जिम्मेवारीबिनाको अधिकार?
“मानव“ परिवारका सबै सदस्यहरूको अन्तर्निहित मर्यादा तथा सबैले पाउनुपर्ने समान अधिकारलाई मान्यता दिनु संसारमा स्वतन्त्रता, न्याय तथा शान्तिका आधारभूत तत्त्वहरू हुन्।” मानवअधिकारको विश्वव्यापी घोषणापत्रको प्राक्कथनमा त्यसो भनिएको छ र डिसेम्बर १९९८ मा त्यसको ५० औं वार्षिकोत्सव मनाइयो। तर हालै सबै महादेशको प्रतिनिधित्व गर्ने २४ जना भूतपूर्व राष्ट्रपति तथा प्रधानमन्त्रीहरूले त्यो घोषणापत्रमा मानव जिम्मेवारीहरूको थप घोषणापत्र पारित गर्नुपर्ने सुझाउ दिएका छन्। धेरैले त्यस्तो कदम चाल्नुपर्ने खाँचो महसुस गर्नुको कारण के हो?
“अधिकार र जिम्मेवारीबीच नङ र मासुको जस्तै सम्बन्ध छ। दुःखको कुरा, आधा शताब्दीपछि यो तथ्यलाई बेवास्ता गरिएको छ वा हल्का रूपमा लिइएको छ। धेरैले अधिकारसँगसँगै आउने जिम्मेवारीहरूको वास्तै नराखी केवल अधिकारको माग गर्छन्” भनी मानवअधिकारको लागि युरोपेली निकायका सदस्य, प्राध्यापक झाँ-क्लड बताउँछन्। आफ्नो कर्त्तव्य पालन नगरेको धेरैले देखिरहेका छन्। “विशेषगरि, जवानहरू भविष्यमा एकता ल्याउने कुनै मार्गनिर्देशन, संसारलाई आफ्नो वशमा तुल्याइरहेको लोभ, स्वार्थ अनि भाइचाराको भावको कमीजस्ता कुराहरूलाई तह लाउने त्यस्तो कुनै धारणाको गम्भीर प्रतिक्षामा छन्। . . . विश्वव्यापी नीतिको खाँचो महसुस गर्नु भनेको कुनै कुराको अभाव खड्किरहेको मानि लिनु हो” भनी पेरिसबाट प्रकाशित हुने दैनिकी इन्टरनेशनल हेरल्ड ट्रिब्युन टिप्पणी गर्छ। फलस्वरूप, संयुक्त राष्ट्र संघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनले परिकल्पना गरेको “विश्वव्यापी नैतिक अभियान”-बारे राजनीतिज्ञ, धर्मविज्ञानी र दार्शनिकहरू मानव जिम्मेवारीहरू वास्तवमा के हुन् भनी छलफल गरिरहेका छन्। तथापि, तिनीहरूले केही कठिनाइ सामना गरेका छन्।
कुन मानव अधिकारको सुरक्षा गर्नुपर्छ भनी औंल्याउनु सजिलो छ तर कुन मानव जिम्मेवारीहरू विश्वव्यापी तवरमा स्वीकार्नुपर्छ, त्यो बताउन त्यति सजिलो छैन। तथापि, प्रस्तावित जिम्मेवारीहरूको घोषणापत्रमा समाविष्ट केही मूल्य तथा मान्यताहरूबारे येशूले लगभग दुई हजारवर्षअघि सबै ठाउँ र समयमा लागू हुने सुनौलो नियममा यसरी भन्नुभएको थियो: “मानिसहरूले तिमीहरूलाई जे जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।”—मत्ती ७:१२.
हुन त, मानवअधिकार जगेर्ना गर्ने नियमकानुनहरू प्रायजसो बाइबलबाट प्रेरित भएको हुन् तर यसले व्यक्तिगत जिम्मेवारीको कुरालाई पनि जोड दिन्छ। चेला याकूबले यसो भने, “जसले भलाई गर्न जानीकन पनि गर्दैन, त्यसलाई पाप लाग्छ।” (याकूब ४:१७) येशूले अरूको भलाइ गर्ने मौका खोज्नुभएझैं साँचो मसीहीहरू पनि आफ्ना सँगी मानवहरूको भलाइ गर्ने अवसरहरू खोज्छन्। अधिकार चलाउने कुरामा मात्र सन्तुष्ट नभएर तिनीहरूले अधिकारसँगसँगै जिम्मेवारी पनि आउँछ र हामी सबै आफ्नो कार्यको लागि परमेश्वरसमक्ष जवाफदेही छौं भनेर बुझेका छन्।