कोमेनियस—आधुनिक शिक्षाका हजुरबुबा
चेक गणतन्त्रका ब्यूँझनुहोस्! संवाददाताबाट
एक जना शिक्षक भएकोले जोन कोमेनियस १७ औं शताब्दीमा आफूले काम गरेको स्कूल प्रणालीमा भएका त्रुटिहरूदेखि अनभिज्ञ थिएनन्। हुन त, कुनै पनि शिक्षा प्रणाली त्रुटिरहित छैनन् तर १७ औं शताब्दीताका युरोपको स्कूल प्रणाली साँच्चै नराम्रो थियो।
जोडतोडले गुनासो वा दोषारोपण गरिएला भनी चुपचाप बस्नुको सट्टा तिनले यसबारे केही न केही गर्ने निधो गरे। तिनले के गरे अनि किन गरे? अझ, आधुनिक शिक्षण पद्धतिका संस्थापक भनिने यस व्यक्तिबाट हामी के सिक्नसक्छौं?
पालनपोषण अनि शिक्षा
जोन आमोस कोमेनियस (चेक भाषामा तिनको नाम यान आमोस कमेनस्की हो।) मार्च २८, १५९२ मा अहिले चेक गणतन्त्र भनेर चिनिने क्षेत्र, मोराभियामा जन्मे। पाँच सन्तानमध्ये सबैभन्दा कान्छो भए तापनि तिनी सुसम्पन्न किसान दम्पत्तीका एक्लो छोरो थिए।
तिनका आमाबुबा १५ औं शताब्दीको मध्यतिर वाल्डेन्सीहरू र पिटर खेल्चीज्की जस्ता सुधारकहरूको नेतृत्वमा सुरु भएको धार्मिक समूह युनिटि अफ ब्रेथरेनका (पछि बोहेमियाली ब्रेथरेन वा मोराभियन चर्च भनेर चिनियो।) सदस्यहरू थिए। जर्मनीमा आफ्नो पढाइ सिद्धयाएर कोमेनियस स्वदेश फर्के। तिनी २४ वर्ष पुग्दा युनिटि अफ ब्रेथरेनको पादरी नियुक्त गरिए।
तिनी किन निर्वासनमा गए
सन् १६१८ मा कोमेनियस प्रागको पूर्वतिर पर्ने २४० किलोमिटर टाढाको शहर फुल्नेकको सानो क्षेत्रमा पादरी नियुक्त भए। त्यतिबेला युरोपमा प्रोटेस्टेन्टधर्म विरुद्ध क्याथोलिक प्रतिकूल धर्म सुधार योजना व्यापक रूपमा चर्कंदै थियो। क्याथोलिक तथा प्रोटेस्टेन्टधर्म बीचको तनाउ ३० वर्षसम्म (सन् १६१८-४८) चलेको युद्धमा परिणत नहोउञ्जेल झन् झन् चर्कंदै गयो।
एक दशक जति युद्ध लडिसकेपछि रोमन क्याथोलिकधर्मलाई नै मोराभियाको एकमात्र कानुनी मान्यता प्राप्त धर्म घोषित गरियो। कोमेनियस र तिनीजस्तै उच्च श्रेणीका व्यक्तिहरूलाई क्याथोलिकधर्म मान्ने वा देश छाड्ने छनौट गर्न लगाइयो। तिनी आफ्नो धर्म परिवर्तन गर्ने पक्षमा नभएकोले परिवारसहित पोल्याण्डको, युनिटि अफ ब्रेथरेनको क्रियाकलाप व्यापक रूपमा हुने प्रमुख केन्द्र मानिएको, सानो शहर लेश्नोमा बसाईं सरे। यही तिनको ४२ वर्ष लामो निर्वासनको सुरुआत थियो। त्यसपछि, तिनी कहिल्यै पनि स्वदेश फर्कन सकेनन्।
“दिमागको कसाईखाना”
कोमेनियसले कलेजमा भर्ना हुन लागेका विद्यार्थीहरूलाई अग्रिम तैयारीका लागि पढाउने स्कूल लेस्नो जिम्नेसियममा ल्याटिन भाषा सिकाउने काम पाए। तथापि, काम गरेको केही समय नबित्दै तिनी त्यसबेलाको एकोहोरो शिक्षा प्रणालीदेखि असन्तुष्ट भए र त्यसो हुनुको उपयुक्त कारण थियो।
कोमेनियसको पालामा स्कूल प्रणाली निकै दयनीय अवस्थामा थियो। उदाहरणका लागि, पुरुषहरूलाई मात्र शिक्षा ग्रहण गर्न लायकको मानिन्थ्यो, त्यो पनि गरिब परिवारमा जन्मेका पुरुषहरू बाहेक। कक्षाकोठाहरूमा दिइने निर्देशनहरू ल्याटिन शब्दहरू, वाक्यहरू र वाक्यरचनाहरू विद्यार्थीहरूको दिमागमा ठोस्नु सिवाय केही थिएन। किन ल्याटिन मै मात्र? किनभने मध्ययुगका प्रायजसो स्कूलहरू, रीतिथितिहरूमा ल्याटिन भाषा प्रयोग गर्ने क्याथोलिक चर्चहरूको नियन्त्रणमा थियो। तसर्थ, ल्याटिन भाषामा शिक्षा दिन थुप्रै पादरीहरूको आवश्यकता थियो।
अझ भनौं भने सिक्नुको मुख्य उद्देश्यबारे पनि ध्यान दिइँदैन थियो नत विद्यार्थीहरूलाई सानोतिनो कुराहरूबाट विस्तारै विस्तारै जटिल कुराहरू सिकाउँदै लैजाने किसिमले निर्देशनहरू नै तयार पारिएको थियो। कडा अनुशासन दिइन्थ्यो, कहिलेकाहीं अमानवीय व्यवहार पनि गरिन्थ्यो र नैतिक वातावरण पनि निकै घिनलाग्दो थियो।
त्यसैले, स्कटिश प्रशिक्षक साइमन लोरीले एकपल्ट १७ औं शताब्दीका स्कूलहरूलाई “असाध्यै अव्यवस्थित” र “पट्टाइलाग्दो” भनी व्याख्या गरे। यस सन्दर्भमा कोमेनियसको परिभाषा झनै उपयुक्त छ। तिनले स्कूलहरूलाई “दिमागको कसाईखाना” भन्ने संज्ञा दिए।
नयाँ शिक्षण पद्धति सुरु हुन्छ
शैक्षिक क्षेत्रमा सुधार ल्याउनुपर्ने आवश्यकताबारे कुरा गर्ने पहिलो व्यक्ति कोमेनियस मात्र थिएनन्। बेलायतमा, फ्रान्सेस बेकनले पनि ल्याटिनलाई मात्र जोड दिनु पटक्कै हुँदैन भनी घोर भर्त्सना गर्दै प्रकृतिको अध्ययन गराउनेबारे सुझाउ दिएका थिए। जर्मनीमा भोल्फगाङ राट्के र जोन भ्यालेनटीन आन्द्रे त्यस्तै अरू थुप्रैले पनि उन्नति गर्ने प्रयास गरे। तथापि, तिनीहरू सबैको विचारधाराले कानुनी मान्यता पाउन सकेनन्।
कोमेनियसले एउटा नयाँ पद्धति पेश गरे जसले शिक्षालाई कहिल्यै नटुंगिने टन्टा नभई रोचक बनाउँछ। तिनले आफ्नो यस शैक्षिक योजनालाई पामपेदीया नाम दिए जसको अर्थ “समस्त शिक्षा” हो। तिनको उद्देश्य हरेकले आनन्द उठाउनसक्ने प्रगतिशील शिक्षा प्रणाली विकास गर्नु थियो। तिनको भनाइअनुसार व्यवहारिक रूपमा केटाकेटीहरूलाई सुरुमा आधारभूत ज्ञान दिंदै विस्तारै जटिल कुराहरू सिकाउँदै लैजानुपर्छ। तिनले स्कूलमा सुरुका केही वर्ष ल्याटिन भाषाको प्रयोग गर्नुको सट्टा मातृभाषा प्रयोग गर्न प्रोत्साहित गरे।
तथापि, शिक्षाले कसैको किशोरावस्थालाई मात्र ओगट्नु हुँदैन तर एक व्यक्तिको पूरै जीवन पद्धतिलाई समेट्नुपर्छ। अध्ययन “पूर्णतया व्यवहारिक, पूर्णतया मनोरञ्जक हुनुका साथै स्कूल साँच्चै रमाइलो हुनुपर्छ अर्थात् सम्पूर्ण जीवनको आनन्ददायी सुरुआत हुनुपर्छ।” तिनी स्कूलले दिमागलाई मात्र नभई व्यक्तिविशेषलाई नै, अनि त्यसमा पनि नैतिक तथा आध्यात्मिक निर्देशन समावेश भएको शिक्षा दिनुपर्छ भन्ने विश्वास गर्थे।
जोन कोमेनियसका कृतिहरू
सिकाउन निर्देशन दिने क्षेत्रमा, १६३० मा प्रकाशित कोमेनियसको पहिलो कृति शैशवकालको स्कूल (अंग्रेजी) थियो।a यो आमा तथा धाईआमाहरूले केटाकेटीहरूलाई घरमा सिकाउँदा प्रयोग गर्न मद्दत दिने किसिमले तयार पारिएको थियो। यसको लगत्तैपछि १६३१ मा भाषाहरूको ढोका खोलियो (अंग्रेजी) प्रकाशित भएपछि ल्याटिन भाषामै सिकाउनुपर्ने प्रथालाई लगभग पूर्णतया परिवर्तन गरियो। यसका दुई समानान्तर लहरहरूमा एकातिर चेक र अर्कोतिर ल्याटिन भाषामा लेखिएको थियो। यी दुवै भाषाहरू सजिलै तुलना गर्नसकिने भएकोले सिक्न पनि सकिन्थ्यो। सिकाउन मदत गर्ने उक्त पुस्तकको संशोधित संस्करणलाई थुप्रैले मनपराएका हुनाले अन्ततः १६ भाषाहरूमा अनुवाद गरियो।
कोमेनियसको सबैभन्दा प्रसिद्ध र सायद सरल कृति बालबालिकाहरूका लागि चित्रहरूसहितको पाठ्यपुस्तक दृश्य संसार हो। यसले पनि शिक्षाको क्षेत्रमा नयाँ आयाम थपिदियो। यसको “तुलनामा युरोपमा एक सय पन्ध्र वर्षसम्म कुनै पनि पुस्तक आउन सकेन र झन्डै दुई सय वर्षसम्म परिचयात्मक पाठ्यपुस्तकको रूपमा यसलाई नै प्रयोग गरियो,” भनी कवर्ली नामक २० औं शताब्दीका शिक्षा विषयका प्राध्यापकले भने। वास्तवमा, आजका धेरैजसो चित्रहरूसहितको पाठ्यपुस्तकहरूले पनि चित्रहरूलाई प्रशिक्षण साधनको रूपमा चलाएर अझ पनि कोमेनियसको कृतिलाई नै पछ्याएको पाइन्छ।
कोमेनियसलाई चाँडै प्रतिभाशाली व्यक्तिको रूपमा सम्मान गरियो। युरोपभरका विद्वान्हरूले तिनलाई नै आफ्नो नेता मानेर तिनको सल्लाह सुन्थे। म्याग्नल्या कृष्टी अमेरीकाना नामक पुस्तकअनुसार कोमेनियसको ख्याति निकै बढ्दै गएकोले तिनलाई क्याम्ब्रीज, मासाचुसेट्सस्थित हार्वर्ड विश्वविद्यालयमा सभापतिको रूपमा काम गर्न सन् १९५४ मा निम्त्याइयो। तथापि, तिनले अस्वीकार गरे किनभने तिनी ख्याति, प्रशंसा वा उच्च पदवी पाउने आशा गरिरहेका थिएनन्।
तिनलाई केले प्रेरित गऱ्यो?
कोमेनियसको जीवनपद्धतिलाई केलाइसकेपछि तिनलाई केले प्रेरित गऱ्यो भन्ने कुरा जान्न हरेक व्यक्ति आफसे आफ उत्सुक हुन्छन्। तिनी शिक्षालाई मानव एकता कायम गर्ने शक्ति मान्थे। तिनको समस्त शिक्षाले विश्वशान्ति कायम गर्नसक्छ भनी तिनी विश्वस्त थिए।
कोमेनियसले ज्ञानलाई ईश्वरत्वसित पनि जोडे। ज्ञान पाएर मानिसहरू अन्ततः परमेश्वरसम्म पुग्नसक्छ भन्ने तिनी विश्वास गर्थे। त्यो नै तिनको प्रेरणाको प्रमुख स्रोत हुनसक्छ।
शिक्षाप्रति कोमेनियसका अन्तरदृष्टिहरू आज पनि उपयोगी छन्। तिनको व्यवस्थित शिक्षण पद्धतिका साथसाथै चित्रहरूको प्रयोग पनि विश्वव्यापी रूपमा गरिएको छ। उदाहरणका लागि, वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित साहित्यहरूलाई लिन सकिन्छ। चाहे व्यक्तिगत बाइबल अध्ययन होस् वा पारिवारिक अध्ययन हामी प्रत्येकले तिनका पद्धतिहरूलाई अपनाएर व्यक्तिगत तवरमा लाभ उठाउनसक्छौं। कसरी?
कोमेनियसले लेखे, “विद्यार्थीहरूलाई तिनीहरूको उमेर, बुझ्ने क्षमता र वर्तमान परिस्थितिसित नसुहाउँदो किसिमका कुराहरू सिकाएर बोझ लाद्नु हुँदैन।” त्यसैले आफ्ना छोराछोरीहरूलाई बाइबल वा अन्य कुराहरू पढाउँदा तिनीहरूले बुझ्नसक्ने बनाउनुहोस्। साधारण प्रश्नोत्तर मात्र गर्नुको सट्टा तिनीहरूलाई बाइबलका पात्रहरूको कथा नै किन नसुनाउने? सकिन्छ भने बाइबलका घटनाहरूबारे चित्र लेख्न लगाएर वा बाइबलको नाटक खेल्न लगाएर तिनीहरूलाई पनि भाग लिन लगाउनुहोस्। तपाईंको कल्पना शक्ति प्रयोग गर्नुहोस्! परिश्रमको फल मीठो हुनेछ।—हितोपदेश २२:६.
त्यस्तै, विशेष गरी केटाकेटीहरूलाई प्रगतिशील तरिकामा सिकाउन तयार पारिएको बाइबलका कथाहरू भएको मेरो पुस्तक र युवा जनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफ जस्ता चित्रै चित्र भएका साहित्यहरूबाट पूर्ण लाभ उठाउनुहोस्।b अनि जुनसुकै उमेरका विद्यार्थीहरूलाई प्रशिक्षण दिंदा तिनीहरूका लागि “पूर्णतया व्यवहारिक, पूर्णतया मनोरञ्जक” बनाउने लक्ष्य राख्नुहोस्।
अनन्त देन
लेज्नोमा १६५६ सालमा आगलागी हुँदा कोमेनियसले आफ्नो सम्पूर्ण कुरा गुमाउनुपऱ्यो। तथापि, आनन्दको कुरा तिनले अर्कै प्रकारको धन हाम्रालागि छाडेर गए। शिक्षासम्बन्धी छोटो इतिहास नामक पुस्तक बताउँछ: “कोमेनियसले . . . निर्देशन शब्दहरूको सट्टा विषयबस्तुहरूबाट दिनुपर्ने कुरामा जोड दिए अनि वैज्ञानिक ज्ञान दिने र विश्वका उपयोगी जानकारीहरूलाई प्रशिक्षणको भाग बनाए जुन तिनको कृतिको मुख्य बुँदा हो।”
वास्तवमा, चरणबद्ध रूपमा शिक्षा दिने प्राणालीको श्रेय कोमेनियसलाई दिनसकिन्छ। तिनको शिक्षण पद्धतिले कक्षाकोठामा सिकाउने तरिकामा ठूलो परिवर्तन ल्याइदियो। अमेरिकी प्रशिक्षक निकोलस बट्लरले भने: “शिक्षासम्बन्धी इतिहासमा कोमेनियसको महत्त्वपूर्ण स्थान रहेको छ। तिनले निकालेको पद्धति नै प्राथमिक अनि माध्यमिक शिक्षाको आधुनिक क्षेत्रमा लागू भइरहेको छ।” बाइबलका उत्सुक विद्यार्थीहरू यहोवाका साक्षीहरूसित पनि यस आधुनिक शिक्षाका हजुरबुबाप्रति कृतज्ञ हुने कारण छ।
[फुटनोटहरू]
a सन् १६५७ मा कोमेनियसले ल्याटिन भाषामा ओपेरा दिदाक्टिका ओम्निया-को भागको रूपमा द ग्रेट डिडाक्टिक प्रकाशित गरे।
b वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।
[पृष्ठ १६-मा भएको पेटी/चित्र]
जोन कोमेनियसका केही शिक्षण सिद्धान्तहरू
कति सिकाउने भन्नेबारे: “शिक्षकले कहिले पनि आफूले सकेजति सिकाउनु हुँदैन तर सिक्नेले जति सिक्नसक्छ त्यति मात्र सिकाउनुपर्छ।”
शिक्षण पद्धतिबारे: “राम्ररी सिकाउनु भनेको कसैलाई छिटो, स्पष्टसित, एक एक कुरा सिक्न सक्षम बनाउनु हो।”
“सक्षम शिक्षक भनेको त्यो [हो] जसले आफ्नो विद्यार्थीको अज्ञानतालाई धीरजी भई सहने र त्यसलाई प्रभावकारी तरिकाले कसरी हटाउने भन्ने थाह पाएको हुन्छ।”
“सिकाउनु भनेको कुनै चीज आफ्नो उद्देश्य, रूप र उत्पत्तिअनुसार कसरी भिन्नाभिन्नै हुन्छ, त्यो देखाउनु हो। . . . तसर्थ, त्यस्ता भिन्नताहरूबारे राम्ररी व्याख्या गर्नेले राम्ररी सिकाउँछ।”
तर्कसंगत कुराबारे: “अर्थविहीन कुरा बुझ्न र मूल्यांकन गर्न नसकिने हुनाले त्यस्ता कुराहरू सम्झिरहन पनि सकिंदैन।”
“कुनै खास कुरा नै छैन भने त्यसलाई बुझ्न, स्वीकार्न अनि सम्झन पनि असंभव हुन्छ।”
बुझ्ने सन्दर्भमा: “बुझ्नु भनेको कुनै कुरा किन र कसरी त्यसको अर्को भागसित सम्बन्धित छ र उस्ताउस्तै देखिने अरू कुराहरूभन्दा कसरी र कुन हदसम्म भिन्न छ भन्ने जान्नु हो।”
“हामीले कुनै कुरा पहिलो चोटि पढ्दा त्यसमा के के छ थाह पाउने; दोस्रो चोटिमा बुझ्ने; तेस्रो चोटिमा सम्झने; र चौथो चोटि एक एक कुरा स्पष्टसित बुझेको हो कि होइन जाँच्न मनमनै दोहऱ्याउने गर्नुपर्छ।”
[चित्र]
“दृश्य संसार”-को एउटा पृष्ठ १८८३ संस्करण
[पृष्ठ १७-मा भएको चित्र]
कोमेनियसको प्रशिक्षण सिद्धान्तहरू लागू गरिएको सन् १७७५ को जर्मन पाठ्यपुस्तक