धार्मिक स्वतन्त्रता—आशिष् वा अभिशाप?
निकै कडा संघर्षपछि मात्र मसीहीजगत्मा धार्मिक स्वतन्त्रताको धारणा उत्पत्ति भयो। यो हठधर्मीपन, पूर्वाग्रह तथा भेदभाव विरुद्ध संघर्ष थियो। रक्तपातपूर्ण धार्मिक विवादहरूमा धेरैको ज्यान गयो। यस्तो पीडादायी इतिहासले हामीलाई कस्तो पाठ सिकाउँछ?
“मसीही इतिहाससँगसँगै सतावटको पनि सुरुआत भयो” भनी रबिन लेन फक्स गैरमसीही तथा मसीहीहरू (अंग्रेजी) पुस्तकमा लेख्छन्। प्रारम्भिक मसीहीहरूलाई एउटा पन्थ भनिन्थ्यो र तिनीहरूले सार्वजनिक सुव्यवस्थालाई गोलमाल गर्न खोजेको आरोप लगाइएको थियो। (प्रेरित १६:२०, २१; २४:५, १४; २८:२२) फलतः कसै कसैले सास्ती खाए र कतिपयचाहिं रोमी रंगशालाहरूमा जंगली जनावरहरूद्वारा मारिए। त्यस्तो कठोर सतावटको अवस्थामा धर्मविज्ञानी टर्टुलियनजस्ता कोही कोहीले धार्मिक स्वतन्त्रताको लागि बिन्ती गरे। सा.यु. २१२ मा टर्टुलियनले यसप्रकार लेखे: “यो आधारभूत मानव-अधिकार हो, मानिसले जन्मजात पाएको सुअवसर हो, यसैकारण हरेक मानिसले आफ्नो विश्वासअनुसार उपासना गर्न पाउनुपर्छ।”
सा.यु. ३१३ मा मिलानको आधिकारिक घोषणापत्र लागू भएपछि रोमी संसारले मसीहीहरूलाई सतावट दिन छोडे किनभने उक्त घोषणापत्रले मसीहीहरू तथा गैरमसीहीहरू दुवैलाई धार्मिक स्वतन्त्रता प्रदान गऱ्यो। रोमी साम्राज्यमा “मसीहीधर्म” कानुनी मान्यताप्राप्त धर्म भएपछि पासा पल्ट्यो। तथापि, सा.यु. ३४० तिर मसीही हुँ भनी दाबी गर्ने एक जना लेखकले गैरमसीहीहरूलाई सताउने कुरा अघि सारे। अन्ततः सा.यु. ३९२ मा सम्राट थियोडिसियस प्रथमले कन्स्टान्टिनोपलको आधिकारिक घोषणापत्र मार्फत आफ्नो साम्राज्यमा गैरमसीहीधर्म निषेध गरे अनि यसले गर्दा धार्मिक स्वतन्त्रता फस्टाउने मौका मिलेन। रोमको औपचारिक धर्म “मसीहीधर्म” भएपछि चर्च र सरकारको संयुक्त मिलोमतोमा सतावट दिने अभियान थालियो र ११ औं देखि १३ औं शताब्दीमा यसले रक्तपातपूर्ण धार्मिक युद्धहरूको उग्र रूप लियो र १२ औं शताब्दीमा सुरु भएको इन्क्वीजिशन पनि एकदमै क्रूर सतावटको परिणाम हो। जरो गाडेर बसिसकेको कट्टरपन्थ सिद्धान्तको एकाधिकारमा प्रश्न गर्न आँट गर्नेहरूलाई धर्मविरोधी भनिन्थ्यो र तिनीहरूलाई खोजी खोजी समातेर मारिन्थ्यो। यी सबै गर्नुको कारण के हो?
कुनै पनि राष्ट्रको सबैभन्दा बलियो आधार धार्मिक एकता हो र धार्मिक भिन्नताले सार्वजनिक सुव्यवस्थालाई गोलमाल गर्छ भनेर धार्मिक असहिष्णुता विरुद्ध कसैले आवाज उठाएनन्। इंग्ल्याण्डमा १६०२ मा रानी एलिजाबेथका एक जना मन्त्रीले यस्तो तर्क गरे: “दुइटा धर्मलाई अनुमति दिंदा राज्य कहिल्यै पनि सुरक्षित हुनसक्दैन।” भनौं भने, बेग्लै धर्म मान्ने मानिसहरू राष्ट्र वा पहिलेदेखि चल्दै आएको धर्मको लागि साँच्चै खतरा हुन् कि होइनन् भनी पत्ता लगाउनुको साटो तिनीहरूमाथि प्रतिबन्ध लगाउनु एकदमै सजिलो थियो। द क्याथोलिक इन्साइक्लोपीडिया यस्तो टिप्पणी गर्छ: “चर्च वा गैरमसीही अख्तियारवालाहरू कसैले पनि खतरनाक र अहानिकारक धर्मविरोधीहरूबीच के भिन्नता छ भनी बुझ्ने पटक्कै प्रयास गरेनन्।” तथापि, यस्तो अवस्था सधैं रहने थिएन।
सहिष्णुताको लागि गर्नुपरेको पीडादायी संघर्ष
युरोपमा परिवर्तन आउनुको प्रमुख कारण केही गर्ने मनसाय लिएर देखा परेको प्रोटेस्टेन्टवादले गर्दा हो। प्रोटेस्टेन्ट सुधारवादले गर्दा युरोप धार्मिक मतभेद हुन धेरै समय लागेन र यसले अन्तस्करणको स्वतन्त्रता हुनुपर्छ भन्ने धारणालाई जन्म दियो। उदाहरणका लागि, प्रख्यात धर्मसुधारक मार्टिन लुथरले १५२१ मा आफ्नो धारणाबारे यसो भने: “मेरो अन्तस्करण परमेश्वरको वचनको कैदी हो।” यस्तो विभाजनको फलस्वरूप तीस वर्षसम्म (१६१८-४८) चलेको युद्धले युरोपलाई भताभुंग पाऱ्यो।
तर युद्ध भइरहेको बेला धेरैले के महसुस गरे भने यी झगडाहरू समस्याको समाधान होइन। तसर्थ, फ्रान्समा नान्टेसको निकायले (१५९८) पारित गरेका जस्ता घोषणापत्रहरू मार्फत युद्धले विभाजित युरोपमा शान्ति स्थापना गर्ने प्रयास गरियो तर त्यो सफल हुन सकेन। यस्ता घोषणापत्रहरूले गर्दा अहिले देखिएको सहिष्णुताको धारणा बिस्तारै देखा पर्न थाल्यो। सुरु सुरुमा “सहिष्णुता”-ले नकारात्मक भाव झल्काउँथ्यो। “कथङ्कदाचित हामीले पन्थहरूलाई रहन दियौं भने . . . यो अत्यन्तै हानिकारक हुनेछ तर युद्ध जत्तिको हानिकारक त हुनेछैन” भनी प्रख्यात मानवशास्त्री इरास्मसले १५३० मा लेखे। यस्तो नकारात्मक भाव झल्कने भएको हुँदा कोही कोही मानिसहरू र फ्रान्सेली पल डे फ्वाले १५६१ मा “सहिष्णुता” भन्नुभन्दा “धार्मिक स्वतन्त्रता” भन्न रूचाए।
समय बित्दै जाँदा सहिष्णुता हानिकारक कुराको रूपमा नभई स्वतन्त्रताको संरक्षकको रूपमा हेर्न थालियो। यो कुनै कमजोरीको बहाना नभई स्वतन्त्रताको ग्यारेन्टी ठानियो। भिन्नाभिन्नै विश्वास र फरक फरक सोचाइ राख्न पाउने अधिकारलाई आधुनिक समाजले फस्टाउने मौका दिंदा कट्टरवाद अलि पछि हट्न बाध्य भयो।
समयको दौडान १८ औं शताब्दीको अन्ततिर सहिष्णुताको सम्बन्ध स्वतन्त्रता र समानतासित हुन गयो। यस्तो सम्बन्धलाई नियम तथा घोषणापत्रहरूको रूपमा व्यक्त गरियो। जस्तै, फ्रान्सको मानिस तथा नागरिकको अधिकार विषयक प्रख्यात घोषणापत्र (१७८९) वा संयुक्त राज्यको मानवअधिकारको विधेयक (१७९१)। यी कागजातहरूले १९ औं शताब्दीपछि स्वतन्त्र सोचाइ राख्न झक्झक्याउँदा सहिष्णुता र स्वतन्त्रतालाई अभिशाप होइन आशिष्को रूपमा हेर्न थालियो।
सापेक्षिक स्वतन्त्रता
हुन त, स्वतन्त्रता बहुमूल्य कुरा हो तर त्यो सापेक्षिक छ। सबैलाई अत्यधिक स्वतन्त्रता प्रदान गर्ने नाउँमा सरकारले व्यक्तिगत स्वतन्त्रतालाई सीमित तुल्याउने नियमहरू पारित गर्छ। थुप्रै युरोपेली मुलुकहरूमा छलफल भइरहेका स्वतन्त्रतासित सम्बन्धित केही विवादहरू यसप्रकार छन्: सरकारी नियमहरू व्यक्तिगत जीवनमा कुन हदसम्म लागू गरिनुपर्छ? यो कत्तिको प्रभावशाली छ? यसले स्वतन्त्रतालाई कसरी असर गर्छ?
सार्वजनिक तथा निजी स्वतन्त्रताको विवादलाई सञ्चारमाध्यमले निकै प्रकाश पारेको छ। कुनै कुनै धार्मिक समूहहरूले पैसा ठगेको, बाल दुर्व्यवहार र अरू थुप्रै गम्भीर अपराधहरू गरेको आरोप कहिलेकाहीं कुनै ठोस प्रमाणबिना लगाइन्छ। अल्पसंख्यक धार्मिक समूहहरूबारे पनि सञ्चारमाध्यमले व्यापक प्रचारप्रसार गर्छन्। “गूट” वा “पन्थ” जस्ता अपमानजनक नाउँहरू दैनिक बोलीचाली नै भइसकेको छ। जनसाधारणको दबाबमा कहिलेकाहीं सरकारहरूले ती कथित खतरनाक पन्थहरूको सूचीसमेत तयार पारेका छन्।
सहिष्णुता व्यवहारमा उतारेको अनि धर्म र सरकारलाई अलग गर्न सकेकोमा फ्रान्सले गर्व गर्छ। यसले आफूलाई “स्वतन्त्रता, समानता तथा विविधताको” देश भनेर गर्वसाथ घोषणा गर्छ। यद्यपि, धर्म तथा विश्वासको स्वतन्त्रता—विश्व रिपोर्ट नामक पुस्तकले त्यो देशमा पनि “नौलो धार्मिक गतिविधिलाई तिरस्कार गर्ने शैक्षिक अभियान” थालेको बताउँछ। तर धेरै मानिसहरूको सोचाइमा यस्तो प्रकारको गतिविधिले धार्मिक स्वतन्त्रतालाई खतरामा पार्छ। कसरी?
धार्मिक स्वतन्त्रताको लागि खतरा
नियमकानुन पालन तथा त्यसको आदर गर्ने सबै धार्मिक समूहहरूप्रति सरकारले समान व्यवहार गऱ्यो भने मात्र साँचो अर्थमा धार्मिक स्वतन्त्रता सम्भव हुन्छ। सरकारले कुनै कुनै धार्मिक समूहहरूलाई धर्म होइन भनेर सरकारले धर्मलाई दिने सुविधा नदिंदा त्यस्तो स्वतन्त्रता सम्भव हुँदैन। टाइम पत्रिकाले १९९७ मा यस्तो टिप्पणी गऱ्यो, “सरकारले चालकहरूलाई अनुमतिपत्र दिएजस्तो गरी धर्महरू निर्धारण गर्न खोज्दा धार्मिक स्वतन्त्रताको उच्च धारणा पनि खोक्रो हुन जान्छ।” एउटा फ्रान्सेली पुनरावेदन अदालतले हालै के घोषणा गऱ्यो भने “त्यसो गर्दा जानाजानी वा अनजानमा एकदलीय निरंकुश शासन बन्न जान्छ।”
सञ्चारमाध्यममा एउटा समूहको मात्र एकाधिकार भयो भने पनि आधारभूत स्वतन्त्रता खतरामा पर्छ। दुःखको कुरा, धेरै देशहरूमा यस्तै भइरहेको छ। उदाहरणका लागि, धार्मिक दृष्टिकोणमा के सही र के गलत भनी परिभाषित गर्ने प्रयासमा पन्थविरोधी संगठनहरू वकील, न्यायाधीश र निर्णायक मण्डलीको हैसियतमा खडा हुन्छन् अनि आफ्नो पक्षपातपूर्ण दृष्टिकोणले अरूलाई प्रभावित गर्न सञ्चारमाध्यमको प्रयोग गर्छन्। तर यसो गर्दा “गुटबन्दीको विरोध गर्न अग्रसर” यी संगठनहरूले कहिलेकाहीं उल्टै “गुटबन्दी देखाउँछन् र भिन्न मत मान्ने व्यक्तिलाई खेदो गर्ने वातावरण सृजना गर्छन्” भनी फ्रान्सेली अखबार ले मोण्ड-ले बतायो। उक्त अखबारले यस्तो प्रश्न गऱ्यो: “अल्पसंख्यक धार्मिक समूहहरूमाथि सामाजिक लाञ्छना लगाउँदा . . . आधारभूत स्वतन्त्रता खतरामा पर्दैन र?” मार्टिन क्राइलले जाइटस्रिफ्ट फर रालिज्योन्ससिकोलोजी-मा (धार्मिक मनोविज्ञानको पत्रिका) यसप्रकार लेखे: “पन्थहरूको संख्याभन्दा तिनीहरूलाई खेदो गर्ने चलन ठूलो चासोको विषय भएको छ। सरल भाषामा भन्ने हो भने: नियमकानुन नतोड्ने नागरिकहरूलाई कचकच गरिरहनु हुँदैन। धर्म र सिद्धान्त सदैव स्वतन्त्र रहिरहनुपर्छ र जर्मनीमा पनि यस्तै हुनुपर्ने हो।” आउनुहोस्, एउटा उदाहरण विचार गरौं।
“सबैभन्दा वफादार नागरिकहरू” —खतरनाक भन्ने लाञ्छना लगाइयो
स्पेनको लोकप्रिय ए बी सी अखबारको लेखमा क्याथोलिक अख्तियारवालाहरूले कुन धार्मिक समूहलाई “सबैभन्दा खतरनाक पन्थ” भने? ए बी सी-ले यहोवाका साक्षीहरूबारे नै यो प्रश्न सोधेका थिए। के तिनीहरूमाथि लगाइएका आरोपहरू निष्पक्ष र सत्य हुन्? अरूले के कस्ता टिकाटिप्पणीहरू गरेका छन्, ध्यान दिनुहोस्:
“साक्षीहरूले मानिसहरूलाई कर नछल्न, युद्ध वा त्यसको तयारीमा भाग नलिन, नचोर्न र समाजमा सबैको जीवनस्तरलाई अझ राम्रो बनाउने जीवनशैली अपनाउन सिकाउँछन्।”—सर्जियो आल्बेसानो, टालेन्टो, नोभेम्बर-डिसेम्बर १९९६.
कुनै कुनै बेला [यहोवाका साक्षीहरूबारे] फैलाइने झूटको विपरीत, मेरो विचारमा तिनीहरू सरकारी संस्थानहरूको लागि खतरा पटक्कै होइनन्। तिनीहरू शान्तिप्रिय, मेहनती अनि अख्तियारवालाहरूको आदर गर्ने नागरिकहरू हुन्।”—बेल्जियमका सांसद।
“संघीय गणतन्त्रमा यहोवाका साक्षीहरू सबैभन्दा इमानदार मानिसहरू भनेर चिनिन्छन्।”—जर्मन अखबार जिन्डलफिंगर जाइटुङ।
“आदर्श नागरिकहरू भनेको [यहोवाका साक्षीहरू] हुन्। तिनीहरू सधैं कर तिर्छन्, बिरामीहरूको स्याहारसुसार गर्छन्, निरक्षरता हटाउने प्रयास गर्छन्।”—सं.रा. अखबार सान फ्रान्सिस्को एक्जामिनर।
“स्थायी वैवाहिक सम्बन्ध कायम राख्न यहोवाका साक्षीहरू अरू सम्प्रदायका सदस्यहरूभन्दा बढी सफल भएका छन्।”—अमेरिकन एथ्नोलोजिस्ट।
“अफ्रिकी देशका नागरिकहरूमध्ये यहोवाका साक्षीहरू सबैभन्दा सोझा तथा मेहनती मानिसहरू हुन्।”—डा. ब्रायन विल्सन, अक्सफोर्ड विश्वविद्यालय।
“त्यो विश्वास अपनाउने धर्मका सदस्यहरूले अन्तस्करणको अझ बढी स्वतन्त्रताको लागि निकै वर्षअघिदेखि ठूलो योगदान पुऱ्याउँदै आएका छन्।”—नाट हेन्टफ, मेरो लागि वाक स्वतन्त्रता—तर तिम्रो लागि छैन (अंग्रेजी)।
“तिनीहरूले . . . हाम्रो प्रजातन्त्रका केही अनमोल कुराहरूको जगेर्ना गर्न ठोस योगदान पुऱ्याएका छन्।”—प्राध्यापक सि. एस. ब्राडन, यिनीहरू पनि विश्वास गर्छन् (अंग्रेजी)।
माथिका उद्धरणहरूले देखाएअनुसार यहोवाका साक्षीहरू संसारभरि नै उदाहरणीय नागरिकहरू भनेर चिनिन्छन्। साथै, निश्शुल्क बाइबल शिक्षा दिने र पारिवारिक मूल्य तथा मान्यताहरूमा जोड दिने मानिसहरू भनेर पनि चिनिन्छन्। विशेषगरि अफ्रिकामा तिनीहरूले सञ्चालन गरेका साक्षरता कक्षाहरूले सयौंलाई मदत गरेको छ भने अर्कोतिर तिनीहरूको परोपकारी कार्यले हजारौंको उद्धार भएको छ।
निष्पक्षताको महत्त्व
निर्दोषहरूलाई आफ्नो सिकार बनाउन ढुकी बस्ने दुष्ट मानिसहरूको समाजमा कुनै अभाव छैन। त्यसैकारण, धर्मको विषयमा अझ बढी चनाखो हुनुपर्ने आवश्यकता छ। कोही कोही पत्रकारहरूले सम्बन्धित निष्पक्ष विशेषज्ञहरूसित सोधपुछ नगरेर ती चर्चहरूसित जानकारी लिंदा के होला, जसको सदस्यहरूको संख्या दिनानुदिन घटिरहेको छ? वा पन्थविरोधी संगठनहरूको जानकारीमा भर पर्दा के होला, जसले धार्मिक स्वतन्त्रताको दाबी गर्न त गर्छन् तर काम अर्कै छ? के ती चर्च वा पन्थविरोधी संगठनहरूले धार्मिक स्वतन्त्रता कायम गर्न योगदान पुऱ्याउन सक्लान्? उदाहरणका लागि, यहोवाका साक्षीहरू “सबैभन्दा खतरनाक पन्थ” हो भनी लेख प्रकाशित गर्ने अखबारले त्यस्तो परिभाषा “[क्याथोलिक] चर्चका विशेषज्ञहरूको कुरामा” आधारित भएको मानि लिए। साथै, पन्थ भनौंदा समूहहरूबारे प्रायजसो लेखहरू पन्थविरोधी संगठनहरूको उपज हो भनी एउटा फ्रान्सेली पत्रिकाले टिप्पणी गऱ्यो। के तपाईंलाई यो सही जानकारी प्राप्त गर्ने सबैभन्दा निष्पक्ष तरिकाजस्तो लाग्छ?
आधारभूत मानवअधिकारबारे चिन्तित सं. रा. संघजस्ता अन्तरराष्ट्रिय अदालत तथा संगठनहरू भन्छन्, “धर्म र पन्थबीचको भिन्नता एकदमै बनाउटी भएकोले पत्याउनै गाह्रो छ।” त्यसो हुँदा हुँदै पनि कोही कोही किन “पन्थ” भन्ने अपमानजनक शब्द प्रयोग गर्न छोड्दैनन्? धार्मिक स्वतन्त्रता खतरामा छ भन्ने यो एउटा थप प्रमाण हो। उसो भए यस्तो अपरिहार्य स्वतन्त्रता कसरी जोगाउन सकिन्छ?
[पृष्ठ ८-मा भएको पेटी/चित्र]
धार्मिक स्वतन्त्रता जोगाउन अग्रसर भएकाहरू
युरोपमा १६ औं शताब्दीमा धार्मिक विवादहरूको कारण भएको रक्तपातले गर्दा धार्मिक स्वतन्त्रताको लागि जोडदार आवाज आउन थाल्यो। धार्मिक स्वतन्त्रताबारे छलफल गर्दा यी आग्रहहरू अझै पनि सान्दर्भिक छन्।
सबास्टियन श्याट्यों (१५१५-६३) “धर्मविरोधीको परिभाषा के हो? मैले बुझेअनुसार हाम्रोभन्दा बेग्लै विचार राख्नेहरूलाई नै हामी धर्मविरोधी भन्ने गर्छौं। तपाईं बस्नुहुने शहर वा इलाकामा तपाईंलाई साँचो विश्वासी ठानिन्छ भने अर्को ठाउँमा तपाईं नै धर्मविरोधी ठहरिनुहुनेछ।” प्रख्यात बाइबल अनुवादक तथा सहिष्णुताको जगेर्ना गर्ने प्रयासमा जुटेका श्याट्योंले धार्मिक स्वतन्त्रताको विवादको एउटा महत्त्वपूर्ण बुँदालाई औंल्याए: धर्मविरोधीको परिभाषा कसले दिने?
डर्क भोल्कर्टसन कर्नहर्ट (१५२२-९०): “हामीले पढेका छौं कि . . . ख्रीष्टका यरूशलेम र युरोपका थुप्रै शहीदहरूले सत्यको वचन मार्फत [समाजमा] खैलाबैला मच्चाए। ‘खैलाबैला’ भन्ने शब्दको सही तथा स्पष्ट अर्थ बुझ्नु खाँचो छ।” धार्मिक भिन्नता र जनसाधारणमा खैलाबैला मच्चाउनु फरक फरक कुराहरू हुन् भनी कर्नहर्टले तर्क गरे। तिनले यस्तो प्रश्न गरे: हरेक नियम कानुनको पालन र त्यसको आदर गर्ने व्यक्तिहरू सार्वजनिक सुव्यवस्थाको लागि खतरा हुन् र?
प्येर डे बेल्वा (१५४०-१६११): “देशमा बेग्लाबेग्लै धर्महरू भयो भने त्यसले गोलमाल मच्चाउँछ भन्ने धारणा ज्ञानको कमीले” गर्दा हुन्छ। धार्मिक युद्धको (१५६२-९८) बेला फ्रान्सेली वकिल, बेल्वाको लेखअनुसार सरकारको सामञ्जस्य, धार्मिक एकतामा आधारित हुँदैन तर धार्मिक दबाबको अगाडि सरकार झुक्छ भने त कुरा अर्कै हो।
थमस हेल्विस (१५५०-१६१६ तिर): “[राजाका] प्रजाहरू सबै मानव नियमहरूप्रति आज्ञाकारी र वफादार छन् भने राजालाई अरू के चाहियो र।” इंग्लिश ब्याप्टिस्टका संस्थापकमध्ये हेल्विस पनि हुन्। तिनले चर्च र सरकार अलग अलग हुनुपर्छ भन्ने कुरालाई समर्थन गर्दै सबै चर्च र पन्थलाई धार्मिक स्वतन्त्रता दिन राजालाई अपिल गरे अनि प्रजाहरूमाथि निजामती अधिकार मात्र प्रयोग गर्न आग्रह गरे। तिनको कुराले अहिले चलिरहेको प्रश्नको आशय झल्काउँछ: सरकारले मानिसहरूको आध्यात्मिक कामकुरामा कुन हदसम्म नियन्त्रण जमाउनु ठीक होला?
अज्ञात लेखक (१५६४): “कुनै पनि व्यक्तिलाई चाहेको धर्मअनुसारचाहिं गर्न नदिने तर तिनले नचाहेको धर्ममा लाग्न नपर्ने अनुमति दिएर मात्र अन्तस्करणको स्वतन्त्रता कहाँ हुन्छ र।”
[चित्र]
टर्टुलियन
श्याट्यों
डे बेल्वा
[स्रोत]
All photos: © Cliché Bibliothèque Nationale de France, Paris