दास प्रथाको तीतो इतिहासलाई फर्केर हेर्दा
समुद्री तटमा अवस्थित अफ्रिकी मुलुक सेनेगलको डाकार नजिकै लियस इले डे गोरी शहर छ। सन् १८४८ सम्म अर्थात् ३१२ वर्षसम्म यो टापु दासहरूको बेचबिखन गर्ने फस्टाउँदो केन्द्र थियो। फ्रान्सेली बन्दरगाह नान्टियसको पुराना अभिलेखहरूले १७६३ र १७७५ को बीचमा मात्रै गोरीमा १,०३,००० भन्दा बढी दासहरूको व्यापार नान्टियस बन्दरगाहबाट गरिएको देखाउँछन्।
आज प्रति दिन दासघर संग्रहालय मेजँ डाजेसक्लाभमा सरदर २०० आगन्तुकहरू आउँछन्। टुर गाइड जोंसेफ नडियाले ती निस्सहाय मानिसहरूले भोगेका केही दर्दनाक घटनाहरूबारे बताए: “हाम्रा पुर्खाहरूलाई आफ्नो मुलुकबाट निकालिन्थ्यो, परिवारहरूलाई तितरबितर पारिन्थ्यो र भेडाबाख्रालाई जस्तै तिनीहरूको जीउमा चिह्न लगाइन्थ्यो।” पूरा परिवारलाई सिक्रीमा बाँधिन्थ्यो। “आमा अमेरिका पुग्थिन् भने बुबा ब्राजिल र बच्चाहरूचाहिं एन्टिल्समा पुग्थे” भनी गाइडले बताए।
नडियाले अझ यसो भने, “तिनीहरूलाई जोखेपछि तिनीहरूको उमेर र जातअनुसार छुट्याइन्थ्यो। जस्तै, कुनै समूह तिनीहरूको बल वा बलिया सन्तान उत्पादन गर्नेहरूका रूपमा प्रख्यात थिए। उदाहरणका लागि, यरुबाहरू ‘बलिया सन्तानहरू पाउनेको’ रूपमा प्रख्यात थिए।”
वजन नपुगेका कैदीहरूलाई खुवाउनुसम्म खुवाएर हाँसजस्तो मोटो गराइन्थ्यो अनि लिलाम गरिन्थ्यो। दास व्यापारीहरूले जवान केटीहरूलाई छान्थे र हरेक रात तिनीहरूको यौन तृप्तिको निम्ति उपभोग गर्थे। विद्रोही दासहरूलाई बढी सास्ती दिन घाँटीको सट्टा छातीमा बाँधेर झुन्ड्याइन्थ्यो।
सन् १९९२ मा पोप जोन पल द्वितीयले गोरीको भ्रमण गरे। द न्यु योर्क टाइम्स-को रिपोर्टअनुसार “तिनले दास व्यापार तथा यसमा सम्मिलित क्याथोलिक मिसनरीहरूलगायत सबैको निम्ति माफी मागे। ती क्याथोलिक मिसनरीहरूले पनि सामान्य कुरा जस्तैगरि अफ्रिकी दासहरू स्वीकारेका थिए।”
तथापि, विगतको यस भूललाई स्वीकार्न सबै राजी छैनन्। नान्टियस रेकर्ड पत्ता लगाएको अढाइ वर्षअघि फ्रान्सेली जेसुइटले गोरीबाट प्रति वर्ष २०० देखि ५०० दासहरू मात्र बेचिएको छ भन्ने दाबी गरे। श्री नडियाले भने: “संसारले अहिलेसम्म पनि यस घोर अपराध मानी लिएको छैन।”
[पृष्ठ २३-मा भएको चित्रको स्रोतहरू]
Gianni Dagli Orti/Corbis
Yann Arthus-Bertrand/Corbis
Reproduced from DESPOTISM —A Pictorial History of Tyranny