तमा, २५ दिनको लामो यात्रा पछि ती यात्रीहरूको सानो टोलीले भव्य दृश्य देख्न पायो। तिनीहरूले आफ्नो अघि मीठो पानीको विशाल समुद्र देख्न सके। पछि स्पिकले लेखे: “मेरो सामु भएको ताल वर्षौंदेखि मानिसहरूले कल्पना गर्दै र खोज्दै आएको रोचक समुद्र हो भनेर मलाई केही शंका नै भएन।” तिनले यो ताल पत्ता लाएपछि बेलाइतमा त्यतिबेला शासन गर्ने रानी भिक्टोरियाको सम्मानमा यस तालको नाउँ भिक्टोरिया राखे।
नीलको मुहान
आज पनि त्यही नाउँले विश्वका विशाल ताजा पानीको तालहरू मध्ये यो ताल दोस्रो स्थानमा पर्छ—उत्तर अमेरिकाको सुपेरियर ताल मात्र नापमा ठूलो छ। भूमध्यरेखाको घाममा टलक्क टल्केको विराट ऐना समान च्याप्टो काँचको जस्तो सतह भएको भिक्टोरिया तालले ६९,४८४ वर्ग किलोमिटर ठाउँ ढाकेको छ। उत्तरमा भूमध्यरेखाले काटेको र पूर्व र पश्चिमतिर ग्रेट रिफ्ट भ्यालीको यो तालले खास गरेर तान्जानिया र युगान्डा र केन्याको सीमाना ढाकेको छ।
यस तालको मुख्य स्रोत तान्जानियाको कागेरा नदी हो जसले रूवाण्डाको पर्वतहरूबाट पानी जम्मा गर्छ। तथापि, भिक्टोरियाको धेरै जसो पानी वर्षाबाट आउँछ जो २,००,००० वर्ग किलोमिटर वरिपरिको जमीनमा जम्मा हुन्छ। यस तालको पानी निकास हुने एकमात्र ठाउँ युगान्डाको जिन्जामा छ। यही ठाउँबाट उत्तरतिर वेगसँग पानी बग्छ र त्यहींबाट व्हाइट नील सुरु हुन्छ। भिक्टोरिया ताल नाइल नदीको मूल स्रोत नभए तापनि यस तालले मिस्रसम्मका मानिसहरूलाई जीवित राख्न नियमित रूपमा पानी दिनमा एउटा ठूलो जलभण्डारको रूपमा काम गर्छ।
तालको आसपासको जनजीवन
पुतलीको ठाडो पखेटा जस्तै देखिने सेतो पाल भएको डुंगा सलल बग्छ। प्रत्येक दिन वरपरका जमीनबाट बहने हावाले गर्दा यी स-साना डुंगाहरू तालको बीचसम्म वेगसँग सलल बग्छन्। मध्य दिनसम्म हावा बहने दिशामा परिवर्तन हुन्छ र त्यो डुंगा जुन ठाउँबाट आएको हो त्यहीं पुग्छ। यो नित्यक्रम तालका मछुवाहरूले हजारौं वर्षदेखि त्यसरी नै डुंगा चलाउँदै आएका छन्।
भिक्टोरिया तालको वरपर खरको छाना भएको गाउँ र छाप्रोहरू छ। नील घाटका गाउँलेहरूको लागि माछा नै मुख्य आहार हो र आफ्नो दैनिक आहार जुटाउन तिनीहरू तालमा नै भर पर्छन्। सूर्योदय हुनअघि नै मछुवाको दिन सुरु हुन्छ। आफ्नो चुहिने डुंगाबाट पानी निकालेपछि गहिरो पानीमा आफ्नो यात्रा सुरु गर्छन्। एकसाथ गाउदै, तिनीहरू गहिरो पानीमा नाउँ खियाउदै आफ्नो झुत्रो पाल उठाउँछन्। तिनीहरूका पत्नीहरू किनाराबाट ती स-साना डुंगाहरू क्षितिजमा लोप हुञ्जेल हेरिरहन्छन्। तर थुप्रै कामधन्दा भएकोले तिनीहरू तुरुन्तै घर फर्किहाल्छन्।
छिपछिपे पानीमा केटाकेटीहरू पानी छ्यापेर खेल्छन् भने आइमाईहरू लुगा धुन्छन् र तालबाटै पिउने पानी लैजान्छन्। अन्ततः पानीको किनारामा तिनीहरूले आफ्नो काम सिध्याउँछन्।। टाउकोमा माटोका घैंटा थपक्क मिलाएर, पिठ्यूँमा बच्चा बोकी दुवै हातमा धोएका सफा लुगाका टोकरीहरू बोकेर ती आइमाईहरू बिस्तारै आ-आफ्ना घरतिर लाग्छन्। त्यहाँ तिनीहरू मकै र सिमी बारीको हेरचाह गर्छन्, दाउरा बटुल्छन् र माटाका घरलाई गोबर र खरानीले लिपेर मरम्मत गर्छन्। यसको अलावा, आइमाईहरू किनारामा बसेर रेशा बुनेर बलियो डोरी र राम्रा-राम्रा टोकरीहरू बनाउँछन्। डुंगा बनाउनको लागि ठू-ठूला मुढाहरूलाई खोक्रो बनाउन बञ्चरोले हिर्काउँदा आउने एकनासको आवाज पनि हावामा गुञ्जन्छ।
जसै दिन ढल्दैजान्छ, ती आइमाईहरू फेरि त्यो ताजा पानीको विशाल समुद्रमा हेर्न थाल्छन्। क्षितिजमा सेतो पालको टुप्पो देखिंदा तिनीहरूका लोग्नेहरू फर्के भनेर थाह पाइन्थ्यो। तिनीहरूका आ-आफ्ना लोग्ने र तिनीहरूले ल्याएका माछा हेर्न उत्सुक हुँदै तिनीहरू डुंगाको टुप्पोलाई आशापूर्वक हेर्छन्।
तालका किनारा र टापुहरूमा यी साना समुदायलाई शान्तिको सन्देश ल्याउने व्यक्तिहरू भेट्न आउँछन्। हिंडेर होस् वा डुंगामा चढेर, हरेक गाउँ र छाप्रोमा यिनीहरू पुग्छन्। मानिसहरू नम्रता र उत्सुकता साथ सुन्छन्। तिनीहरू विशेष गरेर नीलको घाटमा बस्ने मानिसहरूको र बन्तु भाषामा बाइबल साहित्यहरू पढ्न रुचाउँछन्।
पानीका जीवजन्तुहरू
भिक्टोरिया तालमा ४०० प्रकारका माछाहरू पाइन्छन्। ती मध्ये कतिवटा ता संसारमा कहीं पनि पाइँदैन। सिक्लिड नामक माछा चाहिं प्रायः तालभरि नै पाइन्छ। यी रंगीन साना माछाका रातो ढाडे, गुलाबी र भ्यागुतेमुख जस्ता वर्णनात्मक नाउँहरू छन्। कुनै कुनै सिक्लिडहरूले आफ्ना भुराहरूको रक्षा गर्ने ढंग निकै अनौठो छ। खतरा आइपर्दा माउ माछाले आफ्ना मुख खोल्छ र साना माछाहरू त्यो खुला मुखमा सुरक्षाको लागि ओइरिन्छन्। खतरा टरेपछि माउ माछाले तिनीहरूलाई ओकल्छ र तिनीहरू फेरि आ-आफ्ना नियमित क्रियाकलापमा लाग्छन्।
भिक्टोरिया ताल शानदार र रंग-विरंगी चराहरूको लागि घर हो। ग्रेब, कर्मोरेन्ट र एनहिंगास पानीमा डुबुल्की मार्छन् र तिनीहरूका तीखा चुच्चाले माछालाई मजाले पक्रन्छन्। आफ्नो पाइला बिस्तारै चाल्दै क्रेन, हेरोन, स्टर्क र स्पूनबिल जस्ता चराहरू छिपछिपे पानीमा हिंड्दै माछालाई ढुकेर बस्छन्। पेलिकन्सको बथान ठूलो पेट भएको ग्लाइडरजस्तै यताउता माछाको खोजीमा हिंडिरहन्छ। झुन्डमा पौडी खेल्दा तिनीहरू माछाको झुन्डलाई घेर्छन् र तिनीहरूको ठूलो टोकरी जस्तो चुच्चोले ती माछाहरूलाई उठाउँछन्। फिश ईगल भन्ने चीलको बलियो पखेटाले गर्दा आकाशमा यिनीहरू कै प्रभुत्व हुन्छ। पानीको माथि रूखको हाँगाबाट स्वाइँ-स्वाइँ आवाज निकाल्दै त्यसको दह्रो पखेटा फैलाएर तल झर्छ र तालको सतहबाट माछालाई सजिलैसँग टपक्क टिप्छ। चहकिलो रंग भएको विभरबर्ड तालको वरिपरि पपाइरसको बाक्लो झाडीमा गुँड बनाएर बस्छ। र बबुल रूखको जंगलमा हर्नबिल चराको दुःखपूर्ण रोदन तालको किनारासम्म सुनिन्छ।
प्रातःकाल र सन्ध्याकालमा जलगैंडाहरूका गहिरो घोक्रोको हुङ्कार शान्त तालको टाढा-टाढा सम्म गुञ्जिन्छ। मध्य दिनमा तिनीहरू किनारामा सुत्छन्। तिनीहरू सुत्दा छिपछिपे पानीमा आधा डुबेको चिप्लो फुस्रो ढुंगाहरू जस्तै देखिन्छन्। तालका मानिसहरू नाइलका खतरनाक गोहीदेखि सदैव सतर्क रहन्छन्। मानिसहरूले प्रायजस्तो घस्रने जन्तुहरू मारे तापनि भिक्टोरिया तालको टाढा कुना-काप्चामा यस्ता कतिपय डरलाग्दा घस्रने जन्तुहरू पाइन्छन्।
अशान्त पानी
जोन स्पिकले पहिलो पटक भिक्टोरिया देखेको दिनदेखि अफ्रिकाको जनसंख्या वृद्धि भएको छ। आफ्नो जीविकाको लागि तालको ताजा पानीमा भर पर्ने तीन करोड मानिसहरू यस तालको किनारामा बस्छन्। बितेका समयमा स्थानीय मछुवाहरूले परम्परागत रीतिमा माछा मार्थे। बुनेको माछा मार्ने पासो, पपाइरसको जाल, बल्छी र भाला जस्ता साधनहरू चलाएर तिनीहरू आवश्यकताअनुसार माछा पक्रन्थे। आज, धेरै संख्यामा माछा मार्न सकिने ठूलो जाल र नाइलनको जालहरूको आविष्कारले गर्दा प्रशस्त मात्रामा माछा मारिंदैछन्। यसले तालको पर्यावरणलाई खतरामा पारेको छ।
विदेशी माछाहरूले गर्दा पनि पर्यावरण असन्तुलित भएको छ। यसले स्थानीय ढंगमा माछा समात्ने काममा बाधा पुगेको छ। पानीमा पाइने बैजनी रंगको फूल फुलाउने जलकुरकुरे नामक तैरने झारले पनि ताललाई बरबाद पारिरहेको छ। यो झार दक्षिण अमेरिकाबाट आएको हो। यो झार यति चाँडो उम्रन्छ कि यसले तालको किनारा र पानी आउने द्वार नै बन्द गरिदिएको छ। मालबाहक जहाज, यात्रुबाहक डुंगा र स्थानीय मछुवाहरूको डुंगा तालको बगर र तटमा प्रवेश गर्नै नसक्ने गरिदिएको छ। तालको मुहाननिरको बन विनाश, फोहर-मैला र औद्योगीकरणले तालको भविष्य खतरामा पारेको छ।
के भिक्टोरिया ताल रहिरहला? यस प्रश्नबारे छलफल गरिंदैछ र यसको धेरैजसो समस्याहरू कसरी समाधान गर्न सकिन्छ भनेर कसैलाई पनि निश्चित रूपमा थाह छैन। तथापि, भिक्टोरिया ताल, परमेश्वरको राज्यले “पृथ्वीका नष्टकारीहरूलाई” हटाएपछि पनि पृथ्वीमा रहिरहने प्राकृतिक विशेषता हो।—प्रकाश ११:१८.
[पृष्ठ २४-मा भएको पेटी/चित्र]
ताललाई नाश पार्ने माछा
यो चिप्लो हुन्छ, धेरै खान्छ, छिटो वृद्धि हुन्छ र छ फिटसम्म बढ्छ। यो के हो? लेटेस नाइलोटिकस! सामान्यतया नाइल पर्च भनेर चिनिने यो ठूलो, लोभी माछा १९५० मा भिक्टोरिया तालमा ल्याइयो। यो माछा पर्यावरणको लागि ठूलो आपत् साबित भएको छ। चालीस वर्ष भित्र यसले तालको ४०० माछाहरू मध्ये झन्डै आधा माछाहरू खाइसक्यो। आफ्नो परिवारको पोषण गर्न स-साना टिलापिया, सिक्लिड र अन्य रैथाने माछाहरूमा भर पर्ने लाखौं स्थानीय मानिसहरूको खाद्य स्रोतलाई यो ठूलो विध्वंसकले खतरामा पारिदिएको छ। यी साना माछाहरू तालको निम्ति फाइदाजनक पनि साबित भएका छन्। बिलहार्जियाजस्तै डरलाग्दो रोग उत्पन्न गर्ने चिप्लेकीरालाई ती मध्ये केही माछाले खान्छन्। यसरी, त्यो रोगलाई नियन्त्रणमा राख्न यसले मदत गर्छ। अरूले, ज्यादै फैलिरहेको लेउ र पानीमा उम्रने अन्य झारहरू खान्छ। यो अनियन्त्रित वृद्धिले यूट्रोफिकेशन जस्तो अवस्था उत्पन्न गरेको छ अर्थात् सडेको बोटबिरुवाले पानीमा अक्सिजनको मात्रा कम गरिरहेको छ। यो फोहर सफा गर्न रैथाने माछा कम भएकोले “मृत क्षेत्रहरू,” अर्थात् अक्सिजन रहित पानी भएको क्षेत्रहरू बढेर अझ धेरै माछाहरू मरिरहेछन्। भोजनको लागि कम माछा भएकोले सधैं भोकाउने नील पर्चले नयाँ खानेकुरा भेट्टाएको छ—त्यो हो, त्यसका आफ्नै बच्चाहरू! ताललाई नाश पार्ने माछाले अब आफैलाई नाश पार्ने खतरा छ!
[पृष्ठ २१-मा भएको नक्सा]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
युगान्डा
केन्या
तान्जानिया
भिक्टोरियाताल
[पृष्ठ २१-मा भएको चित्र]
भिक्टोरिया तालको किनारामा साक्षी दिने काम
[पृष्ठ २२-मा भएको चित्र]
विभर बर्ड
[पृष्ठ २२-मा भएको चित्र]
पेलिकन्स
[पृष्ठ २३-मा भएको चित्र]
एग्रेट
[पृष्ठ २३-मा भएको चित्र]
नाइल गोही
[पृष्ठ २३-मा भएको चित्र]
जलगैंडामाथि हेरोन चरा उभिएको