हाम्रा केटाकेटीहरूलाई कसले बचाउनेछ?
बाल दुर्व्यवहारलाई विश्वव्यापी समस्याको रूपमा लिइएको छ भनेर थाह पाउनु प्रोत्साहनदायी कुरा हो। स्टकहोममा आयोजित बालबालिकाहरूको यौन व्यापारसम्बन्धी सम्मेलनमा १३० देशका प्रतिनिधिहरू भेला भएर यस समस्यामाथि ध्यान दिइयो।
साथै, केही देशहरूले यौन पर्यटन अनि बालबालिकामाथि गरिने यौन शोषणलाई निषेध गर्ने कानुन बनाउँदैछन्। केटाकेटीहरूलाई सजिलै आफ्नो शिकार बनाउन नसकोस् भनेर कुनै कुनै देशहरूले त बाल यौन शोषकहरूको नाउँ समेत रेकर्ड गर्दैछन्।
केटाकेटीहरूको सुरक्षा गर्ने कानुन पारित गरेर तिनीहरूको जीवन राम्रो बनाउन खोज्नेहरू पनि छन्। केही देश तथा मानिसहरूले बाल मजदुर प्रयोग गरेर बनाइएका सामग्रीहरू किन्न इन्कार गर्छन्।
समाजबाट बाल दुर्व्यवहार हटाउन गरिएका यस्ता प्रयत्नहरूको हामी अवश्य प्रशंसा गर्छौं। तैपनि, बाल दुर्व्यवहारले मानव समाजमा गहिरो जरा गाडेका छन् भनेर बुझ्न हामी व्यवहारिक हुनुपर्छ। कानुन छ भने हाम्रा बालबच्चाहरूको पूर्णतया सुरक्षा गर्न सकिन्छ भनेर सोच्नु सायद मुर्खता हुनेछ। अनेकन् कानुनहरू पारित भइसकेका छन् तर समस्याहरू भने जस्ताका तस्तै छन्। विश्वका वयस्कहरूको अपराधिक गतिविधि हेर्दा ती केटाकेटीहरूको अधिकारलाई बच्चाबेला देखि नै अनेक प्रकारका कानुनहरूद्वारा संरक्षण गर्नुपरेको छ।
कानुन हुँदैमा बालबच्चाहरूको सुरक्षा हुने होइन। सं.रा.-को बालाधिकारसम्बन्धी अधिवेशनमा पारित तथा थुप्रै सरकारहरूद्वारा हस्ताक्षरित कानुन कार्यान्वयन हुन नसकेको हेऱ्यौं भने मात्र पनि यो कुरा स्पष्ट हुन्छ। आर्थिक समस्याले गर्दा प्रायजसो सरकारहरूले पनि केटाकेटीहरूलाई यौन शोषणबाट बचाउन सकेका छैनन् भन्ने लिखित प्रमाण छ। बाल दुर्व्यवहार अझै पनि अन्तरराष्ट्रिय समस्याको रूपमा विद्यमान छ।
आमाबाबुले निकै सहायता गर्नसक्छन्
सफलतापूर्वक आमाबाबुको भूमिका निर्वाह गर्नु चानचुने कुरा होइन। यसको निम्ति आमाबाबुले थुप्रै त्यागहरू गर्नुपर्छ। तर यसो भन्दैमा छोराछोरीको ख्याल गर्ने आमाबाबुहरूले छोराछोरीहरूलाई नै त्याग्नु होइन भनेर बुझ्नुपर्छ। म्याक्लिन्स पत्रिकाअनुसार, अक्सर “आमा वा बाबु बन्नुलाई सोखको रूपमा लिइन्छ।” खेलौनालाई फ्याँक्न सकिन्छ अथवा सोख हराउनसक्छ तर आमाबाबु हुनु भनेको ईश्वर-प्रदत्त जिम्मेवारी हो।
तपाईंले आफ्ना छोराछोरीलाई दिन सक्नुहुने मूल्यवान उपहारहरूमध्ये एउटा, असल आमाबुबा बन्नु हो। त्यसले तिनीहरूको बाल्यावस्था सुखद अनि सुरक्षित बनाउँछ। त्यस्तो सुरक्षा सामाजिक वा आर्थिक अवस्थामा निर्भर हुँदैन। छोराछोरीलाई तपाईंको आवश्यकता छ—तिनीहरू तपाईंको प्रेम र स्नेह चाहन्छन्, अप्ठ्यारो परिस्थितिमा तपाईंको न्यानो आवश्वासन चाहन्छन् र साथै तिनीहरूसित समय बिताएको आशा गर्छन्। तपाईंका छोराछोरीले तपाईंको मुखबाट कथाहरू सुन्न रूचाउँछन्, तपाईंलाई आदर्श व्यक्तिको रूपमा मान्न चाहन्छन् अनि तपाईंको मायालु अनुशासन चाहन्छन्।
आमाबाबुहरू हो, आफ्नो परिवारको सदस्यहरूबीच यौन नैतिकता झल्काउनुहोस् र छोराछोरीको मन र शरीरको आदर गर्नुहोस्। आमाबाबुले सिकाएको नैतिकतालाई कुन कामकुराले खतरामा पार्छ भनेर छोराछोरीले बुझिहाल्छन्। तिनीहरूलाई घरमा तथा घरबाहिर कस्तो व्यवहार गर्नुपर्छ भनेर सिकाउनु आवश्यक छ। त्यसरी सिकाउनुभएन भने, तिनीहरूले अरूबाट नै सिक्छन् अनि त्यसको नतिजा तपाईंलाई मन नपर्नसक्छ। नैतिक खतरामा पर्दा कस्तो कदम चाल्नुपर्छ भनेर छोराछोरीलाई सिकाउनुहोस्। तिनीहरूका गुप्तांगहरूको प्रयोजन बताउनुका साथै ती अंगहरूको दुरुपयोग गर्नु हुँदैन भनेर तिनीहरूलाई सिकाउनुहोस्। कसैले तिनीहरूको नाजायज फाइदा उठाउने प्रयास गरेको खण्डमा कस्तो प्रतिक्रिया देखाउनुपर्छ, तिनीहरूलाई बताउनुहोस्।
तपाईंका छोराछोरी कहाँ र कोसँग छन्, सधैं याद गर्नुहोस्। तपाईंका छोराछोरीका घनिष्ठ साथीहरू को हुन्? तपाईंको अनुपस्थितिमा तपाईंका छोराछोरीलाई कसले रेखदेख गर्छन्? के तिनीहरू भरोसायोग्य छन्? निस्सन्देह, यसको मतलब आमाबाबुले सबैलाई शंकालु आँखाले हेर्नुपर्छ भन्ने होइन। तपाईंका छोराछोरीले संगत गर्ने वयस्कहरूको बाहिरी रुपरंग मात्र नहेरेर तिनीहरूको छानबिन राम्ररी गर्नुहोस्।
भरोसा गरेका पादरी, शिक्षक वा आफ्नै नजिकका नातेदारहरूले पनि छोराछोरीसित दुर्व्यवहार गरेको थाह पाएपछि ती छोराछोरीका आमाबाबुको हृदयमा कति गहिरो चोट पुग्यो होला, विचार गर्नुहोस्। यसैले, आमाबाबुको हैसियतमा आफैलाई यस्ता प्रश्नहरू सोध्नु बेस हुन्छ, ‘के मेरो चर्चले लुकीछिपी बाल दुर्व्यवहारमा भाग लिन्छ? के मेरो धर्मले उच्च नैतिक सिद्धान्तहरूको पालन गर्छ?’ यस्ता प्रश्नहरूको जवाफले आफ्ना छोराछोरीको सुरक्षाको निम्ति बुद्धिमानी छनौट गर्न मदत दिनसक्छ।
तर सबैभन्दा मुख्य कुरा, हानिदेखि जोगाउने सृष्टिकर्ताको सिद्धान्तहरूलाई बुझ्न र प्रेम गर्न तिनीहरूलाई मदत दिनुहोस्। आफ्ना आमाबाबुले उच्च नैतिक सिद्धान्तहरूको आदर गरेको असल उदाहरणलाई छोराछोरीहरूले सजिलैसित अनुकरण गर्नेछन्।
एकमात्र साँचो समाधान
निस्सन्देह, न कानुनले न कुनै कडा सजायहरूले नै हाम्रा छोराछोरीहरूलाई बचाउनसक्छ। सृष्टिकर्ताले आफ्नो प्रेरित वचन, बाइबल मार्फत मानिसहरूमा परिवर्तन ल्याउन सक्नुहुन्छ। फलतः जंगली जनावरजस्तो सोचाइ भएको मानिसहरू पनि मायालु र नीतिवान हुनसक्छन्।
यो सम्भव छ भनेर अहिले नै देखिएको छ। पहिलेको कामुक जीवनशैलीलाई त्याग्नेहरू धेरै छन्। तिनीहरूले परमेश्वरको वचन कत्तिको शक्तिशाली छ भनेर जीवन्त प्रमाण दिइरहेका छन्। हुन त यो परिवर्तन राम्रो हो तर अधिकांश पतित कुकर्मीहरू भने परिवर्तन हुनेछैनन्। यसैकारण हाम्रा छोराछोरीहरूको शोषण गर्ने सबैलाई तिनीहरूका धारणा, कुइच्छा र लोभसँगै संसारबाट निकालिदिनुहुनेछ भनेर यहोवा परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ।—१ यूहन्ना २:१५-१७.
त्यसपछि, परमेश्वरको नयाँ संसारमा जब दरिद्रता हुनेछैन तब सबै केटाकेटीहरूले आरामसित र कुनै चिन्ता नलिई ईश्वर-प्रदत्त अधिकारको आनन्द उठाउनेछन्। यसको मतलब बाल दुर्व्यवहारको अन्त मात्र नभएर आज मानिसको जीवनलाई घात पुऱ्याउने सारा दुःखदायी सम्झनाको पनि अन्त हुनेछ: “किनकि हेर, म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्नेछु, र अघिअघिका कुराहरूको सम्झना हुनेछैन, नता ती स्मरणमा आउनेछन्।”—यशैया ६५:१७.
यसरी परमेश्वरको नयाँ संसारमा येशू ख्रीष्टका यी वचनहरू गौरवमय ढंगमा पूरा हुनेछ: “बालकहरूलाई मकहाँ आउनालाई नरोक किनभने स्वर्गको राज्य यस्तैहरूको हो।”—मत्ती १९:१४.
[पृष्ठ ९-मा भएको चित्र]
यौन आक्रमण हुँदा कस्तो कदम चाल्ने, आफ्ना छोराछोरीलाई होसियारीसित सिकाउनुहोस्
[पृष्ठ ९-मा भएको चित्र]
असल आमाबाबु बन्नु छोराछोरीको निम्ति मूल्यवान उपहार हो
[पृष्ठ ९-मा भएको चित्र]
तपाईंका छोराछोरीहरूलाई सृष्टिकर्ताको उद्देश्य र सिद्धान्तहरू सिक्न मदत दिनुहोस्
[पृष्ठ १०-मा भएको चित्र]
परमेश्वरको नयाँ संसारमा सबै केटाकेटीहरूले पूर्णरूपमा आ-आफ्नो बाल्यावस्थाको आनन्द उठाउनेछन्