प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ८/१५ पृ. २५-२९
  • ह्‍युगनट्‌सहरू स्वतन्त्रताका लागि भाग्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ह्‍युगनट्‌सहरू स्वतन्त्रताका लागि भाग्छन्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सुरुदेखि नै विरोध
  • कडा कारवाही
  • सुरुमा जुन अवस्था थियो त्यही
  • लुक्ने, लड्‌ने कि भाग्ने?
  • शरणस्थानमा खुसीसाथ राखिन्छ
  • पाठ सिक्यो त?
  • धार्मिक स्वतन्त्रता—आशिष्‌ वा अभिशाप?
    ब्यूँझनुहोस्‌!—१९९९
  • फ्रान्सेली बाइबलको संघर्ष
    ब्यूँझनुहोस्‌!—१९९८
  • दास प्रथाको तीतो इतिहासलाई फर्केर हेर्दा
    ब्यूँझनुहोस्‌!—१९९९
  • वेस्टफालियाको शान्ति युरोपमा एउटा निर्णायक मोड
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ८/१५ पृ. २५-२९

ह्‍युगनट्‌सहरू स्वतन्त्रताका लागि भाग्छन्‌

“राजा र रानीबाट हुकुम बक्स भएबमोजिम, . . . हामी यो घोषणा गर्छौं कि शरण खोज्दै हाम्रो अधिराज्यमा बस्न आउने सबै फ्रान्सेली प्रोटेस्टेन्टहरूलाई हाम्रो राजकीय सुरक्षा मात्र होइन . . . तर भरसक सबै तरिका र माध्यमबाट सहारा, मदत अनि सहयोग दिने कोसिस गर्नेछौं . . . ताकि तिनीहरू यस राज्यमा ढुक्क र आरामसँग बस्न सकून्‌।”

सन्‌ १६८९ मा बेलाइतका राजा विलियम र रानी मेरीले जारी गरेका घोषणामा उक्‍त कुरा भनिएको छ। तर ह्‍युगनट्‌स भनेर चिनिने फ्रान्सेली प्रोटेस्टेन्टहरूले किन फ्रान्सबाहिर शरण र सुरक्षा खोज्नुपऱ्‍यो? तिनीहरू करिब ३०० वर्षअघि फ्रान्सबाट भागेको घटना अहिले हाम्रोलागि किन चासोको विषय भएको छ त?

सोह्रौं शताब्दीको युरोप धार्मिक युद्ध र विवादले ग्रस्त थियो। फ्रान्स पनि (१५६२-१५९८) क्याथोलिक र प्रोटेस्टेन्टहरूबीचको धार्मिक युद्धको गोलमालमा मुछियो। तथापि, १५९८ मा फ्रान्सेली राजा हेनरी चौथोले सहिष्णुताको आदेशनामा अर्थात्‌ नान्टेसको आदेशनामा हस्ताक्षर गरेर प्रोटेस्टेन्ट ह्‍युगनट्‌सहरूलाई केही धार्मिक स्वतन्त्रता दिए। दुइटा धर्मलाई दिइएको यो कानुनी मान्यता युरोपमा बिल्कुलै अनुपम थियो। यसले गर्दा १६ औं शताब्दीको फ्रान्सलाई ३० वर्षभन्दा बढी अवधिसम्म अस्तव्यस्त बनाउने धार्मिक गोलमाल केही समयसम्म साम्य भयो।

नान्टेसको आदेशनामा “स्थायी र अपरिवर्तनीय” भनिए तापनि १६८५ मा फोन्टेनब्लिउको आदेशनामाले यसलाई खारेज गऱ्‍यो। पछि फ्रान्सेली दार्शनिक भोल्टेरले यसलाई “फ्रान्सका दुःखद्‌ घटनाहरूमध्ये एक” भने। फलस्वरूप केही समयभित्रै २,००,००० ह्‍युगनट्‌सहरू अन्य देशहरूमा भाग्न बाध्य भए। तथापि, यसका चिरकालीन परिणामहरू पनि भए। तर धार्मिक सहिष्णुताको आदेशनामा किन खारेज गरियो त?

सुरुदेखि नै विरोध

झन्डै ९० वर्षसम्म नान्टेसको आदेशनामा कार्यान्वयन भए तापनि एक जना इतिहासकारअनुसार “१६८५ मा खारेज गरिनुअघि नै त्यो निष्क्रिय हुन थालेको” थियो। हो, त्यो आदेशनामाको आधार बलियो थिएन। आदेशनामा जारी गरिएदेखि नै क्याथोलिक पादरी र “आर.पि.आर” (तथाकथित सुध्रिएका धर्महरू) भनौंदाहरूबीच “शीतयुद्ध” सुरु भयो। नान्टेसको आदेशनामा १५९८ मा जारी गरिएदेखि झन्डै १६३० सम्म यसका विरोधीहरू प्रोटेस्टेन्ट र क्याथोलिकहरूसँग तर्कवितर्क गर्न र धार्मिक संगठनका साहित्यहरू प्रकाशन गर्नमा तल्लीन रहे। तथापि, असहिष्णुताका थुप्रै पक्षहरू थिए।

सन्‌ १६२१ देखि १६२९ सम्म प्रोटेस्टेन्टहरूसँग युद्ध गरेपश्‍चात्‌ फ्रान्सेली सरकारले तिनीहरूलाई अनेकन्‌ दमन गरेर क्याथोलिक बनाउने कोसिस गऱ्‍यो। यस्तो सताउने काम “सूर्य राजा” भनिने लुइस चौधौंको आदेशमा निकै चर्कियो। तिनको सतावटपूर्ण नीतिकै कारण नान्टेसको आदेशनामा खारेज गरियो।

कडा कारवाही

प्रोटेस्टेन्टहरूको एकपछि अर्को नागरिक अधिकार खोसेर कडा कारवाही गरियो। प्रायः पादरीको सुझाउमा १६५७ देखि १६८५ मा ह्‍युगनट्‌सहरू विरुद्ध लगभग ३०० वटा फैसलाहरू गरिए। ती फैसलाहरूले तिनीहरूको जीवनका हरेक पक्षलाई असर गऱ्‍यो। उदाहरणका लागि, ह्‍युगनट्‌सहरूलाई चिकित्सा र कानुनदेखि लिएर सुँडेनीजस्ता विभिन्‍न पेशा अपनाउनसमेत निषेध गरियो। सुँडेनीबारे एक इतिहासकार यस्तो तर्क गर्छिन्‌: “धार्मिक तथा राजनैतिक व्यवस्था नाश गर्ने लक्ष्य भएका विधर्मीको हातमा कसैको जीवन कहाँ सुम्पन सकिन्छ र?”

सन्‌ १६७७ मा झन्‌ कठोर शोषण गर्न थालियो। ह्‍युगनट्‌सले क्याथोलिक धर्म अपनाएमा एक हजार फ्रान्सेली पाउण्ड जरिमाना तिर्न लगाइन्थ्यो। अत्यधिक कर तिर्न लगाई ह्‍युगनट्‌सहरूको धर्म परिवर्तन गराइयो। सन्‌ १६७५ मा क्याथोलिक पादरीले राजा लुइस चौधौंलाई ४५ लाख फ्रान्सेली पाउण्ड दिंदै यसो भने: “अब हजुरले आफ्नो अधिकार प्रयोग गरेर धर्मविरोधीहरूको नामोनिसान मेटाउनुभएर कृतज्ञता व्यक्‍त गर्ने अठोट गर्नुहोस्‌।” यसरी राजालाई “पैसा दिएर” धर्मपरिवर्तन गराउने रणनीतिको परिणामस्वरूप तीन वर्षभित्रमा लगभग १०,००० मानिसहरूले क्याथोलिक धर्म अपनाए।

सन्‌ १६६३ मा प्रोटेस्टेन्ट धर्म अपनाउनु गैरकानुनी घोषणा गरियो। ह्‍युगनट्‌सहरू कहाँ बसोबास गर्ने कहाँ नगर्ने भन्‍ने विषयमा पनि प्रतिबन्ध लगाइयो। असाध्यै कठोर सतावटको एउटा उदाहरण हो, आमाबाबुको इच्छा विपरीत केटाकेटीहरूलाई सात वर्षको उमेरमै क्याथोलिक बनाउनु। प्रोटेस्टेन्ट आमाबाबुहरू आफ्ना छोराछोरीलाई जेसुइट वा अन्य क्याथोलिक प्रशिक्षकहरूले पढाउने हुनाले तिनीहरूलाई शुल्क तिर्न बाध्य थिए।

ह्‍युगनट्‌सहरूलाई दमन गर्ने अर्को हतियार गोप्य कोन्पान्यी ड्यु सांन साक्रीमान (पवित्र धर्मविधिको संस्था) हो। यो एउटा क्याथोलिक संगठन थियो र इतिहासकार जेन्‍नी ग्यारेसनअनुसार त्यो सम्पूर्ण फ्रान्स नै ढाक्ने “विशाल नेटवर्क” थियो। प्रतिष्ठित समाजका हरेक क्षेत्रमा जरा गाडेका हुनाले यस संगठनमा न पैसाको कमी थियो, न त शत्रुहरूबारे सूचनाकै। यसका अनेकन्‌ दाउपेच थिए भनी ग्यारेसन बताउँछिन्‌: “कोन्पान्यीले प्रोटेस्टेन्ट सम्प्रदाय कमजोर बनाउन सतावट, अवरोध, चालबाजी, भर्त्सना इत्यादि तरिका अपनाए।” यद्यपि, यस्तो सतावटको घडीमा पनि अधिकांश ह्‍युगनट्‌सहरू फ्रान्समै बसे। इतिहासकार ग्यारेसन यस्तो टिप्पणी गर्छिन्‌: “बिस्तारै बिस्तारै तिनीहरू विरुद्ध वैमनस्य बढ्‌दै जाँदा पनि धेरैजसो प्रोटेस्टेन्टहरू किन यस अधिराज्यबाट भागेनन्‌ भनी बुझ्नै गाह्रो छ।” तथापि, अन्ततः स्वतन्त्रताको लागि भाग्नैपर्ने भयो।

सुरुमा जुन अवस्था थियो त्यही

निमेजनको शान्तिवार्ता (१६७८) र रेटिस्बनको युद्धविराम सन्धिले (१६८४) राजा लुइस चौधौंलाई बाह्‍य युद्धबाट मुक्‍ति दियो। फेब्रुअरी १६८५ मा बेलाइतको च्यानलपारी एक जना क्याथोलिक राजा भए। लुइस चौधौंले यो नयाँ परिस्थितिको फाइदा उठाउनसक्थे। केही वर्षअघि मात्र फ्रान्सको क्याथोलिक पादरीले पोपको नियन्त्रण सीमित पार्ने चारवटा दस्तावेज जारी गरेका थिए। तब पोप इनोसेन्ट एघारौंले “फ्रान्सेली चर्चलाई फूट उत्पन्‍न गराउनेको रूपमा हेर्नथाले।” परिणामस्वरूप, नान्टेसको आदेशनामा खारेज गरेर लुइस चौधौंले फेरि आफ्नो प्रतिष्ठा कमाउन र पोपसँग सामान्य सम्बन्ध गाँस्नसक्थे।

प्रोटेस्टेन्टहरूप्रति राजाको नीति छर्लंग भयो। स्पष्टतः नरम तरिकाले (फकाइफुस्लाई र विधानद्वारा) केही हुनसकेन। अर्कोतर्फ, भर्खरै ड्रेगूनहरूद्वाराa गरिएको सतावट सफल भयो। अतः १६८५ मा लुइस चौधौंले नान्टेसको आदेशनामा खारेज गरेर फोन्टेनब्लिउको आदेशनामा हस्ताक्षर गरे। त्यसपछि मच्चिएको हिंसात्मक सतावटले ह्‍युगनट्‌सहरूलाई नान्टेसको आदेशनामा जारी हुनअघिको भन्दा दयनीय अवस्थामा धकेल्यो। तब तिनीहरूले के गर्ने त?

लुक्ने, लड्‌ने कि भाग्ने?

केही ह्‍युगनट्‌सहरूले लुकीछिपी उपासना गर्ने विचार गरे। तिनीहरूको सभा गर्ने ठाउँहरू भत्काइएका अनि सार्वजनिक उपासना प्रतिबन्धित गरिएको हुनाले तिनीहरूले ‘मरुभूमिको चर्च’ अथवा भूमिगत उपासना गर्नथाले। यस्ता सभाहरू सञ्चालन गर्नेलाई मृत्युदण्ड दिइने जुलाई १६८६ मा पारित कानुनको बावजूद पनि तिनीहरूले सभाहरू सञ्चालन गरे। केही ह्‍युगनट्‌सहरूले चाहिं पछि फेरि आफ्नै धर्म अपनाउन सकिएला भन्ठानेर आफ्नो विश्‍वास परित्याग गरे। यस्तो धर्मपरिवर्तनले गर्दा देखावटी क्याथोलिक धर्म सुरु भयो र त्यसपछिका पुस्ताहरूले पनि त्यही बाटो पछ्याए।

सरकारले यस्तो धर्मपरिवर्तनलाई सुदृढ पार्ने प्रयास गऱ्‍यो। नयाँ धर्म अपनाउनेहरूले जागिर खाने हो भने, तिनीहरू क्याथोलिक भएको हो भन्‍ने प्रमाणपत्रमा चर्चको उपस्थिति हेर्ने पादरीले हस्ताक्षर गरेको हुनुपर्थ्यो। केटाकेटीलाई बप्तिस्मा नदिई क्याथोलिकको हैसियतमा हुर्काइबढाइ गरिएको खण्डमा आमाबाबुबाट खोसेर लगिन्थ्यो। स्कूलमा क्याथोलिक शिक्षा नै दिइन्थ्यो। त्यतिबेला “[बाइबल] पुस्तकका मानिसहरू” भनिने प्रोटेस्टेन्टहरूका लागि क्याथोलिक धर्म समर्थन गर्ने पुस्तकहरू तयार गरियो। सरकारले दस लाखभन्दा बढी पुस्तक मुद्रण गरेर धेरैभन्दा धेरै मानिसहरूले धर्मपरिवर्तन गरेका ठाउँहरूमा पठायो। सतावट यतिसम्म कठोर थियो कि मृत्युशय्यामा गरिने क्याथोलिक धार्मिक संस्कारलाई बिरामीले इन्कार गऱ्‍यो र ऊ पछि निको भयो भने उसलाई या त झ्यालखानामा हालिन्थ्यो अन्यथा जहाजहरूमा कमारा बनाइन्थ्यो। अनि मृत्युपछि उसको लाशलाई फोहरसरह मिल्काइन्थ्यो र उसका धनसम्पत्ति जफत गरिन्थ्यो।

केही ह्‍युगनट्‌सहरू सशस्त्र युद्धमा उत्रे। केम्जार्ड भनिने ह्‍युगनट्‌स लडाकुहरूले धर्मप्रति संवेदनशील भएको स्याभेनको इलाकामा १७०२ मा विद्रोह सुरु गरे। केम्जार्डहरूको हमला र रातारात गरिने आक्रमणको जवाफमा सरकारी सेनाहरूले गाउँघरमा आगो लगाइदिए। ह्‍युगनट्‌सहरूले केही समयसम्म बेलाबेलामा आक्रमण गरिरहे तापनि राजा लुइसको सेनाले १७१० मा केम्जार्डहरूलाई परास्त गरे।

ह्‍युगनट्‌सहरूले चालेको अर्को कदम फ्रान्सबाट भाग्नु थियो। तिनीहरूको बसाइँसराइलाई वास्तविक निर्वासन भनिएको छ। घर छोडेर हिंड्‌दा अधिकांश ह्‍युगनट्‌सहरू हरिकंगाल थिए किनकि तिनीहरूका धनसम्पत्ति सरकारले जफत गरेको थियो र त्यसको केही अंश चाहिं क्याथोलिक चर्चले पाएको थियो। अतः भाग्नु सजिलो काम थिएन। तिनीहरू भाग्न लागेको थाह पाउनेबित्तिकै फ्रान्स सरकारले तिनीहरू भाग्ने बाटो र जहाजहरूमा निगरानी राख्न थाल्यो। भगुवाहरूलाई पक्रेको खण्डमा इनाम पाउने हुनाले समुद्री डाँकूहरूले फ्रान्सबाट प्रस्थान हुने जहाजहरू छान मारे। ह्‍युगनट्‌सहरूलाई भाग्दै गरेको भेटियो भने कठोर सजाय दिइन्थ्यो। त्यसमाथि पनि तिनीहरूकै समुदायभित्रै रहेर जासुसी गर्नेहरूले भाग्न लागेका व्यक्‍तिहरूको नाउँ र भाग्ने बाटो पत्ता लगाउने भएकाले परिस्थिति झनै जटिल भयो। यात्रा नगर्नू भन्‍ने चेताउनीपत्र, जालसाजी र षड्यन्त्र त सामान्य कुरा भइसकेको थियो।

शरणस्थानमा खुसीसाथ राखिन्छ

फ्रान्सबाट भागेका ह्‍युगनट्‌सहरू अनि तिनीहरूलाई आश्रय दिने देशहरूले गरेको स्वागतलाई शरणस्थान भनियो। ह्‍युगनट्‌सहरू भागेर हल्याण्ड, स्वीटजरल्याण्ड, जर्मनी र बेलाइत पुगे। त्यसपश्‍चात्‌ कोही कोही स्कान्डनेभिया, अमेरिका, आयरल्याण्ड, वेस्ट इन्डिज, दक्षिण अफ्रिका र रूसतिर भागे।

युरोपका थुप्रै देशहरूले ह्‍युगनट्‌सहरू बसाइँ सर्न प्रोत्साहित गर्ने आधिकारिक घोषणाहरू जारी गरे। तिनीहरूलाई नागरिकता प्रदान गर्ने, करमा छुट दिने अनि व्यवसायिक संघको निश्‍शुल्क सदस्यता प्रदान गर्नेजस्ता कुराद्वारा बसाइँ सर्न प्रोत्साहित गरियो। इतिहासकार एलिजाबेथ लाब्रुसअनुसार धेरैजसो ह्‍युगनट्‌सहरू “उच्च नैतिक स्तर भएका उद्यमी, बलवान्‌ . . . युवकहरू” थिए। अतः फ्रान्सले आफ्नो शक्‍तिको पराकाष्ठमा पुगेर अनेकन्‌ व्यवसायका दक्ष कामदारहरू गुमायो। हो, त्यहाँका “धनसम्पत्ति र व्यवसायिक कौशलता” समुद्रपारि पुग्यो। ह्‍युगनट्‌सहरूलाई शरण दिनुमा धर्म र राजनीतिले पनि भूमिका निर्वाह गऱ्‍यो। तर यो बसाइँसराइको चिरकालीन परिणामहरू चाहिं के के भए त?

नान्टेसको आदेशनामा खारेज गर्नाले र ह्‍युगनट्‌सहरूलाई सताउनाले अन्तरराष्ट्रिय तवरमा प्रतिकूल असर पऱ्‍यो। विलियम अफ अरेन्जले नेदरल्याण्डको शासक बन्‍न फ्रान्स विरोधी मतको फाइदा उठाए। तिनी ह्‍युगनट्‌स अधिकृतहरूको सहयोगमा क्याथोलिक जेम्स दोस्रोलाई राजसत्ताबाट हटाएर बेलाइतका राजा पनि भए। इतिहासकार फिलिप झुटारअनुसार “जेम्स दोस्रोलाई राजसत्ताबाट हटाउने [अनि] ओजबर्ग संघ गठन गर्ने एउटा प्रमुख कारण लुइस चौधौंको प्रोटेस्टेन्ट नीति थियो। . . . [यी] घटनाहरूले युरोपेली इतिहासमा एउटा नयाँ मोड ल्यायो जसले फ्रान्सेली आधिपत्यको ठाउँमा अंग्रेज आधिपत्य जमायो।”

ह्‍युगनट्‌सहरूले युरोपको सांस्कृतिक क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे। तिनीहरूले नयाँ स्वतन्त्रता पाएर त्यस्ता साहित्य प्रकाशन गरे जसले प्रबुद्ध ज्ञानको दर्शनशास्त्र र सहिष्णुताको विचारधारा प्रवर्धन गर्न मदत गऱ्‍यो। उदाहरणका लागि, एक जना फ्रान्सेली प्रोटेस्टेन्टले ईश्‍वरीय ज्ञान नभई मानव ज्ञान प्रवर्धन गर्दै अंग्रेज दार्शनिक जोन लकका कृतिहरू अनुवाद गरे। अन्य प्रोटेस्टेन्ट लेखकहरूले स्वतन्त्र अन्तस्करणको महत्त्वबारे जोड दिए। शासकहरूप्रतिको आज्ञाकारिता सापेक्षिक हो र तिनीहरूले जनता र तिनीहरूबीचको सम्झौता उल्लंघन गर्छ भने आज्ञाकारी रहनु पर्दैन भन्‍ने विचारधारा विकास भयो। तसर्थ, इतिहासकार चार्ल्स रिडअनुसार नान्टेसको आदेशनामा खारेज गर्नु नै “फ्रान्सेली क्रान्तिको एउटा सुस्पष्ट कारण थियो।”

पाठ सिक्यो त?

सतावटका नकारात्मक परिणाम र अधिराज्यले गुमाएका अनेकन्‌ मूल्यवान्‌ मानिसहरूबारे बताउँदै राजा लुइस चौधौंका सैन्य सल्लाहकार मारक्विस डि भोबांनले राजालाई नान्टेसको आदेशनामा पुनःस्थापित गर्ने आग्रह गर्दै यसो भने: “हृदयको परिवर्तन त परमेश्‍वरले मात्र गर्नुहुन्छ।” त्यसोभए, फ्रान्सले पाठ सिकेर किन आफ्नो निर्णय परिवर्तन गरेन त? स्पष्टतः एउटा मुख्य कारण आदेशनामा पुनःस्थापित गरिएको खण्डमा अधिराज्य कमजोर बन्छ भन्‍ने राजालाई डर थियो। यसबाहेक, १७ औं शताब्दीको फ्रान्सको क्याथोलिक धर्म र धार्मिक सहिष्णुतालाई बढावा दिनु उपयुक्‍त थियो।

आदेशनामा खारेज गर्नाले सृजिएका घटनाहरूको परिणामस्वरूप कसै कसैले यस्तो प्रश्‍न गरेका छन्‌, “समाजले कति विविध जात र धर्महरू स्वीकार्ने अनि कतिसम्म सहने?” निस्सन्देह, ह्‍युगनट्‌सहरूको वृत्तान्त पढ्‌नेले “ती शक्‍तिसम्पन्‍न मानिसहरू र तिनीहरूका भ्रष्ट कामकुराहरू[बारे]” विचार नगरी रहन सक्दैनन्‌ भनी इतिहासकारहरू टिप्पणी गर्छन्‌। आजको विविध जात र धर्म भएको समाजमा ह्‍युगनट्‌सहरू स्वतन्त्रताका लागि भागेको घटना चर्चद्वारा उत्प्रेरित राजनीतिले जनताको हितमा श्रेष्ठता जमाउँदा परिणाम कस्तो हुन्छ भन्‍ने एउटा तितो सम्झौटा हो।

[फुटनोट]

a पृष्ठ २८ को पेटी हेर्नुहोस्‌।

[पृष्ठ २८-मा भएका पेटी]

ड्रेगूनहरूद्वारा

धम्क्याएर धर्मपरिवर्तन गराउने

कसै कसैको विचारमा ड्रेगूनहरू “उत्कृष्ट मिसनरीहरू” थिए। तथापि, तिनीहरू ह्‍युगनट्‌सहरूलाई आतंकित बनाउँथे अनि कहिलेकाहीं त तिनीहरू आउँदैछन्‌ भन्‍ने सुइँको पाउनेबित्तिकै पूरै गाउँलेहरू क्याथोलिक धर्म अपनाउँथे। तर ती ड्रेगूनहरू को थिए त?

ड्रेगूनहरू हातहतियारले सुसज्जित सेना थिए जो ह्‍युगनट्‌सहरूलाई धम्काउन तिनीहरूकै घरमा बस्थे। यसप्रकार ड्रेगूनहरूले शैन्यशक्‍ति प्रयोग गरेर अरूलाई सताउँथे। ह्‍युगनट्‌सहरूको परिवारमा बोझ थप्न परिवारको आयस्रोतले नै नभ्याउनेगरि एउटै घरमा थुप्रै सेनाहरू पठाइन्थ्यो। ड्रेगूनहरूलाई त्यस परिवारसित पाशविक व्यवहार गर्ने, तिनीहरूको निद्रा खल्बल्याउने र धनसम्पत्ति तहसनहस गर्ने अधिकार दिइएको थियो। ती परिवारहरूले तिनीहरूको प्रोटेस्टेन्ट विश्‍वास परित्याग गरेको खण्डमा चाहिं ड्रेगूनहरू त्यहाँबाट बाटो लाग्थे।

पश्‍चिम फ्रान्सस्थित प्वाटुमा रहेका ह्‍युगनट्‌सहरूको ठूलो जमातलाई धर्मपरिवर्तन गराउन १६८१ मा यही ड्रेगूनहरू प्रयोग गरियो। केही महिनाभित्रै ३०,००० देखि ३५,००० सम्मले धर्मपरिवर्तन गरे। ह्‍युगनट्‌सहरू बसोबास गरेका विदेशी मुलुकहरूमा पनि यही तरिका अपनाइयो। केही महिनाभित्रै ३,००,००० देखि ४,००,००० ले तिनीहरूको धर्म परित्याग गरे। इतिहासकार झां कान्यारअनुसार सैन्यशक्‍ति सफल भएकोले “[नान्टेसको सहिष्णुताको आदेशनामा] खारेज गर्न अवश्‍यम्भावी भयो।”

[स्रोत]

© Cliché Bibliothèque Nationale de France, Paris

[पृष्ठ २५-मा भएका चित्र]

सन्‌ १६८९ को यो घोषणाले धार्मिक दमनबाट छुटकारा खोजिरहेका फ्रान्सेली प्रोटेस्टेन्टहरूलाई शरण दियो

[स्रोत]

By permission of The Huguenot Library, Huguenot Society of Great Britain and Ireland, London

[पृष्ठ २६-मा भएका चित्र]

सन्‌ १६८५ मा नान्टेसको आदेशनामा खारेज गरिंदै (खारेज गरिएको पहिलो पृष्ठ)

[स्रोत]

Documents conservés au Centre Historique des Archives nationales à Paris

[पृष्ठ २६-मा भएका चित्र]

थुप्रै प्रोटेस्टेन्ट चर्चहरू भत्काइए

[स्रोत]

© Cliché Bibliothèque Nationale de France, Paris

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने